नेपाल–अंग्रेज युद्धमा नेपाली फौजले अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा बैशाख ७ गते जितगढी विजय उत्सव भव्य रुपमा मनाइँदैछ । बुटवल उप–महानगरपालिकाले जितगढी उत्सव मनाएर नेपाल–अंग्रेज युद्धको सम्झना मात्रै गरेको नभई बुटवलको पहिचान स्थापित गर्न सफल भएको छ । इतिहासकारहरुका अनुसार, आधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई नेपाली फौजले विसं १८७२ बैशाख ७ गते पराजित गरेको थियो ।
जितगढी विजय उत्सवले नेपाली फौजको युद्धमा देखाएको बहादुरी, वीरता, धीरता र कौशलको सम्मान गरेको छ नै, नयाँ पुस्ताका लागि इतिहासबारे जानकारी दिने अवसर पनि भएको छ । केही वर्षअघिसम्म जितगढी ओझेलमा थियो । दशक अघिसम्म फोहर र झारपातले ढाकेको जितगढी किल्ला अहिले आकर्षक भएको छ । नेतृत्वले योजनाबद्ध काम ग¥यो भने धेरै काम हुनसक्छ भन्ने यसले देखाएको छ । मुलुक संघीय शासन प्रणालीमा गएपछि बुटवल उप–महानगरपालिकामा निर्वाचित नेतृत्वले जितगढीको संरक्षण र पर्यटकीय पूर्वाधारमा योजनाबद्ध विकासको सुरुवात ग¥यो । बुटवलमा आउने पर्यटकका लागि घुम्नैपर्ने ठाउँ भएको छ, जीतगढी किल्ला । स्थानीय सरकारको नेतृत्वले सम्पदास्थललाई जोगाउँदै पूर्वाधार बनाउन सके पर्यटक प्रवर्धन गर्न सक्छन् भन्ने यो एउटा उदाहरण हो । पहिले कसैले ध्यान नदिएको ठाउँलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन सफल तत्कालीन नगरप्रमुख शिवराज सुवेदीको पहलकदमी महत्वपूर्ण छ, त्यसैगरी वर्तमान नगर प्रमुखले अब जितगढीलाई बुटवल आउनेले घुम्नै पर्नेस्थलको सूचीमा राख्ने गरी प्रवर्धन र प्रचारको काममा ध्यानदिनुपर्छ ।
अब बुटवलको आकर्षक गन्तव्य जितगढीको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सक्नुपर्छ । जितगढी अब राष्ट्रिय अन्तर्राष्ट्रिय आकर्षक पर्यटकीय गन्तव्य बन्छ । त्यसका लागि फूलबारीबाट भारतीय पेन्सन क्याम्प अन्यत्र सार्न किन ढिलाइ भइरहेको छ ? तत्कालीन पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको दरबारस्थललाई जोगाएर पर्यटक प्रवर्धन गर्नुको साटो भारतीय पेन्सन क्याम्पका लागि उपलब्ध गराउनु सम्पदाप्रति राज्यको नालायकी काम हो । फूलबारी भारतीय पेन्सन क्याम्पलाई उपलब्ध गराएर जितगढीको गौरव गाथा गाएर मात्रै यहाँको पर्यटकीय प्रवर्धन हुन्छ भन्ने भ्रम कसैले नपालौं । जितगढीको सिरानी हो, फूलबारी । सिरानी अरुलाई उपलब्ध गराएर जितगढीको गौरव गाथा जीवन्त रहन सक्तैन् । फूलबारीबाट पेन्सन क्याम्प अन्यत्र सारेर सम्पदास्थललाई पर्यटकीय स्थल बनाउन सके नगरप्रमुख खेलराज पाण्डेको कार्यकालको महत्वपूर्ण काम हुनेछ । पेन्सन क्याम्प अन्यत्र जहाँ पनि हुनसक्छ । फूलबारीमै किन ? रणनीतिक स्थल फूलबारीमा भारतीय पेन्सन क्याम्प बनाउन दिनु पहिले पनि गलत थियो । त्यो गल्तीलाई सच्चाउनुको साटो पुनः थप जग्गा उपलब्ध गराउनु अर्को कमजोरी भयो ।
जितगढीको सिरानी फूलबारी कसैलाई हस्तान्तरण नगरौं, महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गरौं । सम्पदास्थल जोगाएर राख्दा भावी सन्ततीको लागि अमूल्य उपहार हुन् भन्ने हेक्का राखौँ ।




