खोमा तरामु-सत्यवती ।
गुल्मीको रिडी बजारदेखि २५ किलोमिटर उत्तरतिर, कालीगण्डकी करिडोरको रूद्रवेणी बजारदेखि १४ किलोमिटर मास्तिर उक्लिएपछि पुगिन्छ–ठूलो लुम्पेक । सिरानीमा हचिङ्कोट दरबार जीर्ण काया बोकेर आफ्नो अस्तित्वका अन्तिम ढुकढुकीमा बाँचिरहेको छ । उत्तर–पूर्वतिर सत्यवती क्षेत्र दिनप्रतिदिन गुल्जार बन्दै गइरहेको छ । यी दुईक्षेत्र छुट्टाछुटटै इतिहास र महत्व बोकेको सत्यवती गाउँपालिकाको साँस्कृतिक सम्पदा रहेका छन् ।
प्रकृतिको सौन्दर्य
सत्यवती क्षेत्र प्रकृति र संस्कृतिको अनुपम खानी हो । हिउँदमा धौलागिरी र अन्नपूर्ण हिमालबाट सुस्साउने चिसो बतासको स्पर्श, बर्खामा कहिले कुहिरोको घुम्टोमुनि, कहिले कुहिरोको सिरकभित्र, अधिक रमाइलो र उमङ्गित बनाउने हरियो चौर, जीवनका सारा थकान, ग्लानी र चिन्ताको विश्रामस्थान हो– सत्यवती क्षेत्र । हिउँदमा गुराँस र खर्स्युका बुट्यानहरूमा चराहरूका कर्णप्रिय स्वर र बर्खामा यिनै रूखका जराहरूमा जरूवा फुटेर बगेका बडिघाट खोलाको कलकल सङ्गीत गुञ्जिन्छ । सत्यवती क्षेत्र ऋतुपिच्छेका रङहरूले निकै सुन्दर र आकर्षक देखिन्छ ।
यो क्षेत्र गुल्मीको सत्यवती गाउँपालिकाको वडा नं. ३ ठूलो लुम्पेकदेखि वडा नं. ४ लिम्घाको शीरसम्म फैलिएको छ । सत्यवती क्षेत्र उत्तरतिर भार्सेको अर्कुलकोट दरबार, बौद्ध स्तूपा र थाप्ले लेकसित जोडिएको छ भने, दक्षिणतिर पुरातात्विक क्षेत्र हचिङ्कोट भुरेटाकुरे दरबार, हुक्रायो सेतीनाग, थानी मण्डलीको थान, पूर्वी–दक्षिणतिर प्रसिद्ध सिद्धहिलेको थान, उत्तर–पूर्वतिर कालीगण्डकी र चन्द्रकोट गाउँपालिका जोडिएको छ । यस क्षेत्रको पश्चिम र दक्षिणतिर ठूलो लुम्पेक, लिम्घा र भार्से जोडिएको छ । बुढी सत्यवती र ठूलो लुम्पेक सत्यवतीबिचमा मसिनादह–राम्चे लाली गुराँसको वन क्षेत्र रहेको छ । यहाँबाट उभिएर पूर्वतिर हेर्दा धौलागिरी (८१६७ मिटर), अन्नपूर्ण (८०९१ मिटर), माछापुच्छ्रे (६९९३ मिटर) लगायतका हिमशृङ्खला आँखामा टाँसिन्छन् । यो क्षेत्र सामुन्द्रिक सतहबाट दुईहजार मिटरदेखि २६९० सय मिटर उचाइँसम्म फैलिएको छ । परापूर्वकालदेखि हिन्दु धर्मावलम्बीहरूले शक्तिपीठको रूपमा मान्दै आएको सत्यवतीकै नाउँबाट यस गाउँपालिकाको नामाकरण गरिएको छ ।
यस क्षेत्रमा सतुवा, कालीकाफल, बिखमा, तोप्रेझार, पखनबेट, लोपोन्मुख सेतो गुराँस, सत्यजीवन, चिराइतो, चौत्रा, नीरमसी, सेतोघरूवा, मोहजोरीलगायतका जडीबुटीहरूको भण्डारण हो । जीवजन्तुहरू बाघ, हरिण, भालु, खरायो, घोरल, कालिज र विभिन्न थरीका चराचुरूङ्गीहरूले बनपाखा गुन्जायमान हुन्छन् । सत्यवती क्षेत्रलाई नेपाल सरकारले पुग्नैपर्ने नयाँ ‘एकसय पर्यटकीय गन्तव्य क्षेत्र’ घोषणा गरेको छ ।
प्रकृतिमय सङ्ग्रहालय
साविक लुम्बिनी अञ्चलकै ‘सगरमाथा’ भनेर चिनिने २६९० मिटर उचाईमा थाप्लेको कोखमा रहेको बुढी सत्यवतीमा प्राकृतिक रूपले कुँदिएर सजिएका ढुङ्गाका विभिन्न आकृतिहरू निकै कलात्मक, अद्भूत र आकर्षक रहेका छन् । यसलाई हिन्दुधर्मका विभिन्न देवीदेउता वा मिथकहरूमा नामाकरण गरिएको छ । पूजारी यमबहादुर तरामुले बुढी सत्यवतीमा नागको शीर, ‘स्वर्ग’ जाने भर्याङ, बाघको मुखाकृति ढुङ्गा, कुण्ड, ब्रह्मा कपाली, शिवजीको लिङ्ग, हात्तीको शीर, हत्केलाको छाप आदि रहेको बताउँछन् । वैदिककालमा ऋषिमुनिहरूले ध्यान गर्दा प्रयोग गरिएको तपश्वी बस्ने ओढार (गुफा) रहेको छ । गुफाभित्रबाट मास्तिर हेर्दा दुलोबाट आकाश देख्न सकिन्छ । ढुङ्गाले नै बनेको आकर्षक भर्याङ चढ्दा एकैसासमा उक्लिन सके ‘स्वर्ग’मा पुगिन्छ भन्ने किम्बदन्ती रहेको छ ।
यस क्षेत्र ढुङ्गैढुङ्गाका विभिन्न आकृतिका कलाकृतिले भरिएको प्राचीन सङ्ग्रहालय हो । झण्डै आठवटा ढुङ्गाहरू कुँदिएर बनेको आकर्षक कुण्डहरूमा बाह्रैमास पानी रहन्छन् । प्राकृतिक रूपमा बनेका ती ढुङ्गाका कुण्डहरूमा बसेका पानीलाई भक्तजन तथा दर्शनार्थीहरूले पूजापाठ र वनजङ्गलमा रहेका जीवजन्तु र चराचुरूङ्गीहरूले उपयोग गर्दै आएका छन् । त्यसले पर्यावरणलाई समेत सन्तुलनमा राखेको छ । सत्यवती गाउँपालिकालाई कालीगण्डकीको किनारदेखि बुढी सत्यवतीको शीरसम्म नागले घेरेको किम्बदन्ती रहेको छ । काठमाडौं विश्वविद्यालयका सहायक प्राध्यापक एवं प्राज्ञ भुवन थापा कालीगण्डकीको तट गुलम्दीको पुच्छर, थुम्कास्थित बाघेभीर हुक्रायो सेती नाग, दरबार गैरी नागडाँडा, बैल्हुम पोखरी हुँदै सत्यवती शीर रहेको बताउँछन् । उनले यसैलाई प्रतीक बनाएर लाली गुराँसको मूर्ति समेत बनाएकाछन् । ठूलो लुम्पेकमा रहेको सत्यवती क्षेत्र आकाससित जोडिएको सुन्दर र मनोरम मैदान भएकोले नाचगान र वनभोज स्थल, नयाँपुस्ताले टिकटक, रिल्स, म्युजिक भिडियो र डकुमेन्ट्री छायाङ्कनका लागि नयाँ गन्तव्य बनाएका छन् ।
सत्यवतीको किम्बदन्ती
किम्बदन्तीअनुसार सत्यवती बजै प्राचिनकालमा पारकोटे राजा ऋतुवर्णकी पत्नी थिइन् । तान्त्रिक मन्त्रमा निपूर्ण रहेकी सत्यदेवी, कालिका, मालिका, मनकामना र आलमदेवी गरी पाँच दिदीबहिनीहरू थिए । तीमध्ये सत्यदेवी बजै जेठी भएकोले यस क्षेत्रलाई बुढी सत्यवती भनिएको किम्बदन्ती रहेको छ । राजा ऋतुवर्णले शिकार गर्दा क्वाङ पातालमा रहेको पोखरीमा नुहाइरहेकी बजैको कानमा धनुषकाण लागेपछि उनी कानले नसुन्ने बहिरी भएकोले चिच्याएर वर माग्ने प्रचलन रहेको ८७ वर्षीय स्थानीय क्षेत्रबहादुर तरामु मगरको भनाइ रहेको छ । उनले वि.सं. १९५० को दशकतिर आफ्ना जिजुबाजे वीरसिङ तरामुसित मिलेर कसिन्थलाका लिलाराम तरामुले ठूलो लुम्पेकको सत्यवतीमा ढुङ्गेथान थपना गरी पूजापाठ सुरु गरेको बताए ।
संस्कृतिको सङ्गम
सत्यवती क्षेत्रमा रहेको ठूलो लुम्पेक, लिम्घा र भार्से साँस्कृतिक गाउँहरू हुन् । यी गाउँहरूले झाम्रे, सालैजो, सोरठी, कौरा, ठूलो नचरी, यानिमया, सुनिमया आदि परम्परागत लोकसंस्कृतिलाई बचाएका छन् । लिम्घाको एकसिङ–स्याङ्का मगर समुदायले पुर्ख्यौउली नाच झुमारानी र जीवैमामै संरक्षण गर्दै आएको छ । सत्यवतीमा हरेक वर्ष मङ्सिरको बैकुण्ठ चतुर्दशीदेखि पूर्णिमासम्म ठूलो मेला लाग्ने गर्दछ । मेलामा ती सबै लोकसंस्कृतिहरूको प्रदर्शन गरिदै आएको छ । ठूलो लुम्पेकमा झण्डै आधा दर्जन मगर नौमति बाजा समूह र दमै बाजा रहेको छ । सत्यवती र सिद्धहिलेमा ब्राह्मण समुदायको भजनकिर्तन समेत हुँदै आएको छ । मगर लोकसंस्कृति र ब्राह्मण समुदायको भजनकिर्तन संस्कृतिलाई यस क्षेत्रले संरक्षण गर्दै आएको छ । मेलामा रैथाने उत्पादन, कोदो, मकै, भट्मास, टिमुर, काफल, सखरखण्डबाट बनेका पुर्ख्यौउली परिकारहरू समेत बिक्री हुँदै आएको छ ।
हचिङ्कोट दरबार क्षेत्र
हचिङ्कोट दरबार क्षेत्र पुरातात्विक सम्पदा क्षेत्र हो । यो सत्यवती गाउँपालिका वडा नं. ३, ठूलो लुम्पेकमा नै रहेको छ । यस क्षेत्रमा करिब ५ सय वर्ष अगाडि भुरेटाकुरे राजाले दरबार बनाएर शासन गरेका थिए । पश्चिममा खस साम्राज्यको पतनपश्चात् बाइसे–चौविसे राज्य अस्तित्वमा आउनुअघि हचिङ्कोट क्षेत्रमा वि.सं. १५०० देखि १५५० को अवधिमा दरबार बनेको अनुमान गरिएको छ । यो दरबारको अस्तित्व वि.सं. १७९५ सम्म कायम रहेको इतिहासकारहरूले बताएका छन् । गोर्खा राज्य विस्तारसँगै यी दरबारहरूको अस्तित्व सङ्कटमा पर्न थालेका थिए । हचिङ्कोट दरबारका प्राचीन अवशेषहरू अहिले उत्खनन् र संरक्षण अभावका कारण जीर्ण अवस्थामा छन् । यस क्षेत्रमा रहेको दरबारका पुराना अवशेष, गढी, रानीपोखरी, बटारे ढुङ्गा, घुमाउने कुलो आदि संरचनाहरू र कोटमा राखिएका हातहतियारहरू अहिलेसम्म अस्तित्वमा रहेका छन् ।
इतिहासको अध्ययन गर्दै आएका स्थानीय बलबहादुर राहादी मगरले हचिङ्कोटको सानो चुलीमा दरबार र ठूलो चुलीमा सेना बसेको इतिहास भेटिएको बताएका छन् । स्थानीय प्रेमबहादुर राहादीले विं.सं.२०४३ सालको सेरोफेरोमा दरबार क्षेत्रमा धन खोज्न जमिन खन्दा दरबारकालीन माटोले बनेको गाग्रीको अवशेष भेटिएको बताए । स्थानीय खोजकर्ता जुक्त थापाका अनुसार यहाँ अहिले करिब ३ मिटर चौडाई र ४५ देखि ५० मिटर लम्बाईको गढी रहेको छ । उतिबेला यो गढी शत्रुको आक्रमणबाट आफ्नो परिवार र राज्यलाई सुरक्षित राख्न र शत्रुलाई आक्रमण र प्रत्याक्रमण गर्न सैन्य शक्ति तैनाथका लागि बनाइएको संरचना वा सैन्य मोर्चास्थल थियो । यहाँ बनेका दरबार प्रशासनिक काम र आवास प्रयोजनका लागि बनाइएका थिए । यहाँ दरबार, गढी, कोट, पुराना हातहतियार, रानीपोखरी, घुमाउने कुलो आदि संरचना रहेका छन् ।
ती संरचनाहरू त्यतिबेलाका प्रामाणिक अवशेषहरू हुन् । अहिले यी संरचनाका माध्यमबाट तत्कालीन राज्यप्रणाली, समाज र संस्कृति कस्तो थियो ? भनेर बुझ्न सकिन्छ । यो दरबारको लिखत अभिलेखहरू नभेटिए पनि यसबारे जानेबुझेका स्थानीय बुढापाकाहरू अहिले पनि जीवितै रहेका छन् । स्थानीयस्तरबाट संरक्षणका लागि पहल समेत सुरु भएको छ । हचिङ्कोट क्षेत्रको उत्खनन् र संरक्षणका लागि पहल गर्ने लुम्बिनी प्रदेश सांसद चिन्तामणी पाण्डेले बताएका छन् । हचिङ्कोट क्षेत्र भुरेटाकुरेकालमा निर्माण भएका पुरातात्विक सङ्ग्रहालय हो । राज्यले पुरातत्व विभागमार्फत् यसको इतिहास उत्खनन्, अध्ययन र अनुसन्धान गरी ‘पुरातात्विक सङ्ग्रहालय’ बनाएर संरक्षण गर्नुपर्दछ । प्राकृतिक दृष्टिले सुन्दर भ्यूपोइन्ट भएकोले हचिङ्कोट दरबार क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ भर्जिन गन्तव्य बनाउन सकिन्छ ।
सत्यवती क्षेत्रमा राज्यको लगानी
सत्यवती क्षेत्रमा सरकारी क्षेत्रबाट लगानीको प्रयत्न हुँदै आएको छ । गत आर्थिक वर्ष बुढी सत्यवती क्षेत्रको विकासको गुरुयोजना निर्माण गरी सङ्घीय सरकार र सत्यवती गाउँपालिकाले १ करोड ६० लाख बजेट विनियोजन गरी मोटरबाटो सुधार, प्रवेशद्धार, पदमार्ग, सोलार, शौचालय र विश्रामस्थल बनाएको छ । ठूलो लुम्पेक सत्यवती क्षेत्रमा नेपाल पर्यटन बोर्ड र सत्यवती गाउँपालिकाको साझेदारीमा ५८ लाख बजेट छुट्याएर चारवटा आकर्षक ट्रस र बेञ्च, डस्विन, सत्यवती पार्क, आदिवासी प्रतीक मूर्ति र पदमार्ग बनेका छन् । मसिनादह क्षेत्रमा वनभोजस्थल र शौचालय निर्माण गरेको छ ।
बुढी सत्यवतीमा खानेपानीको व्यवस्थापन गर्न १२ लाख बजेट छुट्याइएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे बताउँछन् । लुम्बिनी प्रदेश सरकारको गत आर्थिक वर्षमा १६ लाख र अहिले ९ लाख बजेटमा सहिदपार्क निर्माणाधिन रहेको छ । यस वर्ष प्रदेश सरकारको १५ लाख बजेटमा लाली गुराँसका मूर्तिहरू राख्नका लागि ‘ग्यालेरी घर’ निर्माण हुने तयारीमा रहेको छ । ग्यालेरीमा गुराँसका मूर्तिसँगै स्थानीय सीप, परम्परा र संस्कृति झल्किने कलाकृतिहरू समेत रहनेछन् । सत्यवती गाउँपालिकाले झण्डै १० हजार बिरूवा चिया रोपण र लाली गुराँसको काष्ठ–मूर्तिकला र चित्रकला कार्यशाला गरेको छ । यसअघि नै खानेपानी, विद्युत्, शौचालय, मेलामा व्यापारका लागी ट्रस र मन्दिर र त्यहाँ जाने पदमार्ग बनेका थिए ।
सत्यवती क्षेत्रमा अमेरिका, जर्मन, फिनल्याण्डलगायत विदेशी पर्यटकहरू घुम्न आइरहेका छन् भने आन्तरिक पर्यटकहरूले प्रायः दैनिक भीड हुने गर्दछ । पर्यटकहरूका लागि होमस्टे निर्माणको तयारी समेत भइरहेको छ । यस क्षेत्रमा ‘हचिङ्कोट–सत्यवती–थाप्ले’ केवलकार, सत्यवती–माताको चुली (चेप्टे) आकासे पुल, ‘हचिङ्कोट–कोटघर’ आकासे पुल निर्माण, हचिङ्कोट–हुक्रायो पदमार्ग, ‘ओखरभञ्ज्याङ–हिले’ केवलकार, सत्यवतीमा माउण्टेन साइक्लिङ, रक क्लाइम्बिङ, ट्रेकिङ र हाइकिङ्जस्ता साहसिक पर्यटनको हब बनाउन सकिन्छ । सत्यवती गाउँपालिकाको ग्रामीण पर्यटन प्रवद्र्धन गर्न यहाँका ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक क्षेत्रको एकीकृत गुरुयोजना बनाएर राज्यले लगानी गर्नुपर्दछ ।
(गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे, उपाध्यक्ष निरमाया तरामु र प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालस“ग गरिएको कुराकानीमा आधारित )




