२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पाल्पामा पर्यटन प्रवर्धनको पहल

पाल्पामा पर्यटन प्रवर्धनको पहल

पाल्पामा पर्यटन प्रवर्धनको पहल

पाल्पामा पर्यटन प्रवर्धनको पहल

पाल्पामा पर्यटन प्रवर्धनको पहल
पाेखरेल पाल्पामा रहेर समसामयिक विषयमा कलम चलाउँछन् ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • पाल्पा । पाल्पालाई पहाडकी रानीको उपमा दिने गरिन्छ । पाल्पामा विभिन्न धार्मिक, ऐतिहासिक, पुरातात्विक, साहसिक पर्यटकीय स्थलहरू रहेका छन् । पाल्पाका १० वटै स्थानीय सरकारले आ–आफ्‌नो पालिकामा भएका पर्यटकीय स्थललाई व्यवस्थित गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनको लागि लगानी र प्रचारप्रसारको काममा निरन्तर लागिपरेका छन् । पाल्पाका १० वटै पालिकामा रहेका प्रमुख  पर्यटकीय स्थल, कला संस्कृति र भावी योजनाका विषयमा विशेष सामग्री प्रस्तुत गरेका छौँ । 
    १.रिव्दीकोट गाउँपालिकाका
    गाउँपालिकाको नाम नै एतिहासिक रिव्दीकोट क्षेत्रबाट रहन गएको हो । रिव्दीकोट गाउँपालिका सदरमुकाम तानसेनबाट १८ किलोमिटर पश्चिममा पर्दछ । गाउँपालिकाको प्रमुख धार्मिक तथा पर्यटकीय स्थानमा सवारी साधनबाट सजिलै पुग्न सकिन्छ । 
    प्रमुख पर्यटकीय स्थलहरू 
    भैरव मन्दिर भैरवस्थान,पूर्णकोट दरबार, रिव्दीकोट डाँडा, जलेश्वर मन्दिर र मौसमी राडार रहेका छन्  ।
    पर्यटकीय क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने, नयाँ–नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान गर्ने, प्रचारप्रसार गर्ने पालिकाले योजना बनाएको पालिका प्रमुख नारायणबहादुर कार्कीले बताए । 

    २) बगनासकाली गाउँपालिका 
    बगनासकाली गाउँपालिकाका  सदरमुकाम तानसेनसँग जोडिएको गाउँपालिका हो । तानसेन आएका अधिकांश पर्यटकहरूलाई बगनासकालीका विभिन्न पर्यटकीय स्थानमा लैजान सकिन्छ । यो गाउँपालिकाको नाममा  वडा नं. ९ मा रहेको बगनासकाली देवीको नामबाट राखिएको हो ।
    प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरू 
     बगनासकाली क्षेक्ष ( बगनासेडाँडा),महामृत्युन्जय शिवासन,सिद्धबाबा धाम, दर्लाम महाकाली, राम्दी क्षेत्र, राम्दीको सिद्ध गुफा र रानीमहल क्षेत्र । 
    भावी पर्यटकीय परियोजना
    रिडीदेखि राम्दीसम्म जलयात्रा सञ्चालन गर्ने,  बगनासकालीमा विमानस्थल निर्माण गर्ने, राम्दीमा संस्कृत गुरुकुल विद्यालय सञ्चालन गर्ने, बगनासे साँचोको उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने, कुमाल तथा बोटे संस्कृति प्रवर्धन गर्ने चिरतुङ्गधारामा माटोको भाडा उत्पादनलाई व्यवस्थित बनाउने पालिकाको सोंच रहेको पालिका अध्यक्ष सरस्वती चिदीले बताइन । 


    ३) पूर्वखोला गाउँपालिका 
    पूर्वखोला गाउँपालिका पाल्पाको मध्य भागमा पर्दछ । गाउँपालिको केन्द्र रहेको गाउँ नै पूर्वखोला रहेको र गाउँको बस्तीबाट खोला पूर्वतर्फ बगेकोले यो गाउँपालिकाको नाम नै पूर्वखोला राखिएको हो । यो सदरमुकाम बाट करीव ३५ किलोमिटर पूर्वमा पर्दछ । 
    पर्यटकीय स्थलहरू 
     वाकुमगढी, चुरामण्डली बराजु, मादल बज्ने गुफा, हात्तीलेक डाँडा, झेमरान होम स्टे ।
    भावी पर्यटकीय योजना  
    हात्तीलेकको तल खोलमा ड्याम बाधी कृत्रिम ताल निर्माण गर्ने, डुङ्गा चलाउने, माछा पालन गर्ने, वनक्षेत्र भएकोले जीवजन्तु बढाउने, झेमरान क्षेत्रमा होम स्टे सञ्चालन गर्ने, मारूनी नाच, कौडा नाच, घाटु नाच, ठूलो नाच, झाम्रे नाचलाई संरक्षण गर्ने योजना रहेको पालिका अध्यक्ष नुनबहादुर थापाले बताए । 

    ४) रम्भा गाउँपालिका 
    यो गाउँपालिकाको नाम रम्भादेवी मन्दिरबाट राखिएको हो । यस सिद्धार्थराजमार्गको अगाहाखोला लसुनेबाट ४ किलोमिटरको दुरीमा ताहुँमा रहेको छ । सदरमुकाम तानसेनबाट १ घण्टाको सवारी साधनमा रम्भा गाउँपालिकाको केन्द्रमा पुग्न सकिन्छ । 
    पर्यटकीय तथा धार्मिक स्थलहरू 
     रम्भादेवी मन्दिर, रिमिघा लेक, जोगी गुफा, देश हेर्ने ढुङ्गा, धार्मिक कालीगण्डकी उत्तरबाहिनी क्षेत्र, कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठान, प्राकृतिक पुल, रानीबास होम स्टे, जल्पादेवी मन्दिर, रमणेश्वर मन्दिर र लक्ष्मीनारायण मन्दिर, मंगलादेवी मन्दिर ।
    भावी पर्यकीय योजनाहरू 
    कालीगण्डकीको राम्दीदेखि नियमित रूपमा र्‍याफ्‌टिङ् सञ्चालन गर्ने, गाउँपालिकाबाटै र्‍याफटिङ् सञ्चालन, प्राकृतिक पुलको फेदीमा ड्याम बाधी झरना चलाउने, कालीगण्डकीको विभिन्न क्षेत्रमा स्नानगृह निर्माण गरी मन्दिरमा पूजापाठको व्यवस्था गर्र्ने योजना रहेको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । 

    ५) रामपुर नगरपालिका 
    पाल्पाको दोस्रो नगरपालिकाको रूपमा रामपुर नगरपालिका रहेको छ । सदरमुकाम तानसेनबाट ६० किलोमिटर दुरीमा रामपुर पुग्न सकिन्छ । रामपुर नगरपालिका केन्द्रमा कालीगण्डकी करिडोर तानसेन आर्यभञ्ज्याङ, र तराई क्षेत्रबाट अरूणखोला निस्दी हुँदै रामपुर पुग्न सकिन्छ । रामपुरका अधिकांश  पर्यटकीय स्थलहरू  भगवान रामसँग जोडिएका छन् । 
    पर्यटकीय क्षेत्रहरू 
    कृत्रिम ताल तालपोखरा, रामचुल्हो, रामकुवा, राम्चे वन, सीताकुण्ड, रामपुर गुफा, टापुधाम र केलादीघाट ।  
     भावी पर्यटकीय योजनाहरू 
    कालीगण्डकीका जलयातायात सञ्चालन गर्ने, कृत्रिम ताल तालपोखरालाई सुन्दर आकर्षक बनाउने, प्याराग्लाडिङ्ग हव क्षेत्रको रूपमा विकास गर्ने, कालीगण्डकी क्षेत्रमा पतञ्जली योग पिठ आश्रम निर्माण गर्ने, वडा नंं. ६ मा अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने, लुम्बिनी, बरूणेश्वर मन्दिर परिसमा खोलामा ड्याम बाधेर कृत्रिम ताल निर्माण गर्ने, नेपालकै ठूलो गौशाला निर्माण तथा चिडियाखाना निर्माण गर्ने र अँधेरी छरछरे सामुदायिक वनमा गिद्ध रेष्टुरेण्ट सञ्चालन र  लोपन्मुख गिद्ध बचाउने योजना रहेको रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । 

    ६) निस्दी गाउँपालिका 
    निस्दी गाउँपालिका सदरमुकाम तानसेनबाट ६५ किलोमिटर पूर्वदक्षिणमा पर्दछ । गाउँपालिका केन्द्रमा तानसेन रामपुर सडकखण्डको बेलडाँडा हुँदै र पूर्वी नवलपरासीको अरूणखोला हुँदै पुग्न सकिन्छ । यो गाउँपालिकाको नाम स्थानीय निस्दी खोलाको नामबाट राखिएको हो । तराईसँग जोडिएको भू–भाग भएको अधिकांश डाँडाहरू पर्यटकको रोजाइमा हिल स्टेशनको रूपमा  विकसित हँुदै गएका छन् । 
    प्रमुख पर्यटकीय स्थलहरू 
     काउलेडाँडा अम्रिसो बगैँचा, नेपालमै नमूना हावाबाट बिजुली उत्पादन स्थल, जुरे गुफा, मगरी संग्रहालय, मगरी कुडुले घर ( गोलो घर), मगरी होम स्टे, लेकडाँडा पर्यापर्यटन र थुम्किडाँडा सहलकोट । 
    भावी योजना 
    गाउँपालिकालाई पर्यापर्यटनमा विकास गर्ने, प्रत्येक वडा वडामा मगर होम स्टे सञ्चालन गर्ने, तराईवासीलाई जाडोमा घाम तपाउन र गर्मीमा चिसो हावापानी खुवाउने स्थलको रूपमा विकास गर्ने,  तराईका पर्यटकहरूको गन्तव्यको रूपमा विकास गर्ने, स्थानीय कला संस्कृति भेषभुषालाई पर्यटनसँग जोड्ने र प्रत्येक वडामा खेलमैदान निर्माण खेलाडी पर्यटक भित्र्याउने योजना रहेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए ।

    ७) माथागढी गाउँपालिका
    यो गाउँपालिकाको नाम वडा नंं. ५ मा रहेको माथागढी ऐतिहासिक युद्ध पर्यटकीय स्थलबाट राखिएको छ ।  नेपाल अंग्रेज युद्धमा  नुवाकोट क्षेत्र र माथागढी क्षेत्रबाट आक्रमण गर्ने योजना अंग्रेजले बनाएपछि दोस्रो ठूलो फौज माथागढी क्षेत्रमा खटिएको थियो । 
    प्रमुख पर्यटकीय गन्तव्यहरू 
    माथागढी, कौडेलेक, सराई फूलबारी तथा लखनथापा पार्क, बहादुरपुर सत्यवती ताल, महलपोखरी हिल स्टेशन, रहवास  पिकनिक क्षेत्र र लघु जलविद्युत् पर्यटकीय क्षेत्र ।
    भावी योजना 
    माथागढी, कौडेलेक, ओलेस क्षेत्र, लखनथापा पार्कलगायतका पर्यटकीय स्थानहरूमा आवश्यक पूर्वाधारहरूको निर्माण गर्ने, पर्यटकीय स्थल सम्म पुग्ने बाटोघाटोलाई व्यवस्थित बनाउने, पर्यटकीय स्थलहरूमा फ्रि वाइफाई जोन निर्माण गर्ने जस्ता योजना रहेको पालिका अध्यक्ष यम बहादुर चिदीले बताए । 

    ८) तिनाउ गाउँपालिका 
    यो गाउँपालिकाको नाम तिनाउ नदीको नामबाट राखिएको छ । तिनाउ गाउँपालिकामा अनगिन्ती पर्यटकीय सम्भावना रहेको पाइन्छ ।  तिनाउ गाउँपालिका अधिकांश स्थान हिल स्टेशनको रूपमा रहेकोले बुटवल, तिलोत्तमा, सैनामैना र भारतसँगको नजिकको दुरी पर्यटकहरू तिनाउका विभिन्न क्षेत्रमा पुग्ने गरेका छन् । 
    प्रमुख पर्यटकीय स्थलहरू 
    झिंगामारा हिल स्टेसन, दोभान नुवाकोट गढी, अविरल पार्क, सुकेताल, सिद्धबाबा मन्दिर, रामापिथेकश पार्क, भूतखोला सिद्धसरोवर झरना, भर्तिहरी पाक, खुलखुले पार्क, कामाख्या मन्दिर बसन्तपुर क्षेत्र, सत्यवती ताल, सत्यवती बजै, बिस्कुनडाँडा मरानकोट डाँडा र मस्याम जन्तीलुङ्ग डाँडा । 
    भावी योजना 
    मस्याम जन्तीलुग्ङ, मरामकोट, सत्यवती क्षेत्रलाई तिनाउको हिल स्टेसन तथा मुख्य पर्यटकीय स्थलको रूप्मा विकास गर्न पालिका र प्रदेश सरकारको सहकार्य करीव २ करोड लगानीमा मुख्यमन्त्री  नवप्रवर्तन कार्यक्रम सञ्चालन भएको छ । पालिकाका सम्भावित पर्यटकीय स्थलहरूमा आवश्यकताको आधारमा लगानी गर्दै जाने र तिनाउलाई जिल्लाकै पर्यटकीय हवको रूपमा विकास गर्ने योजना रहेको पालिका अध्यक्ष प्रेम श्रेष्ठले बताए । 

    ९) तानसेन नगरपालिका 
    तानसेन नगरपालिका ऐतिहासिक नगरपालिका हो । नेपालमा ७ वटा नगरपालिका घोषणा हँुदा वि.स. २००७ सालमा घोषणा भएको तानसेन नगरपालिका हो । तानसेन नगर पहाडी रानीको नामबाट परिचित रहँदै आएको छ । 
    तानसेनका पर्यटकीय स्थलहरू 
     रानीमहल दरबार, श्रीनगर पार्क ( सेन पार्क), करूवा भ्यू टावर, पाल्पा दरबार संंग्रहालय, शित्तलपार्टी तथा मुल ढोका, लडाइँ जितेकोमा बनेको भगवती मन्दिर, उच्च स्तरको काष्टकला भएको अमर नारायण मन्दिर, रूरू क्षेत्रधाम रिडी, गुफाचौर क्षेत्र, मदनपोखराको कृषि पर्यटन, सेल्फीडाँडा  र जुरे गुफा ।
    तानसेनको भावी योजना
    तानसेन नगरपालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय स्थलहरूको पर्यटकीय पूर्वाधारहरूको विकास गर्ने, सबै पर्यटकीय स्थलहरूमा फ्रि वाईफाईको व्यवस्था गर्ने, पर्यटकीय तथा धार्मिक स्थलमा खानेपानी, शौचालय तथा विश्राम स्थलको व्यवस्थापनलगायतका कामहरू गर्ने नगरप्रमुख सन्तोषलाल श्रेष्ठले बताए । 

    १०) रैनादेवी छहरा गाउँपालिका 
    यो गाउँपालिकाको नाम पश्चिम पाल्पाको एक चर्चित मन्दिरको नाम रैनादेवीबाट रहन गएको हो । यो सदरमुकाम तानसेनबाट ३० किलोमिटर पश्चिममा पर्दछ । यस गाउँपालिकामा गुल्मी, अर्घाखाँची र रूपन्देहीका विभिन्न सडकहरूमा प्रवेश गर्न सकिन्छ । 
    प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरू 
    अमरपुरी धाम, मच्छेन्द्रा देवी मन्दिर, रैनादेवी मन्दिर, तिलकथान पार्क, घुर्चुले कालिका देवी मन्दिर, बल्ढेङ्गढी, निमीचौर झरना र जलुके झरना, झेरूङ गढी लेक र दालचिनी तथा सुन्तला पर्यटन ।
    रैनादेवी छहराको भावी योजना 
    पालिकाले ८ वटै वडामा पर्यटकीय पूर्वाधार निर्माण, सवारी साधनको लागि बाटो घाटो निर्माण गर्ने तथा निश्चित पैदल पदयात्रा निर्माण गर्ने, फ्रि वाईफाई जोन निर्माण, विश्रामस्थल, खानेपानी, शौचालय तथा वनभोज स्थलको रूपमा पूर्वाधारहरू निर्माण गर्ने, पाल्पाकै अग्लो लेकको रूपमा रहेको झेरूङ गढी लेकलाई प्रचारप्रसार गर्नेलगायतका योजना रहेको पालिका अध्यक्ष रूक्माङ्गत भट्टराईले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij