रामबहादुर गुरूङ
देवदह प्राचीन, ऐतिहासिक, धार्मिक, प्राकृतिक सौन्दर्यताले भरिपूर्ण पर्यटकीय रूपमा महत्वपूर्ण ठाउँ हो । यहाँ भवानीपुर, कन्यामाई, वैरी माई, खयरडाँडा, पाकरी वृक्ष, रोहिणी नदी, देवदह दह, सिमसार क्षेत्र, नागनाथ, सरनवारी, सिसपुर, देवीदमार, सूरजपुरा, विभिन्न पार्कहरूलगायतका महत्वपूर्ण ठाउँहरू छन् । ती मध्येको केही स्थानहरूको छोटकरीमा जानकारी यसप्रकार छ ।
माथागढी किल्ला
देवदहको आसपासमा युद्धको पहिचान खुल्ने किल्लाहरू धेरै भेटिन्छन् । ती किल्लाहरू मध्ये देवदहको सबैभन्दा उच्च स्थानमा माथागढी किल्ला रहेको छ । माथागढी किल्लामा बसेर नेपालीहरूले युद्ध गरी विजय प्राप्त गरेका थिए । माथागढी किल्लामा तत्कालीन योद्धाहरूले निर्माण गरेको सुरक्षा पर्खाल, युद्धमा प्रयोग गरिएका हतियारहरू अहिले पनि अवलोकन गर्न सकिन्छ । साथै पर्यटकीय दृष्टिकोणले पनि माथागढी महत्वपूर्ण रहेको छ । माथागढी डाँडाबाट रूपन्देही, पाल्पा र नवलपरासीका मनोरम दृश्य तथा हिमालहरू स्पष्ट अवलोकन गर्न सकिन्छ । माथागढीमा भव्य मन्दिरको निर्माण गरी गोरखाको मनकामना, नवलपरासीको मौलाकालिका र बुटवलको गोलपार्कदेखि बसन्तपुरसम्म केबुलकार सञ्चालन गरे झैं केबुलकार सञ्चालन गर्न सकिन्छ ।
सरनबारी
देवदह ६ मा रहेको सरनबारी गाउँ प्राकृतिक तथा साँस्कृतिक रूपले निकै महत्वपूर्ण छ । भौगोलिक रूपमा चारैतिरबाट चुरे पहाडले घेरेर रहेको यो गाउँ अर्गानिक कृषि खेतीका लागि प्रसिद्ध छ । मगर जातिको बाहुल्यता रहेको सरनवारीमा साँस्कृतिक विविधताका रूपमा सोरठी, ठाडो भाकालगायतका गीत गाउने गरिन्छ । सरनबारीमा होम स्टे सञ्चालन गर्न सकिन्छ । पूर्वपश्चिम राजमार्गको शीत्तलनगरदेखि करिब ३ कि.मि. उत्तर तर्फ पहाडको काखमा यो गाउँ रहेको छ । यो गाउँको माथिल्लो भागबाट देवदहलगायत तराईका विभिन्न भागहरूको अवलोकन गर्न सकिन्छ । देवदह नगरपालिकाले यस क्षेत्रलाई सिमी पकेट क्षेत्रको रूपमा घोषणा गरेको छ र विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
देव दह (देवदह)
प्राचीन समयमा ऋषि तपस्वीहरूले स्नान गर्ने (नुहाउने) पवित्र पोखरीलाई नै देव दह भनिएको हो । देवदह नगरपालिका वडा नं. ९ घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनभित्र देव दह रहेको छ । देव दहमा सेता, राता र गुलावीलगायत अनेकौं फूलहरू फुल्ने भएकाले बौद्ध धर्ममा यस पोखरीलाई पुष्करिणी दहको रूपमा चिनिन्छ । अहिले दहको सौन्दर्यीकरण भएको छ । देवदहको विभिन्न स्थानहरूमा प्राचीन कुवाँ, ताल तथा पोखरीहरू पर्याप्त मात्रामा रहेका छन् । पेटवानिया गाउँमा ऐतिहासिक कुवा रहेको छ । देवदह ७ वंगालीमा पनि बौद्धकालीन कुवाहरू रहेका छन् ।
पाकरी वृक्ष :
देवदह वडा नं. ९ मा रहेको पाकरी वृक्ष एशियाका ठूला र पुराना वृक्षहरूमध्ये एक मानिन्छ । यस वृक्षको परिधि करिब ८२ फिट र उचाइ ९६ फिट रहेको छ । यसका हाँगाहरू व्यापक रूपमा फैलिएका छन्, जसले करिब ५०० फिटको परिधि ओगट्छ ।
स्थानीयको दाबीअनुसार, यो वृक्ष गौतमबुद्धको समयमा रहेको मानिन्छ । यो वृक्षको विशेषता के छ भने यसमा गिद्ध, काग जस्ता चरा बस्दैनन्, र हात्तीहरू पनि यस वृक्ष नजिक जान हिचकिचाउँछन् । स्थानीयहरू यसलाई पवित्र मान्छन् । यसलाई हानि पुर्याउँदा अशुभ हुने विश्वास छ ।
पूर्व–पश्चिम राजमार्गको खैरेनी बजारबाट करिब २ किलोमिटर दक्षिण–पश्चिममा रहेको यो वृक्षको ऐतिहासिक र साँस्कृतिक महत्वका कारण, यो स्थल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।
सिसपुर
देवदह ३ मा सिसपुर गाउँ छ । खैरेनीबाट पाँच किलो मिटर दक्षिणमा रहेको यो गाउँमा थारू समुदायको बाहुल्यता छ । थारूहरूको परम्परागत कला संस्कृतिलाई अवलोकन गर्न र बुझ्न सिसपुर महत्वपूर्ण साँस्कृतिक गाउँ मानिन्छ । यस क्षेत्रमा होम स्टे सञ्चालन गर्न सकिन्छ । यस गाउँमा पर्यटकहरूले थारूहरूको परम्परागत खाना, घोगी, माछा, हाँस, ढिकरी, परेवा लगायतका परिकारको स्वाद लिनुका साथै लाठी नाच, थारू नाँच जस्ता कार्यक्रमहरूबाट थप मनोरञ्जन प्राप्त गर्न सक्दछन् । पर्यटकहरूको लागि यो ठाउँ गन्तव्य बन्न सक्छ ।
सिमसार क्षेत्र
देवदह नगरपालिका वडा नं. ९ घोडाहाको उत्तरतर्फ नागथान क्षेत्रभित्र हाल सिमसार क्षेत्र रहेको छ । यस क्षेत्रमा निरन्तर रूपमा पानी निस्किरहने गर्दछ । निरन्तर रूपमा पानी निस्किरहने कारण यहाँ विभिन्न प्रकारका जनावर तथा चराचुरूङ्गीहरू देख्न पाइन्छ । यस स्थानमा वनभोज तथा अवलोकनका लागि वरपरका स्थानीयवासीहरू आउने गर्दछन् । यो ठाउँ प्राकृतिक रूपले निकै शान्त र रमणीय मानिन्छ ।
कोलीय गणराज्य
गौतमबुद्धको समयमा साना–साना राज्यहरू धेरै थिए । त्यसलाई गणराज्य पनि भनिन्थ्यो । कोलीय राज्य पनि त्यसैमध्ये एउटा गणराज्य थियो । यसअन्तर्गत विशेषगरी देवदह र रामग्राम क्षेत्र पर्दथ्यो । यहाँ कोलीयहरूले राज्य गर्दथे । त्यसैले यसलाई कोलीय गणराज्य भनिएको हो । यसको राजधानी देवदह थियो ।
गौतम बुद्धको समयभन्दा धेरै पहिले बनारसमा राम नामका राजा थिए । कुष्ठरोगबाट ग्रसित भएकोले उनलाई देश निकाला गरिएको थियो । उनी सम्पूर्ण राजकाज आफ्नो छोरालाई सुम्पेर जङ्गलतिर पसेका थिए । जङ्गलभित्र डुल्दै जाँदा रामग्राममा आइपुगे । त्यहाँ एउटा ठूलो कोलको वृक्ष थियो । उनी त्यसैमुनि बस्न लागे । औषधी गर्दा समेत उनलाई कुष्ठरोग निको भएको थिएन । अन्तमा कोलको फल र पातबाट उनको रोग निको भयो । त्यसैबेला साकेता भन्ने ठाउँका राजा इक्छ्बाकुका जेठी रानीपट्टिका पाँच छोरी र चार छोराहरूलाई पनि कान्छी रानीले देश निकाला गरिदिएकी थिइन् ।
त्यसपछि उनीहरू कपिलवस्तुमा आएर बसेका थिए । ती चार छोरा र छोरीहरू आपसमा बिहे गरी त्यहीँ नै घरजम गरी बसे । जेठी दिदी भाइबहिनीहरूको संरक्षक भएर बसिन् । उनको नाम प्रिया थियो । पछि उनी पनि कुष्ठरोगबाट ग्रसित भएकोले कपिलवस्तु छोडेर गए । संयोगवस प्रिया र रामको भेट भयो । रामले प्रियालाई पनि उपचार गराइदिए । यिनीहरू दुई जना त्यहीँ घरजम गरी बसे । यी दम्पतिबाट धेरै सन्तान जन्मिए । यिनै सन्तानलाई कोलीय भनियो । त्यहाँ यिनीहरूले कोलको रूखहरूलाई हटाएर नगर बसाले । यसलाई कोलीय नगर नाम राखियो ।
कोलीयहरूले राज्य गरेकाले यसको नाम कोलीय गणराज्य रहन गयो । देवदहमा कपिलवस्तुबाट गएका शाक्यहरू पनि बस्दथे । कपिलवस्तुका शाक्यहरू र कोलीयहरूबिच धेरै पहिलादेखि नै वैवाहिक सम्बन्ध थियो । कपिलवस्तुका राजा शुद्धोधनका दुबै रानीहरू मायादेवी र प्रजापति देवदहकै राजकुमारीहरू थिए । सिद्धार्थ गौतमको विवाह पनि यहीकै राजकुमारी यशोधरासँग भएको थियो । त्यसैले यो सिद्धार्थ गौतमको मावली तथा ससुराली राज्यको रूपमा प्रसिद्ध छ । यसकारण बौद्ध इतिहासमा कोलीय गणराज्यको विशेष महत्व छ ।
देवदह साथै रोहिणी नदी तात्कालीन कोलीय गणराज्यअन्तर्गत पर्ने ऐतिहासिक, पुरातात्विक तथा बौद्ध धार्मिक स्थलको रूपमा लिन सकिन्छ । जसको विषयमा बौद्ध ग्रन्थहरूमा प्रशस्त ब्याख्या छ । त्यसैगरी चिनीयाँ तीर्थयात्रीहरू आफ्नो भ्रमणको क्रममा यी ठाउँहरूमा पनि आएको कुरा उनीहरूको यात्रा विवरणमा पाइन्छन् । यस कुराले कोलीय गणराज्यभित्र पर्ने देवदहलाई प्राचीनकालदेखि नै महत्वपूर्ण तीर्थस्थल रहेको प्रमाणित गर्छ ।
प्राचीन कोलीय गणराज्यअन्तर्गत पर्ने यी ऐतिहासिक सम्पदाहरू नेपालका अमूल्य सम्पत्ति हुन् । विश्वभरिका धार्मिक पर्यटकहरू यहाँको दर्शन गर्न आउन सक्छन् । यसर्थ यसको थप अध्ययन, अनुसन्धान, व्यवस्थापन गर्न सकेमा आर्थिक विकासको प्रमुख आधार हुने सम्भावना देखिन्छ । यसको उचित उत्खनन् गरी संरक्षण सम्बद्र्धन गर्नु हाम्रो कर्तव्य हो । यसअन्तर्गतका क्षेत्रहरूलाई धार्मिक, ऐतिहासिक, आध्यात्मिक तथा पुरातात्विक दृष्टिकोणले बुद्धधर्मको विषयमा थप जिज्ञासुहरू, विश्वका बौद्ध विद्वानहरूका लागि एउटा अध्ययन अनुसन्धान गर्ने आकर्षक केन्द्रको रूपमा विकास गर्न सकिन्छ ।
विभिन्न पार्कहरू
देवदहका विभिन्न ठाउँहरूमा पार्क तथा उद्यानहरू रहेका छन् । गौतम बुद्ध राष्ट्रिय उद्यान (काष्ठकला) आन्तरिक तथा बाह्य पर्यटकको लागि निकै प्रख्यात छ । देवदह नगरपालिका वडा नं. ८ मा मायादेवी पार्क रहेको छ । जहाँ हरेक वर्ष बुद्ध जयन्तीका दिन मेला लाग्ने गर्दछ । पिकनिक स्थल सहित रहेको मायादेवी पार्कमा मायादेवी मन्दिर तथा तामाङहरूको चैत्य (गुम्बा) समेत निर्माण भएको छ । देवदह ७ शित्तलनगरमा देवदह आदर्श बहुमुखी क्याम्पसको सिधा अगाडि यशोधरा पार्क रहेको छ । देवदह ७ शीत्तलनगरमा मदन आश्रित पार्क रहेको छ । देवदह ७ मा अवस्थित स्मृति वनभित्र निर्माण भएको स्मृति पार्क पत्थरकलाले सजिएको छ । यो पार्क पनि पर्यटकहरूको लागि गन्तव्य बन्न सक्छ । यस्ता प्रशस्त पार्कहरूको निर्माणले देवदहलाई पर्यटन गन्तव्यको रूपमा पहिचान गराउन सक्नेछ ।
केउली, उजेरी, चरड्डे, मुढावास र दाउन्ने
देवदह नगरपालिका वडा नं. ६ र १० मा अवस्थित यी गाउँहरू पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण गन्तव्य बन्न सक्छन् । मुख्य राजमार्गबाट ३, ४ किलोमिटरको दुरीमा अवस्थित यी गाउँहरू पिकनिक स्थलका रूपमा चर्चित छन् । अर्गानिक फलफूल तथा तरकारी उत्पादन यहाँको मुख्य आम्दानीको स्रोत बन्न सक्छ । त्यसैगरी यी गाउँहरूमा होम स्टे , होटल तथा लजहरू सञ्चालन गर्न सके पोखराको लेकसाइडमा जस्तै पर्यटक लोभिन सक्छन् । यहाँको मानिसहरूको आयस्रोत वृद्धि भई कैयौं व्यक्तिहरूलाई रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ ।
रोहिणी सिचाइ बाँधमा जल पर्यटन
रोहिणी नदीमा हाल रोहिणी सिँचाइ बाँध निर्माण भइरहेको छ । यो बाँधले हालको ओमसतिया र रोहिणी गाउँपालिका तथा तिलोत्तमा नगरका केही क्षेत्रलाई सिँचाइ सुविधा उपलब्ध गराउने छ । बाँध रहेको स्थलमा जल पर्यटनको प्रवर्धन गर्न सकिने छ । यसका साथै तीन मिटर गहिराई, ३६०० मिटर लम्बाई र ५५ देखि ६० मिटर चौडाइको यस जलाशयले जमिनको पानीलाई चार्ज गर्ने हुनाले प्राचीन रोहिणी नदीमा निर्माण भइरहेको यो बाँध निकै महत्वपूर्ण मानिएको छ । यदि यो बाँधलाई मनोरञ्जनको रूपमा प्रयोग गर्न सकियो भने बोटिङलगायत अन्य खेलहरू सञ्चालन गरी पर्या पर्यटक भित्र्याउन सकिन्छ ।
कामधेनु गौशाला
देवदह नगरपालिकाको वडा नं. १०, भलुहीमा रोहिणी नदीको पश्चिमपट्टी गौशाला रहेको छ । यही रोहिणी नदी बौद्धकालीन समयमा कोलीय र कपिलवस्तु राज्यको सीमानाका रूपमा रहेको थियो । गौशालामा सिद्धेश्वर महादेवको मन्दिर रहेको छ । यही मन्दिरको पछाडि वि.स. २०७४ जेठ ९ गते गौशाला निर्माण गरिएको थियो । गौशालामा शिव मन्दिर, गणेश मन्दिर छन् । शिव मन्दिरभित्र अत्यन्तै सुन्दर विशाल शिवलिङ्ग तथा सिद्धेश्वर महादेवका मूर्ति रहेको छ भने बाहिर १०८ शिवलिङ्ग स्थापित गरिएको छ । यहाँ वि.स. २०७७ सालदेखि गुरुकुल शिक्षाको सुरूवात भएको छ । उत्तर तर्फ रोहिणी नदी, दक्षिणतर्फ पूर्वपश्चिम राजमार्ग, पश्चिम–उत्तर रोहिणी सामुदायिक वनको घना जङ्गल रहेको गौशाला ध्यान र साधनाका लागि पनि महत्वपूर्ण छ । यहाँ नित्य गाइको आरती हुन्छ । गाइतिहार र गोपाष्टमीमा गौशालामा मेला लाग्दछ । त्यसकारण धार्मिक पर्यटकलाई आकर्षित गर्न यो ठाउँ निकै महत्वपूर्ण छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय
देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालयको ठूलो संरचना बन्दैछ । यहाँ नेपालीसँगै संसारभरिका बौद्ध दर्शन अध्ययन गर्न आउने अध्ययन केन्द्रको रूपमा विकास हुने सम्भावना छ । समयसापेक्ष विषयहरू पढाउन सके विद्यार्थीहरू प्रशस्त मात्रामा आउन सक्छन् । यसले गर्दा शैक्षिक पर्यटक बढाउन सकिन्छ । देवदह पर्यटन विकासका लागि धेरै सम्भावना बोकेको ठाउँ हो । पर्यटकहरूलाई आकर्षित गर्नको लागि देवदहले अझ धेरै कुराहरूमा ध्यान दिन आवश्यक छ ।
पर्यटक लोभिने भनेको सुन्दरताले नै हो । त्यसकारण हरेक पर्यटकीय स्थानहरू सधँै सफासुग्घर र मनमोहक हुन आवश्यक छ । देवदह धार्मिक स्थल पनि भएकोले सरसफाइको निकै महत्व राख्दछ । मठ, मन्दिर, पार्क, खेल मैदान र बाटोघाटो सफसुग्घर र सजिसजाउ हुन आवश्यक छ । यी ठाउँहरूमा हरियाली प्रवर्धन र सौन्दर्यकरण हुन आवश्यक छ । पर्यटक त्यो ठाउँमा पुगेपछि घुमिरहन मन लाग्ने र फोटो खिचिरहन मन लाग्ने खालको हुनुपर्दछ । यस्ता ठाउँहरूमा सशुल्क प्रवेश गराउन सके आम्दानीको स्रोत बन्न सक्छ र विकास निर्माणले गतिलिन सक्छ । (लेखक देवहका पत्रकार हुन् )




