मुकेश पोखरेल
संरक्षणलाई आर्थिक उपार्जनसँग जोड्दा त्यसबाट ठूलो जनसंख्याले रोजगार प्राप्त गर्न सक्छ । कोराना महामारीले २०७६ को चैतबाट लकडाउन सुरु भयो । त्यसपछि घरभित्र बस्नु बाहेक विकल्प थिएन । दुई महीना जति त घरबाट रिर्पोटिङको काम गरेर समय गुजारेँ । तर, सधैँभरी त्यसो गरेर सम्भव थिएन । स्थानीय समुदायसँग अन्तरक्रिया गर्ने, उनीहरूका समस्या र अवसरका कथाहरू लेख्न मलाई मन पर्छ । अधिकांश मेरा रिर्पोटिङ स्थानीय समुदायसँग जोडिएका हुन्छन् ।
लकडाउनका बिचमा मैले चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज र त्यस वरपर बस्ने समुदायसँग अन्तरक्रिया गर्ने निर्णय गरेँ । र, बर्दिया र चितवनका मध्यवर्ती क्षेत्रमा सक्रिय, होटल व्यवसायी, नेचर गाइड, होमस्टे सञ्चालकसँग अन्तरक्रिया गरेँ ।
यहाँ म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्यामा वृद्धिभएसँगै त्यहाँको पर्या–पर्यटन (इकोटुरिजम) मा कस्तो प्रभाव परेको छ र स्थानीय समुदायले कसरी लाभ प्राप्त गरिरहेका छन् भन्ने बारेमा चर्चा गर्दैछु । बर्दिया राष्ट्रिय निकुञ्ज लुम्बिनी प्रदेशको गौरव हो । संवैधानिक प्रबन्धअनुसार राष्ट्रिय निकुञ्ज संघको अधिकार क्षेत्रभित्र रहेको छ । सुरुमा कर्णाली वन्यजन्तुको आरक्षको रूपमा स्थापित यो निकुञ्ज २०४५ सालमा बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा घोषणा गरियो । तराईमा भएका राष्ट्रिय निकुञ्जमध्ये बर्दिया राष्ट्रिय निकुञ्ज सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघ, एकसिंगे गैंडा, चितुवा, घोडगधा,जरायो, चित्तल, लगुना, बाह्रसिङ्गा र जंगली हात्तीलगायत ५६ प्रजातिका स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन् । निकुञ्जमा अहिलेसम्म त्यहाँका रैथाने र बसाई सरी आउने गरी ४३८ थरी रैथाने चराहरूको अभिलेख गरिएको छ ।
बाघ र बर्दिया
बर्दिया राष्ट्रिय निकुञ्ज पाटे बाघको घरका रूपमा चिनिन्छ । सन् २०२२ मा गरिएको गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा बाघ रहेका छन् । यो नेपालमा रहेका कूल ३५५ बाघको ३५.२१ प्रतिशत हो । संख्याका हिसावले सवैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा रहेपनि बर्दियामा बाघ सहजै देख्न सकिने भएकाले बाघ अवलोकनका लागि मानिसहरू बर्दिया पुग्छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार, आर्थिक वर्ष २०२३/०२४ मा मात्र बर्दिया राष्ट्रिय निकुञ्जमा १४ हजार ४९४ मानिसहरूले भ्रमण गरे । त्यसमध्ये ३ हजार ३५५ विदेशी पर्यटक रहेका छन् । बाघका लागि पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जमा पुग्दा एकातिर प्रत्यक्ष रूपमा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले टिकट बिक्री वापत आम्दानी गरेको छ भने त्यसको अप्रत्यक्ष लाभ ठूलो रहेको छ ।
बर्दिया जाने पर्यटकबाट स्थानीयस्तरमा थुप्रै रोजगारका अवसरहरू सिर्जना भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक घुमाउने पथप्रदर्शकको संख्या १०० भन्दा बढी छ । उनीहरू पर्यटकलाई घुमाएर आर्थिक उपार्जन गरिरहेका छन् । पथप्रदशकको आम्दानीमा नै परिवार आश्रित छन् । करिव २०० जतिले पथप्रर्दशकको तालिम प्राप्त गरेको भए पनि १०० पूर्णकालीन रूपमा कार्यरत रहेका छन् ।
त्यसैगरी, बर्दियाको ठाकुरद्वारा र त्यस आसपासमा करिव ४० होटल बाघ हेर्न बर्दिया पुग्ने पर्यटकहरूबाट चलेका छन् । बाघ हेर्ने लोभमा बर्दिया पुग्ने मानिस नै होटलका मुख्य पाहुना हुन् । त्यसबाहेक बर्दिया निकुञ्जका आसपासमा करिव १० वटा गाउँमा सामुदायिक होमस्टे सञ्चालनमा छन् । ती गाउँका १०० भन्दा बढी घरमा सञ्चालित होमस्टेका मुख्य पाहुना पनि बर्दिया घुम्न जाने मानिस नै हुन् ।
एक होटल र होमस्टेमा चार जनाले सरदरमा प्रत्यक्ष रोजगारी प्राप्त गरेको मान्ने हो भने ४५० जनाले रोजगार प्राप्त गरेका छन् । तर, अप्रत्यक्ष रूपमा रोजगार प्राप्त गर्ने संख्या चाँहि धेरै ठूलो रहेको छ । मानिसहरू होटलमा बस्दा त्यहाँ दूध, दहि, माछा, मासु, फलफूल तरकारी आदि खपत हुन्छ । ती अन्न तथा तरकारी उत्पादन गर्ने किसान अप्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् । मानिसको संख्या वृद्धि हुँदा स्थानीय सवारी चालक, रिक्सा चालक आदिले पनि रोजगारी प्राप्त गरिरहेका हुन्छन् । जुन लाभ प्रत्यक्ष रूपमा जोडिंदैन् ।
निकुञ्ज कार्यालयका अनुसार, बर्दिया राष्ट्रिय निकुञ्जमा घुम्न जाने मानिसको अधिकतम संख्या २० हजार भन्दा बढी छैन । २० हजार मानिस बर्दिया पुग्दा यतिधेरै मानिसले रोजगारीका अवसरहरू प्राप्त गर्न सक्छन् भने एकछिन अनुमान गरौं बर्दियामा वार्षिक १ लाख मानिसहरू भ्रमणका लागि जाने हो भने त्यहाँ अवसरहरू कति प्राप्त हुन सक्छन् ? वास्तवमा २० हजार संख्या त बर्दियाका लागि केही पनि होइन् । बर्दियाले १ लाख मानिस पनि धान्न सक्छ । किनभने बर्दिया राष्ट्रिय निकुञ्जको क्षेत्रफल र त्यहाँको भौगोलिक अवस्थितिले १ लाख मानिस धान्न सक्ने क्षमता राख्छ ।
यसकारण आवश्यक छ संरक्षण
वन्यजन्तुको आक्रमणका घटनाले गर्दा संरक्षणको आलोचना नगरेको होइन । खासगरी केही सामुदायिक संस्थाहरूले बाघको संख्यामा वृद्धि भएको र त्यसकारण मानिसहरू माथि आक्रमणका घटना वृद्धि भइरहेको वकालत गरिरहेका छन् ।
घटनाको विश्लेषण गर्दा मानव वन्यजन्तु द्वन्द्वका घटनामा वृद्धि भएका छन् । वन्यजन्तुबाट हुने आक्रमण पनि विगतमा भन्दा बढेका छन् । तर, त्यसमा मानिसको कति दोष छ भन्ने कुरा पनि विश्लेषण हुन जरूरी छ । अहिलेसम्मका घटनामा बाघले घरमै आएर आक्रमण गरेको छैन । धेरै ठाउँमा मानवीय गल्ती प्रमुख कारण देखिन्छ ।
यसको अर्थ यो होइन कि मानवीय मूल्य र उसको जीवन बाघभन्दा ठूलो होइन् । पक्कै पनि मानवीय मूल्य महत्वपूर्ण हो । तर, मानिसले आफ्ना व्यवहार परिवर्तन गर्न जरूरी छ । यदी मानिसले आफ्ना व्यवहार परिवर्तन गर्ने हो भने बाघलगायत वन्यजन्तुको आक्रमणबाट बच्न सक्छ । संरक्षणले एकातिर आर्थिक रूपमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्थानीय समुदायलाई लाभ पुर्याइरहेको छ । अर्कोतर्फ पर्यावरणीय रूपमा पुर्याइरहेको (इकोसिस्टम) सेवाको ठूलो योगदान रहेको छ ।
संरक्षणको काम निकुञ्जमा रहेका वन्यजन्तुको सुरक्षा र उनीहरूको रेखदेख मात्र होइन् । संरक्षण मानवीय जीवन र आर्थिक उपार्जनका लागि आवश्यक छ । झट्ट हेर्दा वनमा संरक्षण वनजंगलमा हुने वन्यजन्तुको सुरक्षा र उनीहरूको रेखदेख जस्तो देखिए पनि त्यसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्राप्त गर्ने मानिसले नै हो ।




