२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जाउँ है घुम्न रूकुम

जाउँ है घुम्न रूकुम

जाउँ है घुम्न रूकुम

जाउँ है घुम्न रूकुम

जाउँ है घुम्न रूकुम
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • महेश क.सी./ रूकुम पूर्व । चाहे कलाकार अमृत गुरूङले आजभन्दा झण्डै एक दशकअघि गाएको ‘शिरफूल शिरैमा…’ होस् वा हालसालै सुरेन्द्र राणाले लेखेको ‘रूकुम मैकोट…’ गीत होस् । यी दुबै गीतमा रूकुमकोे चर्चा पाइन्छ । युटुवमा दशौं करोड पटक हेरिएका यी गीतका शब्दहरूमा झैँ रूकुम पूर्व साँच्चै सुन्दर छ, मनोरम् छ अनि छ घुम्नलायक पनि । 

    लुम्बिनी प्रदेशको सबैभन्दा अग्लो ७ हजार २ सय ४६ मिटर उचाईमा रहेको पुथा हिमालको शिरदेखि झण्डै ११ सय मिटरको उचाईमा रहेको पोखराको तातोपानीको मुहानसम्म फैलिएको रूकुम पूर्वलाई नेपाल सरकारको ‘उत्कृष्ट यात्रा गन्तव्य’का रूपमा समेत समेत सूचीकृत गरेको छ । 

    कुल १ लाख १३ हजार ५ सय २३ हेक्टर क्षेत्रफलमा फैलिएको रूकुम पूर्वमा तीनवटा पालिका रहेका छन् भने यसलाई देशको ‘कान्छो जिल्ला’ पनि भनिन्छ । २०१८ सालमा साविकका सल्यान र जाजरकोटबाट छुट्टिएर रूकुम छुट्टै जिल्लाका रूपका कायम भएको थियो । त्यसपछि जिल्ला सदरमुकाम रहेको रूकुमकोटबाट वि.सं. २०३० सालमा जिल्ला सदरमुकाम मुसिकोट सारिएको थियो । पछि २०७३ सालमा संघीयताको आवधारणाअनुसार राज्यको पुनःसंरचना गरिएपछि रूकुमको पूर्व र पश्चिम भाग छुट्टाछुट्टै जिल्लाकायम भए । सदरमुकाम भयो रूकुमकोट । यसकारण यसलाई ‘कान्छो जिल्ला’ भन्ने गरिएको हो । 

    यसबाहेक लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पनि हो रूकुम पूर्व । अरू ११ जिल्लाभन्दा अलि फरक परिचय र चिनारी बोकेको यो जिल्लामा अर्गानिक कृिष र पर्यटकीय दृष्टिले अथाह सम्भावना भएको ठाउँ हो । पुथासँगै ५ हजार मिटरभन्दा माथिका सिस्ने, दोगारी, सामजङ र निम्कु हिमाल यहाँ रहेका छन् भने कमलताल, पुपाल दह, गुप्ता दह, सुन दह र साम्पेलगायतका विभिन्न तालतलैयाको सुन्दरताको बयान शब्दमा सायदै गर्न सकिएला ।

    धौलागिरी हिमालको पश्चिम भागमा रहेको नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनको ६० प्रतिशत भू–भाग पनि यही जिल्लाका पर्छ । सिस्नेतिर बनघारी भाका र पैसेरूको लहरोमा नाचिन्छ भने भुमे र पुथातिर यानीमाया भाकामा गीत गाउँदै भुमे नाचमा छमछम नाचिन्छ । भाषादेखि भुगोल अनि रीति–संस्कृतिदेखि जीवनशैलीमा समेत विविधता पाइने रूकुम पूर्वमा यही अनेकतालाई एकताको डोरीले बाधेको छ । 

    भुमे गाउँपालिकाका पूर्व अध्यक्ष रामुसुर बुढा भन्छन्‌–‘जनसंख्याका हिसाबले हेर्ने हो भने यहाँ जनजाति त्यसमा पनि खासगरी मगर खाम भाषा बोल्नेहरूको बाहुल्यता छ । विविध भाषा–भाषीहरूको पनि आफ्‌नै परिचय छ । आपसको हाम्रो प्रेम नै जिल्लाको चिनारी हो ।’ 

    पर्यटन व्यवसायी रूकुम पश्चिमका मानबहादुर खत्रीले पोखराको तातोपानीमा नुहाएर रूकुमकोटको कमल दहको कमलको अचार चाख्दै महत, कोल, राङ्सी रतकसेरादेखि हुकाम–मैकोटका सुन्दर बस्तीहरू घुमेर हिमालतर्फ जान सकिने  बताउँछन् । ‘ढोरपाटनको बुकी घुमेर पुथा हिमालको काखमा डुल्दै–डुल्दै सुनदह र गुप्तादहको पानीलाई स्पर्श गरेर डोल्पासम्म पुग्न सकिन्छ,’ उनी भन्छन्‌–‘करिब १० दिन लामो यो पदयात्राले पर्यटकलाई अर्कै संसारमा लैजान्छ ।’ 

    विभिन्न प्राकृतिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक दृष्टिले निकै महत्वपूर्ण जिल्लाका रूपमा रूकुम पूर्वलाई चित्रित गर्न सकिन्छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र संघर्षको उद्गमस्थलका रूपमा समेत रहेको रूकुम पूर्व जिल्लाका मुल बाटोलाई ‘गुरिल्ला मार्ग’ समेत भन्ने गरिएको छ ।

    तत्कालीन माओवादीले आफ्‌नो ‘विशेष आधार क्षेत्र’ का रूपमा घोषणा गरेको ऐतिहासिक चुनबाङ आसपासबाट सुरु भएको यो मार्ग रूकुमकोटबाट डाँडैडाँडा हुँदै रूकुम पश्चिमको बाँफिकोटतर्फ अघि बढ्ने पर्यटन व्यवसायी मानबहादुर बताउँछन् । ‘गुरिल्ला मार्गलाई पनि व्यवसायिक पदमार्गका रूपमा विकास गर्न सकिन्छ । यसका लागि आजभन्दा झण्डै १५ वर्ष पहिले नै नक्सा  समेत बनाइएको छ । त्यसमा केही सामान्य हेरफेर र संशोधन गर्ने मात्रै हो भने पनि पर्यटकले रूकुम पूर्व र पश्चिम नियाल्दै यात्रामा निस्किन सक्छन् ।’–उनले भने ।

    कुल क्षेत्रफलको करिब १५ प्रतिशत मात्रै खेतीयोग्य जमिनरहेको रूकुम पूर्वलाई खाद्यान्न बालीका हिसाबले सुरक्षित मानिए पनि खानेबानीमा आएको परिवर्तनका कारण चामललगायतको खाद्यान्न आयात गर्नु परिरहेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रूकुम पूर्वका प्रमुख डिल्लीराज पौडेलले बताए । ‘यहाँ विशेष गरी खाद्यान्न बालीमा मकै, गहुँ, जौ र फापर उत्पादन हुन्छ भने धान एकदमै न्यून मात्रामा उत्पादन गरिन्छ,’–उनले भने–‘फलफूलमा स्याउ र सुन्तला तथा बर्खे आलु प्रशस्त पनि उत्पादन हुन्छ । यहाँको उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाउन सकेमा आयस्तरमा वृद्धि ल्याउन सकिने थुप्रै सम्भावना रहेको छ ।’ 

    रूकुम पूर्वलाई अर्गानिक वस्तु उत्पादन तथा प्राङ्गारिक जिल्लाका रूपमा पनि अघि बढाइरहेकोे प्रमुख पौडेलको भनाइ छ । साथै उनले यहाँको खेतीयोग्य जमिनको विस्तार र विकास गर्न सकिने कुरामा पनि जोड दिए । यसका लागि  किसान र स्थानीय सरकारको सक्रियता जरूरी हुने उनको भनाइ छ । 

    कृषि र पर्यटनका साथै रूकुम पूर्वको अर्को ठूलो सम्भावना भनेको हिमाली जडीबुटीको हो । जिल्ला प्रशासन कार्यालयको वेबसाइटमा उल्लेख गरिए अनुसार, यहाँ बहुमूल्य हिमाली जडीबुटी यार्चागुम्बुका साथै पाँचआंैले, कुरिलो, टिमुर, दालचिनी, गुर्जो, कटुकी, पाङर, बादलपाते, बोझो, हर्रो अमला, पदमचाल, सतुवा, हलहले, कुमकुम, चिराइतो, जटामसी, भलायो आदि जडीबुटीहरू पाइन्छन् । 

    मध्यपहाडी लोकमार्ग यहाँको मुख्य मार्ग हो भने घोराहीबाट रोल्पा हँुदै रूकुम पूर्वको मैकोटसम्म पुर्‍याउने गरी निर्माणाधीन सहिद मार्ग पनि यहाँको अर्को महत्वपूर्ण सडक हो । जिल्लाको करिब ८० प्रतिशत भू–भागमा सडक पहुँचमा भए पनि प्रायः सडक कच्ची नै भएकाले यसको गुणस्तरियतामा ध्यान दिन जरूरी छ । 

    रूकुम पूर्व अरू जिल्लाको दाँजोमा भौतिक विकासमा केही पछि परेको उल्लेख गर्दैै रूकुमकोट उद्योग वाणिज्य संघका अध्यक्ष केवेन्द्र गौतमले यसका लागि सम्बन्धित सबै लाग्नुपर्ने बताउँछन् । प्रशासनिक हिसाबले जिल्लालाई कान्छो भनिनु ठिकै हो, तर विकासमा पनि कान्छो बनाउनु भएन । यसका लागि तिनैका सरकारले विशेष ध्यान दिनुपर्‍यो । यहाँका सम्भावनालाई पहिल्याएर त्यसलाई विकास र रोजगारीसँग जोड्नुपर्‍यो । 

    रूकुम पूर्वलाई विकासको मार्गमा डोर्‍याउन आफ्‌नो तहबाट सक्रियताका साथ लागिरहेको बताउँदै यस क्षेत्रका प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले सडक विकासमा विशेष जोड दिइरहेको बताए । ‘निर्माणाधीन सहिद मार्गमा यस वर्ष बजेट छुट्याउने कुरामा सरकारले लापरबाही गरेको कुरा मैले जोडदार तरिकाले उठाएको छु । अगामी वर्षमा यसमा पर्याप्त बजेट विनियोजन गरेर यसको निर्माण सम्पन्न गर्न सकेमा सहजता आउने छ,’ उनले भने–‘साथै यहाँको ऐतिहासिकता र पर्यटकीय सम्भावनालाई पनि संस्थागत रूपमा विकास गर्न हरेक पालिकालाई पर्यटन गुरुयोजना बनाएर अघि बढ्न भनिएको छ । यसमा संघीय र प्रदेश सरकारको पनि साथ जरूरी छ । यसका लागि पहल तथा आवश्यक सहजीकरण गर्ने काममा कमी हुने छैन ।’

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij