२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ऐतिहासिक गुल्मी दरबार पुनर्निर्माणको सपना साकार हुँदै

ऐतिहासिक गुल्मी दरबार पुनर्निर्माणको सपना साकार हुँदै

वर्तमान गुल्मीदेखि १८औं शताब्दीसम्म अर्घाखाँची र बाग्लुङसम्म जोडिएको सिङ्गो गुल्मीको इतिहासको भण्डार  हो, ऐतिहासिक चारपाला दरबार ।

ऐतिहासिक गुल्मी दरबार पुनर्निर्माणको सपना साकार हुँदै

ऐतिहासिक गुल्मी दरबार पुनर्निर्माणको सपना साकार हुँदै

वर्तमान गुल्मीदेखि १८औं शताब्दीसम्म अर्घाखाँची र बाग्लुङसम्म जोडिएको सिङ्गो गुल्मीको इतिहासको भण्डार  हो, ऐतिहासिक चारपाला दरबार ।

ऐतिहासिक गुल्मी दरबार पुनर्निर्माणको सपना साकार हुँदै
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • गुल्मी । तत्कालीन गुल्मी राज्यको राजधानी  र हाल गुल्मीदबार गाउँपालिका—६ मा अवस्थित चारपाला दरबारको अभिलेखले चारपाला दरबार सिंगो गुल्मीको इतिहासको भण्डार हो भन्ने कुरा स्पष्ट हुन्छ ।   गुल्मीदरबार पर्यटकीय क्षेत्र पूर्वाधार विकास समितिले प्रकाशित गरेको ‘गुल्मीको गौरव विविध विशेषताहरूले भरिपूर्ण गुल्मीदरबार’ ब्रोसरमा विक्रम सम्वत् १४ सय ९३ सालमा स्थापना भएको गुल्मी राज्य पूर्वमा रिडी, पश्चिममा अर्घाखाँचीको मथुरा खोलासम्म, उत्तरमा हुग्दिशीर, शान्तिपुर र बाग्लुङ्गको ढोरपाटनसम्म, दक्षिणमा अगाहखोला,  कालीगण्डकी नदी किनारसम्म थियो र अहिलेको गुल्मीभन्दा निकै ठूलो थियो ।

    सन १४९३ मा  गुल्मी राज्यका प्रथम राजा वीर शाह थिए ।  दोश्रो  र तेश्रो राजाको अवस्था अज्ञात छ । चौथो राजाका रूपमा बिक्रम सम्वत १६०० मा रूद्र शाह थिए ।विस १६५० मा किर्ति शाह राजा थिए । छैठौं र नवौं राजाको अवस्था पनि अज्ञात छ । क्रमशः विक्रम १०औं देखि निरन्तर विभिन्न राजाहरू हुँदै विक्रम सम्वत १९३७  सम्मका  अन्तिम र  १९औं राजा थिए बमनबहादुर शाह ।  डाक्टर राजाराम सुवेदीद्वारा २०५३ सालमा प्रकाशित  ‘गुल्मी जिल्लाको ऐतिहासिक झलक’ नामक पुस्तकमा उल्लेख भएअनुसार अर्घाखाँची, मुसिकोट, धुर्कोट  र इस्माका राजाहरूले आ–आफ्नो थुम (राजा बस्ने टापु ) को रक्षार्थ राखिएका फौजलाई गुल्म भनिन्थ्यो र यसैबाट गुल्मी नामाकरण हुन गएको हो ।  त्यस्तै २०२५ सालमा भिष्मप्रसाद सुवेदीद्वारा प्रकाशित ‘गुल्मी जिल्लाको भुगोल’ नामक पुस्तकमा भने गुल्मी शब्दको अर्थ रूखको झुप्पा , घना जङ्गल छिचोल्न कठिन पर्ने झाडी, सिपाहीको टुकुडी, सेनाको विभाग, जहाँ ४५ जना पैदल सेना, २० घोडा घोडी, ९ वटा रथ, ९ हात्ती समाबिष्ट भएको सेनाको ब्यारेकलाई नै गुल्मी भनिने उल्लेख छ  ।

    गुल्मी दरबार निर्माणसम्बधी इतिहास
    गुल्मी राज्यका राजाहरूले हाल चारपाला भन्ने स्थानमा राजधानी बनाइ बसेका थिए । यस राज्यका संस्थापक राजा वीर शाह कस्तो दरबारमा बसेका थिए भन्ने अभिलेख पाइंदैन । तर चौथो राजा शाही शाहको पालामा  अहिलेको ऐतिहासिक चारपाला दरबार बनेको उक्त दरबारको निदालमा लेखिएको अभिलेख छ ।  जुन विक्रम सम्वत १७०३ सालमा  निर्माण भएको थियो । निर्माण गर्ने शिल्पीको नाम विनिय  सिंह लेखिए पनि थर खुलेको छैन । उक्त दरबार ९० सालको भूकम्पमा भत्किएको थियो ।  त्यसपछि  पुनःनिर्माण भएको थियो ।  जसलाई २०२६ साल असोज महिनामा पुनः जीर्णोद्धार गरिएको कुरा सोही दरबारको अभिलेखमा उल्लेख छ ।

    २०६८ सालमा आएर पुरातत्व विभागमा समन्वय गरी भक्तपुरका शिल्पी, कालिगड ल्याई गुल्मी दरबार पर्यटकीय क्षेत्र विकास पूर्वाधार विकास समितिको पहलमा जीर्णोधार कार्य सम्पन्न भएको थियो । यस दरबारलाई  भक्तपुरे प्यागोडा शैलीमा निर्माण गर्न र चारपाला दरबार क्षेत्रको विकास गर्नमा समितिका तत्कालीन अध्यक्ष तथा गुल्मी दरबार गाउँपालिकाका पूर्व अध्यक्ष  स्वर्गीय अशोककुमार थापाको अतुलनीय योगदान रहेको छ । यो दरबार समुन्द्री सतहदेखि १३६२ मिटरको उचाईमा अवस्थित छ ।  गुल्मी राज्यका राजाहरूले आफ्ना कुलदेवताका रूपमा इश्वरीदेवीको  मन्दिरलाई समेत पुनर्निर्माण गरिएको छ । त्यहाँ विशेष  गरी बडादसैँ र चैत्रे दसैँको रामनवमीका दिन इश्वरीदेवीको पूजाअर्चना गरिंदै आएको छ । 

    वर्तमान गुल्मीभन्दा  ठूलो थियो, १४औं शताब्दीदेखि १९औं सम्मको गुल्मी जिल्ला । समितिका सचिव जोगमोहन शाहीले त्यस ऐतिहासिक चारपाला दरबारको गुल्मीदरबार गाउँपालिकाले पुनर्निर्माण गर्न सुरु गरेको बताए ।  त्यस पालिकाका  वर्तमान अध्यक्ष सरोज थापा  उनै पूर्व अध्यक्ष अशोककुमार थापाका छोरा हुन् । बाबुको सपना पूरा गर्न उनी निरन्तर खट्ने क्रममा पुरातत्व विभागमा पहल गरी त्यस  ऐतिहासिक चारपाला दरबारलाई  पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न करिव डेढ लाख लागतको क्रमागत बजेट पारेको र अहिले ३२ लाख परेको सचिव शाहीले जानकारी  दिए ।

    चौतर्फी सडक सञ्जालको बिचमा चारपाला दरबार
    गाउँपालिका अध्यक्ष थापाले त्यस दरबारमा पुग्ने चौतर्फी सडक सञ्जालको स्तरोन्नतीको काम तीब्र पारिएको बताए । तानसेन–रिडी– तम्घास मोटरबाटो हुँदै घुम्तीबाट त्यस दरबारमा ५ किलो मिटर दुरीमा पुग्न सकिन्छ । घुम्तीदेखि त्यहाँसम्म कार समेत पुग्ने  गरी मोटरबाटोको स्तरोन्नती गरिएको छ ।  त्यसैगरी, रिडीबाट सालझण्डी  खर्ज्याङ्ग, अमरअर्बाथोक हुँदै चारपाला  दरबारमा पुग्न सकिन्छ ।  यस दरबारबाट गौंडाकोट हुँदै र उता  सदरमुकाम तम्घास  हुँदै  जिल्लाकै प्रसिद्ध धार्मिक क्षेत्र रेसुङ्गा पनि  सकिन्छ । नजिकैको दुरीमा रेसुङ्गा विमानस्थल पनि रहेको  छ ।  गुल्मीदरबार गाउँपालिकाले  रेसुङ्गाको काँखमा अवस्थित भुवाने पार्कलाई  जिल्लाकै ठूलो र आकर्षक पार्कको रूपमा विकास गर्दैछ । जहाँ सदरमुकामदेखि विभिन्न गाउँका मानिसहरू  पिकनिक  र घुमघाममा रमाउन पुग्ने गर्दछन् । तानसेन–तम्घास  मुख्य सडकबाट त्यस पार्क हुँदै  कान्छि रेसुङ्गा मन्दिरको दर्शन गर्दै माथि  विशाल धार्मिक क्षेत्र रेसुङ्गा पुगिन्छ ।

    अन्य धार्मिक पर्यटकीय क्षेत्र
       रेसुङ्गा धार्मिक क्षेत्रको  झण्डै आधा  हिस्सा गुल्मीदरबार गाउँपालिका पर्दछ ।  यस गाउँपालिकामा देशमै अनौठो र पहिलो शक्तिपिठ रहेको छ । वडा नम्बर ४ को बिरबासको टापुमा यस्तो शक्तिपिठ रहेको हो । पुरापूर्वकालमा मगर समुदायका दुई अविवाहित चेली त्यस टापुमा दाउरा घाँस गर्न गएको बेला बेपत्ता हुन्छन् । महिनौ घर नफर्केपछि धामीलाई हेराउँदै जाने क्रममा शिला पल्टिएको अवस्थामा उनलाई परिवारजनले भेट्छन् । एउटा रूखको फेँदमा भेटिएका ती शिला रहेनको रूखमा चढ्न हुँदैन भन्ने कुरा धामीले बक्छन् र कसरी उनीहरूको समखान राख्ने भन्ने कुरा पनि धामीले बताउँछन् ।  

    त्यस रूखमा भुलबस चढे पनि त्यसैमा टाँसिए मानिस मर्ने छ भन्ने  कुरा थाहा नपाएका बाग्लुङ्गतर्फका बटुवाहरू चढेपछि त्यसरी नै रूखमा टाँसिएको टाँसै मृत्यु भएको किम्बदन्ती पनि बुढापाकाहरू सुनाउँछन् । जुन शक्तिपिठलाई  जिज्युबज्जैको मन्दिर भनिन्छ ।  जहाँ असार महिनामा  मगर समुदायले सयौं सुङ्गुरहरूको बली चढाउँछन् । बुटवलदेखि देशभर छरिएका र देशविदेशसम्म पुगेका त्यहाँ मगर समुदाय र उनका आफन्तहरू दसैँभन्दा बढी महत्व दिएर मेला भर्न आउँछन् । जसलाई असारे मेला भनिन्छ ।  त्यस मेलाको दिनसम्म मगर समुदायले घाँस दाउरा गर्नुको नाममा करेसाबारीको झारसम्म उखेल्न नहुने जनविश्वास छ ।

    पर्व आउनुको अघिल्लो दिन नै तीन दिनसम्म पशुचौपायलाई पुग्ने घाँस र चुलोलाई चाहिने दाउराको जोह गरेर राखिन्छ ।  गत वर्षको असारे मेलालाई सम्बोधन गर्न पुगेका गुल्मीदरबार गाउँपालिका अध्यक्ष थापाले देशकै अनौठो र पहिलो जिज्यु बज्जैको मन्दिर क्षेत्रको विकासमा गुल्मीदरबार गाउँपालिकाले अझँै पहल गर्ने उद्घोष गर्दै यसलाई देशभरकै पर्यटकहरू भित्र्याउने गरी सञ्चार माध्यमले प्रचारप्रसार गरिदिन आग्रह गरेका थिए ।  त्यस्तै  एकादेशी तिथि बाहेक प्रायः दैनिक  धार्मिक पर्यटकहरूको भिड लाग्ने थलो हो, गुल्मी दरबार गाउँपालिका—३ मा पर्ने सुपाखोलास्थित सुपादेउराली मन्दिर । अर्घाखाँची सुपादेउरालीको शाखा स्थापना गरिएदेखि त्यहाँ पाठा, कुखरा, परेवा भाकल चढाउनेहरूको दैनिक भिड लाग्ने गरेको हो । त्यस्तै वडा नम्बर १ को बलिथुम टापुमा रहेको  उजेलादेवी मन्दिर पनि अर्को धार्मिक पर्यटकीय क्षेत्र हो । जुन टापुबाट पूर्वबाट दक्षिण पाल्पा, पूर्वी गुल्मीका सुन्दर गाउँबस्तीका अलवा उत्तर पूर्वतर्फका हिमश्रृंखलाहरू नियाल्न सकिन्छ । 

    सदुपयोग गर्न सके जल सम्पदाको समेत धनी छ, गुल्मीदरबार गाउँपालिका । सिमानामा रहेको चन्द्रकोट गाउँपालिकासँग मिलेर उसले बडिगाड खोलामा  र्‍याफ्‌टीङ्ग सेवा र माछा पालनको विकास गर्नसके पालिका र  नागरिकलाई आम्दानीको बलियो श्रोत बन्न सक्छ । राजा, बलिथुमलगायतका गाउँमा सुन्तला उत्पादनको  पकेट क्षेत्रका रूपमा विकास गरिरहेको छ ।   त्यस्तै  व्यवसायिक तरकारी खेती किसानलाई प्रोत्साहित  गरिरहेको छ । मुख्य राजमार्गसँग जोडिएको त्यस पालिकाले कृषि पर्यटनको विकासलाई बढी जोड  दिन जरूरी देखिन्छ । गौंडाकोट वन क्षेत्रमा बनाइएको पिकनिक स्पटलाई अझ आकर्षक बनाउनु पर्ने देखिन्छ ।  त्यस्तै वडा नम्बर २ जुभुङ्गको प्रायः एकीकृत र निकै आकर्षक मगर समुदायको बस्ती उर्लाकोटमा  होमस्टेको निकै सम्भावना छ । ।  ‘उर्लाकोटमा मात्र नभई, बलिथुम, बिरबास र राजा गाउँमा समेत होम स्टे सञ्चालन गर्नु पर्छ भन्नेबारे पहिल्लैदेखि सोचिएको हो, तर स्थानीय जागरूक हुन नसक्दा सञ्चालन हुन सकेको छैन,’ गाउँपालिका उपाध्यक्ष तारा ढेँगा मगरले भनिन्‌– संभावना निकै छ, होम स्टे सञ्चालन गर्ने सोंचलाई अगाडि बढाइने छ ।’

    वडा नम्बर ६ का वडाध्यक्ष तथा त्यस पालिकाका प्रवक्ता शालिकराम टण्डनले गुल्मीदरबारका  दुई ठूला धार्मिक पर्यटकीय स्थल  इश्वरीदेवी मन्दिरसँगैको चारपाला दरबार र  भुवाने पार्कको विकासलाई निरन्तरता दिँदै यसपाली पनि काम भइरहेको बताए । उनले चारपाला दरबारको पुनर्निर्माणका लागि बजेट  परेर काम सुरु भएको  गौंडाकोटदेखि भुवनेपार्कसम्म पुग्ने सडक  कालोपत्रेका लागि लुम्बिनी प्रदेश सरकारबाट १ करोड ३६ लाख बजेटको सुनिश्चिता भई टेण्डर भइसकेको र रेसुङ्गासम्मै पिच गर्ने कार्य अगाडि बढ्ने जानकारी दिए ।  

    पालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले पर्यटन पूर्वाधारमा जनप्रतिनिधिहरूले अगाडि सारेका योजनाहरूको कार्यान्वयन भइरहेको बताए ।   गुल्मीदरबार गाउँपालिकाको केन्द्र रहेको गौंडाकोट तम्घाससम्म मोटरबाटो नखुल्ने बेलासम्म अर्को पुरानो हाटबजार थियो ।  जहाँ पालिकाको केन्द्र बसेदेखि विभिन्न वित्तीय संस्था र सुविधा सम्पन्न होटलहरू सञ्चालनमा आएका छन् । बिदाको दिन आराम, घुमफिर गर्न सदरमुकाममा बस्ने मानिसहरू त्यहाँ पुग्ने गर्दछन् । 

    (गाउँपालिका अध्यक्ष सरोज थापा, उपाध्यक्ष तारा थापा र प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेसँग गरिएको कुराकानीमा आधारित )

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij