सुदिप भण्डारी- लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो । लुम्बिनी र आसपासमा बुद्धसँग सम्बन्धित अरू महत्वपूर्ण ठाउँ पनि छन् । कपिलवस्तुको तिलौराकोटमा गौतमबुद्धले २९ वर्ष बिताएका थिए । जहाँ उनका पिता राजा शुद्धोधनको दरबार रहेको थियो । कपिलवस्तुमै बुद्धसँग सम्बन्धित कुदान, गोटीहवा, निग्लीहवा, सगरहवा, अरौराकोट, सिसहनियालगायतका पुरातात्विक ठाउँ छन् । नवलपरासी पश्चिममा बुद्धको अस्तिधातु रहेको रामग्राम स्तूपा, कोलीय गणराज्यको राजधानी मानिएको पण्डितपुर छ । रूपन्देहीमा बुद्धको मावलीस्थल देवदह छ । तर यी ठाउँ एक प्रकारले ओझेलमा छन् ।
गत वर्ष सन् २०२४ मा ११ लाख ७५ हजार ३०४ जनाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । जसमध्ये ७ लाख ५९ हजार ९९० जना आन्तरिक पर्यटक रहेको लुम्बिनी विकास कोषले जनाएको छ । सोही वर्ष ३ लाख ८८९ भारतीयले लुम्बिनी भ्रमण गरेका छन् । भारत बाहेक तेस्रो मुलुकबाट १ लाख १४ हजार ४२५ ले लुम्बिनी घुमेका छन् । गत वर्ष आएका मध्ये ५ प्रतिशत पर्यटक बुद्ध परिपथका अन्य ठाउँमा पुगेका छैनन् ।
लुम्बिनी आएका अधिकांश पर्यटकहरू एकैछिन घुमेर फर्किने गरेका छन् । पर्यटकको बसाइ लम्बाउन अन्य बुद्धस्थलमा पनि पुग्ने वातावरण बनाउनुपर्ने आवाज उठेको छ । त्यससम्बन्धी ठोस योजना छैन । लुम्बिनी भ्रमणमा आउनेमध्ये कतिपयलाई रामग्राम, तिलौराकोट र देवदहलगायतका ठाउँबारे थाहै छैन । कतिपयले नाम मात्र सुनेको, तर यी बुद्धस्थलको महत्वबारे जानकारी नभएको हुनसक्छ । धेरै जसोमा अन्य बुद्धस्थलबारे राम्रो ज्ञान भए पनि त्यहाँ जाने सहज वातावरण नबनेको हुनसक्छ ।
सरकारले रूपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तुका बुद्धस्थलहरूको एकीकृत विकास, संरक्षण र प्रवद्र्धन गर्ने गरी वृहत् लुम्बिनीको अवधारणा अघि सारेको छ । बौद्धस्थलहरू भ्रमण गर्न सकिने गरी बुद्ध परिपथको चर्चा पनि गरिन्छ । तर वृहत् लुम्बिनी क्षेत्र र बुद्ध परिपथको अवधारणालाई व्यवहारिक रूपमा अघि बढाउने कुनै ठोस कार्य भएको देखिँदैन । तीन जिल्लाका बुद्धस्थलहरू लुम्बिनी विकास कोषको मातहतमा रहेका छन् । तर लुम्बिनीसँग जोडेर अन्य बुद्धस्थल र बुद्धपरिपथको विकास तथा प्रवर्धन हुन सकेको छैन । लुम्बिनी आएका पर्यटक बुद्धपरिपथ भएर अन्य बुद्धस्थलमा पुग्ने वातावरण बनेको छैन ।
पहिलो कुरा त बुद्धस्थलहरूको विकासमा संघीय सरकारले खासै ध्यान दिएको छैन । अर्को कुरा यहाँको उचित प्रचारप्रसार पनि हुन सकेको छैन । यस्तै बुद्धपरिपथको यात्रा गर्न पनि सहज छैन । अब लुम्बिनीसँगै अन्य बुद्धस्थलहरूको विकास र प्रवर्धनको लागि निम्न कुराहरू गर्न आवश्यक छ ।
बुद्धस्थलको जानकारीको लागि सूचना केन्द्र
पर्यटकहरू लुम्बिनी घुम्न आए भने उनीहरूलाई अन्य बुद्धस्थलहरूबारे जानकारी दिने संयन्त्र र माध्यम छैन । पर्यटकहरू आउँछन्, मायादेवी मन्दिर शान्तिदीपलगायत केही ठाउँ घुम्छन् र उतिखेरै फर्किन्छन् । लुम्बिनी आएका प्रत्येक पर्यटकलाई लुम्बिनीसहित अन्य बुद्धस्थलबारे जानकारी दिने सूचना केन्द्र हुनुपर्छ ।
पर्यटक लुम्बिनी आएपछि केही बेर सूचना केन्द्रमा रहने वातावरण बनाउनुपर्छ । पर्यटन सूचना केन्द्रमा अन्य बुद्धस्थलहरू बारेको विभिन्न तस्विर, भिडियो, टुर गाइडमार्फत् जानकारी दिने व्यवस्था गर्नुपर्छ । समूहगत भ्रमणमा आएकालाई अनिवार्य रूपमा बुद्धस्थलहरूको बारेमा जानकारी गराउनुपर्छ । यसले पर्यटकलाई अन्य बुद्धस्थल जान प्रेरित गर्छ ।
सूचना केन्द्र बाहेक होटल व्यवसायीले पनि बास बसेका पर्यटकलाई बुद्ध परिपथअन्तर्गत पर्ने बुद्धस्थलहरूको बारेमा जानकारी दिनुपर्छ । यसो भएमा केही पर्यटकहरू बुद्धपरिपथको भ्रमण पनि गर्नेछन् भने जान नचाहनेहरूले पनि कम्तीमा ती बुद्धस्थलहरूको महत्वबारे थाहा पाउनेछन् ।
पर्यटनमैत्री सिधा यातायात
लुम्बिनी आएका पर्यटकहरूलाई अरू बुद्धस्थल जाने चाहना भयो भने पनि त्यति सहज यातायात छैन । उदाहरणको लागि लुम्बिनीबाट रामग्राम जानुपर्यो भने सिधा सार्वजनिक यातायात छैन । लुम्बिनीबाट पहिले भैरहवासम्मको बसमा जानुपर्यो । भैरहवाबाट परासीको लागि अर्को बस चढ्नुपर्छ । थोत्रा र पुराना बसको यात्रा निकै दिक्क लाग्दो र कष्टकर हुने गर्दछ । परासी चोकमा पुगी फेरि अर्को बस कुरेर वा अटोे रिर्जब गरी चार किलोमिटर यात्रा गरेपछि मात्र रामग्राम स्तूपा पुग्न सकिन्छ । लुम्बिनीबाट बुद्धको मावली देवदह जान ठाउँ–ठाउँमा गाडी बदल्नुपर्छ ।
त्यस्तै लुम्बिनीबाट कपिलवस्तु पुग्न पनि स्थानीय बसको हालत बिजोग छ । तौलिहवामा झरेर ३ किलोमिटरको लागि अर्को गाडी या अटो रिक्सा चढेपछि मात्र तिलौराकोट पुग्न सकिन्छ । बुद्ध परिपथमा सहज र पर्यटनमैत्री सार्वजनिक यातायात नहुँदा पनि अन्य बौद्धस्थलमा पर्यटकको आकर्षण बढ्न सकेको छैन ।
निजी गाडी रिर्जब गरेर बुद्धस्थल घुम्न ५–७ हजार लाग्छ । तर पर्यटनमैत्री सिधा सार्वजनिक यातायात सञ्चालन भयो भने आरामदायी तरिकाले ४–५ सयमै पर्यटकले बुद्ध परिपथको यात्रा गर्नेछन् । सस्तोमा सुविधाजनक तरिकाले यात्रा गर्न पाउँदा बुद्ध परिपथ घुम्ने पर्यटक बढ्ने छन् । लुम्बिनी आएका पर्यटकहरूको बसाई पनि लम्बिन्छ र अरू बुद्धस्थलको प्रवद्र्धन पनि हुन्छ । अहिले लुम्बिनीमा ५ वटा विद्युतीय बस र १४ वटा भ्यान अलपत्र छन् । पछिल्लो समय अदालतले बसको सेतो नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्न आदेश दिएको छ । आदेशअनुसार अब तुरून्तै बुद्ध परिपथमा यी बस चलाउनुपर्छ । यदि सेता विद्युतीय बस चलेन भने निजी क्षेत्रबाट भए पनि बस सिधा पर्यटकमैत्री बस सञ्चालन हुनुपर्छ ।
अहिले बुटवलबाट लुम्बिनी पनि सिधा सार्वजनिक यातायात छैन । बुटवलबाट भैरहवा गएर अर्को बस चढेर मात्र लुम्बिनी पुग्न सकिन्छ । बुटवल र लुम्बिनी नियमित रूपमा सिधा सार्वजनिक यातायात सञ्चालन हुने हो भने दुबै ठाउँमा पर्यटकको चहलपहल बढ्नेछ ।
बुद्ध परिपथ टुर प्याकेज
पर्यटन व्यवसायीले लुम्बिनी र आसपासका बौद्ध स्थलको प्याकेज बनाएर प्रचारप्रसार गर्नुपर्छ । बुद्ध परिपथमा पर्यटनमैत्री बस सञ्चालन भएमा सार्वजनिक यातायातलाई समेटेर सस्तो प्याकेज बनाउन सकिन्छ । त्यस्तै रिर्जब गाडीमा यात्रा गर्नेहरूको लागि सोही खालको प्याकेज बनाउनुपर्छ । प्याकेजमा रामग्राम, देवदह, लुम्बिनी र कपिलवस्तु घुम्ने दिन, खाना र खर्चको प्याकेज बनाएर प्रचार गर्नसके पर्यटक आकर्षित गर्न सकिन्छ । बेलामौकामा प्याकेजमा छुटको घोषणा तथा अरू सुविधाहरू पनि थप गर्नुपर्छ । यसरी बनाएको प्याकेजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार समेत गर्नुपर्छ ।
बुद्धपरिपथका पालिकाको सक्रियता
वृहत् लुम्बिनी क्षेत्रको विकासको लागि बुद्ध परिपथका पालिकाहरूको पनि सक्रियता आवश्यक पर्दछ । बुद्ध परिपथभित्र मुख्य गरी लुम्बिनी साँस्कृतिक नगरपालिका, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका, रूपन्देहीको देवदह नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिका पर्दछन् । यी पालिकाहरूले आफ्नो ठाउँमा रहेको बुद्धस्थलहरूको प्रचारप्रसार र प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्छ । बुद्धस्थलहरूको संरक्षण र पर्यटककीय वातावरण निर्माणमा स्थानीय तहको पनि दायित्व र जिम्मेवारी हो । लुम्बिनी आएका पर्यटकलाई आफ्नो बुद्धस्थलमा आकर्षित गर्न विभिन्न अभियान तथा कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
पूर्वबाट आएका पर्यटकलाई रामग्रामबाट लुम्बिनी पुग्न सहज हुन्छ । त्यसैले नगरपालिकाले रामग्राम स्तूपबाट लुम्बिनीसहित बुद्धस्थलको यात्रा गरौं भन्ने खालको प्रचारात्मक अभियान सञ्चालन गर्न सक्छ । त्यसको लागि नगरपालिका आफैँले लुम्बिनीसम्म सुलभ दरमा लुम्बिनीसम्मको बस सञ्चालन पनि गर्न सक्छ । नगरपालिकाका पर्यटन व्यवसायीहरूले पनि रामग्रामबाट बुद्धस्थल घुम्ने गरी प्याकेज बनाउनुपर्छ ।
देवदह नगरपालिकाले पनि यो खालको अभियान चलाउन सक्छ । आएका पर्यटकलाई देवदहका विभिन्न पुरातात्विक स्थल घुमाएर लुम्बिनी जाने वातावरण निर्माण गर्न सक्छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाले पनि बुद्धजन्मस्थलमा पर्यटनमैत्री वातावरण निर्माण गर्दै अन्य बुद्ध परिपथका अन्य पालिकासँग मिलेर कार्यक्रम सञ्चालन गर्न सक्छ । कपिलवस्तु नगरपालिकाले पश्चिमबाट आएका पर्यटकलाई तिलौराकोटमा स्वागत गरी जिल्लाका अन्य बुद्धस्थलहरू घुमाएर लुम्बिनी जाने वातावरण गराउनुपर्छ । रामग्राम र लुम्बिनीबाट आएका पर्यटकहरूलाई स्वागत गरी पर्यटन मैत्री सेवा प्रदान गर्नुपर्छ ।
यसबाहेक बुद्धस्थल बाहेक बुद्ध परिपथमा पर्ने पालिकाहरू बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, कपिलवस्तुको वाणगंगा नगरपालिकालगायतका पालिकाले पनि लुम्बिनीसँग जोडेर आफ्ना पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुपर्छ ।
बुद्धस्थलमा पर्यटकीय पूर्वाधार
लुम्बिनीसहित अन्य बुद्धस्थलमा पनि पूर्वाधारहरू निर्माण गर्न जरूरी छ । लुम्बिनी विकास कोष, संघीय सरकार, प्रदेश सरकारले पर्यटनमैत्री वातावरण हुने गरी पूर्वाधारहरू बनाउनुपर्छ । पर्यटकको लागि सूचना केन्द्र, पर्यटकको लागि आवश्यक विश्रामस्थल, ध्यान केन्द्रलगायतका पूर्वाधारहरू बनाउन जरूरी छ । त्यसको लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्छ । अहिले रामग्राम, देवदह र कपिलवस्तुमा पर्यटनमैत्री स्तरीय होटलहरू खासै छैनन् ।
निजी क्षेत्रको पहलमा केही पर्यटनमैत्री स्तरीय होटल स्थापना हुुनुपर्छ, जसले गर्दा लुम्बिनी आएका पर्यटकले बुद्धस्थल अवलोकनको क्रममा रामग्राम, तिलौराकोट र देवदहमा पनि सुविधाजनक तरिकाले बस्न सकुन । कपिलवस्तुको तिलौराकोट विश्व सम्पदा सूचीमा छिटो पर्ने हो भने प्रचारप्रसार सहज हुनसक्छ । अहिले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रस्ताव पेश भइ प्रक्रिया अघि बढेको छ । तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत भएमा बाह्य पर्यटक आकर्षित हुनसक्छन् ।
रामग्राम, पण्डितपुर देवदहलगायतका ठाउँको उपयुक्त गुरुयोजना बनाइ, संरक्षण र प्रवर्धन गर्न सक्नुपर्छ । बुद्धजन्मस्थल लुम्बिनी मात्र नभई तीनवटै जिल्लाका बुद्धथलहरूको एकिकृत रूपमा अन्तर्राष्ट्रिय प्रचारप्रसार गर्ने, बुद्धपरिपथमा सहज यातायातको व्यवस्था गर्ने, बुद्धस्थलहरूमा पर्यटनमैत्री पूर्वाधार र वातावरण निर्माण गर्ने हो भने वृहत् लुम्बिनी र बुद्धपरिपथको औचित्य सावित हुन्छ । यसबाट थप पर्यटक आकर्षित गर्न र उनीहरूको बसाइ लम्बाउन सकिन्छ ।




