बुटवल । आज बिहान बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गरेकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भयो । बिहानै होटेल खोलेर सरसफाइ गर्न थालेकी उनलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेर भागेको छिमेकीले बताएका छन् । कम्मरमाथि गोली लागेपछि गम्भीर घाइते भएकी टिकाले घटनामा संलग्न ती युवा भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छन् तर उनको अरू ठेगाना केही खुलेको छैन ।
स्थानीय र त्यो होटेलको घरभेटीका अनुसार गोली प्रहार गर्ने ती युवक यसभन्दा पहिले पनि त्यहाँ आइरहने र ती युवतीलाई मन पराउने गरेका थिए तर उनले अस्वीकार गरेको बताउँदै आएकी थिइन् । केही दिनअघि दुवै जनाबिच भनाभन पनि भएर पछि शान्त भएको थियो । पाल्पाको रैनादेवी छहरा गाउँपालिका घर भई हाल बुद्धनगरमा होटेल सञ्चालन आएकी विष्टको कम्मरमाथि गोली लागेको हो। अहिलेसम्म छिमेकी र प्रहरीको भनाइलाई आधार मान्दा र प्रहरीसमक्ष घाइते टिकाले भनेको व्यक्ति एउटै भएको अनुमान गर्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीका अनुसार ती युवतीलाई प्रेम चाहने भारतीय युवकबाटै गोली प्रहार भएको अहिलेसम्मको आकलन छ । ‘घाइते महिलाले भारतीय नागरिक आलम अन्सारीले आफूलाई गोली हानेको बताएको र उ पटक–पटक त्यहाँ आउने गरेको तथा आज पनि भारतीय नम्बर प्लेटको मोटरसाइकल लिएर त्यहाँ पुगेकोले त्यो आधारलाई बल पुराउँछ’ उनले भने ।
बुटवल ११ का वडा सदस्य तथा स्थानीय नकुल शाहीले पनि गोली हान्ने व्यक्ति त्यो युवतीलाई मन पराएको र उनले अस्वीकार गरेपछि हानेको आकलन गरिएको बताउँछन् । ‘घटनाको अनुसन्धानले सबै बताउला तर अहिलेसम्म हामीले बुझेअनुसार होटेलमा आउने ती भारतीय युवकले नै हानेका हुन् र यसको कारण मायाप्रेम नै हो’ उनले भने ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रबहादुर रानाका अनुसार घटनामा भारतीय युवक रहेको प्रारम्भिक अनुमान गरिए पनि विस्तृत केही खुलेको छैन । “केही दिनअघि ती युवतीको एक जना भारतीय युवकसँग विवाद भएको थियो भन्ने सूचना प्राप्त भएको छ, त्यही विवादकै कारण सो युवकले गोली हानेको हुनसक्ने स्थानीयको आशंका छ” उनले भने । घटनामा भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग भएकाले प्रहरीले सबै सीमा नाकाहरुमा सम्भावित आरोपितको खोजी भइरहेको जानकारी दिएको छ।
थप उपचारका लागि चितवन पठाइयो
गम्भीर घाइते टिकालाई थप उपचारका लागि बुटवलबाट रिफर गरिएको छ । बिहान गोली प्रहारपछि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको कम्मरमा लागेको गोली निकाल्न नसकिएपछि बुटवलबाट भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रिफर गरिएकोमा त्यहाँ पनि नसकेपछि अहिले चितवन पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी सुरज कार्कीले बताए । ‘बिहानै घटनापछि तत्काल बुटवलको लुम्बिनी अस्पतालमा लगिएको थियो तर केही समयपछि त्यहाँ कम्मरमा लागेको गोली निकाल्न समस्या हुने ठानेर मेडिकल कलेजमा रिफर भएको हो, अहिले त्यहाँ पनि नहुने भनिएपछि चितवन लैजाने तयारीमा छ, घाइतेसँग धेरै बोल्ने कुरा भएन, घटनाको अनुसन्धान जारी रहेको छ ।’




