बुटवलमा अहिले एउटा प्रश्न उठेको छ-झुम्सा खानेपानी आयोजना कहिले पूरा हुन्छ ? आम नागरिकसँग सरोकार राख्ने विकास आयोजनाका बारेमा चासो हुनु स्वभाविकै हो । बुटवलको खानेपानी समस्या समाधान गर्न डेढ दशकअघि सुरु भएको झुम्सा खानेपानी आयोजना अझँै पूरा नहुनुले हाम्रा विकास आयोजना, लक्ष्य र प्रतिफलका बारेमा बग्रेल्ती प्रश्न खडा हुँदा समेत राज्यका जिम्मेवार निकाय जवाफदेही नबन्दा शासन प्रणालीप्रति नै प्रश्न उठ्ने विन्दुमा पुग्नु उचित होइन ।
एउटा विकास आयोजना सुरु भएको कति समयमा सकिन्छ भन्ने ग्यारेण्टी नहुँदा नागरिकले विकासको प्रतिफल पाउन सकेका छैनन् । समयमा आयोजनाको काम नसकिंदा लागत बढ्ने मात्रै नभई लक्षित वर्गले प्रतिफल नपाउँदा राज्यप्रति आक्रोश बढ्ने जोखिम हुन्छ । राज्यले नागरिकका समस्या र अपेक्षा समयमै पूरा नगर्दा आक्रोश बढ्नु अस्वाभाविक होइन । डेढ दशकअघि शिलान्यास भएको आयोजना कहिले पूरा हुन्छ भन्ने ग्यारेण्टी नहुँदा अहिले झुम्सा आयोजनालाई ‘मेलम्ची’ भनेर भन्न थालिएको छ । मेलम्ची आयोजना पूरा हुन तीन दशक लाग्यो । बुटवलको खानेपानी समस्या समाधान गर्न अघि बढेको आयोजना पनि डेढ दशक नाघ्यो । यो हिसाबले बुटवलको ‘मेलम्ची आयोजना’ को रूपमा टिप्पणी हुनुले हाम्रो सिंगो विकास प्रक्रियामाथिको प्रश्न पनि हो ।
झुम्सा खानेपानी आयोजनाबाट दुई वर्ष यता पटक—पटक धारामा पानी खस्ने समय सीमा निर्धारण हुँदै आएको छ । अहिले पनि खानेपानी आयोजना छिट्टै पूरा हुन्छ भन्न छाड्दैनन् खानेपानी संस्थानका अधिकारीहरु । तर कहिले बन्छ भन्ने टुंगो छैन ।
राजनैतिक प्रणालीप्रति नागरिकको अपनत्व बढाउन विकास आयोजना समयमै सकिनुपर्छ । प्रतिफलमुखी आयोजना अस्तव्यस्त हुँदा नागरिकको असन्तुष्टि बढ्छ । विकास आयोजना सुरु भएपछि तोकिएकै समयसीमामा पूरा हुने विश्वास दिनसक्दा मुलुकमा आशा र भरोसा बढ्छ । २०६६ असारमा शिलान्यास गर्ने बेला तीन वर्षभित्र झुम्सा खानेपानी आयोजना सम्पन्न हुने घोषणा गरिएको थियो । यो घोषणा गरेको १५ वर्ष बित्दा समेत सम्पन्न हुने समयसीमाको विश्वास छैन । आयोजनाका अधिकारीहरु भौतिक प्रगति ९४ प्रतिशत र वित्तीय प्रगति ६३ प्रतिशत भएको जानकारी दिन्छन् । अहिलेसम्म ड्याम निर्माणको काम सम्पन्न भएको छ ।
मुहानदेखि केही तल र रामफेदीमा बनाउनुपर्ने ट्याङ्की कहिले हो बन्ने ? जग्गाको टुंगो छैन । पाइपलाइन विस्तारको काम हुँदा नै टंकीका लागि जग्गा र बजेट व्यवस्था गर्न किन ध्यान गएन ? कमजोरीको समीक्षा हुनुपर्छ । एउटा मध्यम खालको खानेपानी आयोजनाको यस्तो दुदर्शा छ भने मुलुकमा अरु के हुन्छ भन्ने समाजमा स्थापित मनोविज्ञानलाई तोड्न अब छिटो यो आयोजना सम्पन्न गर्नुपर्छ । त्यसो त पछिल्ला दिनमा केही ठूला आयोजना निर्माणको कामले गति लिएको छ । ठूला विकास आयोजनाको कामले गति लिँदा समाजमा आशा जगाएको छ । झुम्सा आयोजनालाई छिटो सम्पन्न गरी बुटवलको खानेपानी समस्या समाधान गर्नसक्दा नागरिकमा आशा र विश्वास जाग्छ ।




