लक्ष्मण पोखरेल- बुटवल ।
सुनिन्छ त फगत
ब्रोङ्काइटिस भएका ट्रकहरूको खोकी,
बस्ने उमेर भएका बसहरूको घ्यार्र घ्यार्र
लाहुरेहरूको बुटको आवाज
र मठ्याहा नेपाली बोली ? ‘अच्छा यार’ ।
कवि भूपि शेरचनको ॅभैरहवा’ शीर्षकको कवितामा बुटवलको बारेमा लेखिएका गद्य हुन् यी । भूपिले लेखेका गद्यले विकसित हँुदै गरेको आधा शताब्दीअघिको बुटवललाई इङ्गित गर्छ । लाहुरेहरू भारत प्रवेश गर्ने नाका र खस्यौलीका भट्टीहरूमा रात बिताउने चिनारी बुटवलको पछिल्लो इतिहास हो ।
वर्तमान समयमा पश्चिम नेपालकै व्यापारिक केन्द्र मानिने बुटवल, बटौली अथवा त्यसभन्दा पनि अझ प्राचीन नामबाट विकसित भएको हो । यो अहिले मात्रै होइन, सयौ वर्ष पहिले पनि गणराज्यको राजधानी र व्यापारिक नाका पनि थियो ।चीनको तिब्बत र भारतको गोरखपुरको व्यापारिक थलोको विश्राम नाका पहाडको फेदी मधेसको सिरान नै बटौली थियो । बुटवललाई रामदेखि बुद्धसम्म जोडेर इतिहास लेखिएका छन् । हिन्दु धर्मका भगवान राम बटौली (तिनाउ पश्चिम) हँुदै गण्डकी नुहाउन गुल्मीको रिडी, पाल्पा रामपुरको रामनदी हुँदै गण्डकको भ्रमण गरी खस्यौली (तिनाउ पूर्व) हुँदै अयोध्या पुगेका प्रसङ्गहरू छन् । योगी नरहरिनाथको हाम्रो देश दर्शन पुस्तकले बुटवलको इतिहासलाई द्वापर युगदेखि बुद्धकालसम्मको प्रसंगमा व्याख्या गरेको छ ।
बुटवल बुद्धकालमा बुद्ध खेल्ने बुद्धवल्ली थियो । योगी नरहरिनाथको प्रसंग कोट्याउँदै डा. टिकाराम पन्थीले लेखेका छन्–बुद्धवल्लीबाटै बुटवल नामाकरण भएको हो । यो शहर अहिलेको नभइ उहिलेको थियो । बुटवल बुटवलमै सीमित थिएन, भलबारीदेखि मुर्गियासम्म फैलिएको थियो । (बुटवल दर्पणः ०६६)।
आधुनिक बुटवल भूपिको कविताजस्तै लाहुरेको बुटको आवाजसँगै हुर्किएको हो । तत्कालीन समयमा खस्यौलीमा रहेका आठ/दश वटा थकाली भट्टी र खरका छाप्राहरूले बुटवल कायम गर्यो । सिद्धार्थ राजमार्ग नहुँदासम्म सोही हालतमा बसेको बुटवल सडक बनेपछि बसपार्क हुँदै शहरमा विकसित बन्यो ।
इतिहासको शहर हालको बुटवल नभइ बटौली थियो । जुन तिनाउ तिरको जितगढी किल्लाको छेउमा खुम्चिएर बसेको छ । बटौली र खस्यौली नाम बुटवलमा विलय भए । खस्यौली गुल्जार हुँदै गयो । नुन र घ्यू साटेर व्यापार चम्काउने बटौली सुनसान बन्यो । प्रशासनिक रूपमा बटौली–खस्यौली पञ्चायत पनि बनेको थियो । पछि प्रशासनिक नाममा पनि बटौली हरायो । अहिले बुटवल उप–महानगरपालिका नामले चम्किएको छ । कथ्यमा बटौली जीवित रहेपछि लेख्यमा बटौली हराइसकेको छ ।
आधुनिक बुटवल आफैँमा प्राचीन बस्ती भएको शहर भने मानिदैन । बुटवल उप–महानगरपालिकाभित्र पर्ने विनायकपुर, तामनगर, सैनामैनाका केही क्षेत्रहरू भने प्राचीन बस्ती रहेको बताइन्छ । सैनामैनादेखि बुटवलसम्म सिद्धार्थ गौतम नै जंगल सफारीका रूपमा आउने प्रसंगहरू विभिन्न ग्रन्थमा छन् । सैनामैना क्षेत्रमा भएका सामान्य उत्खनन्ले बुद्धकालकै बस्तीको परिचय रहेको शंका दिलाएको छ ।
आधुनिक बुटवल
अंग्रेजहरूलाई २ सय ३ वर्षअघि गोर्खालीहरूले हराएको जितगढी (बुटवल) क्षेत्र उहिलेको पनि राजधानी थियो । सेन वंशीय राजाहरूले यसलाई शीतकालीन राजधानीका रूपमा प्रयोग गरेका थिए । इतिहाससँग जोडिएको, ल्हसाको नुन र कपडाको व्यापारसँग जोडिएको बुटवलले आधुनिक रूप एक सय वर्षअघिदेखि मात्रै पाएको हो ।
ॅखस्यौलीमा जब स–साना भट्टीहरू बन्न थाले तब बुटवलको स्वरूप देखिन थालेको थियो, इतिहाससम्बन्धी जानकार विमलबहादुर शाक्य भन्छन्–ॅराजमार्गमा मोटर गुड्न थालेपछि साँगुरो बटौली सुक्दै गयो । लाहुरेहरूले खस्यौलीमै घर बनाउन थाले । अग्ला घर जहाँ बन्यो, शहर त्यही देखियो ।’
बटौलीको सामाजिक र साँस्कृतिक स्वरूप बेग्लै छ । यहाँको रैनाथे जाति के हो भन्न सकिने अवस्था छैन । बुद्धकालमा थारू र शाक्य बंशका मानिसहरू बसोबास गर्थे भन्ने ग्रन्थहरूमा लेखिएका छन् । ५ सय वर्षअघि पाल्पाका राजा मणिमुकुन्द सेनले कास्मिरबाट कशौधन (मधेशी) जातिलाई व्यापारका लागि बटौली ल्याएका थिए । कशौधनपछि नेवार जातिको बसोबास बटौलीमा रह्यो ।
ल्ह्साको नुन र सुन, पहाडी क्षेत्रको जडीबुटी, घ्यू, तेलसँगको व्यापार बटौलीले धानेको थियो । पहाडी जिल्लामात्रै होइन, हिमाली जिल्लाका जडीबुटी बेच्ने थलो पनि बटौली थियो । बुटवलसम्बन्धी जानकार देवेन्द्रराज शाक्य भन्छन्–ॅजंगल रहेको खस्यौली बुटवलका रूपमा विकास भयो । बजार पारि सर्यो, पहाडसँगको व्यापार राजमार्ग बनेसँगै सुस्ताउँदै गयो ।’
०१७ सालमा केही समय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बसेको क्षेत्रमा रूद्र समशेरको दरबार थियो । जहाँ उनी वर्षैंभर शिखार खेल्न पाल्पाबाट झर्थे । खस्यौली पुरै जंगल थियो । सिद्धार्थ राजमार्गको गोरेटो बनेपछि अमरपथ क्षेत्रमा १०/१२ वटा घर बने । पुल्चोकमा दुई चार छाप्रा थिए । पुलिस थाना हालकै इलाका प्रहरी कार्यालय भएकैै स्थानमा थियो ।
बुटवलमा थकाली, गुरूङ, तामाङ, मगर जातिको बसोबासको इतिहास ८० वर्षको हाराहारीमा छ । क्षेत्री, बाहुनहरू निकै पछि बुटवल झरे । बुटवलमा नेवारको बसोवास भने १९औं शताब्दीबाट भएको हो । करिव २ सय वर्षदेखि नेवारहरू व्यापारको शिलशिलामा बुटवलमा आएको पाइन्छ । पद्म चैत्य विहार स्थापनाको सय वर्षदेखि बुटवलमा बौद्ध गतिविधिहरू हुने गरेका थिए । पद्म चैत्य विहार वि.स. १९७१ सालमा स्थापना भएको थियो ।
बुटवलमा थकालीहरूको बसोवास भएको वि.स. १९९५ सालतिरबाट भएको हो । मुस्ताङबाट बसाई सरेर आएका रूद्रविलास तुलाचनले रूपन्देहीको भैरहवामा कपडा पसल खोलेका थिए । केही वर्ष त्यही व्यापार गरे । त्यसपछि अहिलेको पूरानो बटौलीको गणेशथान मन्दिर नजिकै कपडा पसल खोलेका थिए । उनी नै पहिलो पटक बुटवलमा व्यवसाय गर्ने थकाली हुन् ।
२०१० सालपछि बुटवलमा थकालीहरूको बसोबास बढ्दै गयो । सडकमा भट्टी चलाउनेहरू थकाली होटल नाम लेखेर होटल गर्न थाले । कपडा व्यापारी पनि प्रसस्त थिए । त्यतिबेला ब्रिटिस आर्मीमा थकाली, नेवारहरूलाई भर्ती गर्दैनथ्यो । थकालीहरू छट्टु हुने र नेवार अल्छी हुन्छन्् भन्ने आरोप थियो । त्यसैले बुटवल झरेका थकालीहरूले आफ्नो थर थापा, क्षेत्री बनाएर भर्ती भएका थिए । उनीहरूले अहिले बल्ल थर परिवर्तन गर्न थालेका छन् ।
बुटवल क्षेत्रमा वि.स. २००० सालतिरबाट गुरूङहरूको बसोबास सुरु भएको भने पनि प्रमाणिक तथ्य भने भेटिंदैन् । आर्मीमा भर्ती हुने भन्दै बुटवल आएका गुरूङहरू यही बस्न थालेका हुन् । वि.स. २०१२ सालमा जीतबहादुर गुरूङ बुटवलमा बसोवास गर्न थालेका हुन् । उनी पर्वतबाट बुटवल झरेका थिए । २०४ बिगाहा जमिन लिएर उनी बुटवलमा बस्न थालेका थिए । त्यतिखेर तामाङहरूले पनि गुरूङ थर बनाएर बस्ने गरेका थिए । ब्रिटिस आर्मीमा भर्ती हुनका लागि उनीहरूले त्यसो गरेका हुन । वि.स. २०१६ सालपछि गुरूङहरूको बसाई सरेर बुटवल आउने क्रम बढेको थियो । अहिले बुटवल नगरपालिकाभित्र ८ सयभन्दा बढी घरधुरी गुरूङ समुदायको बसोवास रहेको छ ।
बुटवलमा तामाङहरूको बसोवास सुरु भएको झण्डै ५६ वर्ष नाघिसकेको बताइन्छ । तर त्यतिखेर बुटवलमा आएर बसेका तामाङहरूले आफूहरूलाई गुरूङ भनेर बसेका थिए । आर्मी, प्रहरीमा भर्ती हुनका लागि उनीहरू थापा, क्षेत्रीको थरमा पनि बसे । तामाङ नै भनेर बुटवलमा बस्ने पहिलो व्यक्ति नर्बु लामा थिए । उनी २०३७ सालमा बुटवल आएका थिए । बुटवल उप–महानगरपालिकामा शेर्पाहरूको त्यति ठूलो सङ्ख्या छैन । जनगणना २०६८ अनुसार, बुटवलमा शेर्पाको सङ्ख्या जम्मा २६ रहेको छ । ती मध्ये पुरूषको सङ्ख्या १० र महिलाको सङ्ख्या १६ जना रहेको छ ।
जनजातिको बसोबासबाट सुरु भएको आधुनिक बुटवलमा अहिले बाहुन क्षेत्रीको संख्या बढी छ । बसाईसराइको दर उच्च भएसँगै बुटवल घनाघोर जंगलबाट उस्तै प्रकृतिको शहरमा विकसित भयो । बुद्धकालको प्रसंगदेखि अंग्रेजलाई हराउने छविको विकास बुटवलले गर्यो ।
समुन्द्र सतहबाट १८३ मिटरमात्रै माथि रहेको बुटवल गर्मी भू–भाग हो । अधिकतम ४३ न्यूनतम १० डिग्री तापक्रम रहेको बुटवलको घनाबस्ती पछिल्ला दुई दशकमा विकास भएको हो । टन्न धानखेती हुने बुटवलकै सुख्खानगर, दीपनगर क्षेत्र आवासीय क्षेत्र बनेको छ । ०१८, ०२७, ०३८ र ०४५ सालमा तिनाउमा उर्लिएको बाढीले बुटवललाई तहस नहस पारे पनि विकासको क्रम रोकिएन् ।
शहरको विकाससँगै उद्योग, व्यापारमा बुटवलले पश्चिम नेपाललाई धानेको छ । तीब्र शहरीकरणपछि अवसरको खोजी गर्दै आउनेहरूबाट अहिले तिनाउ बगर अतिक्रमण भएको छ । खानेपानीको हाहाकारमा गुज्रिएको बुटवल अहिले केही समाधानोन्मुख अवस्थामा छ । फोहोरको मात्रा बढ्दै गएको छ, त्यो व्यवस्थापन गर्ने क्षेत्र बनेको छैन । उचित ढल नभएकाले बर्खायाममा बुटवलका मुख्य सडकमै बाढी उर्लिन्छ ।
बुटवललाई थलो बनाउनेहरू अर्घाखाँची, गुल्मी, पाल्पा, स्याङ्जा, रोल्पा, दाङ, प्यूठान, बाग्लुङ, म्याग्दीका छन् । विशेषगरी तत्कालीन लुम्बिनी अञ्चलका जिल्लाको आवादीले बुटवल भरिएको छ ।ॅबुटवल जति ठूलो शहर हुँदै गयो, इतिहास बिर्सिदै गयो,’ शाक्य भन्छन्–ॅआधुनिक शहरले बटौलीलाई फिटिक्कै सम्झिएन ।’शताब्दी अघिका घ्यू तताउने ठूला कराइँहरू अलपत्र फालिएका छन् ।
पैसा छाप्ने टक्सारमा नेपाली सेनाले व्यापारिक महल ठडाएको छ । अंग्रेज हराउने जितगढीको ९० प्रतिशत जमिन अतिक्रमणमा परेको छ । जहाँ अंग्रेज हारेर फर्कियो, त्यसकै सिरान फूलबारी भारतीय कब्जामा पुगेको छ ।अहिलेका जनप्रतिनिधिले योजना बनाउने हो भने पुरानो बुटवललाई पर्यटकीय खान्की शहर बनाउन सकिने सम्भावना छ । पुराना भवनहरूलाई पुरानै शैलीमा निर्माण गर्न प्रोत्साहन गर्दै रैथाने खानाको परिकार पस्किने स्थल बनाउन सकिन्छ ।
त्यसका लागि बुटवल उप–महानगरले साताको एकदिन स्थानीयलाई नै प्रोत्साहन गरेर परिकार बनाएर बेच्ने अभियानको सुरुवात गर्नुपर्छ ।चर्को गर्मीमा साँझको समयमा केही शितल हुने बटौली क्षेत्रमा चिया, कफी खान अहिले पनि मानिसहरू पुग्छन् । अहिले बटौलीमा जेरी खान टाढा टाढाबाट आइरहेका छन् । बटौलीमा मौलिक नेपाली खाना पस्कन सके आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सकिन्छ । सीमावर्ती भारतीय शहरबाट दैनिक ठूलो संख्यामा पर्यटकहरू घुमफिर गर्न बटौली आउन सक्छन् । होटल व्यवसायीहरू, केबलकार व्यवसायीहरूले हरेक साताको शनिबार साँझ २ घण्टाको साँस्कृतिक कार्यक्रमसहितको मेला गर्न सक्छन् ।
यो गर्न सकिने काम हो, इच्छा शक्ति भएमा । यो बहुलवासीहरूको क्षेत्र भएकाले रमझम खोजिरहने क्षेत्र पनि हो ।
सुन्दर इतिहासबाट विकसित भएको बुटवल साँच्चिकै भूपिले भनेका यी हरफमै मस्त भएको छ ।
मानिस
कोही पूर्वका
कोही पश्चिमका
कोही पहाड फाँटका
कोही भारतका, कोही भोटका
तर सब यहाँ भेला भएका छन्
खोजीमा हरिया नोटका




