बुटवल । बुटवल उप–महानगरपालिका ऐतिहासिकताले भरिएको क्षेत्र हो । रूपन्देही जिल्लाको उत्तरी सिमानामा रहेको बुटवल उप–महानगरपालिकाको उत्तरमा पाल्पाको तिनाउ गाउँपालिका छ । पूर्वमा देवदह, पश्चिममा सैनामैना र दक्षिणमा तिलोत्तमा नगरपालिका र शुद्धोधन गाउँपालिका छन् । पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल हो, बुटवल । यो शहरको बिचबाट तिनाउ नदी बग्छ । यहाँ रहेका प्राचीन तथा ऐतिहासिक जितगढी किल्ला, सेन वंशीय राजाको ग्रीष्मकालीन दरबार, मन्दिर, विहारजस्ता सम्पदाले सयौं वर्षअघि पनि बुटवल गणराज्यको राजधानी र व्यापारिक केन्द्र थियो भन्ने कुराको पुष्टि गर्छ । राणा शासनकालको अन्तिम चरणदेखि बुटवलले बिस्तारै आधुनिक शहरको रूप लिन थालेको इतिहासविद्हरू बताउँछन् ।
यो शहरलाई आर्थिक केन्द्रका रूपमा मात्रै होइन, मानव संशाधनका दृष्टिबाट पनि उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने मुख्य शहरका रूपमा स्थापित गर्ने जिम्मेवारी यहाँका जनप्रतिनिधिको काँधमा छ । बुटवललाई देशकै अगुवा शहरका रूपमा स्थापित गर्न शिक्षा, स्वास्थ्य, प्रविधि, पर्यटन, रोजगार सिर्जना, उद्यमशीलतामा जोड दिँदै यहाँ महत्वपूर्ण योजनाहरू अगाडि सारिएका छन् ।
विकासका दृष्टिकोणले बुटवल काठमाडौं उपत्यकाबाहिरका अग्रणी शहरमध्येको एक हो । नवलपरासीदेखि दाङसम्म र उत्तरका पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्यूठान, बागलुङ, पर्वतसँगको बुटवलको व्यापारिक साइनो शताब्दी पुरानो हो । भौतिक पूर्वाधार र मानव संशाधनको विकासमा बुटवलले राष्ट्रिय रूपमै नेतृत्व गर्ने क्षमता राख्छ । देशमा भएका महत्वपूर्ण परिवर्तन र उपलब्धिहरूमा बुटवलले नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।अन्तर्राष्ट्रिय सभाहल तथा प्रदर्शनी केन्द्र, झन्डै ६ अर्बको लगानीमा स्तरोन्नति हुँदै गरेको लुम्बिनी प्रादेशिक अस्पताल, महिला तथा बालबालिका अस्पताल आम्दा, व्यवस्थित अटोभिलेज, ढुवानीग्राम, खेल पूर्वाधार, शैक्षिक पूर्वाधार, पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थलजस्ता भौतिक तथा सेवामूलक क्षेत्रको विकास र विस्तारले बुटवललाई अग्रणी नगरका रूपमा उभ्याउने प्रयास गरेका छन् ।शैक्षिक पर्यटनको कुरामा बुटवललाई अग्रणी शहरभन्दा फरक पर्दैन् । बुटवल उप–महानगरपालिकासहित बुटवल क्षेत्रमा रहेका शैक्षिक धरोहर यसै अब्बल रहेको छ ।
बुटवलमा स्थापना भएको महावीर पुस्तकालय यहाँको पहिलो शैक्षिक तथा साहित्यिक संस्था हो । जसको स्थापना वि.सं.२००४ सालमा भएको थियो । रूपन्देही र जिल्लाको साहित्यिक विकासको पृष्ठभूमिमा थारू, भोजपुरी नेपाली लोकसाहित्य रहेको देखिन्छ प्रगतिशील पुस्तकालय (बुटवल), नेपाल सोभियतमैत्री पुस्तकालय (बुटवल), नवजागृति पुस्तकालय (बुटवल), ज्ञानज्योति पुस्तकालय (बुटवल) नन्दन पुस्तकालय (बुटवल), दीपेन्द्र पुस्तकालय (बुटवल), आदि पुस्तकालयहरूले पनि बुटवलमा शिक्षा र चेतनाको विकासमा योगदान पुर्याएका छन् ।
शिक्षामा अब्बल बुटवल
बुटवल यसै पनि शिक्षामा अब्बल क्षेत्र हो । बुटवल उप–महानगरपालिका नेपालकै शैक्षिक केन्द्र बनेको छ । यहाँका शैक्षिक संस्थाहरू लुम्बिनी प्रदेशमा मात्र नभई राष्ट्रमा नै परिचित छन् । बुटवलबाट उत्पादित जनशक्ति विश्व बजारमा पुगेका छन् । यहाँ त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र बौद्ध विश्वविद्यालयसँग सम्बन्धित क्याम्पसहरू छन् । यहाँ देशका प्रख्यात सामुदायिक विद्यालयहरू र संस्थागत विद्यालयहरू छन् । बुटवल प्राविधिक शिक्षामा पनि निकै अगाडि रहेको छ । सिटिइभिटी तथा पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका शैक्षिक संस्थाहरूले ठूलो योगदान दिएका छन् । शिक्षामा रहेको यही आकर्षणका कारण टाढा टाढाबाट मानिसहरू बुटवल आउँछन् ।
माध्यमिकस्तरमा देशमै उत्कृष्टमध्येका कालिका मावि, नवीन औद्योगिक मावि, कान्ति माविजस्ता सार्वजनिक विद्यालयहरू छन् । जहाँ विद्यार्थीलाई भर्नाका लागि पालो कुर्नुपर्ने अवस्था छ । निजी क्षेत्रबाट पनि उत्तिकै स्तरीय शिक्षा प्रदान भइरहेको छ । एसईई होस् वा उच्च शिक्षा बुटवलले देशमै ख्याति कमाएको छ । यसका साथै बुटवल बहुमुखी क्याम्पससहित लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतमबुद्ध क्याम्पसले उच्च शिक्षाको लागि विद्यार्थीहरूलाई बुटवल बाहिर जान परेको छैन ।
यस्ता छन् थप योजनाहरू
बुटवल उप–महानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको विकासमा शिक्षा र स्वास्थ्यको भूमिका महत्वपूर्ण हुने बताउँछन् । उनले जनताले अनुभूति गर्नेकुराहरू नै यहि भएको बताउँदै उनले भने –‘हाम्रो मुख्य कार्यभार चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने, चालु योजनालाई समयमै सम्पन्न गर्ने, बुटवलवासीलाई सुशासन र विकासको अनुभूति दिलाउनु हो । संघ, प्रदेश र आन्तरिक स्रोतको अधिकतम परिचालन तथा दातृ निकायहरूबाट प्राप्त सहयोगको उच्चतम उपयोग गरी बुटवलको विकासमा नयाँ उचाइ हासिल गर्नेछौं ।’
बुटवल उप–महानगरपालिका प्रमुख पाण्डेयका अनुसार आन्तरिक श्रोतबाट मात्रै यो वर्ष शिक्षामा १० करोड जति बजेट छुट्टिएको छ । प्राविधिक शिक्षामा बुटवल टेक्निकल इन्ष्टिच्युटमा सिभिल इञ्जिनियरिङतर्फ स्नातक तहको अध्ययन आरम्भका लागि काम अघि बढेको छ । बुटवल १६ मा कृषि विज्ञान (बी.एस.सी.ए.जी.) कलेज स्थापनाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । आम्दामा पारामेडिकल कक्षाहरू सञ्चालन भएका छन् । अटो भिलेजमा इञ्जिनियरिङ अध्ययन गराउनका लागि पहिलो चरणको अध्ययन पूरा भएर काम अगाडि बढेको छ । विद्यालयहरूको भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलापमा जोड्दै विद्यार्थीहरूको क्षमता विकास गर्न नगरस्तरीय फुटबल प्रतियोगिता, लोकनृत्य प्रतियोगिताजस्ता विद्यालयलक्षित प्रतियोगिता प्रत्येक वर्ष हुन थालेका छन् ।
गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्याउन विद्यालय पूर्वाधार विकास कार्यक्रम, स्थानीय पाठ्यक्रम पुनर्निर्माण तथा संशोधन, क्याम्पस पूर्वाधार विकास कार्यक्रमलगायत विद्यालय तथा क्याम्पसहरूको भौतिक तथा शैक्षिक विकासका लागि विशेष कार्यक्रमहरू सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।
९१ हजार विद्यार्थी अध्ययनरत
‘अहिले बुटवलले शिक्षा र स्वास्थ्यमा एक खालको फड्को मारेको छ, बुटवलमा ९१ हजार विद्यार्थी छन्,’ उनले भने–‘सरकारी विद्यालयहरूमा देशभरिकै नमूना विद्यालयका रूपमा बुटवलले स्थापित गरेको छ ।’ पूर्णरूपमा पूर्वाधार हुने हो भने अहिले भएको भन्दा दोब्बर संख्यामा विद्यार्थी राख्न सकिने उनको दाबी छ । ‘त्यसैले शिक्षामा बुटवलले गर्व गर्ने स्थिति छ, गत साल मात्र बुटवलले शिक्षाको क्षेत्रमा आफ्नो पूर्ण बजेटको २६ प्रतिशत शिक्षामा छुट्याएको छ, हिजो ठूलो विद्यालयसँग साना विद्यालय मर्ज गर्ने कुरा उठेको थियो,’ उनले भने–‘हामीले त्यो कुरा रोक्यौं, जुन समुदायमा विद्यालय छ, त्यो विद्यालय मर्ज गरेपछि त्यो समुदायको विद्यार्थी त्यहाँ पढ्न आउने भएनन्, बाहिरका विद्यार्थी मात्र पढ्न आउने भए, त्यो समुदायको विद्यार्थीले पढ्न नपाउने भए ।’
त्यसैले त्यहाँ भएका आधारभूत विद्यालयलाई कसरी स्तरोन्नति गर्ने र सबै विद्यालयलाई कम्प्युटर, आइटीसँग कसरी जोड्ने भनेर बजेट माग्न नआउँदा पनि ती विद्यालयलाई बजेटको व्यवस्थापन गरेर प्रविधियुक्त विद्यालय बनाउनेमा लागिपरेको उनको भनाइ छ । ‘यो कुरालाई हामीले निरन्तरता दिएका छौं, यसो गर्दा त्यहाँको समुदायको विद्यालयमा विद्यार्थीको संख्या बढ्दो मात्रामा छ, बुटवलमा गत वर्ष नै नर्सिङ, एचएको अध्ययन सुरु गरेका छौं,’ उनले भने–‘शिक्षा र स्वास्थ्यलाई बुटवलले धेरै, उच्च प्राथमिकतामा राखेको छ, बुटवलमा गरिने शिक्षा र स्वास्थ्यको विकास बुटवलका लागि मात्र होइन । देशका सबै क्षेत्रका लागि हो ।’
अहिले एक हजारभन्दा बढी विद्यार्थी कर्णाली प्रदेशका रहेको उनले बताए । उनले भने–‘स्वास्थ्य उपचकारका लागि साविक लुम्बिनी अञ्चलका जिल्लाहरूबाट बिरामी यहाँ आउँछन्, शिक्षा र स्वास्थ्यमा हामीले मात्र होइन, हाम्रो छिमेकसँग भूगोल जोडिएका सबैले विश्वास गरेको अवस्था छ ।’ यसमा प्रदेश र संघीय सरकारको सहयोग रहेको उनले बताए ।
९८ वटा माध्यमिक तहसम्म गराउने विद्यालय बुटवल उप–महानगरपालिकाभित्र रहेका छन् । यी मध्ये ५७ वटा निजी अर्थात् संस्थागत विद्यालयहरू रहेको उपमहानगरको माध्यमिक शिक्षा शाखाले जनाएको छ भने ५ वटा धार्मिक विद्यालय रहेका छन् र ३६ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । यी विद्यालयमा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीको संख्या ७१ हजार ४ सय ३ रहेको माध्यमिक शिक्षा शाखाले जनाएको छ । बुटवलमा रहेका क्याम्पसहरूमा पनि २ देखि ५ हजार विद्यार्थीहरू रहँदा ९१ हजार बढी विद्यार्थीहरू रहेको अनुमान गर्न सकिन्छ ।
शिक्षा सुधारका महत्वपूर्ण कार्यहरू
बुटवल उप–महानगरपालिका माध्यमिक तह शिक्षा शाखाका उपनिर्देशक टिकाराम पन्थीका अनुसार बुटवल उप–महानगरपालिकाले पछिल्लो समय शिक्षाको लागि विभिन्न सुधारका प्रयासहरु अगाडि बढाएको छ ।
उनका अनुसार अहिले बुटवलभित्र रहेका अधिकांश विद्यालयहरुमा अहिले भौतिक पूर्वाधार थपिने क्रम जारी छ ।
उनका अनुसार पाँच वर्षे शैक्षिक योजना निर्माणको कार्यदल गठन गरी काम अगाडि भइरहेको छ । यसका साथै स्थानीय पाठ्यक्रम संशोधनको पनि कार्यदल गठन भइ निरन्तर काम भइरहेको छ । जसमा पहिले छापिएका पुस्तकहरूमा परिवर्तनका कामहरू भइरहेका छन् । शिक्षकहरूलाई मासिक रूपमा तलब भत्ता निकासा भइरहेको जानकारी गराउँदै बुटवलमा तलबको कारणले समस्या नआएको उनले दाबी गरे ।
बुटवल उप–महानगरपालिकाभित्र रहेका कक्षा बालविकासदेखि कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाहरूका लागि संघीय सरकारबाट प्राप्त हुने प्रतिदिन रु १५ खाजा खर्चलाई बुटवल उप–महानगरपालिकाबाट रु १० थप गरी २५ रुपैयाँ पुर्याइएको बताउँदै उनले यो कार्यले विद्यार्थी आवागमनको दर बढ्ने विश्वास व्यक्त गरे । अङ्ग्रेजी माध्यमबाट अध्यापन हुँदा यहाँ सामुदायिक र संस्थागत विद्यालयको नतिजा बराबर जस्तै छ ।




