भैरहवा । रुपन्देहीका अधिकांश उद्योगको काचो इट्टा बेमौसमी वर्षाले नष्ट हुँदा उद्योगीहरु निराश भएका छन् ।
जिल्लामा रहेको ५२ वटा उद्योगमध्ये २६ वटा सञ्चालनमा रहेका छन् । आर्थिक संकटको कारण सञ्चालित उद्योगको क्षमतामध्ये पनि ५० प्रतिशत उत्पादन गरिरहँदा समेत यो वर्षाले सञ्चालित उद्योगको २ करोड ५० लाख इट्टामा क्षति पुगेको लुम्बिनी इट्टा उद्योग व्यवसायी संघ रुपन्देहीले जानकारी दिएको छ ।
क्षति पुगेको इट्टा पुनः कच्चा माटो नै हो । खुला आकाश मुनि सुकाउन राखिएको काँचो इट्टा नष्ट हुँदा उद्योगीले करिब ८ करोड रुपैयाँ नोक्सानी व्यहोर्नु परेको लुम्बिनी इट्टा उद्योग व्यवसायी संघ रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।
‘अन्नबालीको खेती किसानी जस्तै इट्टा उद्योगको पनि जोखिम उस्तै हुन्छ, सुकाउने विकल्प छैन,’ गुप्ताले भने –‘४ महिनाको उत्पादनले वर्ष भरि बिक्री गर्नु पर्ने अवस्थामा आधामात्रै उत्पादन भएको उद्योगले अर्को वर्ष थप संकट उत्पन्न हुने देखिन्छ ।’ आर्थिक संकट र नीतिगत कारणले सधँै मारमा परे पनि राज्यले संरक्षण गर्नुको साटो पलायन हुने वातावरण बनाइरहेको गुप्ताको भनाइ छ ।
मुख्य कच्चा पदार्थ माटो नै हो, तर उत्खनन्का लागि रोक, पालिका पिच्छे कर र ढुवानीले उद्योगीहरु समस्यामा पर्ने गरेको गुप्ताले बताए । अहिले माटो संचित गर्ने समय हो, तर माटो पाउन मुस्किल भएकाले यसको असर अर्को वर्ष देखिने उनले जनाए । ‘नेपाल इट्टामा आत्मनिर्भर छ, तर सरकारको विभिन्न नीतिगत कारणले र सहजीकरण नगर्दा उद्योगी मारमा पर्दै गएका छन् ।’–गुप्ताले भने ।
एउटा काचो इट्टा बनाउन करिब ३ रुपैयाँ खर्च लाग्ने र यो खुला आकाशमै सुकाउनुपर्ने भएकाले एक्कासी आउने वर्षाले नष्ट गर्ने गरेको छ । वर्षेनी उद्योगीहरुले यो समस्या झेल्दै आएका छन् । ‘काचो इट्टाको बिमा गर्न उद्योगी तयार छन्, तर सरकार र बिमा कम्पनिले नीतिगत निर्णय गरेर बिमाको लागि सहज वातावरण बनाउन सकेको छैन,’ अध्यक्ष गुप्ताले भने–‘कच्चा पदार्थको मूल्य बढ्दा इट्टाको उत्पादनको लागत पनि स्वतः बढ्ने त्यसमाथि हरेक वर्ष लाखौंको इटा नोक्सानी हुँदा समेत इट्टाको बिक्री दर बढेको छैन ।’
सुकाएपछि राख्ने ठाउँ व्यवस्थित भए पनि काचो इट्टा सुकाउने खुला आकाशमुनि नै भएकोले लाखांै इट्टा वर्षाले नष्ट भएको पाठक इट्टा उद्योगका सञ्चालक डोलराज पाण्डे बताउँछन् ।
‘पटक–पटकको पानीले ध्वस्तै बनाएको छ, पानी परेपछि २ पटक पम्पसेट लगाएर फिल्ड खाली गरियो, तर अकस्मातको वर्षाले काम गर्ने समस्या भयो, अहिलेको समय काचो ईटाले भरिभराउ हुनुपर्ने ठाउँमा सीमित जनशक्तिले सीमित मात्रामा उत्पादन गर्ने गरेकाछौं ।’–सञ्चालक पाण्डेले भने ।
मौसम पूर्वानुमान महाशाखाले भने भन्दा फरक दिनमा पानी पर्दा इट्टा गोदाममा संचित गर्ने वतावरण नै नबनेको उद्योगीहरुको भनाइ छ । मुख्यतया यहाँका उद्योगमा माघदेखि बैशाखसम्म उत्पादन हुन्छ, त्यसका लागि मंसिरमा नै कामदार ल्याउनु पर्ने र अधिकांश कामदार जिल्ला बाहिरको हुने भएकोले समय अगावै काचो इटा बनाउनु पर्ने बाध्यता रहेको छ ।
आफ्नो बलबुताले भ्याएसम्म आकाशमुनिको इट्टा सुरक्षित गर्न खोजेको, प्लास्टिकले ढाके पनि सामान्यभन्दा बढी पानी परेकोले क्षति व्योहोर्नु परेको उद्योगीहरु सुनाउँछन् । इट्टा उद्योगीहरु मारमा परे पनि सरकारले संरक्षण गर्नुको साटो झन दुख दिएको भन्दै व्यवसायीहरुले देशको वर्तमान आर्थिक परिवेशले इट्टाको मागमा कमी आउँदा देशभरका सम्पूर्ण उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताए ।
इट्टा उद्योगलाई प्रविधिसँग जोडेर परनिर्भर कोइलाको आयात घटाउनु पर्ने, इट्टाको खपत बढाउन निर्माणमा सरकारी मापदण्डलाई कडाइ गर्नुपर्ने माग छ । रुपन्देहीमा वर्षिक १०–१२ करोड बढी इट्टाको उत्पादन क्षमता छ भने सो अनुपातमा खपत पनि छ । समग्रमा इट्टामा रुपन्देही आत्मनिर्भर भए पनि यहाँका केही इटा जिल्ला बाहिर जाने र सो संख्यामा नै विभिन्न जिल्लाबाट आउने गरेको संघले जानकारी दिएको छ ।
सरकारले सबै क्षेत्रमा बैंकिङ प्रणलीबाट बिमाको व्यवस्था गरे जसरीनै इट्टा उद्योगको बिमाका लागि कार्यविधि बनाई कार्यान्वयन गर्न उद्योगीहरुको माग छ ।




