हिउँदभरी वर्षा भएन् । लामो समयपछि चैतको अन्तिमतिर वर्षा भयो, पहाडमा मकै छर्न भ्याईनभ्याई छ । गत वर्ष पनि लामो खडेरी परेको थियो बैशाख अन्त्यमा मात्रै वर्षा भएको थियो । जलवायु परिवर्तनको असर नेपालको कृषि प्रणालीमा परेको छ । अझ पहाडमा खानेपानीको संकट चुलिँदो छ ।
लामो समय खडेरी पर्ने, वर्षा भए पनि राम्ररी मुल फुट्ने गरी वर्षा नहुने, कतिपय ठाउँमा अधिक वर्षा हुने र कतिपय ठाउँमा न्यून वर्षा हुने प्रवृत्ति प्रकृतिमा देखिएको छ । यसले कृषि प्रणालीमा चर्को मार परेको छ नै, पानीको चरम संकट पनि देखिन थालेको छ । पानीका मुहान सुक्दै गएपछि पहाडी बस्ती खानेपानी अभाव झेल्दै छन् । गएको हिउँदमा हिमालमा पर्याप्त हिउँ परेन् । हिमपात भएकाले हिमाली क्षेत्रका बासिन्दाको मुहारमा चमक आए पनि सेतै देखिने डाँडा उराठलाग्दा काला देखिए । डढेलोले तराई र पहाडको वन सखाप भयो । वनमा लागेको डढेलो बस्तीमा पस्दा धेरै गाउँबस्ती खरानी भए ।
जलवायु परिर्वतनको भयङ्कर कठिन दिनको सामना गर्नुपर्ने चेतावनी वैज्ञानिकहरुले दिइरहेका बेला यतिखेर हामी त्यही कठिन दिन बिताउँदै छौं । गुल्मी र अर्घाखाँचीका ग्रामीण बस्ती हिउँदको मध्यतिरबाट खानेपानीको संकट सामना गर्दैछन् । पहिलेका कुवा र पधेँरा मासिए ।
घर—घरमा आएका धारामा पानी चुहिन छाड्यो । पुर्खाको मिहिनेत र लगनमा बनेका पँधेरा र कुवा समाप्त पार्दाको दुःख अहिले झेल्दैछन् । कुवा र पँधेरा गाउँका पहिचान थिए । मान्छेका लागि मात्रै नभएर अरु जीवजन्तुका लागि पनि पानीको स्रोत थिए । गाउँमा विकास पस्यो, एकघर एक धारा अभियान चल्यो, पँधेरा र कुवा मासिए । धारा जोडिए तर खानेपानीको मुहान सुकेपछि धारामा कसरी आउँछ पानी ?
त्यसो त संभावित जोखिमको ख्याल गर्दै लुम्बिनी प्रदेश सरकारले गाउँ—गाउँमा रहेका पुराना पोखरी र पँधेरा पुर्नजीवित गर्ने गरी एक गाउँ एक पोखरी अभियान अघि बढायो । प्रदेश सरकारले दिन खोजेको सन्देश पोखरी जोगाउँ भन्ने हो तर पोखरी र पँधेरा जोगाउन सरकारकै मुख ताक्ने प्रवृति राम्रो होइन् ।
समुदायले गाउँ गाउँमा पोखरी जोगाउन सक्छन् । समुदायको परिचालनबाट पानीका मुहान जोगाउने, पोखरी खन्ने अभियान चलाउने र त्यो अभियानमा सरकार सहयोगी बन्न सक्छ । यतिबेला बजेटको तयारी गर्ने समय हो । यो बेला पोखरी, पँधेरा र कुवालाई पुर्नजीवित गर्न र भएका पानीका मुहान जोगाउन तहगत सरकारले प्राथमिकता दिनुपर्छ । पानी नै जीवन हो ।
हरेक प्राणीको जीवन जोगाउन पानीका मुहान संरक्षण गरौैँ । पानीको संभावित संकट पार लगाऔँ ।




