आज २२ अप्रिल अर्थात् बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पहिलो स्थापनाको दिन । आजै लेनिनवादका प्रबर्दक तथा संस्थापक नेता कमरेड लेनिनको पनि जन्म दिन हो । यही अवसरमा आजभन्दा ७६ वर्ष पहिले अर्थात् २००६ साल बैशाख आजैको दिनमा क. पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो । सर्वप्रथम आजको यो दिनमा पहिले क. लेनिनप्रति क्रान्तिकारी लालसलाम सहिद भावपूर्ण हार्दिक श्रद्धाञ्जली त्यस्तै नेकपा संस्थापक नेता क. पुष्पलाल सहित अरु सबै संस्थापक नेता कमरेडहरुप्रति पनि क्रान्तिकारी लाल अभिवादन सहित भावपूर्ण हार्दिक श्रद्धाञ्जली । साथै नेकपाको स्थापना विकासका लागि संघर्ष र बलिदान दिने सयौं क्रान्तिकारी सहिदहरुप्रति लाल अभिवादनसहित भावपूर्ण श्रद्धाञ्जली ।
आजको यो दिनमा सर्वप्रथम नेकपाको स्थापनापछि जारी गरिएको पहिलो घोषणापत्रमा उल्लेखित तत्कालीन केही कार्यक्रमका बारेमा केही चर्चा गरौं । पहिलो बुँदामा ‘सामन्ती एकत्वाद तथा विदेशी अधिनायत्वको पूर्व उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधिनता । त्यस्तै विना मुआब्जा जमिनदारी प्रथा र सबै खालको सामन्ती शोषणको उन्मूलन र जोताहालाई जमिनको वितरण गर्नु, ग्रामीण ऋण खतम गर्नु, कृषि मजदूरहरुलाई जीवन योग्य ज्याला । बैंक औद्योगिक तथा यातायात व्यवसाय, बगान, खानी आदिमा लगाइएको विदेशी पूँजी राज्यद्वारा जफत गर्नु र ती सबैको राष्ट्रियकरण गर्नु । स्वस्थ्य, शिक्षा निःशुल्क, अनिवार्य प्राथमिक शिक्षा प्राप्त’ आदि । तर आज यो बितेको ७६ वर्षसम्म पनि यी कुनै पनि कार्यक्रम यहाँ लागू भएका छैनन् । नेकपाका विरोधी राजा, कांग्रेस र पञ्चेहरुले त यस्ता कार्यक्रम देशमा लागू गर्ने प्रश्न नै उठ्दैन । यी सबै सामन्ती, दलाल र नोकरशाही नै भए । देश र जनताको हितप्रति यी सबैको के चासो ? तर आफूलाई कम्युनिष्ट भन्नेहरुले नेकपाको इतिहासलाई स्वीकार छन्, तर यी कुनै पनि कम्युनिष्ट पार्टीहरुबाट आजसम्म यसमा केही पनि भएको छैन । स्वयं सरकार र सत्तामा पुगिसक्दा पनि यसप्रति यी सबैबाट अहिलेसम्म केही पनि भएको पाइँदैन । पटकपटक एमाले र माओवादी पार्टीका नेताहरु सरकारमा गए र त्यसको नेतृत्व नै गरे । अहिले पनि नेतृत्व कम्युनिष्ट भन्ने एमाले दलकै छ । तर यी सबैले यसमा केही पनि नगरी खाली आआफ्नै पद, प्रतिष्ठा र कमाउधन्दामा मात्रै लिप्त भई आएका छन् । राष्ट्रियताप्रति बेवास्ता उल्टै साम्रराज्यवादी अमेरिका–भारत र चीनसँग सौदाबाजी । दलाली र राष्ट्रिय स्वाधिनताप्रति घात हुने गरेको छ ।
त्यस्तै सामन्ती एकतन्त्रवादको पूर्ण उन्मूलन र देशमा गणतन्त्र आएको भनिए पनि अहिले फेरि सामन्ती राजा र राजतन्त्रका हिमायतीहरु जुर्माराउन थालेका छन् । सदनदेखि सडक चारैतिर होहल्ला मच्याउँदै राजा र राजतन्त्रको पुनस्र्थापनाका लागि यही गत चैत १५ गते वानेश्वरको तिनकुनेमा ठूलै हत्या, हिंसा र तोडफोड नै गराई छाडे । यी सबै पूर्व राजा ज्ञानेन्द्रकै नेतृत्व र मातहत अनि निर्देशनमा भएको प्रष्ट छ । स्वयं यसलाई प्रम केपी ओली र सरकारका मन्त्रीहरुले भन्ने गरेका छन् । तर यस्तालाई अर्थात् पूर्व राजा ज्ञानेन्द्र र यो हिंसाको प्रत्यक्ष नेतृत्व गर्ने पूर्व पञ्चे नवराजलाई अहिलेसम्म पनि केही नगरी त्यत्तिकै छोडिएको छ । अझ उल्टै ज्ञानेन्द्रले यसलाई तेस्रो जनआन्दोलन भएको भन्दै दमनमा नउत्रन सरकारलाई चेतावनी दिन थालेका छन् । त्यस्तै पूर्व पञ्चे– मण्डले र राजावादीहरुले पुनः त्यस्तै हत्या, हिंसा र आतंक मच्याउन उर्दी नै जारी गरिसकेका छन् ।
हिजो जुन दिन राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेको भनियो । तर त्यसले पूर्णरुपले सामन्तवादको अन्त्य नगरी खाली एउटा पूर्व राजाको त्यसमा पनि केही सहमति र शर्तमा भएको भनिदैछ । १२ बुँदे दिल्ली सात दलीय सहमति अनि ज्ञानेन्द्रले भन्ने गरेको कथित नासोलाई लिएर अहिले ज्ञानेन्द्र र उनका आसेपासे पुराना पञ्चे–मण्डले र दरबारियाहरुको बढ्दो चुरीफुरी र दौडधुप अनि उनीप्रति देखाइएको सरकारी रवैयाले कतै पुनः राजा र राजतन्त्रको पुनस्र्थापना हुने त होइन ? शंका देखिन थालेको छ । यसरी समग्रमा भन्दा नेकपा स्थापनाको अवस्थामा जस्तै देशको राष्ट्रियता, स्वाधीनता र स्वाभिमान अनि जनतन्त्र र जनजीविकामा खासै फरक भएको देखिंदैन । बढे राजा गए पनि अनेकौं छोटे राजाको जगजगी भएको महसुस जनताले गरिरहेका छन् ।
माथि भनिएका अर्थात् नेकपाको पहिलो स्थापना कालमा भनिएको यी सबै कार्यक्रम अहिलेसम्म कुनै पनि सम्पन्न भएका छैनन् ।
कृषि, उद्योग, यातायात, स्वास्थ्य, शिक्षा सबैमा यस्तै छ । अहिले देशमा शिक्षकहरुको आन्दोलन भइरहेको छ । त्यतिबेलै नेकपाको कार्यक्रममा शिक्षा निःशुल्क र अनिवार्य भनिएको थियो । पटक–पटक कम्युनिष्टहरुको सरकार भइसक्दा पनि त्यो भएन । उल्टै सरकारी विद्यालयलाई निरुत्साही र निजीलाई प्रोत्साहित गराउने काम एमाले अध्यक्ष तथा प्रम केपी ओलीबाट भइरहेको छ । यही बेलामा अर्थात् कम्युनिष्टको सरकार भएको अवस्थामा यी सबै शिक्षकका मागहरु मात्र होइन प्राथमिक शिक्षा अनिवार्य र माध्यमिक शिक्षा निःशुल्क बनाउन सकेको भए बल्ल नेकपा स्थापनाको पहिलो कार्यक्रम पूरा हुने थियो । नाम कम्युनिष्टको तर काम सामन्ती, दलाल र नोकरशाही बुर्जुवाको भएपछि के को कम्युनिष्ट र कम्युनिष्टको सरकार ? यो प्रश्न प्रम ओलीका लागि मात्र नभएर एमाओवादी अध्यक्ष प्रचण्ड, माधव, झलनाथ अनि बाबुराम भट्टराई सबैका लागि पनि हो । यथार्थमा यी सबैले कम्युनिष्ट र समाजवादीको नाममा सामन्ती र दलाल पुँजीवादको मलजल गरिरहेका छन् ।
नेकपाको स्थापनाको सुरुसुरुमा ठूलठूला जनआन्दोलन र विद्रोह भए । राजा–राणा र कांग्रेसबिचको त्रिपक्षीय दिल्ली सम्झौताको विरोध गरी जनसंघर्षलाई अघि बढाउने प्रयत्न भयो । २००६ देखि २००८ सालसम्म देशका विभिन्न भागमा किसान आन्दोलन र विद्रोहको नेतृत्व नेकपाले नै ग¥यो । त्यो संघर्षदेखि अतालिएर तत्कालीन सरकारले नेकपा माथि प्रतिबन्ध नै लगायो । त्यसपछि सम्पन्न पार्टीको पहिलो महाधिवेशनपछि भने पार्टीको नेतृत्व मनमोहन अधिकारी अर्थात् पार्टीका महामन्त्री मनमोहन भए । उनको नेतृत्वमा पार्टी दक्षिणपन्थी अवसरवादमा बदलिदै जान थाल्यो । संवैधानिक राजतन्त्र स्वीकार्ने अर्थमा पार्टी माथि लागेको प्रतिबन्ध हटाउने काम भयो । त्यसपछि क्रमशः पार्टी राजावादीमा बदलिंदै जान थाल्यो । दोस्रो महाधिवेशनको नेतृत्व नै राजावादी डा. केशरजंग रायमाझीमा गयो । २०१७ सालको राजा महेन्द्रको फौजी ‘कु’ पछि पार्टी एक प्रकारको छिन्नभिन्न जस्तै भयो । त्यसलाई केही ब्यँुताउने काम २०२५ सालमा क. पुष्पलालले गरे । तर उनले पनि समग्र पार्टीलाई एकीकरणमा ल्याउन सकेनन् ।
त्यसपछि क्रमशः झापा विद्रोहपछि झापालीको को.के.अनि क. मोहन विक्रम, क. निर्मल लामाहरुको केन्द्रीय न्यूकिलियस हुनै चौ.म. नयाँ कम्युनिष्ट पार्टीको पुनर्निर्माण भयो । तिनै पार्टीहरुको जगमा अहिले नेकपा (माले), एमाले अनि नेकपा मसाल हुँदै माओवादी दल क्रियाशील हुँदै आएका छन् । यसैबीच अहिले यी सबै दलहरु संसदवादी हुँदै दलाल पुँजीवादको पृष्ठपोषकमा रमाउँदैछन् । खाली अहिले गैरसंसदवादी कम्युनिष्ट पार्टीको रुपमा नेकपा–विप्लव समूह र वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी मात्र देखिएका छन् । त्यसमा पनि विप्लव समूह पनि संसदवादी राजनीतिअन्तर्गत संसदीय निर्वाचन हुँदै सामन्ती दलाल र नोकरशाही बुर्जुवा राज्य सत्तामा नै सहभागी हुन तम्सिरहेको छ । आखिर अहिले खाली एउटा मात्रै गैर संसदवादी कम्युनिष्ट पार्टी मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिष्ट पार्टी छ ।
नेकपाको स्थापना कालदेखि नैै खास क्रान्तिकारी कार्यदिशा र कार्यशैलीको विकास हुन सकेन । संसदीय कार्यदिशा र कार्यशैलीकै पार्टीको मूल बाटो हुँदै आएको छ । खाली २०२८ को झापा विद्रोह अनि २०५२ साल फागुन १ देखि संचालित १० वर्षे माओवादी जनयुद्धमा केही पार्टीको नयाँ क्रान्तिकारी कार्यदिशा र कार्यशैली देखा प¥यो । क. माओले भने जस्तै क्रान्तिका लागि सही क्रन्तिकारी कार्यदिशा भए पार्टी, नेता कार्यकर्ता सेना हातहतियार सबै बन्छ गलत कार्यदिशा भए सबै गुम्छ । उदाहरण १० वर्षे माओवादी जनयुद्ध हाम्रैसामु छ । हिजो केही नभएको माओवादी १० वर्षे जनयुद्धकालमा यी सबै अर्थात् पार्टी नेता कार्यकर्ता, सेना हतियार, आधार इलाका क्षेत्र सबै भयो । तर जब माओवादी नेतृत्वले १२ बुँदे दिल्ली समझदारी गरी संसदीय राजनीतिमा आत्मसमर्पण गर्न पुग्यो । त्यसपछि ती सबै गुम्दै गए । नेता, कार्यकर्ता सबै दलालमा परिणत भए । सेना, हातहतियार सबै यही सामन्ती र दलाल पूँजीवादी सत्तालाई बुझाउने काम भयो ।
क. पुष्पलालले २०२४ सालपछि मात्र माओ विचारधार अंगाल्न पुगे । त्यसैको आधारमा नयाँ जनवादी क्रान्ति रुप रेखा बनाए । हुनतः पुष्पलालले नेकपाको स्थापनापछि सबभन्दा पहिले प्रकाशित पर्चा (२४ अप्रिल १९४९) मा सोभियत युनियन, नव प्रजातन्त्र, आजात चीन विश्व मजदूर वर्गको आन्दोलन र विश्वका कम्युनिष्ट आन्दोलनसँग हाम्रो एकता जिन्दावाद भनेका थिए । तर २०२४ सालसम्म नेकपाको सम्बन्ध विस्तार चिनियाँ क्रान्तिसँग त्यति भएन । प्रभाव बढी रुसी क्रान्ति अझ भारतीय कम्युनिष्ट पार्टीसँग बढी भयो । बल्ल २०२५ सालपछि क्रमशः झापा विद्रोह हुँदै नेकपा (माले) अनि केन्द्रीय न्यूकिल्यस हुँदै चौ.म. पछि मसाल, एके अनि माओवादी भइसकेपछि मात्र माओवादी सिद्धान्तको प्रभाव यहाँ बढी देखियो । तै पनि अहिले फेरि नाममा माओवादी भनिए पनि काम कार्यदिशा र कार्यशैली सबै सामन्ती र दलाल पुँजीवादी हुने गरेको छ । माथि भने जस्तै केही मात्रामा त्यस्तो पार्टी अहिले क्रान्तिकारी कम्युनिष्ट पार्टी मात्र देखिएको छ ।
तै पनि यो पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबाट अघि सारेका केही विचार सिद्धान्त र कार्यदिशामा भने केही डुलमूल र अन्यौलता देखा पर्न थालेको छ । नयाँ जनवादलाई खुड्किलो मात्र भएको भन्दै अरु दलहरुले जस्तै तत्काल समाजवादकै नारा अघि सारेको छ । नयाँ जनवादबारे क. माओले केही चिनियाँ वामपन्थी लफ्फाजीको खण्डन गर्दै भनेका छन्–‘आज समाजवादको लागू गर्ने काल होइन । चिनियाँ क्रान्तिको तत्कालीन कार्य साम्रराज्यवाद तथा सामन्तवादसँग लड्ने हो । जबसम्म यो कार्य पूरा हुँदैन तब तक समाजवादको प्रश्न उठ्न सक्दैन । चिनियाँ क्रान्तिको अनिवार्य रुपमा दुई कदम छ, पहिलो नयाँ जनवाद र अर्काे समाजवादको । यसको अलवा पहिलो कदमका लागि काफी लामो समयको आवश्यकता पर्छ यो रातारात पूरा हुन सक्दैन ।’ (माओको संकलित रचना रेड बुक भाग–२ पृष्ठ ६३६–३७) क. माओको यो भनाइले नयाँ जनवादलाई खाली एउटा खुड्किलो अर्थात् ‘स्टेप’ मात्र नभएको प्रष्ट छ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टीले यो मात्रै होइन २० वर्षे माओवादी जनयुद्धको लाइन र कार्यदिशालाई पनि छोडेको छ । दीर्घकालीन जनयुद्धको सट्टामा अब उसले सशस्त्र जनविद्रोहको कार्यदिशा अपनाउन थालेको छ । जस्तो तत्कालीन माओवादी पार्टीले जनयुद्धको थालनी दीर्घकालीन जनयुद्धको कार्यदिशाअन्तर्गत ग¥यो तर २०५७ सालपछि उसले विस्तारै नयाँ जनवादलाई २१औं शताब्दीको जनवाद भन्न थाल्यो अनि दीर्घकालीन माओवादी जनयुद्धलाई सशस्त्र जनविद्रोह ‘फ्युजन’ गरेको बताउन थाल्यो । यसरी एकाएक जनयुद्धलाई विद्रोहमा फ्युजन गराउन खोज्दा उसको कार्यदिशा नै उल्टियो । जसको परिणाम पार्टी १२ बुँदे दिल्ली समझदारी हुँदै संसदीय दलाल पूँजीवादमा भासिन पुगेको छ । यसलाई त्यतिबेलै एक जना माओवादी नेताले पार्टी नेतृत्वको फ्युजन नीतिले सिंगो पार्टीलाई नै कन्फ्युजनमा पा¥यो भनेका थिए । ठीक फेरि यस्तै कन्फ्युजन विप्लव समूहमा देखियो । नयाँ जनवाद अनि दीर्घकालीन जनयुद्धको विकल्पमा एकीकृत जनक्रान्ति भन्दाभन्दै अब अहिले संसदवादी चुनावी लाइन अन्तर्गत घुम्दैफिर्दै प्रचण्ड नै छाहारीमा आई बस्ने तयारी गर्दैछन् । क्रान्तिकारी कम्युनिष्ट पार्टीले अहिले अघि सारेको कार्यदिशाले नयाँ जनवादलाई मात्र खुड्किलो अनि फौजी कार्यदिशालाई सशस्त्र विद्रोहमा रुपान्तरित गराउँदै गोलमेच सम्मेलन साथै अन्तरिम सरकारसम्मका नारा अघि सार्न थालेको छ । अब हुँदाहुँदा कतै विप्लवकै बाटो हुँदै वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि प्रचण्डकै छाहारी खोज्दै त छैन ? प्रचण्डले पनि सार्वजनिक रुपमै भन्ने गरेका छन् । पुराना माओवादी वैद्य विप्लव बाबुरामलगायत सबै मिली एउटै पार्टी बनाऊ । यो कार्यदिशाले अन्ततः पु¥याउने भनेको त्यही नै हो । तैपनि आशा गरौं वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी त्यता जाने छैन । ढिलोचाँडो १० वर्षे माओवादी जनयुद्धकै कार्यदिशाअन्तर्गत माओवादी क्रान्तिलाई अगाडि बढाइरहने छ ।
अन्त्यमा ७६ वर्षे यो नेकपाको स्थापना कालको यस्तै विविध समीक्षासहित क्रान्तिकारी माओवादी कम्युनिष्ट पार्टीको पुनर्निर्माण आजको आवश्यकता हो । संसदवाद– मूर्दावाद, माओवादी जनयुद्ध–जिन्दावाद ।




