तिलोत्तमा । भारतको साग भलिबल क्लब गुजरात तिलोत्तमामा जारी १० औं मणिमुकुन्द कप पुरूष इन्डो नेपाल क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
तिलोत्तमा २ स्थित क्लबको आफ्नै खेल मैदानमा बिहीबार भएको पहिलो खेलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटले पराजित गर्दै गुजरातले सेमिफाइनलमा स्थान पक्का गरेको हो । खेलमा गुजरातका जेहान मलिक म्यान अफ द म्याच भए ।
लिग चरणका खेल पूरा हुंदा एपीएफ सहित आयोजक मणिमुकुन्द भलिबल क्लब र कोशी प्रदेश भलिबल संघ पनि प्रतियोगिताबाट बाहिरिएका प्रतियोगिता संयोजक सुरेन्द्र गुरूङले जानकारी दिए ।
यस क्षेत्रमै पहिलोपटक आयोजना भएको रात्रिकालीन भलिबल प्रतियोगिता बैशाख १३ सम्म चल्ने क्लबका निवर्तमान अध्यक्ष मिलन रानाले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेले नगद रू ३ लाख ११ हजार एक सय ११ , दोस्रो हुने टिमले नगद २ लाख ११ हजार एक सय ११ रुपैयां , तेस्रो हुनेले १ लाख ११ हजार एक सय ११ रुपैयां तथा सान्त्वना हुने टिमले ६६ हजार ६ सय ६६ रुपैयां तथा कप र प्रमाणपत्र हात पार्ने आयोजक क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।
उत्कृष्ट खेलाडीले १५ हजार, बिधागत तर्फ ६ जना खेलाडीहरूलाई नगद रू १० हजारका दरले नगद र मेडल, प्रमाणपत्रले पुरस्कृत गरिने छ । प्रतियोगितामा इरान र भारतका खेलाडीको सहभागिताले खेल रोमाञ्चक भइरहेको छ ।
((((((




