एक नेपालीसहित २६ जनाको ज्यान जानेगरी भारतको जम्मु–कश्मीर पहलगाममा भएको आतंकवादी आक्रमण निन्दनीय छ । निर्दोष र निशस्त्र नागरिकमाथि गोली हानी हत्या गरेर आतंककारीले जुन क्रुरता देखाएका छन्, त्यो जति निन्दा गरे पनि कमि हुन्छ । आतंककारीको यो आक्रमणले मानव सभ्यता र मूल्य मान्यतालाई चुनौती दिएको छ ।
भारतले यो आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाएको छ । पाकिस्तानले भारतको आन्तरिक समस्याका कारण भएको घटना भन्दै प्रतिवाद गरेको छ । यो घटनापछि भारत-पाकिस्तानबिच बढ्दो तनावले दक्षिण एशिया अशान्त बनेको छ । नेपाल-भारत खुला सीमा भएकाले नेपालमा पनि सुरक्षा चुनौती थपिएको छ । सम्भावित जोखिमको विश्लेषण गरी आवश्यक कदम नचाल्ने हो भने नेपालले भारत-पाकिस्तान तनावको बाछिटाको असर व्यहोर्नुपर्नेछ ।
मंगलबार पहलगाममा भएको घटनापछि आक्रोशित भारतले सिन्धु जल सन्धि स्थगित गर्ने निर्णय गरेको छ । सार्क भिसा छुटअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको छ । नयाँदिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई अवाञ्चित व्यक्ति भन्दै ७ दिनभित्र देश छाड्न आदेश दिइसकेको छ । इस्लामावादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई फिर्ता बोलाउने निर्णयसमेत लिइसकेको छ । पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरेको छ । इस्लामावादमा भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पु¥याएको छ । भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलअघि पाकिस्तान छोड्न आदेश दिएको छ ।
भारतले आक्रमण गरे सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षाका लागि सबै तयारी गरेको भन्दै सशक्त प्रतिवाद गर्ने जनाएको छ । भारतले आतंककारीविरुद्ध बदला लिने भन्दै पाकिस्तानसँग जुन खालको आक्रोश व्यक्त गरेको छ, यसले दुई मुलुकबिच संभावित युद्धको खतरा देखिन्छ । यो बेला नेपालले आन्तरिक सुरक्षा व्यवस्थापन प्रभावकारी र चुस्त बनाउन ढिलाइ गर्न हुन्न । अहिले नेपालमा पनि आन्तरिक झगडा चर्किएको बेला खुला सिमाको फाइदा उठाउँदै विभिन्न समूह र अपराधिक व्यक्तिको प्रवेश हुन सक्ने जोखिम भएकोले सर्तकतापूर्वक कदम चाल्न आवश्यक छ । विगतमा खुला सीमामा निगरानी नहुँदा नेपालमा अपराधिक घुसपैठ भएको भन्दै भारतले असन्तुष्टि गरिरहेका बेला छिमेकलाई विश्वास दिलाउने गरी नेपालले सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउनुपर्छ ।
रूस–युक्रेन र इजरायल–प्यालेटाइन युद्धले जुन खालको समस्या हामीले भोग्यौं, भारत-पाकिस्तानबिच यदि युद्ध भए धेरै ठूलो जोखिम र समस्या भोग्ने निश्चित भएकाले संभावित जोखिमको आँकलन गरी आन्तरिक तयारी र व्यवस्थापनमा लाग्नु राष्ट्र हितमा हुनेछ । भारत—पाकिस्तानको तनावलाई न्यूनीकरण गरी तयारी र व्यवस्थापनलाई बेवास्ता गरे परिस्थितिलाई सम्हाल्न कठिन पर्नसक्छ ।
पहलगाम घटनामा घुम्न गएका बुटवलका सुदिप न्यौपानेको ज्यान गयो । सरकारी सक्रियता र समन्वयले उनको शव र सँगै गएका परिवारजन सहजै यहाँ ल्याउन संभव भएको छ । प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आराजु राणाले जुन पहलकदमी लिनु भयो, त्यो प्रशंसनीय छ । भारतमा घुम्न जाने धेरै भएकाले उनीहरुको सुरक्षामा ध्यान दिनु आवश्यक छ । त्यसो त रोजगारी, अध्ययनमा भारतमा ठूलो संख्यामा छन्, उनीहरुको बारेमा पनि चासो लिनु आवश्यक छ । पाकिस्तानमा पनि अध्ययनको शिलशिलामा नेपाली भएकाले उनीहरुको सुरक्षामा सरकारको पहलकदमी हुनुपर्छ ।




