केही दिनयता अत्याधिक गर्मीले जनजीवन प्रभावित भएको छ । गर्मीसँगै तातो हावा लू ले जनजीवन थप कष्टकर बन्ने देखिएको छ । अत्याधिकगर्मीसँगै तातो हावा चलेकोले दिउँसो र खुला ठाउँमा कामकाज गर्नेहरु झनै समस्यामा छन् । तातो हावाको असर गरिब र सीमान्तकृत समुदायलाई धेरै असर पर्ने भएकाले उनीहरूलाई लूबाट जोगाउने कार्यक्रम ल्याउनुपर्छ ।
चिकित्सकहरूका अनुसार, गर्मी मौसममा तातो हावा र बढ्दो तापक्रमका कारण लू लाग्दा स्वास्थ्य जोखिम निम्तिने खतरा बढी हुन्छ । यदि अचानक शरीरको तापक्रम बढ्यो वा धेरै टाउको दुख्यो भने सावधान हुन जरूरी हुन्छ । यी दुवै लक्षण देखिए लू लागेको बुझ्नुपर्छ । लू ले मिर्गाैला, दिमाग र मुटुमा धेरै प्रभाव पार्दछ । जसबाट यी अंगहरूको कार्य क्षमता प्रभावित हुन्छ । लू लागेपछि नाडी र श्वासप्रश्वासको गति तीव्र हुन्छ । छाला रातो हुनुलाई पनि लू को लक्षणका रुपमा लिने गरिन्छ । चिकित्सकहरु केही मानिसहरूमा लू का कारण छिटो छिटो पिसाब आउने, शरीर चिलाउने आदि लक्षणहरू देखा पर्ने बताउँछन् ।
जलवायु परिवर्तनले अत्याधिक गर्मीको जोखिम बढिरहेको छ । यसले जनजीवनमा पार्ने प्रभावबारे सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने छ । लूबाट बच्नका लागि गर्मीसँग लड्ने राष्ट्रिय स्वास्थ्य रणनीति के हो ? अब सामान्य रुपमा लिनु हुँदैन् । जाडो याममा जाडो भइहाल्छ । र गर्मीयाममा गर्मी भइहाल्छ नि भनेर हल्का रुपमा लिने हो भने कृषि उत्पादनदेखि नागरिकको स्वास्थ्यमा जोखिम बढ्छ । यो जोखिम सामना गर्ने रणनीति नहुँदा सरकारले गर्ने काम प्रभावकारी नहुन सक्छन् ।
गर्मीयाममा पहाडमा सामान्य रहने मौसम अहिले तातिरहेको छ । तराईमा औषतभन्दा वृद्धि भइरहेको छ । अत्याधिक तातो अवस्थामा कृषि उत्पादन, वनस्पति र मान्छेको स्वास्थ्यमा पार्ने असरबारे कार्ययोजना बनाएर बढ्न सक्दा मात्रै जोखिमको सामना गर्न सक्ने सामथ्र्य तयार हुन्छ ।
जलवायु परिर्वतनका समग्र असरबारे विश्लेषण गर्दै अघि बढ्नुपर्ने छ नै, लु को प्रभाव र जोखिमबाट बच्न सरकारी निकायले योजनाबद्ध कामको थालनी गर्न ढिलाइ गर्न हुन्न । लूलाई सामान्य ठान्नुभन्दा चर्को गर्मी र तातो हावा हरेक वर्ष लाग्ने भएकाले नागरिकको आवश्यकता अनुसारका संरचना बनाउने र नागरिकको जीवन जोगाउने दीर्घकालीन योजना र कार्यक्रम चलाउनुपर्छ । अर्कोतर्फ तत्काल गर्नुपर्ने काम अस्पतालमा शैया, औषधि, स्वच्छ खानेपानीलगायतको प्रबन्ध पनि उत्तिकै आवश्यक छ ।




