बुटवल । बुटवलको मुख्य बजार क्षेत्र अमर पथ, बीपी चोक र राममन्दिर क्षेत्रमा रहेको पार्किङ् व्यवस्थापन सहज भएको छ । पार्किङ् गर्ने ठाउँको अभावले सडकमा मनपरी पार्किङ् हुँदा बजार क्षेत्र अस्तव्यस्त थियो । पार्किङ् व्यवस्थापन भएपछि मुख्य बजार क्षेत्र व्यवस्थित देखिएको छ ।
बुटवल उप–महानगरपालिकाले बुटवलको मुख्य बजारलाई गुल्जार बनाउन बुटवल—६ स्थित पूरानो फिल्म हलको खाली जग्गा १० वर्षका लागि भाडामा लिएर पार्किङ् क्षेत्र तोकेको छ । उप–महानगरपालिकाले गत पुस १४ गतेदेखि पार्किङ् व्यवस्थापन गर्दै आएको छ ।
बुटवल रानीगञ्जका राजु पन्थीले पार्किङ्स्थल व्यवस्थापन भएपछि बजार व्यवस्थित बनेको बताए । ‘अहिले बजार अस्तव्यस्त छैन, सर्वसाधारणले पाउँदै आएको सास्ती हटेको छ ।’–उनले भने ।
बुटवलका हाटबजारमा कपडा बेच्ने मञ्जु घिमिरे पनि पन्थीको भनाइसँग सहमत छिन् । बजारमा सामान लिन छिरेपछि बाहिर निस्कन समस्या हुँदै आएकोमा अहिले सहज भएको उनको भनाइ छ । पार्किङ्स्थलमा व्यवसायीका चार पांग्रे साधन पार्किङ् हुँदै आएका छन् ।
अमरपथका व्यवसायी विनोद खातीले पार्किङ् व्यवस्थापनले व्यवसायीलाई पनि सहज भएको बताए । पार्किङ् शुल्क ५० रुपैयाँ तोकिएको छ । ‘अहिले सडक जाम हुने र बजार अस्तव्यस्त हुन छाडेको छ, बजारमा व्यवसायी र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ ।’–उनले भने ।
बजारलाई गुल्जार बनाउन पार्किङ्स्थल व्यवस्थापन गरेको बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए ।
बुटवल उप–महानगरपालिकाले बुटवल उद्योग वाणिज्य संघ, स्थानीय संघ संस्था र टोल विकाससँग लामो समयदेखि छलफल तथा समन्वय गरी पार्किङ्स्थल व्यवस्थापन गरेको हो ।
बुटवल उप–महानगरपालिकाले व्यवसायी तथा घरधनीहरुलाई जानकारी र सचेत गराउँदै आएको थियो । आइतबार बुटवलको बीपी चोकमा एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा जानकारी गराएको छ । बजार समयमा अनिवार्य रुपमा सवारी साधानहरु पुरानो फिल्म हलमा रहेको खाली स्थानमा लगेर राख्नु पर्ने व्यवस्था अनिवार्य गरिएको छ । बुटवल उप–महानगरपालिकाको पार्किङ् व्यवस्थापन गर्ने निर्णय कार्यान्वयन गर्न सबैको साथ आवश्यक रहेको नगरप्रमुख पाण्डेले जानकारी दिए । बुटवलका अन्य ठाउँमा पनि निश्चित पार्किङ् क्षेत्र तोक्ने गरी लागेको र छिट्टै निर्धारण गरिने उनको भनाइ छ ।
बुटवल उप–महानगरपालिका– ५ का अध्यक्ष तथा पार्किङ् व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले उप–महानगरपालिकाले तोकेको स्थानमा पार्किङ् गरी बुटवललाई सुन्दर बनाउने काममा पार्किङ्को काम सफल बनेको दाबी गर्छन् । पार्किङ्स्थलमा सिसिटिभि जडानलगायत सबै सुरक्षाको जिम्मेवारी उप–महानगरले लिएकोले व्यवसायीलाई सहज भएको छ ।
बुटवल–६ का वडाध्यक्ष लोकनाथ न्यौपानेले पार्किङ् गर्दा आवश्यक सुरक्षाको व्यवस्था मिलाएकाले ढुक्कसँग पार्किङ् गर्न आग्रह गरे । सुरक्षाका लागि दुईजना गार्डको व्यवस्था गरिएको छ ।
बुटवल–४ का वडाध्यक्ष नरिश्वर शर्माले धेरै घरधनी र व्यवसायीहरुसँग छलफल र परामर्श गरी निर्णयमा पुगेको बताए । बुटवललाई अव्यस्थित पार्किङ् र तारले कुरुप बनाएको बताउँदै उनले आफूहरु तारको व्यवस्थापनमा पनि लागिरहेको बताए ।
बुटवलका तीन वडाका व्यवसायीका चारपांग्रे सवारी साधनहरु सडकको सट्टा पार्किङ्स्थलमा हुँदा बजारको ट्राफिक व्यवस्थापन सहज भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका डीएसपी मधुसुदन न्यौपानेले बताए ।




