२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भन्सार राजस्व लक्ष्यमा पुग्न सकस

भन्सार राजस्व लक्ष्यमा पुग्न सकस

भैरहवा भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । यद्यपी गत वर्षभन्दा राजस्व संकलन वृद्धि भएको छ ।

भन्सार राजस्व लक्ष्यमा पुग्न सकस

भन्सार राजस्व लक्ष्यमा पुग्न सकस

भैरहवा भन्सार कार्यालयले चालु आवको नौ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन । यद्यपी गत वर्षभन्दा राजस्व संकलन वृद्धि भएको छ ।

भन्सार राजस्व लक्ष्यमा पुग्न सकस
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • भैरहवा  
    भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिकसम्मको ९ महिनामध्ये असोजमा मात्रै राजस्व लक्ष्य पार गरेको छ । कार्यालयले चालु वर्षमा एक खर्ब नौ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा विगत ९ महिनामध्ये ८ महिनामा राजस्व लक्ष्य पार नभए पनि गत वर्षको तुलनामा बढी राजस्व संकलन भएको छ ।
    तीन वर्षयता राजस्व सङ्कलनमा विभागले निर्देशन गरेअनुसार लक्ष्य पुरा गर्न असफल भएको कार्यालयले चैत्रमा मासिक लक्ष्यको ८५ दशमलब २ प्रतिशतका दरले राजस्व सङ्कलन गरिरहेको कार्यालय प्रमुख एवं मुख्य भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । 


    मुलुककै दोस्रो ठुलो र लुम्बिनी प्रदेशको पहिलो भन्सार नाका भैरहवा भन्सार कार्यालयले २०७८ पुस ५ गतेबाट नेपाल राष्ट्र बैंकले १८ वटा शीर्षकका विलासिताका वस्तुहरुको आयातमा अनिवार्य प्रतित पत्र (एल.सी.) खोलेर शतप्रतिशत र दुई वटा शीर्षकमा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने व्यवस्था गरेसँगै आयातमा कमि हुँदै आएको थियो । २०८१ को भदौ महिनासम्म पनि कार्यालयले विभागबाट पाएको लक्ष्य पार गर्न सकेको थिएन । असोज महिनामा भन्सार विभागले दिएको लक्ष्य पार गरे पनि त्यसयता लक्ष्य पार नभए पनि अन्य महिनाको राजस्व सङ्कलन पनि ८३ प्रतिशतभन्दा माथि रहेको भैरहवा भन्सार कार्यालयका प्रमुख रेग्मीले बताए । 


    कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८१-०८२ का लागि एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार राजस्व संकलन लक्ष्य दिएकोमो चालु आर्थिक वर्षको ९ महिनामा कुलमध्ये ६५ प्रतिशत राजस्व संकलन गरेको छ ।  


    ‘आन्तरिक नियन्त्रण प्रणालीमा सुधार, चोरी पैठारी नियन्त्रण एवं अवैध व्यापारमा निगरानी, स्वदेशमा निकासी मूलक उद्योगहरू सञ्चालन हुँदा बजार र अर्थतन्त्र चलायमान, मोटरसाइकल, कारहरूको पैठारीमा वृद्धि, चुस्त भन्सार प्रशासनलगायत कारणले भन्सारबाट हुने आयात निर्यात एवं राजस्व सङ्कलन प्रभावकारी ढङ्गले भएकोले राजस्व संकलन राम्रो हँुदै गएको हो ।’– मुख्य भन्सार अधिकृत रेग्मीले भने । रेग्मीका अनुसार भैरहवा भन्सार कार्यालयले गत वर्षको ९ महिनाको तुलनामा १६ दशमलब १९ प्रतिशत राजस्व सङ्कलन वृद्धि भएको छ ।


    भैरहवा भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत वर्षको ९ महिनाको तुलनामा चालु वर्षको ९ महिनामा आयात तथा निर्यात व्यापार दुबै वृद्धि भएको छ । चालु वर्षको ९ महिनामा १ खर्ब ९१ अर्ब ६१ करोड ९५ लाख ५८ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न सामान आयात भएको छ । गत वर्ष यसै अवधिमा १ खर्ब ७७ अर्ब ६४ करोड रुपैयाँ मूल्य बराबरको सामान आयात भएको थियो ।
    तुलनात्मक रुपमा गत वर्षको तुलनामा यस वर्षको ९ महिनामा आयात व्यापार ७ दशमलब ८७ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी निर्यात व्यापार गत वर्षको तुलनामा ३९ दशमलब ५ प्रतिशतले वृद्धि भएको रेग्मीले बताए ।


    कार्यालयलाई भन्सार विभागले आर्थिक वर्ष २०८०-\८१ का लागि एक खर्ब २७ अर्ब ८३ करोड ६६ लाख ७९ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ६३ दशमलव  २४ प्रतिशत, आर्थिक वर्ष २०७९-८० का लागि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ४९ दशमलव  ४१ प्रतिशत र आर्थिक वर्ष २०७८÷७९ मा एक खर्ब २७ अर्ब ४२ करोड ६८ लाख २५ हजार राजस्व संकलन लक्ष्य दिएकोमा ९० दशमलव  ९४ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो । 


    भन्सार कार्यालयको तथ्याङ्कअनुसार २०७७-७८ पछि लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेको थिएन् । वर्षेनी मुलुकको बजेटको आकार बढेकोले स्रोतको सुनिश्चितताका लागि भन्सारको लक्ष्य पनि बढ्ने गरेको छ । तर लक्ष्य थपिए पनि सो अनुसारको राजस्व संकलन भने हुन सकेको थिएन । 


    अहिले विभागले विगतको राजस्व संकलनलाई मध्यनजर गर्दै केही लक्ष्य घटाए पनि यस आर्थिक वर्षको पहिलो महिना साउनमा ८३ दशमलव ५४ प्रतिशत भदौमा ९० दशमलव ०५ प्रतिशत, असोजमा १०० दशमलव ३९ प्रतिशत, कार्तिकमा ८३ दशमलव १७ प्रतिशत, मंसिरमा ८२ दशमलव १७ प्रतिशत, पुषमा ८० दशमलव ६४ प्रतिशत, माघमा ८५ दशमलव ८१, फागुनमा ७९ दशमलव २१ प्रतिशत र चैत्रमा ८५ दशमलव ९८ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।  चालु महिनाको १० गतेसम्म भने मासिक लक्ष्यको ३० दशमलव ८८ प्रतिशत राजस्व लक्ष्य संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी चौधरीले बताए । 


    बढ्यो आयात—निर्यात 
    गत वर्ष यही अवधिमा १० अर्ब २३ करोडको निर्यात हुँदा चालु वर्षको समीक्षा अवधिमा १४ अर्ब २२ करोड रुपैयाँ बराबरको विभिन्न सामानहरू भारत तथा तेश्रो मुलुक निर्यात भएको छ । यस नाका हुँदै चालु वर्षको ९ महिनामा सबै प्रकारका मोटरसाइकल ११ अर्ब ७८ करोड ४८ हजार रुपैयाँ बराबरको १ लाख १ हजार २९ गोटा आयात हुँदा १२ अर्ब १६ करोड ८० लाख ६९ हजार रुपैयाँ राजस्व आएको छ । त्यसै गरी इन्धनबाट चल्ने जीपकार र भ्यानहरू २ हजार ३ सय ४८ गोटा २ अर्ब ७५ करोड ८३ लाख ३२ हजार रुपैयाँ बराबरको आयात हुँदा ७ अर्ब २७ करोड १९ लाख ६९ हजार रुपैयाँ राजस्व उठेको छ । त्यस्तै पेट्रोल, विद्युत्बाट सञ्चालित जीपकार भ्यान, शुद्ध फलाम(स्पोन्ज,फ्रेस आइरन) डबल क्याब पिकअप गाडी, मोबाइल टेलिफोन, चकलेट, एम.एस विलेट, एल पि ग्यास जस्ता बढी राजस्व दिने वस्तुहरूको आयात बढेको छ ।


    उता निर्यात व्यापार ह्वात्तै वृद्धि भएको छ । भटमासको प्रशोधित तेल, सेन्थेटिक यार्न, सिमेन्ट खैरो, खयरकत्था, पिना, स्टिल फलामको भाँडाकुँडा, चाउचाउ, नुडल्स पास्ता, खोटो, रोजीन, सूर्यमुखिको प्रशोधित तेल, प्लाइउड जस्ता बस्तुहरू निर्यातमा सबैभन्दा अघि छन् ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij