यो देशमा पसिनाको सम्मान नै छैन । हाम्रो श्रमको अलिकति पनि सम्मान हुने भए, कसलाई रहर छ र अरुको देशमा पसिना बगाउने ? कृषि पेशा गरी घरमा गाईँ भैंसी पाल्नेको भन्दा कुकुर पाल्नेको इज्जत हुने, आफ्नो काम आफँैले गर्नेको भन्दा अर्काको छोरा/छोरीलाई काम कज्याउने को बढी इज्जत हुने, इत्यादि जस्ता हाम्रो समाजमा व्याप्त यी यर्थाथ प्रवृत्तिहरु समाज विकासका प्रमुख बाधकहरु मध्ये रहेको मानिन्छ ।
‘श्रम विना कुनै पनि कुराको विकास सम्भव हँुदैन ।’ दार्शनिक सोफेकेलेसको यो पंक्तिले श्रमको महत्व प्रष्ट पारेको छ । हरेक सीप विकासको सुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनीक जोन डिवे को रहेको छ । त्यसैगरी श्रम विना समाज अगाडि बढ्न नसक्ने तथा श्रमले नै समाज संरचनाको विकासको निमित्त शान्तिपूर्ण क्रान्ति अगाडि बढाउने दाबी महात्मा गान्धीले गरेको छन् । कार्ल मार्क्सले श्रमलाई समाजमा आमूल परिवर्तन गरि पूनःसंरचनाको मार्गमा अगाडि बढाउने कारक तत्वको रुपमा ठोकुवा गरेका छन् । अब्राहम लिङ्कनका अनुसार कुनै पनि व्यक्ति तथा समाजलाई आत्मनिर्भर तथा स्वतन्त्र बनाउने एकमात्र आधारको रुपमा श्रम नै भएको कुरा दाबी गरेका छन् ।
दार्शनिक कन्फ्यूसियसले श्रम अर्थात् मेहनत मानिसको अपरिहार्य सद्गुण हुनुपर्नेमा जोड दिएका छन् । यसरी उल्लेखित अभिव्यक्तिहरुका आधारमा भन्न सकिन्छ कि श्रम अर्थात् मेहनत नै हरेक विकास तथा परिवर्तनको आधार हो । व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र तथा समग्र विश्वको परिवर्तन सुधार तथा विकासको निमित्त श्रमको आवश्यकता पर्दछ । श्रम विना कुनै पनि सकारात्मक प्रकृया अगाडि बढ्न सक्दैन । अतः जुन व्यक्ति, परिवार तथा समाजमा श्रम वा मेहनत गर्ने परिपाटी हुन्छ, त्यहाँ विकास तथा परिवर्तन हुन्छ, अन्यथा त्यो यथास्थिति मै रहन्छ । यसरी श्रमको मात्रा ले नै विकासको गति निधारण गर्दछ । कुनै पनि देश छिटो वा ढिलो विकसित हुनुमा त्यस देशका मानिसहरुले गर्ने श्रम र श्रम प्रतिको दृष्टिकोणले ठूलो भूमिका खेलेको देखिन्छ ।
श्रम प्रतिको दृष्टिकोण समाजमा व्याप्त संस्कृतिबाट प्रभावति हुन्छ र त्यसले श्रमको मूल्याङ्कनलाई प्रत्यक्ष्य प्रभाव पारेको हुन्छ ।
समाजमा व्याप्त प्रत्येक पेशा, व्यावशाय तथा कार्यहरु श्रमसँग जोडिएका हुन्छन् र उक्त पेशा तथा कार्यहरुलाई हेर्ने दृष्टिकोण समाज अनुसार फरक पर्दछ जसको मुख्य कारण समाजमा विद्यमान संस्कृति ( जुन धर्मसँग पनि जोडिएको हुन्छ) हो भन्ने आशय कार्ल मार्क्स को रहेको छ । कुनै पनि पेशा अथवा कामलाई सानो वा ठूलो, राम्रो वा नराम्रो उच्च स्तरको वा निम्नस्तरको भनि निर्धारण गर्नमा विद्यमान समाजमा व्याप्त संस्कृतिको ठूलो भूमिका हुन्छ । अतः कुनै पनि समाजमा श्रमको कति सम्मान गरिन्छ भन्ने कुरा त्यस समाजमा व्याप्त संस्कृतिले निर्धारण गर्दछ । मुलतः हिन्दु धर्मद्वारा निर्देशित हाम्रो संस्कृतिमा परम्परा देखिनै उच्च तथा निम्न जात वा वर्णका आधारमा पेशा तथा कार्य विभाजन र सोही अनुरुपको दृष्टिकोण निर्धारण भई अझसम्म पनि त्यसको प्रभाव रही रहेको पाइन्छ भन्ने धारणा शिक्षाविद् विद्यानाथ कोइरालाको रहेको छ ।
उदाहरणको लागि सुकिलो कपडा लगाई कुर्सीमा बसेर गरिने पेशा तथा कार्यहरुलाई उच्च सम्मान दिइने, तर खेतवारी, भवन निर्माण कलकारखाना इत्यादी जस्ता पेशा तथा कामहरुलाई निम्न दृष्टिकोणले हेरिने यथार्थ हाम्रो समाजमा विद्यमान छ । सामान्यतया यदि कसैले सजिलो खालको कार्य गर्दछ भने त्यसलाई राम्रो पेशा मानिन्छ तर अप्ठ्यारो अर्थात् शारीरिक श्रम वढी प्रयोग हुने कार्य गर्दछ भने त्यसलाई नराम्रो मानिने साँघुरो दृष्टिकोण अझ पनि हाम्रो समाजमा व्याप्त छ । कुनै पनि व्यक्तिसँग पहिलो पटक भेट हँुदा उसले के काम गर्दछ भन्ने प्रश्न हाम्रो समाजमा मुख्य चासोको विषय मानिन्छ । अनि उसले गर्ने काम तथा पेशाको आधारमा उ प्रतिको दृष्टिकोण तथा सम्मानको तह निर्धारण गरिन्छ । तर उसले उक्त काम कसरी गर्छ ? कति मिहनेत तथा इमान्दारिताका साथ गर्छ भन्ने कुराको त्यति चासो राखिन्न । मानौं कुनै सार्वजनिक स्थलमा बाटो खन्ने कार्य भइरहेको छ, मरिमरि पसिना चुहाई बाटो खन्नेहरुलाई भन्दा त्यहाँका कथित नाइकेहरु जो अनावश्यक गफ गरेर बसिरहेका हुन्छन्, तिनीहरुलाई नै ठूला मान्छेको दर्जा दिइन्छ, सम्मान गरिन्छ । जसले गर्दा पसिनाको मूल्य नगन्य हुनजान्छ । फलस्वरुप सबैलाई नेता बन्ने होडबाजी, कुर्सीमा बस्ने तछाडमछाड को परिपाटीको विकास हुनजान्छ । मेहनत गर्ने परिपाटी निरुत्साहित भई ठगी तथा भ्रष्टचारी मौलाउँदै जान्छ ।
उत्पादनशिलतामा काम आउँछ, विकासको गति कमजोर हुँदैजान्छ । हाम्रो समाज यहि कुसंस्कृतिले ग्रासित छ त्यसैले विकासमा पछाडि छ । तर विकसित समाजको संस्कृतिले यस्तो भन्दैन । पश्चिमेली विद्वान इडविनले दाबीका साथ भनेका छन् की तपाईंको श्रमको सम्मान तपाईंले के काम गर्नुहुन्छ ? मा होइन, तपाईंले त्यो काम कसरी गर्नुहुन्छ ? मा हुन्छ । यसवाट स्पष्ट हुन्छकी श्रमको मूल्याङ्कन कुनै पनि व्यक्तिको कार्यशैली, इमान्दारिता कार्यदक्ष्रता तथा प्रभावकारीताका आधारमा गरिनु पर्दछ । यसरी हेर्दा श्रमको सम्मान भनेको त मेहनेतको सम्मान हो । पसिनाको सम्मान हो । इमान्दारीताको सम्मान हो । कार्यदक्षता, प्रभावकारिता अथवा सीपको सम्मान हो ।
कुनै पनि काम सानो हँुदैन, जुनसुकै काम जसले मानव र मानवताको हित गर्छ, त्यसको समान महत्व हुन्छ र त्यसलाई सधँै सम्मान गरिनु पर्दछ भनि मार्टिन लुथर कीङ्ग जुनियरले ठोकुवा गरेका छन् । विकसित देशहरुमा तपाईं के काम गर्नुहुन्छ ? भन्ने प्रश्न सोधिदैन, बरु तपार्इं कुन ठाउँमा काम गर्नुहुन्छ ? कति घण्टा काम गर्नुहुन्छ ? भनेर सोधिन्छ । यसले हाम्रो र उनीहरुको पेशाा प्रतिको दृष्टिकोणमा स्पष्ट भिन्नता देखाउँछ । फलानोले के पेशा /के नोकरी गर्छ ? यो हाम्रो चासो हो, अनि संस्कति हो । यसैबाट हामी प्रशिक्षित छौं । त्यसैले यो हाम्रो शिक्षा पनि हो । फलानोले कति इमान्दारिता र प्रभावकारिताका साथ काम गर्छ ? यो प्रश्न हाम्रो संस्कृतिमा गौण देखिन्छ ।
तुलनात्मक रुपमा हेर्दा विकसित देशहरु र हाम्रो समाजमा श्रम प्रतिको दृष्टिकोणमा ठूलो भिन्नता देखिन्छ । उदाहरणको लागी अमेरिकामा भवन निर्माण, विद्युत् तथा धारा जडान मर्मत, घर पेन्टीङ्ग, ढल सरसफाइ इत्यादि जस्तो शारीरिक श्रमजन्य कार्यहरुलाई अरु सामान्य कार्य (जस्तै पसलमा सामान बेच्ने, निरक्षण गर्ने) भन्दा दशगुणासम्म बढी परिश्रमिक दिइन्छ । यसको अर्थ जत्तिबढी श्रम, त्यत्ति नै सम्मान भन्ने बुझिन्छ । तसर्थ अमेरिकामा यस्ता कामहरु प्राप्त गर्न सामान्य व्यक्तिहरुमा तछाड मछाडको परिस्थिति सृजना भएको पाइन्छ ।
यस्ता कामदारहरुको आम्दानी बढी हुने भएकोले जीवनस्तर तथा जीवन शैली आकर्षक हुन्छ । तर हाम्रो समाजमा यसको ठीक उल्टो परिस्थिति व्याप्त छ । सकी नसकी पसीना बगाई उच्च शारीरिक जोखिम मोलेर काम गर्नेहरुको पारिश्रमिक नगन्य हुन्छ, साथै उनीहरुलाई सामन्यतया समाजले हेर्ने दृष्टिकोण पनि निम्न हुन्छ, जीवनस्तर पनि कठिन हुन्छ । तर दिनभर खुट्टा हल्लाएर हस्ताक्षर गर्ने तथा तोक लगाउने र पाएसम्म घुस खानेहरुको पारिश्रमिक तथा सम्मान बढी हुन्छ । जीवनशैली आरामदायी हुन्छ । जसले गर्दा परिश्रम गर्नेहरुमा नैराश्यता तथा हिनताको भावना पैदा हुन गई विदेश पलायन हुने क्रम बड्दै गएको यथार्थ स्पष्ट देख्न सकिन्छ । अर्कोतर्फ विकसीत देशमा मानौ कुनै एउटा होटलमा म्यानेजरदेखि लिएर क्लिनरसम्म सबैलाई आ–आप्mनो काममा उत्तिकै समान महत्व तथा जिम्मेवारी प्रदान गरिनु, समान व्यवहार गरिनु र उत्तीकै सम्मानपूर्ण दृष्टिकोणले हेरिनुले गर्दा नेपालमा त्यही पेशा तथा नोकरी गर्न हिचचिाउनेहरु विदेशमा गई त्यही कार्य आत्म सम्मानका साथ गरिरहेको तीतो यथार्थ छलङ्ग देख्न सकिन्छ ।
शिक्षा र संस्कृतिलाई एक अर्काका परिपूरक मानिन्छ । संस्कृति मूल्यमान्यता तथा दृष्टिकोणको समग्र रुप हो । संस्कृतिले परम्परा, धर्म, रीतिरिवाज इत्यादिसम्बन्धी विचारहरु बोकेको हुन्छ । शिक्षालाई संस्कृितको संवाहकको रुपमा लिइन्छ । प्रत्येक समाजको शिक्षाले त्यहाको संस्कृति वोकेको हुन्छ । संस्कृतिले शिक्षाको ढाँचा निर्माण गरेको हुन्छ भने शिक्षाले चेतनाको माध्यमद्वारा संस्कृतिको सुधार तथा पुनःनिर्माण गर्दछ । अर्थात् संस्कृतिले शिक्षालाई प्रभावित गरेको हुन्छ भने शिक्षाले संस्कृतिको विकास गर्नमा ठूलो योगदान पुर्याएको हुन्छ ।
ठूलो भएपछि कि त डाक्टर कि त इञ्जिनियर बन्नु पर्दछ भनेर एकोहोरो रुपमा बालबालिकालाई रटाइने संस्कृति हामीमा अझैँ व्याप्त छ । डाक्टर, इञ्जिनियर इत्यादि बाहेक अरु त पेशा नै होइनन् भन्ने संस्कृति बोकेको हाम्रो शिक्षाले विद्यार्थी तथा अभिभावकमा एक खालको विकृति थोपरेको पाइन्छ । व्यक्तिगत क्षमता, रुची तथा आवश्यकताहरुलाई एकतिर पन्छाएर डाक्टर, इञ्जिनियर बन्ने बनाउने होडबाजीले अस्वस्थ प्रतिष्पर्धा, शिक्षामा व्यापारीकरण र भ्रष्टचार निम्ताएको यथार्थलाई नकार्न सकिंदैन । यसको सबैभन्दा घातक पक्ष त अन्य पेशाप्रति निम्न दृष्टिकोणको विकास भई व्यवसायिक सीपमूलक, कृषिजन्य र घरेलु व्यवसाय तथा पेशाहरु ओझेलमा परेका छन् ।
अर्कातर्फ हिन्दु परम्परा बोकेको हाम्रो संस्कृतिले कथित उच्च र निम्न जात तथा वर्णका आधारमा पेशा विभाजन गरिदिएकोले कुनै पनि पेशालाई हेर्ने दृष्टिकोणमा भिन्नता सृजना गरी धेरै हदसम्म कुनै पनि काम तथा पेशालाई ठूलो तथा सानोको संकुचित घेरामा राखेको अवस्था अझैँ पनि समाजमा व्याप्त देखिन्छ । कुनै एक ब्राम्हणको पैसावाला छोरोले मरेका र मारिएका जनावरहरुको छाला जम्मा गरेर व्यवस्थित रुपमा प्रशोधन गरी स्तरीय छाला उत्पादन गरी अन्य मुलुकमा निर्यात गर्ने सोंच किन गर्दैन ? यो सोंचलाई कुन कुराले रोकेको छ ? यस्तो सोचको विकास हाम्रो समाजमा कहिले होला ? यी प्रश्नहरुको जवाफदेहितामा हाम्रो संस्कति र शिक्षा दुवैको जिम्मेवारिता देखिन्छ । परम्परादेखि नै कडा परिश्रम प्रयोग हुने र जोखीमपूर्ण पेशा तथा कामहरु कथित तल्लो जातिको भागमा जन्मजात रुपमा पर्नु, उनीहरुको कामलाई तुक्ष्य दृष्टिकोणले हेरिनुमा सर्वप्रथम हाम्रो संस्कृति जिम्मेवार छ, त्यसपछि परम्परा, अन्धविश्वास, अव्यवहारिकता र अवैज्ञानिकता बोकेको हाम्रो शिक्षा जिम्मेवार देखिन्छ । जुन पेशा अथवा काममा बढी पसिना बगाउनु पर्दछ त्यही पेशालाई अपमान तथा हेला गर्नु भनेको त सिधैँ श्रमको अपमान गर्नु हो ।
श्रमको अपमान गर्नु भनेको सीप विकास तथा व्यवसायिकतालाई निरुत्साहित गर्नु हो, उत्पादनमा कमि ल्याउनु हो । विकासको गतिलाई घटाउनु हो । जापान, चीन अमेरिका जस्ता देशहरुमा उच्च विकास हुनुको मूलभूत श्रेय त्यहाँको जनशक्तिलाई मानिन्छ । अमेरिकाका प्रशिद्ध कुटनीतिज्ञ ग्रोभर क्लेभल्याण्डका अनुसार ‘अमेरिकाको समृद्धिको मूल मर्म भनेको साँचो श्रमको पहिचान तथा सम्मानद्वारा इमान्दारिताका साथ पसिना बगाउनेहरुको आत्मसम्मानको वृद्धि गर्ने हुनुपर्दछ’ भनि उल्लेख गरेको पाइन्छ । त्यसैगरी ‘जापनको जन, त्यहाँको धन’ भन्ने प्रचलित भनाइले पनि मेहनत गर्ने परिपाटीको सम्मान गरेको पाइन्छ । त्यस्तै चीनको सन्दर्भमा हेर्ने हो भने १९४९ मा चीन स्वतन्त्र भएपश्चात् अन्धविश्वासी संस्कृतिमा पूर्णरुपमा बन्देज लगाई परिश्रममा विश्वास गर्ने, कामदारलाई सम्मान गर्ने श्रमको आदर गर्ने कुराहरुलाई शिक्षाको मूल उद्देश्यमा समाहित गरी कडाइका साथ कार्यान्वयनमा ल्याएको पाइन्छ ।
तर हाम्रो देशको शिक्षा आफैँमा परम्परावादी, अव्यवहारिक अवैज्ञानिक तथा सिद्धान्तमुखी भएकोले अन्ध विश्वासबाट ग्रसित संस्कृतिलाई परिवर्तन र परिमार्जन गर्न नसकेको अवस्था देखिन्छ । तसर्थ शिक्षालाई वैज्ञानिक, कार्यमूलक र उत्पादन मुखी बनाउन सकिएमा कार्य अर्थात् काममा विश्वास गर्ने परिपाटीको विकास भई समाजमा मेहेनत तथा श्रम गर्ने र श्रमलाई सम्मान गर्ने परिपाटीको विकास हुन गई उत्पादन मुखी क्रियाकलापहरु द्वारा समाजको तथा सम्पूर्ण राष्ट्रको विकासले गति लिने कुरामा दुइमत नहोला । वैज्ञानिक तथा व्यवहारीक शिक्षाको माध्यमद्वारा हरेक पेशालाई सम्मानीत बनाउन तालिमको व्यवस्था गर्नु, उपयुक्त नीति नियम निर्धारण गर्नु, लाइसेन्सको व्यवस्था गर्नु, बालबालिकालाई कार्यस्थलमा लगि प्रत्यक्ष्य सहभागी गराई प्रयोगात्मक कक्षा सञ्चालन गर्नु जस्ता रणनीतिहरु अपनाएमा श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास भई उत्पादनमुखी र विकासमुखी समाजको स्थापना हुने थियो की ?




