बुटवल विपद्को उच्च जोखिममा छ । चुरेको पहिरो र तिनाउको बाढीको जोखिममा यहाँको बस्ती रहेकाले विपद् पूर्वतयारी व्यवस्थापनमा तहगत सरकारको ध्यान पुग्नुपर्ने देखिन्छ । ज्योतिनगरको पहिरोले बुटवललाई जति सताएको छ, तिनाउको बाढीले पनि उत्तिकै समस्यामा पारेको छ ।
ज्योतिनगरको पहिरोले ज्योतिनगर र लक्ष्मीनगर मात्रै नभएर बुटवललाई नै जोखिममा पार्ने देखिंदा पनि दीगो व्यवस्थापनमा ध्यान पुगको छैन । तिनाउको बाढीले विगतमा धेरै क्षति गरेको र अहिले नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बस्नेहरु बढेकाले जोखिम झनै बढी छ ।
गत वर्ष बैशाखमा लामो खडेरीपछि परेको वर्षाले बुटवलका विभिन्न ठाउँ डुवान हुँदा ठूलो क्षति भयो । ढल निकास थुन्ने गरी थुप्रिएका फोहोर र मानवीय कमजोरीले वर्षाको पानी बस्तीमा पस्दा नोक्सान भयो । डुबानका कारण पश्चिम नेपाल बस व्यवसायी समितिको प्रधान कार्यालय, रुपन्देही उद्योग संघको कार्यालय तथा राष्ट्रिय समाचार समिति (रासस) कार्यालय डुबानमा पर्दा ती कार्यालयले नोक्सानी व्यहोरे । व्यस्त बजार क्षेत्र अमरपथ, विकासपथ, हाटबजार लाइन डुबानमा पर्दा दर्जनौ पसलमा बाढी पसेर लाखौं नोक्सान भएको छ । सोह्रछत्तिस कुलोबाट बाढी बुटवलको न्यू होराइजन माविमा पसेपछि एक दिन विद्यालय बन्द भयो । एकैछिनको वर्षाले गरेको यो क्षतिलाई सामान्य मान्न सकिएला, तर मुख्य बजार क्षेत्रमा बाढी पस्नु र विद्यालय बन्द गर्नुपर्ने अवस्था आउनु सामान्य होइन । अझ तिनाउको बाढी र ज्योतिनगरको पहिरोले निम्त्याउने जोखिम झन ठूलो छ ।
तिनाउ नदीमा बेलाबखत आउने बाढीले यहाँ ठूलो नोक्सानी भएको छ । विसं. २०२७ र विसं. २०३८ सालमा आएको बाढीले बुटवलमा ठूलो क्षति भएको थियो । चुरेको पहिरोले २०५५ सालयता ज्योतिनगर र लक्ष्मीनगरको बस्तीलाई जोखिम भएको छ । सिंगो पहाड तल धस्किरहेको र धस्किरहेको पहाडलाई रोक्न पहलकदमी भएको छैन । पहिरो क्षेत्रको जमिनभित्र रहेको पानीलाई बाहिर निकाल्दा जोखिम रोक्न सकिन्छ भन्ने भूगर्भविदले ध्यानाकर्षण गराउँदै आए पनि तहगत सरकारले पटक्कै सुनेका छैनन् । पहिरो नियन्त्रणका लागि आवश्यक बजेट विनियोजन गरी रोकथाम गर्नुपर्नेमा बेवास्ता गरिएको छ । चुरे क्षेत्रको संवेदनशिलता बुझेर बस्ती विकास र अरु पूर्वाधार निर्माणका काम गर्नुपर्नेमा मनपरी संरचना निर्माण गर्दा जोखिम झनै बढेको छ ।
चुरेको पहिरोले बुटवलमा जोखिम बढाएझैं तिनाउमा बाढीको जोखिम पनि उत्तिकै छ, तर बाढीबाट बच्न र बचाउन पूर्वतयारी पटक्कै छैन । नदी किनारको जोखिमयुक्त बस्तीलाई सुरक्षित ठाउँमा सार्नुपर्नेमा लालपूर्जा बाँड्ने विषयलाई प्रधान ठानिन्छ । लालपूर्जाको राजनीतिले बुटवलमा विपद्को जोखिम बढाएको छ । त्यसो त चुरेको खोंचमा क्लाउड ब्रष्ट अर्थात् बादल विष्फोट हुने उच्च जोखिम हुन्छ । बादल विष्फोट हुने ठाउँमा थोरै समयमा धेरै वर्षा हुन्छ । यी सम्भावित परिदृष्यलाई नियालेर तहगत सरकारले विपद् व्यवस्थापनको कार्ययोजना अघि बढाएर कार्यान्वयन गर्नुपर्छ । विपद् भइसकेपछि राहत वितरणमुखीभन्दा पूर्व तयारीमा प्राथमिकता दिनुपर्छ । पूर्वतयारी गर्नुपर्ने बेला भएकाले तहगत सरकारबिचको समन्वय अझैं बढाउन आवश्यक छ ।




