२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामयिक : ‘भरिया’ शिक्षकहरूप्रती

सामयिक : ‘भरिया’ शिक्षकहरूप्रती

सामयिक : ‘भरिया’ शिक्षकहरूप्रती

सामयिक : ‘भरिया’ शिक्षकहरूप्रती

सामयिक : ‘भरिया’ शिक्षकहरूप्रती
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, बैशाख २० २०८२
शनिवार, बैशाख २० २०८२
  • - रामचन्द्र श्रेष्ठ
    २९ दिन लामो शिक्षक आन्दोलन ९ बुँदे सहमति सहित हाललाई टुङ्गिएको छ । यो २९ दिन शिक्षकबारे नेपाली समाज अनेक पक्षबाट बहस गर्‍यो । चिया पसलदेखि मिडियाका अनेक मञ्चमा शिक्षक आन्दोलन चर्चाको विषय भयो । जति चर्चाको विषय बन्यो शिक्षक आन्दोलन त्यति शिक्षाको खास मुद्दा भने बहसमा आएन । शिक्षकका धेरै मागहरू नितान्त पेशागत हकहितसँग सम्बन्धित थिए ।

    त्यसैले ‘गैरशिक्षक’ तप्काले आन्दोलनका मुद्दालाई आफ्नो विषय बनाउन कञ्जुस्याई गर्‍यो । शिक्षा ऐन मुख्य मुद्दा बनाइए पनि शिक्षक आन्दोलनले हाल संसदमा प्रस्तुत भएको शिक्षा विधेयकबारे पनि प्रशस्त छलफल उठाउन सकेन । यस्ता कैयौं कमजोरी हुँदाहुँदै पनि शिक्षक आन्दोलनले शिक्षकको सामाजिक प्रतिष्ठाको खोजी गर्‍यो । तर, आन्दोलनले किन समाजमा शिक्षकको प्रतिष्ठा खस्कँदो छ भन्ने प्रश्नमा गम्भीर चिन्तन गर्न खोजेन । यो लेख शिक्षक आन्दोलनको विश्लेषण र विमर्शसँग केन्द्रित छैन । शिक्षक आन्दोलनले चर्चा नगरेको शिक्षा र शिक्षककै विषयमा केही दार्शनिक अवधारणामा प्रबुद्ध पाठकहरूको ध्यानाकर्षण मात्र हो । 


    शिक्षालाई ज्ञान प्राप्ति, ज्ञान उत्पादन, सीप हस्तान्तरणसँग जोडिएको छ । शिक्षालाई विभिन्न समयमा विभिन्न दार्शनिकहरूले फरक फरक ढंगले व्याख्या गर्ने कोशिस गरेका छन् । प्लेटोले शिक्षालाई व्यक्तिको शारीरिक र आत्मिक विकास गर्ने माध्यमको रूपमा बुझेका छन् । प्लेटोका अनुसार शिक्षाले व्यक्तिको नैतिक गुणको निर्माण गर्नुपर्छ । प्लेटोका लागि शिक्षक गुरु तथा नैतिक प्रशिक्षक हो । 


    एरिस्टोटलले पनि शिक्षालाई शारीरिक र मानसिक विकासको माध्यम नै ठान्छन् । एरिस्टोटलको लागि शिक्षक प्रशिक्षक मात्र होइन उदाहरणीय व्यक्तित्व पनि हो । त्यस्तै धारणा कन्फुसियसको पनि छ । कन्फुसियसको लागि पनि शिक्षक अनुकरणीय व्यक्तित्व हो । जोन डिवेका लागि शिक्षक प्रशिक्षक र उत्प्रेरक हो । चाणक्यका लागि शिक्षक युगको निर्माता हो र शिक्षा जीवनपर्यन्त प्रक्रिया हो । 
    शास्त्रीय व्याख्यामा शिक्षा मानवीय प्रयत्नको प्रमुख औजार र शिक्षक ‘रोल मोडेल’ हो । शास्त्रीय व्याख्यालाई स्वीकार्ने हो भने शिक्षक समाजमा पूजनीय हुनुपर्ने । तर, किन शिक्षक आलोचित छ ? किन शिक्षण पेशा अरुचिकर बन्दो छ ? के यी प्रश्न ऐन निर्माणको क्रममा ज्वलन्त र सान्दर्भिक होइनन् ? 


    औद्योगिक क्रान्ति पछि शिक्षा राज्यको नागरिकको अधिकारको रूपमा रह्यो । आधुनिक राज्यमा शिक्षा राज्यको उद्देश्य अनुरूपको नागरिक उत्पादन गर्ने माध्यम बन्यो । शिक्षा लाक्षणिक भाषामा ‘औंसीमा दियो’ र शिक्षक ‘नदी पार गराइदिने माझी’ हो । तर, रुखो व्यवहारमा शिक्षा शासनको प्रमुख अस्त्र हो । औद्योगिक क्रान्तिसंगै  शिक्षा आवश्यक जनशक्ति उत्पादन गर्ने संस्थाको रूपमा विकास हुँदै गयो । शिक्षाको पूर्ण अधिकार राज्यमा केन्द्रीत भयो । अहिले पाठ्यक्रम राज्यले निर्माण गर्छ । पाठ्यक्रम  अनुसारको मूल्याङ्कनको सम्पूर्ण जिम्मा पनि राज्यको नै हुन्छ । राज्यले निर्माण गरेको प्रणालीभित्र बसेर शिक्षकले अध्यापन गर्छ । अनि को हो त शिक्षक ? शिक्षक भरिया हो । राज्यले निर्माण गरेको पाठ्यक्रम विद्यार्थीलाई थोपर्ने र राज्य परिभाषित असल नागरिक निर्माण गर्ने साधन बनिरहेको छ शिक्षक । शिक्षक विद्यार्थीलाई पाठ्यक्रमको भारी ओसार्ने काम गर्छ । आलोचनात्मक शिक्षाविद् पाउलो फ्रेरेले यसैलाई बैङ्किङ शिक्षा भनेका छन् । शिक्षा बैङ्क जस्तो भएको छ । कतै सङ्ग्रहित छ र भरियारूपी शिक्षकले शिक्षाको भारीलाई कक्षा कक्षामा पुर्‍याउँछ । शिक्षकको स्वतन्त्र चिन्तन, आलोचनात्मक चेत, सिर्जनशीलतालाई बैङ्किक शिक्षा प्रणालीले पंगु बनाइरहेको छ ।

    पाठ्यक्रम बनाउँछ एउटा, पाठ्यक्रम बोक्ने भरिया छ अर्को, पुस्तक लेख्ने अर्को, परीक्षा लिने अर्को र प्रतिफल सुनाउने पनि अर्कै । शिक्षक मात्र भरिया भएको छ । शारीरिक र मानसिक श्रमको विभेद भएको समाजमा भरियाप्रतिको दृष्टिकोण नकारात्मक रहेको छ । त्यसैले भरियारूपी शिक्षक पनि प्रतिष्ठाहिन बनिरहेको छ । 


    शिक्षक आन्दोलनले शिक्षकलाई भरियाबाट सर्जक बनाउने मुद्दा उठाउन सकेन । शिक्षकलाई आदर्श बनाउन सकेन । शिक्षक आन्दोलनले आक्रोश व्यक्त गर्‍यो । प्रतिष्ठा खोज्यो । सम्मान रहेन भनेर रुवाबासी पनि गर्‍यो तर आत्मसम्मानको लागि शिक्षक भरियाबाट सर्जक बन्नुपर्छ । नयाँ शिक्षा ऐन यसरी निर्माण हुनुपर्छ भन्न सकेन । खासमा यसतर्फ चिन्तन नै गरेन । 


    एउटा उदाहरण हेरौं, शिक्षक आन्दोलन र शिक्षाका बहस गर्नेहरूले छुटाएको । विचाराधीन शिक्षा विधेयकमा एउटा प्रावधान छ— गणित, विज्ञान र कम्प्युटर विज्ञान अङ्ग्रेजी माध्यममा पठनपाठन गर्ने । यो प्रावधानमा कोही पनि बोल्दैन । किन ? डर छ । यो विषय उठाउन साथ ‘तँलाई अङ्ग्रेजीमा पढाउने आँट छैन’ भन्ने बात लाग्छ भनेर ।

    कतिपयलाई विश्वविद्यालय तहमा अङ्ग्रेजी माध्यम नै हुने भएकोले यो ठीकै हो भन्ने लाग्छ । खासमा विद्यालय तहमा गणित, विज्ञान शिक्षण गर्नुको उद्देश्य विज्ञान र गणितको आधारभूत ज्ञान दिनु हो । विज्ञानले आलोचनात्मक क्षमता विकास गर्ने हो र गणितले तार्किक बनाउने हो । यी सबै उद्देश्यको लागि भाषा बाध्यकारी हुनुहुँदैन ।

    संसारमा विज्ञान र गणितमा राम्रो प्रगति गरेका देशहरूमा मातृभाषा नै पठनपाठन गरिएको छ । जर्मनीले जर्मन मै र चीनले चिनियाँ भाषामा नै विज्ञान र गणित अध्यापन गरेको छन् । तर, औपनिवेशिक सोच र म्याकले भूतले डामेकाहरूले अङ्ग्रेजी अनिवार्य राखेर सार्वजनिक शिक्षालाई थप ध्वस्त पार्ने प्रयत्न गरेका छन् । शिक्षक आन्दोलनले यो विषय किन बोलेन ? किनभने शिक्षक संगठनहरू पनि औपनिवेशिक सोचबाट ग्रसित छन् । औपनिवेशिक सोचको भारी बोक्ने ‘भरिया’लाई समाजले किन सम्मान पो गरोस् र ? लेखनको भाषा रुखो र छुच्चो सुनिएला तर सत्य त खरो नै हुन्छ नि होइन र ? 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij