बुटवल । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा सञ्चालन गरिने २०८२ सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित र आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा आइतबारदेखि सुरु हुँदैछ ।
बैशाख ११ गते परीक्षा हुने पुर्व तालिका रहेपनि शिक्षक आन्दोलनले गर्दा पुर्व निर्धारित तालिका अनुसार परीक्षा हुन नसक्ने अवस्था आएकोले पुरानो समयतालिकामा संशोधन गरी नयाँ तालिका ल्याइएको थियो । जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा ५ हजार २०२ विद्यालयका नियमिततर्फ ३ लाख ९५ हजार ९०८ (जसमध्ये छात्र १ लाख ९८ हजार ८७५ छात्रा १ लाख ९७ हजार ०१३ र अन्य २० तथा आंशिकतर्फ १ लाख १५ हजार ६१७ गरी कूल जम्मा ५ लाख ११ हजार ५२५ परीक्षार्थीहरू सहभागी हुँदैछन् ।
परीक्षार्थी सङ्ख्या अनुसार सबैभन्दा कम मनाङ जिल्लामा कूल ४५ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुनेछन् । नेपालभर जम्मा १५ सय ९० र जापानमा १ समेत गरी कूल १५ सय ९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ । जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १६२ वटा र सवैभन्दा कम मनाड÷मुस्ताड़ जिल्लामा १/१ केन्द्र निर्धारण गरिएको छ । देश बाहिर केन्द्र राखेर कक्षा १२ को परीक्षा संचालन गर्न लागिएको यो दोश्रोपटक हो ।
लुम्बिनी प्रदेशबाट कक्षा १२ को परीक्षामा नियमिततर्फ ६६ हजार ७६७ र आंशिकतर्फ २३ हजार ९११ गरी कूल ९० हजार ६७८ जना विद्यार्थीहरु परीक्षामा सहभागी हुदैछन् । परीक्षा संचालनको लागि लुम्बिनी प्रदेशमा २६४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै परीक्षार्थी रुपन्देही जिल्लामा (२३ हजार ८५३ जना ) र सबैभन्दा कम परीक्षार्थी रुकुम पुर्वमा (१ हजार २८३ ) रहेका छन् । रुपन्देही जिल्लाको परीक्षार्थी संख्या काठमाडौं जिल्ला पछिको धेरै हो ।




