भैरहवा । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारको कमजोरीका कारण गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा नचल्दा मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । शनिबार भैरहवामा पत्रकारसँग कुरा गर्दै पूर्व मन्त्री समेत रहेका साहले विमानस्थल चल्ने आशामा व्यवसायीले अर्बौं लगानी गरेका, तर नचल्दा लगानी जोखिममा परेकाले सरकारले क्षतिपूर्ति दिनुपर्ने तर्क गरे ।
एअरपोर्ट नचलेका कारण व्यवसायीको पुँजी डुबिरहेको र विमानस्थललाई लक्षित गर्दै सञ्चालनमा आएका होटल र पर्यटन व्यवसाय धरासायी भएको भन्दै साहले प्रधानमन्त्री र पर्यटनमन्त्रीले एअरपोर्ट चलाउन किन नसकेको भन्दै प्रश्न गरे । ‘विमानस्थल नचलेपछि व्यवसायी संकटमा छन्, पर्यटक आउँछन् भनेर व्यवसायीले लगानी गरे । तर, अहिले त्यो लगानी धरापमा छ,’ उनले भने–‘म अर्थमन्त्रीलाई भन्न चाहन्छु, सरकारले व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्छ ।’ उनले एउटा एअरपोर्ट चलाउन नसक्ने प्रधानमन्त्रीले देश कसरी चलाउन सक्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ कि आउँदैन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका हुन् । साहले वर्तमान सरकार जनताप्रति जवाफदेही र उत्तरदायी नभएको आरोपसमेत लगाए । प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले अहिले देशमा लुटतन्त्र र दलतन्त्र हावी रहेको दाबी गरे ।
अहिलेसम्म पुरानै नेताले शासन गरिरहेको उनले बताए । जनादेशविपरीत एमाले–कांग्रेस मिलेर बनेको यो सरकार जनविरोधी र अप्राकृतिक भएको उनले जिकिर गरे । अहिले मुलुकमा दुई दलको मनोमानी र अत्याचार बढेको उनको भनाइ छ । साहले भैरहवा एयरर्पोट चल्दैन भने आम जनता पार्टी चुप लागेर नबस्ने बताए ।
अहिले लोकतन्त्रको नाममा लुटतन्त्र, भ्रष्टाचार र अराजकता मौलाउँदै जान थालेको उनको भनाइ छ । अहिलेको सरकारबाट जनअपेक्षा अनुरुपको कुनै पनि काम हुन नसकेको उनले बताए । ‘एमाले र कांग्रेसको झण्डै दुई तिहाइको अहिलेको सरकारबाट मुलुकमा सुशासन, सदाचार, राजनीतिक स्थिरता, चलायमान अर्थतन्त्रलगायतका अपेक्षा आम जनताले गरेका थिए,’ उनले भने–‘जनताले गरेका अपेक्षाअनुरुप सरकार चल्नुको सट्टा देशलाई झनझन् संकटमा लैजानेमात्र काम भएका छन् ।’
नेता साहले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा मुलुकमा बेथिति भइरहेको दाबी गरे । यस्तो बेथितिमा नेपाली कांग्रेस समेत साक्षी बनेको उनको टिप्पणी छ ।
‘मुलुकमा बेथिति, भ्रष्टाचार, अनियमितता बढ्दै गइरहेको छ । प्रधानमन्त्रीजी हरेक क्षेत्रमा असफल हुनुभएको छ । आम जनताले परिवर्तन र निकास खोजेका छन् ।’– उनले भने ।
आम जनता पार्टीले आज भैरहवामा खबरदारी सभा गर्दैछ ।
यसअघि प्रतिनिधिसभा सदस्य एवं पूर्व पर्यटन मन्त्री प्रेम आलेले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीहरु आत्महत्या गर्ने अवस्थामा पुगेको बताएका थिए । उनले विमानस्थलका लागि ४ सय बिघा बढी जग्गा जथाभावी अधिग्रहण गरेर राज्यलाई अर्बौंको आर्थिक भार बोकाएको, तर विमानस्थलमा भैंसी चरण र माछापालन गर्न उपयुक्त हुने अवस्था आएकोे टिप्पणी गरेका थिए ।
पोखरा विमानस्थलमा १० अर्बभन्दा बढी नीतिगत भ्रष्टाचार र गुणस्तरहीन काम भएको प्रतिवेदन सार्वजनिक भएपछि सांसद आलेले पोखरा विमानस्थलको भ्रष्टाचार ट्रेलर मात्र भएको पूरा फिल्म भैरहवा विमानस्थलमा रहेको बताएका थिए ।




