काभ्रेको मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमा पठनपाठन गराउन निर्देशन दिएको छ । पालिकाले दिएको निर्देशन कार्यान्वयन भयो भने सामुदायिक विद्यालय सुधारको एउटा प्रस्थानविन्दु हो । यो निर्णय कार्यान्वयनले दुरगामी प्रभाव पर्नेछ ।
नगरले जनप्रतिनिधि, शिक्षक, नगरका कर्मचारी तथा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीलाई यही वैशाख मसान्तसम्ममा अनिवार्य रूपमा सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना गरेको प्रमाणसमेत बुझाउन निर्देशन दिएकाले सामुदायिक विद्यालयमा भर्नाका लागि दबाब परेको छ । नेपालको सामुदायिक विद्यालय अहिले दोबाटोमा छन्, एकातिर सामुदायिक विद्यालयको गुणस्तर सुधारको पहल भइरहेको छ, राज्यको लगानी बढिरहेको छ, अर्कोतिर सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा रहेका पदाधिकारी र पढाउने शिक्षकका छोराछोरी निजी विद्यालयमा पठनपाठन गर्ने प्रवृत्तिले सामुदायिक विद्यालय सुधारका लागि भएका प्रयासको अपनत्व हुन सकेको छैन ।
उनीहरुले अपनत्व ग्रहण नगर्दा सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि भएका प्रयासको फितलो नतिजा देखिएको छ । सामुदायिक विद्यालयमा पठनपाठन गर्ने, तर छोराछोरीलाई अन्यत्र पठनपाठन गराउने शिक्षक गैरजिम्मेवार हुन् । उनीहरुका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्न बाध्यकारी बनाउनुपर्छ । यो निर्णय एउटा पालिकाले होइन्, देशभर अभियान चल्नुपर्छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी कसले कहाँ पढ्छन् भन्ने जानकारी शिक्षा मन्त्रालयसँग हुनुपर्छ । पालिकाभित्रको पालिकाको शिक्षा इकाईसँग हुनुपर्छ । प्रदेशभित्रको प्रदेशको शिक्षा हेर्ने मन्त्रालयसँग हुनुपर्छ । जसले सामुदायिकमा शिक्षण गरेर छोराछोरी निजीमा पठनपाठन गराउँछन्, उनीहरुको शिक्षण र सिकाइ प्रक्रिया कत्तिको जवाफदेही र जिम्मेवार भएको छ ? अहिले विद्यालयको पूर्वाधार राम्रो छ, प्रयोगशाला, पुस्तकालय, कक्षा कोठा राम्रा छन्, तर शैक्षिक गुणस्तर बढ्न सकेको छैन । गुणस्तर बढ्न नसक्नुका केही कारण छन्, तीमध्ये एउटा शिक्षकले पढाएनन्, विद्यार्थीको सिकाइ सहजीकरणमा इमान्दार भएनन् भन्ने हो ।
सामुदायिक विद्यालयको नतिजा हरेक वर्ष खस्कदै गएकाले मण्डन देउपुर झैं अरु पालिकाले पनि निर्णय कार्यान्वयन गर्ने हो नेपालको सामुदायिक विद्यालयको नतिजा सुधारमा धेरै समय लाग्दैन । राम्रा सामुदायिक विद्यालयको असल अभ्यास हेरेर पनि कमजोर सामुदायिक विद्यालयको सिकाइ प्रक्रियालाई सुधार गर्न सकिन्छ । बुटवलमा सम्पूर्ण बुटवल एक विद्यालय मोडल लागू गरी सबै विद्यालयलाई एउटै ढाँचामा चलाउने अभियानको सुरु गरियो, तर बिचैमा अभियान हरायो । यो मोडल लागू भएको भए बुटवलको विद्यालय शिक्षा मुलुककै लागि एउटा मोडल हुन सक्थ्यो ।
नेपालकै सबैभन्दा धेरै विद्यार्थी भएका र राम्रो मानिएका कालिका मानवज्ञान, कान्ति मावि र नविन औद्योगिक मावि यहाँ रहेका र यी विद्यालयको असल अभ्यास अरु विद्यालयका लागि पनि महत्वपूर्ण हुन्छन् । बुटवलले यो मोडल अघि बढाएर अरुका लागि सिकाउन सक्छ ।




