रुपन्देहीको सिद्धार्थनगरमा नगरभरि यत्रतत्र छरिएर रहेका सवारी साधन मर्मत गर्ने ग्यारेज र त्यससँग सम्बन्धित अटोमोबाइल्स व्यवसायलाई एउटै थलोमा ल्याएर अटोभिलेज सञ्चालन गर्ने योजना एक दशकअघि बनेको थियो । सिद्धार्थनगर–९ गोनहियामा अटोभिलेज सञ्चालन गर्ने नगरको योजनामा व्यवसायीले साथ नदिँदा पूर्णरुपमा सञ्चालनमा आउन सकेको थिएन । सुन्दर र सफा नगरको रुपमा विकास गर्ने अवधारणाअन्तर्गत २०७० सालमा सम्झौता नै गरेर अगाडि सारिएको योजना अलपत्र परेपछि सोमबार नगरपालिकाले लुम्बिनी रोडमा सञ्चालनमा रहेका विभिन्न ग्यारेजहरु त्यहाबाट हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
सिद्धार्थनगर बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार पनि हो । नगरलाई पर्यटकीय दृष्टिले आकर्षक बनाउन यत्रतत्र छरिएका ग्यारेजहरु अटोभिलेजमै स्थानान्तरण गर्नु अपरिहार्य छ । व्यवसायीले अटेर गरेपछि नगरपालिकाले ३५ दिने सूचना जारी गरेपछि अब व्यवसायीहरु अटोभिलेजमा जानुको विकल्प छैन ।
अटो भिलेजका लागि जग्गा खरिद भएको ठाउँमा सडक, खानेपानी, विद्युत्लगायत आवश्यक पूर्वाधार नगरपालिकाले बनाउने सम्झौता गरेको थियो । ती सबै तयार समेत भइसकेको नगरपालिकाले जनाएको छ । सम्झौताको बुँदा नम्बर ४ मा अटोमेकानिक्ससम्बन्धी व्यवसाय गर्ने व्यवसायीलाई सिद्धार्थ अटोभिलेज बाहेक अन्यत्र व्यवसाय गर्न नपाउने गरी दुवै पक्ष (नगरपालिकाका र व्यवसायी) ले आवश्यक भूमिका र पहल गर्ने उल्लेख रहे पनि नियमन गर्ने निकाय नगरपालिकाले आफ्नै सम्झौताको उल्लंघन हुने गरी व्यवसायीहरुलाई लुम्बिनी रोड र शहरका अन्यत्र ठाउँमा ग्यारेज र वर्कशप सञ्चालन गर्न छुट दिएको थियो । तसर्थ अटोभिलेज पूर्णरुपमा कार्यान्वयनमा नआउनुमा व्यवसायीभन्दा बढी नगरपालिकाको कमजोरी छ ।
सिद्धार्थनगर नगरपालिकामा करिब ८ सय व्यवसायीहरु अटोभिलेजमा जाने प्रकृतिका रहेको बताइन्छ । तर सिद्धार्थ अटोभिलेजमा २० जना व्यवसायीले मात्रै नियमित व्यवसाय गर्दै आएका छन् । अटोभिलेज पुग्न अझैँ पुलको समस्या रहेको, सर्भिस रोड हुँदै आउनु पर्ने बाध्यता रहेकोले हाइवे खोल्नु पर्ने, विस्तारै हुलाकी सडकसँग जोड्नु पर्ने, बाटो र पूर्वाधारको काम अझँै व्यवस्थित गर्नु पर्नेलगायतको समस्या नगरपालिकाले तत्काल समाधान गरी व्यवसायीको विश्वास जित्नुपर्छ ।
नगरलाई सफा, सुन्दर र पर्यटकीय बनाउन नगरपालिका र व्यवसायीबिच सहकार्य र समन्वय जरुरी छ । व्यवस्थित अटोभिलेज सञ्चालनमा आउँदा सिद्धार्थनगरको शहरी सौन्दर्य वृद्धि हुनुका साथै विदेशी पर्यटकमा समेत सकारात्मक छाप छाड्न सकिने छ ।




