२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी

स्टेचरमा सुत्केरी बोकेर घर पुगे स्वास्थ्यकर्मी
दाङ संवाददाता रहेका घिमिरेले राजनीति, सामाजिक तथा समसामयिक क्षेत्रमा कलम चलाउछन।
मंगलवार, आषाढ २६ २०८१
मंगलवार, आषाढ २६ २०८१
  • देउखुरी । यतिबेला सामाजिक सञ्जालमा एउटा तस्विर चर्चामा छ । जुन तस्विरमा स्टेचरमा एक महिलालाई बोकेर स्वास्थ्यकर्मीहरू लम्किरहेको देखिन्छन् । तस्विर सञ्जालमा सार्वजनिक भएपछि जसको बारेमा प्रतिक्रियाहरू पनि आइरहेका छन् । आउने अधिकांश प्रतिक्रियाहरू सकारात्मक छन्, जसमा स्वास्थ्यकर्मीहरूको प्रशंसा गरिएको छ । सञ्जालमा छाइरहेको उक्त तस्विर प्यूठानको ऐरावती गाउँपालिका- ६, काल्नेको हो । 


    काल्नेकी ३० वर्षीया जीवा विकलाई एक्कासी सुत्केरी व्यथाले च्याप्यो । शनिबार बेलुकी करिब ८ बजे उनी बर्थिङ सेन्टरमा भर्ना भइन । आमासँग हिँडेर मल्लरानी- ३ स्थित धरमपानी स्वास्थ्य चौकी पुगेकी जीवाले त्यसैदिन राति १० बजे छोरी जन्माइन । आमा र बच्चाको आवश्यक उपचारपछि स्वास्थ्य संस्थाले घर जान सल्लाह दियो । तर, उनी आफँै हिँडेर घर जान सक्ने अवस्था थिएन । एक्ली आमाले उनी र बच्चालाई लैजान सक्ने अवस्था झनै रहेन ।
    लगातारको झरीले बाटो बिगारेकाले यातायातका साधन आउने स्थिति थिएन । गाउँका युवाहरू बोलाउ भने पनि घरमा छैनन् । उनका श्रीमान भारतमा रोजगारी गर्दछन् ।

    अब के गर्ने ? स्वास्थ्यकर्मीहरू पनि अलमल परे । अरु कुनै उपाय नभएपछि स्वास्थ्यकर्मीले आफैँ बोकेर सुत्केरीलाई घरसम्म लैजाने निधो गरे । वर्षाले सडक बिग्रिएको र गाउँमा युवाहरूसमेत नभएका कारण सुत्केरी महिलालाई स्वास्थ्यकर्मीहरूले बोकेरै घरसम्म पुर्‍याएको धरमपानी स्वास्थ्य चौकीका इञ्चार्ज टुकाराम पोख्रेलले बताए । ‘भर्खरकी सुत्केरीलाई हिँडाउँदा झन जोखिम हुने देखेर बोक्न तयार भयौं,’ उनले भने-‘सडक अवरुद्ध थियो । गाउँमा युवा भेटिएनन् ।  अनि बोक्न स्टेचर उठायौं ।’


    सुत्केरी जीवाको घरदेखि धरमपानी स्वास्थ्य चौकी करिब एक घण्टाको दूरीमा छ । साढे २ किलोमिटर अफ्ठेरो बाटोमा बोकेर सुत्केरीलाई घर पुर्‍याइएको हो । ‘स्वास्थ्य चौकीमा ७ जना कार्यरत छौं,’ उनले भने-‘एक जना सिस्टरलाई कार्यालयमा छोडेर अरु सबै सुत्केरी बोक्न गयौं ।’ बाटोमा स्वास्थ्यकर्मीहरूले सुत्केरी बोकेको देखेर पनि कोही मान्छेले पनि सहयोग नगरेको इञ्चार्ज पोखरेलले गुनासो गरे । उनले भने-‘बाटोमा मान्छेहरूले हामीलाई हेरिरहे । तर, सहयोग गर्न आएनन् ।’


    स्वास्थ्य चौकी इञ्चार्ज पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जीवालाई पालैपालो बोकेका थिए । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उनीहरुले कहिले खालीखुट्टा त कहिले चप्पल लगाएर सुत्केरी बोकेर हिँडेको देखिन्छ । जीवा विक मल्लरानी-२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा गएकी थिइन् । 


    यो स्वास्थ्य चौकी प्यूठानको चुजाठाँटी बजार नजिकै पर्छ । जीवाको घर जाँदा त्यही बजारको बाटो हुँदै जानुपर्छ । स्वास्थ्य चौकीमा आएका व्यक्तिहरुले बोक्न नमाने पनि बजारबाट कसै न कसैले पक्कै काँध थापेर साथ देलान् भन्ने लागेको थियो स्वास्थ्यकर्मीहरुलाई । तर, बजार क्षेत्रबाट पनि कोही सहयोगी निस्किएन् । आठ वर्षदेखि अनमी पदमा कार्यरत पार्वताका लागि सुत्केरीलाई बोकेर घरैसम्म पुर्‍याइदिएको पहिलो अनुभव हो ।


    ‘हामीले केहीबेर दुःख पाए पनि सुत्केरी र शिशु दुवै स्वस्थ हुनुहुन्छ भन्ने कुरा सुनेका छौं । त्यही थाहा पाउँदा पनि आनन्द लाग्छ,’ उनले भनिन्-‘हामीले जे सक्थ्यौं, त्यही गर्‍यौं ।’ एक घण्टा स्टेचरमा बोकेर घरसम्म पुर्‍याउन पाएकामा  स्वास्थ्यकर्मी खुसी छन् । तर, स्थानीयहरुबाट सहयोग नपाउँदा भने दुःख व्यक्त गरेका छन् । ‘बजारको बाटो भएर गयौं । कसैले पनि काँध थाप्न आएनन्,’ पोख्रेलले भने-‘स्वास्थ्य चौकीबाट हिंडाउँदा आउँछन् की भन्ने लागेको थियो । हेरेर बसे तर, काँध थाप्न आएनन् ।’ 


    स्वास्थ्यकर्मीको माया र साथ पाएकोमा जीवा खुसी छिन् । सो स्वास्थ्यचौकीमा प्यूठानको मल्लरानी, ऐरावती गाउँपालिका र अर्घाखाँचीको भूमिकास्थानको १ नम्बर वडाका स्थानीयले सेवा लिँदै आएका छन् ।


    स्वास्थ्य चौकीमा २४ घण्टा सेवा
    स्वास्थ्य चौकीको खुल्ने समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हो । तर, ऐरावती गाउँपालिकाको यो स्वास्थ्य चौकीमा २४ घण्टा उपचार सेवा प्रदान गरिंदै आएको छ । स्वास्थ्य चौकी प्रमुख पोख्रेलका अनुसार गत वर्ष जिल्लामा कार्यसम्पादनमा दोस्रो स्थान प्राप्त गरेको थियो, स्वास्थ्य चौकीले ।


    ‘स्वास्थ्य चौकी भएर पनि हामीले २४ घण्टा उपचार सेवा दिएका छौं,’ उनले भने-‘यसपाली पहिलो स्थानमा पुर्‍याउने अठोट छ ।’ प्राथमिक स्वास्थ्य केन्द्रभन्दा राम्रो स्वास्थ्य उपचार प्रदान गरिरहेको भनाइ उनको रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij