गुल्मी । पश्चिम गुल्मीको शैक्षिक धरोहर मानिने धुर्कोट गाउँपालिका ५ वस्तुको हिमालय माविलाई आजको स्थानसम्म ल्याइपुराउने अग्रजहरुमध्ये एक थिए, स्वर्गीय कुलबहादुर श्रेष्ठ । उनको मृत्यु भएको पनि ८६ वर्ष पुगेको छ । उनै श्रेष्ठका नातीहरुले त्यस विद्यालयको शैक्षिक विकासका लागि २० लाख रुपैयाँ शनिबार सहयोग हस्तान्तरण गरेर हजुर बुवाले त्यस विद्यालयलाई पुराएको योगदानलाई पुनर्जीवित पारेका छन् ।
वस्तु हटियाका स्वर्गीय श्रेष्ठका कान्छा छोरा स्वर्गीय जनकलाई श्रेष्ठ र देविलक्ष्मी श्रेष्ठका छोराहरुले हजुरबुवा र बाबुले त्यस विद्यालयलाई पुराएको योगदानलाई उक्त सहयोग गरेर पुनर्जीवित गरेका हुन् ।
कुलबहादुर र जनकलालले जीवित छउञ्जेल त्यस विद्यालय स्थापना गर्नदेखि विकासमा ठूलो योेगदान पुराउँदै आएका थिए । उनका छोरा नातिहरुले पनि सोही विद्यालयमा पढेका थिए । हिमालय माविको शैक्षिक विकासमा श्रेष्ठ परिवारले पुराएको योगदानको सम्मान स्वरुप कुलबहादुर श्रेष्ठको शालिक विद्यालयले स्थापना गरेको छ । शालिकको एक समारोहका बिच धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले अनावरण गरेका थिए ।
सोही समारोहमा उनका नातिहरुले विद्यालयको शैक्षिक विकासका लागि २० लाखको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त सहयोग हस्तान्तरण गर्न स्वर्गीय कुलबहादुर श्रेष्ठका दुई नातिहरु रुपेशकुमार श्रेष्ठ र राजेन्द्रकुमार श्रेष्ठ, जीवनकुमार श्रेष्ठ, सरोजकुमार श्रेष्ठ, जवहारलाल श्रेष्ठ र पलातीहरु धिरेन्द्रकुमार श्रेष्ठ, ऋषिकुमार श्रेष्ठ, दिलिपकुमार श्रेष्ठ आइपुगेका थिए । वस्तु हटिया छाडेर २०२८ सालमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ मा श्रेष्ठ परिवार बसाईसराइ गरे पनि पुख्र्याैली घर जमिन बेचेका छैनन् । पुर्खाको चिनो, आफू जन्मेको माटोको माया बसाउँछ भन्दै जग्गा नबेचेका उनीहरुले आफूले पढेको विद्यालयलाई पनि सम्झीन पुगे । २०२९ सालको एसएलसी हिमालय माविबाटै दिएको हुँ, कुलबहादुरका नाति जनकलालको जेठा छोरा रुपेशकुमार श्रेष्ठले भने –‘कर्मथलो जहाँ बनाएर पुगे पनि आफू जन्मे हुर्केको माटो भुल्न कहाँ सकिन्छ र ?’ ५२ वर्षपछि विद्यालयमा पाइला टेक्न पाउँदा असाध्यै भावुक बनेको उनले बताए ।
उनका भाइ राजेन्द्रकुमार श्रेष्ठ २५ वर्षदेखि सपरिबार लण्डनमा बस्छन् । उनी पनि हजुर बुवा कुलबहादुर र बाबु जनकलालले विद्यालयलाई पुराएको योगदानलाई सम्झेर शालिक स्थापना गरिदिएको प्रति कृतज्ञता जाहेर गरे । कार्यक्रममा आएका उनीहरुसहित स्वर्गीय कुलबहादुरका सन्ततीहरुलाई सो विद्यालयले सम्मान गरेको थियो । श्रेष्ठ धुर्कोट वस्तुमा आएदेखि बजारीकण सुरु हुनुका साथै त्यहाँको शैक्षिक विकासले फ्mड्को मार्न सुरु गरेको इतिहासमा उल्लेख छ । १९२२ सालमा पाल्पामा जन्मिएका कुलबहादुर श्रेष्ठको १९९६ सालमा धुर्कोट वस्तुमा निधन भएको थियो । उनका तीन भाइ छोराहरुमध्ये जेठा गोपालप्रसाद श्रेष्ठको २०६५ सालमा मृत्यु भएको थियो । उनी लामो समयसम्म तत्कालिन वस्तु गाउँ पञ्चायतको प्रधानपञ्च र हिमालय माविका संस्थापक अध्यक्ष थिए ।
माइला छोरा ईन्द्रलाल श्रेष्ठको मृत्यु २०७१ सालमा भएको थियो । उनी पनि वस्तुका अगुवा समाज सेवीहरुमध्ये एक गनिन्थे । कान्छा छोरा जनकलालको मृत्यु २०५८ सालमा भएको थियो ।
कार्यक्रममा वक्ताहरुले श्रेष्ठ परिवारले त्यहाँको शैक्षिक विकासमा पुराएको योगदानलाई निरन्तरता दिँदै उनका नाति, पलातिहरुले आर्थिक सहयोग गरेकोप्रति धन्यवाद दिएका थिए । विद्यालयका शिक्षक धर्मराज रिजालले मृत्यु भएको ८६ वर्षपछि नाति र पलातिसम्मले सम्झीनु अनुकरणीय कार्य भएकोे बताए । गाउँबाट बसाईसाराइ गरेका र पूर्व विद्यार्थीहरुलाई पालिकाको सम्पर्कमा ल्याउने, उनीहरुलाई सम्मान गर्ने, उनीहरुलाई गाउँ भित्र्याउने वा पालिकाभित्रको शिक्षा, स्वास्थ्य तथा अन्य विकास कार्यमा सहकार्य गर्ने नीति पालिकाले बनाएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए ।




