बुटवल
बुटवल औद्योगिक क्षेत्रमा रहेको मेटल कास्ट उद्योगलाई अहिले त्यहाँको जग्गा साँगुरो भएको छ । २०५२ सालमा उद्योग स्थापना हुँदा पर्याप्त रहेको उक्त जग्गा उद्योगको क्षमता विकास हुँदै गएपछि अहिले साँघुरो भएको हो । उद्योगका सञ्चालक निश्चल शर्मा भन्छन्–‘यहाँको जग्गा साँघुरो भयो, मोतीपुर औद्योगिक क्षेत्र कहिले बन्छ, त्यसको प्रतिक्षामा छौं ।’
यो उद्योगमा ठूला परियोजनाका लागि फलामका सामान उत्पादन तथा मर्मत सम्भारको काम हुन्छ । जग्गा साँघुरो हुँदा उद्योगको उत्पादन क्षमता विस्तार गर्न कठिनाइ भएको उनले बताए । मेटल कास्ट उद्योगलाई मात्रै होइन, २०६६ सालमा स्थापना भएको युनाइटेड प्लाष्टिक उद्योगलाई पनि जग्गा साँघुरो भएको छ । तर उद्योगमा ठूलाठूला मेसिन तथा उपकरणहरु हुने भएकाले अन्यत्र ठाउँ पाए पनि उद्योग स्थानान्तरण गर्न सजिलो छैन । उद्योगका प्रबन्ध निर्देशक तुलसीबहादुर गुरुङले अन्यत्र ठाउँ पाइहालियो भने पनि सार्ने स्थिति नभएको बताउँछन् ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको टोलीले बुटवल औद्योगिक क्षेत्रसहितका विभिन्न उद्योगहरुमा स्थलगत अवलोकन गर्दा धेरै उद्योगले उद्योगको क्षमताअनुसार ठाउँ साघुरो भएको बताएका हुन् ।
२०७७ साल फागुन २१ गते तत्कालीन अर्थमन्त्री एवं एमाले नेता विष्णु पौडेल र तत्कालीन उद्योगमन्त्री लेखराज भट्टले संयुक्त रूपमा औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए । तर बस्ती र जोतभोगको जग्गा समेत औद्योगिक क्षेत्रमा पारिएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएर काम अघि बढाउन दिएका थिएनन् । जोतभोग र बस्ती भएको जग्गामा औद्योगिक क्षेत्र बन्न नदिने भन्दै स्थानीयको आन्दोलन र अवरोधका कारण शिलान्याश भएको पाँच वर्ष र घोषणा भएको ९ वर्षसम्म काम अघि नबढेर परियोजना अलपत्र परेपछि धनीपूर्जा प्राप्त ८१३ बिघाको सबै जग्गामा औद्योगिक क्षेत्र बनाउन नसकिने निश्कर्षमा सरकार पुगेको छ ।
सोही निश्कर्षका आधारमा मोतीपुर औद्योगिक क्षेत्रमा पुनः नापजाँचको काम सुरु भएको छ । जग्गा विवाद समाधानका लागि नापजाँच सुरु गरिएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । नयाँ नापजाँचबाट नदी उकास क्षेत्र, जोतभोग भएको स्थानीय बस्ती, अन्य सार्वजनिक संघ–संस्था, मठमन्दिरलगायतको जग्गा छुट्याएर बाँकी रहेको भू–भागमा औद्योगिक क्षेत्र विकास गर्नेगरी अघि बढिएको छ ।
सबैभन्दा कम विवादित रहेको सेक्टर ‘बी’ अन्तर्गत बुटवल उप–महानगरपालिका वडा नं. १७ र १८ को २३८ बिघा जग्गाको सीमांकन शुरु गरिएको छ । नयाँ नापजाँचसँगै आइइ, इआइएलगायतका काम सकेपछि नयाँ डीपीआर बनाएर औद्योगिक क्षेत्रको विकास गरिने छ । यसअघिको डीपीआरअनुसार औद्योगिक क्षेत्रलाई ५ वटा ब्लकमा छुट्टाइएको थियो । जसमध्ये सेक्टर ‘बी’ को २३८ बिघासहित सेक्टर ‘डी’को १०९ बिघा तथा र सेक्टर ‘ई’को ४४ बिघामा विवाद नरहको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बुटवल कार्यालयका प्रमुख दीपक आचार्यले बताए । तथ्याङ्कअनुसार सेक्टर ‘डी’मा २ वटा र ‘ई’मा ९ वटा घर मात्र औद्योगिक क्षेत्रको जग्गामा परेका छन् ।
यसघि बुटवलको मोतीपुरदेखि तिलोत्तमा, शुद्धोधन र सियारीसम्मको नदी उकास करिब एक हजार बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउने घोषणा सरकारले गरेको थियो । सो घोषणाअनुसार धनीपुर्जा प्राप्त ८१३ बिघा र पुर्जा प्राप्त नभएको १३३ दशमलव ४६ बिघा गरी ९४६ दशमलव ४६ बिघा (६४१ हेक्टर) को डीपीआर बनाइएको थियो ।
बुटवल औद्योगिक क्षेत्रमा भाडा विवाद कायमै रहेको र विद्युत्मा समेत समस्या रहेको उद्योगीको गुनासो छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ सालदेखि लागुहुनेगरी २०७८ सालमा जग्गाको भाडा ७ सय प्रतिशतसम्म वृद्धि गरेको थियो । यो विवाद अझँै सुल्झिएको छैन । त्यस्तै बुटवल औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर छ । तर, विद्युत् जाने आउने समस्या रोकिएको छैन ।
बुटवल औद्योगिक क्षेत्रमा ६० उद्योग छन् । त्यसमध्ये अधिकांश उद्योग प्लाष्टिक र फेव्रिकेशनका छन् । यो प्रकृतिका उद्योगका लागि २४सैं घण्टा विद्युत्को आवश्यकता पर्छ । औद्योगिक क्षेत्र उद्योग संघका वरिष्ठ उपाध्यक्ष प्रज्ज्वल थान्जुका अनुसार केही मिनेट मात्रै विद्युत् अवरुद्ध हुँदा उद्योगले धेरै नोक्सान व्यहोर्नु पर्छ ।
त्यसबाहेक औद्योगिक क्षेत्र र बाहिरका उद्योगका अरु समस्या भने समान प्रकृतिका छन् । सिथिल अर्थतन्त्र, जनशक्तिको अभाव, सरकारको औद्योगिक नीति सबै उद्योगका समान समस्या हुन् । औद्योगिक क्षेत्र उद्योग संघका महासचिव कमल ज्ञवालीले कच्चा पदार्थमा भन्सार शुल्क लाग्ने र तयारी बस्तुमा छुट दिनेसम्मका नीतिले नेपाली उद्योगीलाई समस्या गराएको बताउँछन् । उनका अनुसार यावत कारणले फूल फेजमा उद्योग सञ्चालन गर्न सकिएको छैन ।
मुलुकको शिथिल अर्थतन्त्रका कारण यस क्षेत्रका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । रुपन्देहीमा थुप्रै औषधि उद्योग छन् । औषधि उद्योगहरुमा पनि सरकारको बिमा नीति, दक्ष जनशक्ति तथा सानो बजार ठूलो लगानीलगायतका समस्या रहेको ती उद्योगीहरु बताउँछन् ।
कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीलगायतका कारणले उद्योगहरु पूर्ववत सञ्चालनमा आउन नसकेको पञ्चकन्या ग्रुपका महानिर्देशक देवेन्द्र साहु बताउँछन् । रुपन्देहीको कोटिहवामा ३ वटा स्टिल र ३ वटा प्लाष्टिक उद्योग सञ्चालन गरेको पञ्चकन्या ग्रुपले पूर्ण क्षमताको २० प्रतिशत मात्रै सञ्चालनमा रहेको साहूले बताए । यो उद्योगमा अहिले पनि ६ सय बढी कामदार कर्मचारी कार्यरत छन् ।
‘पूर्ण क्षमतामा सञ्चालन नभएपछि हामीले तिर्दै आएको भन्सार शुल्क पनि कम भएको छ, राजस्व पनि कम भएको छ,’ उनले भने–‘भन्सार किन कम भयो भनेर भन्सार कार्यालय पनि आउँदैन, राजस्व किन कम भयो भनेर कर कार्यालय पनि आउँदैन, पहिले बैंक आउनु पर्दैनथ्यो, अहिले बैंक आउँछ ।’
उनले राज्य अभिभावकीय भूमिकाविहीन भएको गुनासो गरे । ‘छोरा छोरी लडे भने उठाउने दायित्व बुबा–आमाको हो, घाउ चोटपटक लागेको भए औषधोपचार गरेर बचाउने हो,’ उनले भने–‘तर, यहाँ अभिभावकको भूमिकामा राज्य छैन ।’ उनले विद्युत् ट्रिपिङले धेरै नोक्सान भइरहेको पनि बताए ।
बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगीहरुका समस्या पहिचान गर्न स्थलगत अवलोकन गरिएको र प्राप्त सुझाव सल्लाहका आधारमा मोतीपुर औद्योगिक क्षेत्रको काम छिटो अघि बढाउन पहल गर्ने बताए ।
उद्योगहरुको स्थलगत अवलोकनबाट प्राप्तसमस्याहरु नेपाल उद्योग वाणिज्य महासंघमार्फत् समाधानको पहल गरिने संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईले जनाए ।




