तुल्सीराम पाण्डे
छोरो कसको बेस ? दाँत कसको बेस ? भन्दै एक दिन अकबर राजाले आफ्नो सभामा भारदारहरूलाई प्रश्न राखेछन् । सबै भारदारहरूले आफ्ना तर्कसहित विभिन्न उत्तर दिएछन् । धेरै जसोले राजालाई खुसी बनाउन छोरो राजाको बेस र दाँत हात्तीको बेस भनेछन् । अन्तिममा वीरबलले आफ्ना तर्कसहित छोरो गाईको बेस र दाँत हलोको बेस भनेछन् । त्यसमा सबै भारदारको र राजाको पनि चित्त बुझेछ र सभा सकिएछ । वीरबलको तर्कअनुसार नै गोरु र हलोले जोतेर गृहस्थ जीवन चलेको छ । गोरुलाई रत्याएर जोत्नु पनि एउटा कला हो । जोत्ने मानिसको भाषा गोरुले र गोरुको भाषा जोत्ने मानिसले बुझ्नुपर्दछ । आफ्नो ठाउँको अवस्थाअनुसार तराईमा राँगाले, कतै घोडाले, कतै गधाले, कतै उँटले, कतै हात्तीले पनि जोत्ने गर्दछन् । हाम्रो क्षेत्रमा गोरुले नै धेरै जग्गा कायम गरेका छन् ।
जोत्ने मानिसले दाहिने र देब्रे गोरु चिनेर नार्नु पर्दछ । उल्टो नारेमा गोरु अलमल पर्दछन् र सरासर मेलो लिन सक्दैनन् । कुनै गोरुलाई कहिले दाहिने र कहिले देब्रे बनाएमा लफङ्गो बन्दछ । कहिल्यै राम्ररी मेलो लिन सक्दैन लफङ्गो गोरु छिटो बुढो हुन्छ । जोत्नको लागि हलो, जुवा, नारा, जोतारा, सोइला, फाली, कर्वा, हरिस, अनौ, पाटी, मोहला र फुटकिलाहरू मिलेको हुनु पर्दछ । सम्ममा जोत्न छोटो जुवा र भिरालोमा जोत्न लामो जुवा चाहिन्छ । जुवा र सोइला बनाउन चाम्रो र शीतल काठ चाहिन्छ । फुट्ने काठको बनाएमा गोरुलाई पोल्ने र दुख्ने हुन्छ । साल, कोइराल, मौवा र लाँकुरी जुवा बनाउन राम्रा काठ मानिन्छन् । तराईमा सतिसालको जुवा बनाउँछन् । कहिलेकाहीँ खाँचो टार्नको लागि बाँसको पनि हरिस र जुवा बनाउँछन् । आफ्नो ठाउँमा पाइने र उपयुक्त लाग्ने अरू काठको पनि सामान बनाउँछन् । बाच्छो २ वर्ष पुगेपछि दाउन तयार हुन्छ । पाको गोरुसँग एकै छिन नार्ने र फुकाउने गर्दछन् । बाच्छाको काँधमा जुवा राख्दा पनि असल दिन पार्दछन् । तीन वर्ष या साढे तीन वर्ष नपुग्दासम्म बाच्छाले दिन भरी जोत्न सक्दैन । केही मानिसले सानैमा दाउँदा गोरु टाक्सिन्छ भनेर तीन वर्ष पुगेपछि मात्र दाउँछन् । हुर्केको गोरु दाउन मुस्किल हुन्छ । फुर्सदको समयमा पाको गोरुसँग नारेर एक जनाले अगाडिबाट कान समातेर तान्ने र दाम्लोले डो¥याउने गर्दछन् । कुनै बाच्छाले काँधमा जुवा राख्नै दिँदैनन् । लात्तले हान्ने, दौडने र भाग्ने गर्दछन् । त्यस्ता बहरलाई घाँस र कुँडो खान दिएर मालिकले नै मुसारेर नार्ने गर्दछन् । सरासर मेलामा हिँड्ने विश्वास भएपछि मात्र बहर गोरुको हल बनाउँछन् । सिरिङ्ग्याहा गोरु कसैले पनि मन पराउँदैनन् ।
बहरहरूमा यौन भावना हुने हुनाले जोतेको समयमा गाई देखेमा मेलो छोडेर भाग्ने र फेरि दाउनु पर्ने सम्भावना हुन्छ । कसैले अलिअलि जोत्न सुरु गरेपछि र कसैले सरासर मेलो लिने भएपछि ओख्ता गरेर यौन भावना नष्ट गर्दछन् । त्यसपछि मात्र गोरु पाको हुन्छ । राम्ररी दाइएका गोरुले मेलामा लगेपछि ठिक ठाउँमा उभिएर काँध थाप्दछन् । नाम भनेर बोलाउँदा कराउने र नजिकै जाने गर्दछन् । तालिम अनुसार उँधो उँभो छेउले कुन्ले हअरिआ, घुम, पछिआ भनेको मान्दछन् । हलीले पनि खेतबारीको आकारअनुसार गोरु फर्काउन र हलो उठाउन जान्नु पर्दछ । सिपालु हलीले गोरुलाई माया गरेर जोत्छन् । छेउकुना राम्ररी टिप्छन् । धेरै हल गोरु लहरै जोत्दा हेर्नेलाई र जोत्नेलाई पनि रमाइलो हुन्छ । केही हलीले गोरुलार्ह धेरै पिट्छन् । छाला काढ्नेहरूले गोरु मरेपछि छाला काढ्दा पिटाइ खाएको र नखाएको चिन्दछन् । कुनै ठाउँमा दया नभएका मानिसले छाला चाहिएमा बुढा गाईगोरु भिरबाट घचेटिदिने र लड्यो भनेर छाला काढ्ने गर्दछन् । गोरुको सिङ्बाट मेलोमा पानी चुहुनुलाई कुनै ठाउँमा लच्छिन र कुनै ठाउँमा अलच्छिन मान्दछन् ।
पुरानो समयमा गोरुलाई सम्पन्नताको प्रतीक मानिन्थ्यो । छोरी दिनुपर्दा गोरु छन् कि छैनन् भनेर सोध्थे । केही मानिसहरूले एक एक ओटा गोरु पालेर जोरुवा बनाउँथे । जोत्नको लागि अग्लो र खरो गोरु राम्रो मानिन्छ । चिमाहा सिरिङग्याहा र गले गोरु कसैले रुचाउँदैन । केही मानिसले गोरु किनेर अरूलाई पाल्न दिने र आफूले निःशुल्क जोत्ने गर्दछन् । अन्यत्र जोतेको कमाइ पाल्नेको हुन्छ । आफ्ना गोरु हली दिएमा गोरुको ज्याला मालिकले लिन्छन् । जोतेको ज्याला हलीले नै लिन्छन् । एउटै हलीले जोतिरहेमा गोरु पनि एकहाते हुन्छन् । नजान्ने मानिसहरू चढेमा झुक्किएर खोकमुनि र लेडकामुनि पर्दछन् । सौखिन मानिसहरूले गोरुलाई राम्रो सुसार गरेर पाल्छन् । रोपाइँ गर्ने बेलामा १ माना र रोपाइँ सकिएपछि १ माना तेल खुवाउँछन् । कसैले तोरी कुटेर फुलोको डल्ला बनाएर खुवाउँछन् । कसैले अण्डा र बारुलो खुवाउँछन् । रक्सी पार्नेहरूले पास खुवाउँछन् । एक जना मानिसको गाईले जुम्ल्याहा बाच्छा पाएको थाहा पाएपछि अर्को गाउँबाट एउटा साहु आएछन् र बाच्छाले दूध छोडेपछि मलाई दिनु भनेछन् । बाच्छा हुर्केपछि मालिकले भनेजति दाम दिएर ल्याएछन् । त्यसपछि जुम्ल्याहा गोरुको हल बनाएर जोतेछन् । त्यस घरको नाम नै जम्ल्याहा गोरु भएको घर रहेछ । गोरखा, धादिङ र नुवाकोटमा कतै पौष १५ र कतै माघ १ मा गोरु जुधाउने मेला हुन्छ । त्यस मेलाले गाउँलाई चिनाएको र पर्यटन बढाएको छ । गोरु लडेको देख्ने बच्चाहरूले त्यसैको सिको गरेर खेल्छन् । जोत्ने गोरु भिरबाट लडेर खुट्टा भाँचिएमा धेरै जनाले ठाँडा लगाएर भए पनि घरमा ल्याउँछन् । घरेलु वैद्यले काप्रो बाँध्ने र औषधि गरेपछि फेरि जोत्ने हुन्छन् ।
गोरु र जोताइका सम्बन्धमा केही उखानहरू पनि पाइन्छन् । मान्छे बुढो भए निहुँ खोज्छ, गोरु बुढो भए भिर खोज्छ । बार हल गोरुका कति ओटा खुट्टा हुन्छन् । मरेको गोरु÷भैँसी गाउँवेसी गर्छ । यो मान्छे हल्लौंडो भएर हिँडेको छ । गोरु दाउन नसक्नेले छोरो दाउन सक्दैन । गुन गर्ने हलाले कपाल छेडाइ पाउँछ । लोग्ने स्वास्नीको हल मिलाउन र गोरुको हल मिलाउन सकिन्न । गोरु दाउने आपूmले छोरो दाउने अरुले । जुन गोरुको सिङ छैन उसको नाउँ तिखे । हलो काटी मुग्रो । त्यो मान्छेले त बेसरी जोताउँछ । “मेरो गोरुको बाह्रै टक्का” पहाड़ खाने आइमाईको बल, मधेश खाने गोरुको बल । “हरियो डाँडामाथि हलो जोत्ने साथी” भनेर धर्मराज थापाले गीत गाएँ । यो गीतलाई धेरै नेपालीहरुले मन पराए । अर्का गायकले ठट्यौली रूपमा “एउटा गोरु झालेमाले, एउटा गोरु काले, राम्रा राम्रा तरुनीलाई ल्याउन भन्थे बाले“ भनेर गाए ।
केही विश्वास र केही अन्धविश्वास पनि पाइन्छन् । नाइरो राख्ने ठाउँलाई रथ भन्दछन् । नाइरोलाई नारा र हल्लुँडो पनि भन्दछन् । रथबाट जुवा भाँचिएमा भोग दिनुपर्दछ । कसैले फटेङ्ग्राको भोग दिन्छन् । लोभी हलीले कुखुराको भालेको भोग दिन्छन् । भोग नदिएमा घरको मुलीमान्छे मर्छ भन्दछन् । मूल मान्छे नमेरमा हली मर्छ भन्ने जनमानसमा विश्वास छ । सुरु सुरुमा जोत्ने बाहुनलाई भातबाट खसाल्थे । जोत्दा हलोमा लात्त लाउनु पर्ने हुनाले पाप लाग्छ भन्थे । आइमाईले जोतेमा भासिन्छ भन्दथे । सेती नदी भासिएको पनि आइमाईले जोतेर हो भन्दछन् । लामो समयसम्म खडेरी परेमा धेरै महिलाहरू रातमा बारी वा खेतमा जम्मा हुने र सबै जना नाङ्गै भएर गोरु हली बनेर जोतेमा पानी पर्छ भन्ने विश्वास छ । महिलाको नाङ्गो शरीर देखाएर खुसी बनाउन इन्द्रलाई बोलाउने र पूजा गर्ने गर्दछन् । यो चलन तराईका केही ठाउँहरूमा अझैँ पनि पाइन्छ ।......




