बुटवल
गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पर्याप्त र नियमित हुन नसकेपछि रुपन्देहीका व्यवसायीहरुले डेढ वर्ष यता पटक–पटक आन्दोलनमा समय खर्चिनुपर्ने नियति भोग्दै आएका छन् ।
नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा २०७१ माघ १ मा निर्माण सुरु भएको गौतमबुद्ध विमानस्थल २०७९ जेठ २ गते उद्घाटन भएको हो । त्यसको झण्डै एक वर्षसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेन ।
व्यवसायिक संघसंस्थाहरुले अन्तर्राष्ट्रिय उडान माग्दै प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका शिर्ष नेतालाई ज्ञापनपत्र बुझाउनेदेखि सडक आन्दोलन समेत गरे । तर माग सम्बोधन भएन ।
गत कार्तिक २३ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द हुँदा जजीरा एयरवेज, फ्लाइ दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले एक महिना जति उडान गरे ।
तर भिजिबिलिटीको समस्या देखाउँदै उडानलाई निरन्तरता दिएनन् । नागरिक उड्डयन प्राधिकरणले आइएलएसको विकल्पमा आरएनपीएआर प्रविधि लागू गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान सुचारु भए ।
तर काठमाडौंको त्रिभुवन विमानस्थल मर्मत भएर १८ घण्टा सञ्चालनमा आउन थालेपछि चैत १६ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान बन्द भए । चेम्बर अफ कमर्स रुपन्देही, सिद्धार्थ उद्योग वाणिज्य संघ, ट्राभल व्यवसायी, होटेल व्यवसायी संयुक्त रुपमा आन्दोलित भए । उनीहरुले चरणबद्ध आन्दोलन घोषणा पनि गरे । सिद्धार्थनगर नगरपालिकाले समेत विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको सुनिश्चितता गर्न आफँै नेतृत्व गर्ने घोषणा ग¥यो, तर सरकारबाट कुनै सुनुवाइ भएन ।
विमानस्थल चलेपछि व्यवसायमा सुधार होला भन्ने आशामा बसेका व्यवसायीहरु पटक–पटकको आन्दोलनबाट पनि अन्तर्राष्ट्रिय उडान नभएपछि आजित भएका छन् ।
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीको नेतृत्वमा व्यवसायीहरुले बुधबार विमानस्थल प्रवेशद्वारमा एकघण्टा धर्ना र विरोध प्रदर्शन गरेका छन् । धर्ना र विरोध प्रदर्शनमा भैरहवाका दर्जनौं संघसंस्थाको सहभागिता थियो ।
व्यवसायीहरुले विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने, अत्यावश्यक सरकारी कार्यालयहरु सञ्चालनमा ल्याउनुपर्नेलगायतका नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
व्यवसायीहरुले विमानस्थल पूर्णक्षमतामा नचल्दा मर्कामा परेका व्यवसायीलाई सरकारले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।
‘आफ्नो व्यवसायमा समय र ध्यान दिनुपर्ने व्यवसायीहरु ढेड वर्ष यता विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनुप¥यो भन्ने माग गर्दै पटक–पटक आन्दोलनमा समय खर्चिनुपरेको छ,’ चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले भने–‘आजको धर्ना सांकेतिक झिल्को हो, सरकारले तत्काल अन्तर्राष्ट्रिय उडानको ग्यारेन्टी गरेन भने निर्णायक आन्दोलन हुन्छ ।’
माग सम्बोधन नभए विमानस्थलबाट आन्तरिक उडान बन्द गराउनेदेखि अर्थमन्त्री, नागरिक उड््यन मन्त्री, श्रम मन्त्रीहरुलाई वहिष्कार र उनीहरुका मन्त्रालय घेराउ गर्न काठमाडौं पुग्ने श्रेष्ठले चेतावनी दिए ।
उनीहरुले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भीसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरेका थिए । ‘आवश्यक कार्यालय नै नखोले कसरी विमानस्थल चल्छ ?’, सरकारसँग प्रश्न गर्दै अध्यक्ष श्रेष्ठले भने, ‘निजी क्षेत्र आत्महत्या गर्ने अवस्थामा पुग्दा समेत सरकारले केही सुनेन ।’
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताए । ‘चर्को घाममा सडकमा आन्दोलन गर्ने हाम्रो रहर होइन तर, सरकारले हाम्रो माग सुनेन, व्यवासायी ऋणमा डुबेको देखेन, त्यसैले बाध्य भएर संघर्षका कार्यक्रम गर्नु परेको हो,’ उनले भने–‘रुपन्देहीको निजी क्षेत्रले पटक–पटक आन्दोलनमा उत्रिंदा पनि सरकारले नसुन्नु विडम्बना भयो ।’
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटक–पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा छारो हाल्ने काम गरिरहेको बताए । ‘अब पनि माग सुनुवाइ नभए कडा आन्दोलनमा उत्रिन तयार छौं,’ उनले भने–‘अब सबै संघसंस्थाले सहकार्य गरेर आन्दोलन चर्काउनुको विकल्प छैन ।’
चेम्बर अफ कमर्स रुपन्देहीका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारीले विगतमा सरकारले विमानस्थल सञ्चालन गर्ने प्रतिबद्धता जनाए पनि काठमाडौं केन्द्रीत ठूला व्यापारी र बिचौलियाको स्वार्थमा सरकारले बेवास्ता गर्दा चल्न नसकेको बताए । ‘एकातिर बिचौलिया र स्वार्थ समूहको दबाबमा विमानस्थल चलेको छैन,अर्कोतिर पोखरा विमानस्थलमा भन्दा ठूलो भ्रष्टाचार भएको कुरासार्वजनिक भइरहेका छन्,’ भण्डारीले भने–‘विमानस्थललाई लक्षित गरेर भएको लगानीले प्रतिफल दिनुको साटो लगानी डुब्ने चिन्ताले व्यवसायी आक्रोशित छन्, छटपटाएका छन्, अन्तर्राष्ट्रिय उडान जसरी पनि हुनुपर्छ, संगै छानवीन पनि हुनुपर्छ ।’
विरोधसभामा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ सञ्जाल, रुपन्देही अध्यक्ष अनिलकुमार ज्ञवाली, उद्योग व्यापार संगठनकी महासचिव लक्ष्मी अधिकारी, लुम्बिनी इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ता, सिद्धार्थनगर वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव, मोबाइल व्यवसायी संघका अध्यक्ष बैजनाथ गुप्तालगायतले बोल्दै व्यवसाय संकट र लगानी डुब्ने चिन्तामा व्यवसायी छट्पटाउँदा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे ।
सुरु सम्झौता ३० अर्ब ९१ करोड रहेकोमा निर्माण अवधि लम्बिएपछि लागत बढेर मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोडमा सम्पन्न भएको विमानस्थलका लागि २३ अर्ब खर्चेर जग्गा अधिग्रहण गरिएको थियो ।
उद्घाटन भएको तीन वर्ष बित्न लाग्दासमेत विमानस्थलबाट नियमित र पर्याप्त अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि पर्यटक अभावमा विमानस्थल लक्षित गरी होटेल तथा पर्यटन क्षेत्रमा भएको करिब एक खर्ब लगानी जोखिममा परेको भन्दै व्यवसायी चिन्तामा छन् ।
माग पूरा गराउन दबाब दिन सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीको संयोजकत्वमा संघर्ष समितिसमेत गठन गरिएको छ । उक्त सञ्जालमा दुई दर्जन बढी संस्था आबद्ध छन् ।
भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरूले भैरहवामा सम्पर्क कार्यालय पनि नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट काट्न पोर्टल खुला नगरेकाले ९५ प्रतिशत टिकट काठमाडौंबाटै बिक्री हुँदा गौतमबुद्ध विमानस्थल पूर्ण क्षमतामा चल्न नदिइएको टुर तथा ट्राभल व्यवसायी चन्द्र थापाको गुनासो छ ।
भैरहवाबाट उडान गर्ने सबै एयरलाइन्सको टिकट काउन्टर र सम्पर्क कार्यालय विमानस्थलमा हुनुपर्ने, अनलाइन ई–भिसा र इन्टरनेसनल डिजिटल डाइरेक्ट पेमेन्ट प्रणाली हुनुपर्ने उनको माग छ ।
विमानस्थल दिगो सञ्चालन गर्न बौद्धमार्गी बाहुल्य देशबाट भैरहवामा सिधा उडान हुनुपर्ने थापा बताउँछन् ।




