कुवेत पठाइदिने प्रलोभनमा पारी भारत पु¥याइएका ६ महिलाको उद्धार भएको छ । सीमा पारी सुनौलीस्थित एक पसलमा दलालले युवतीहरूलाई प्रलोभनमा पारिरहेका बेला भारतीय सीमा सुरक्षा बल एसएसबीको सहयोगमा सशस्त्र सीमा सुरक्षा कार्यालय भैरहवाको टोलीले उद्धार गरेको हो ।
सरकारले वैदेशिक रोजगारीमा जानुअघि ध्यान दिनुपर्ने कुराहरूबारे सर्वसाधारणलाई जानकारी दिँदै आएको छ । जानु अघि कहाँ जाने, कति तलबमा जाने, श्रम स्वीकृति गराएर मात्रै जानेलगायतका विषयमा हेक्का राख्न सर्वसाधारणलाई सचेत गराए पनि बेवास्ता हुँदै आएको छ । श्रम स्वीकृति नलिई खाडी मुलुकमा महिला कामदार विभिन्न ढंगले पुग्न थालेपछि सरकारले नेपालबाट जान प्रतिबन्ध लगाएको छ । विभिन्न ढंगले खाडी मुलुकमा पुगेका महिला घरेलु कामदारको रूपमा काम गर्दा विभिन्न समस्या देखिएका छन् । यौन हिंसामा परेको र अन्य खालका दुव्र्यवहार भएपछि सरकारले कडाइ गर्दै आएको छ ।
खाडी मुलुकमा अवैधानिक ढंगले पुग्दा जोखिम छ भन्ने जान्दाजान्दै महिलाहरू लहैलहैमा हिड्नु गलत छ । कतिपय जोखिम छैन भनेर दलालले ललाइफकाइ जान उस्काइरहेका छन् । उद्धार गरिएका महिलालाई कहाँ जाँदैछु, कति तलबमा के काम गर्न जाँदैछु भन्ने कुनै जानकारी नभएकोले उनीहरू भविष्यमा समस्यामा पर्ने निश्चित थियो ।
गरिबी र आर्थिक अभावमा परेका महिलालाई खाडी मुलुकमा जोखिमयुक्त काममा पठाउनेहरू जति दोषी छन्, अभावमा पिल्सिएका महिलालाई स्वेदशमै बस्न सक्ने वातावरण तयार गर्न प्राथमिकता नदिने राज्य उत्तिकै दोषी छ । बाँच्नका लागि जहाँ जान र जे पनि गर्न तयार हुनुपर्ने बाध्यता छ । अहिलेको अभाव टार्न सकिन्छ भने भविष्यको संभावित कष्ट र सकस जे होला भन्ने प्रवृत्ति पनि व्याप्त छ । अभावमा पिल्सिएका समुदायलाई माथि उकास्न सीपमूलक तालिम दिने, रोजगारीका लािग प्रबन्ध गर्ने र उनीहरूलाई व्यवसाय गर्नका लागि बीउ पुँजीको व्यवस्था गर्न ध्यान दिने हो भने स्वदेशमै केही गर्न सकिन्छ भन्ने आशा पलाउने थियो । आर्थिक वर्ष २०८०÷०८१ मा नेपाल—भारत सीमा नाकाबाट १ सय १९ जनाको उद्धार भएको थियो । खुला सीमा भएकाले आवतजावत गर्न समस्या नभएकाले महिलाहरू सीमापारी पुग्न कठिन छैन । तसर्थ तहगत सरकारबीच सहकार्य गरी अवैध ढंगले खाडी मुलुक पुग्ने अवस्थाको अन्त्य हुनुपर्छ ।




