प्रकाश डोटेल
सयाङ्जा
स्याङ्जा पूर्णखोप सुनिश्चित जिल्ला बनेको छ । जिल्लाका ११ वटै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरेसँगै जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला बनेको हो ।
२०७५ साल असारयता हरेक वर्ष खोप लगाएको प्रमाणीकरण गरिँदै आएपछि मात्रै पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण गरिएको हो । जन्मेदेखि १५ महिनाभित्रका बालबालिकाहरुले पाउने ७ पटकमा १३ वटा रोगविरुद्धको ९ प्रकारका खोप लगाएपछि सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण गरिएको छ ।
प्रदेश स्वास्थ्य कार्यालय स्याङ्जाले सम्बन्धित पालिकाका स्वास्थ्य शाखा तथा पालिकाको सहयोगमा पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरणसम्बन्धीत पालिकामै गई कार्यक्रम गरेको प्रदेश स्वास्थ्य कार्यालयका मनिषकुमार झाले बताए ।
जिल्लाका २ हजार ७४६ जना बालबालिकाले जन्मेदेखि १५ महिनाभित्र पाउने खोप सम्पूर्ण खोप लगाएका छन् । पूर्णखोप सुनिश्चित प्रमाणीकरणमा १६ देखि २३ महिनासम्मका बालबालिकाको खोप तथ्यांक संकलन गरिएको थियो ।
११ पालिका मध्येनगरपालिकातर्फ वालिङका ६ सय २० जना, पुतलीबजारका ५ सय २३ बालबालिका, गल्याङ्का ३ सय २३, भीरकोटका २ सय ५३ र चापाकोटका १ सय ८८ बालबालिका तथा गाउँपालिकातर्फ कालीगण्डकीका २ सय ५, अर्जुनचौपारीका १ सय ५७, आँधीखोलाका १ सय ४६, हरिनासका १ सय ३१, फेदिखोलाका १ सय १४ र बिरुवाका ८६ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् ।
जन्मदेखि १५ महिनासम्मका बालबालिकाले क्षयरोग, पोलियो, झाडापखला, भ्यागुते रोग, लहरे खोँकी, धनुष्टंकार, हेपटाइटिस बी, हेमोइन्फ्युएन्जा बी, निमोनिया, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाईटिस र टाइफाइड गरी १३ रोगविरुद्धको खोप लगाएको सुनिश्चित भएपछि मात्रै पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिन्छ ।
सबै पालिका पूर्ण खोप सुनिश्चिता तथा दिगोपना प्रमाणीकरण भएसँगै केही समयभित्र जिल्लालाई समेत पूर्णखोप सुनिश्चित तथा दिगोपना प्रमाणीकरण गरिने जिल्ला समन्वय समितिले जनाएको छ । कोहि पनि बालबालिका खोप लगाउनबाट वञ्चित नहुँन भन्दै प्रमाणीकरण अभियान चलाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।




