बुटवल । न्यू होराइजन स्पोर्टस् क्लबले न्यू होराइजन माविबाट कक्षा १२ को परीक्षा दिएका विद्यार्थी खेलाडीलाई सम्मान गरेको छ ।
क्लबले एक कार्यक्रम आयोजना गरी भलिबल,एथलेटिक्स लगायत विभिन्न विधाका ३२ जना खेलाडीलाई सम्मान गरेको हो ।
सो अवसरमा न्यू होराइजन अंग्रेजी आवासीय माविका प्राचार्य लोकनाथ उपाध्यायले खेलकुद र अध्ययनलाई संगसंगै बराबर महत्व दिएर अघि बढ्न विद्यार्थीहरुलाई सुझाव दिए । खेलकुदमा राम्रो गर्ने विद्यार्थीलाई सरकारी र निजी दुबै क्षेत्रमा राम्रो अवसरहरु रहेको उनले उल्लेख गरे । न्यू होराइजन संस्था अन्तर्गत उच्च शिक्षामा विभिन्न विषय पढाइ हुने कलेजहरु समेत सञ्चालनमा रहेको उल्लेख गर्दै उपाध्यायले त्यहां पढ्न चाहने विद्यार्थीलाई छुट र पूर्ण छात्रवृत्तिको सुविधा समेत रहको जानकारी गराए ।
न्यू होराइजन स्पोर्टस् क्लबका अध्यक्ष चेतन बहादुर उचै ठकुरीले क्लब विद्यालयको अभिन्न अंग भएको उल्लेख गर्दै विद्यालय तहबाटै खेलाडी उत्पादन गर्न विद्यालयले १६ जना विभिन्न विधाका खेल प्रशिक्षक नियुक्त गरेर खेल क्षेत्रमा ठूलो योगदान गरेको बताए ।
सो अवसरमा क्लबका संस्थापक अध्यक्ष प्रकाश खनाल, उपाध्यक्ष बालकृष्ण बस्याल,सचिव एलबी खनाल,सदस्य मिलन राना, भलिबल खेलाडी सूर्य विक लगायतले बोल्दै खेलाडी उत्पादन र खेलकुदको विकासमा न्यू होराइजन संस्था र न्यू होराइजन स्पोर्टस् क्लबको सहकार्य अनुकरणीय रहेको बताए ।




