२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

जसले मान्छेको टाउको र देशको पैसा जोगाइरहेछ

जसले मान्छेको टाउको र देशको पैसा जोगाइरहेछ

जसले मान्छेको टाउको र देशको पैसा जोगाइरहेछ

जसले मान्छेको टाउको र देशको पैसा जोगाइरहेछ

जसले मान्छेको टाउको र देशको पैसा जोगाइरहेछ
लुम्बिनी पत्रिकाका सह-सम्पादक शर्मा करिब २ दशक देखी पत्रकारितामा क्रियाशील छन् । उनले सममामयीक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
आइतवार, जेठ ५ २०८२
आइतवार, जेठ ५ २०८२
  • बुटवल
    २०७० सालसम्म नेपालमा विदेशी हेल्मेटको एकछत्र प्रभुत्व थियो । यहाँका केही व्यवसायीले एसेम्बल गरेर फाइबरका हेल्मेट त बनाउँथे, तर ती गुणस्तरमा एकदमै कमसल थिए । जब बुटवलका सुमन बस्याल (३३ वर्ष) ले आफ्ना बुबा रामप्रसाद बस्यालले चलाइरहेको कोहिनुर मेटल उद्योगअन्तर्गत नेपालमै पहिलो पटक ‘फुल्ली म्यानुफ्याक्चरिङ’ हेल्मेट उद्योग सञ्चालनमा ल्याए, नेपाल हेल्मेटमा आत्मनिर्भर भयो । यद्यपि भारत र अन्य मुलुकबाट विदेशी हेल्मेटको आयात भने भइरहेको छ । 


    सुमन भन्छन्–‘बुबाले सुरु गर्नुभएको उद्योगले लेग गार्ड उत्पादन गरिरहेको थियो, त्यसैमा बलियो र गुणस्तरीय हेल्मेटको उत्पादन सुरु गरेपछि छोटो समयमै व्यावसायिक रूपमा सफल भयौं । नेपाल अहिले हेल्मेटमा आत्मनिर्भर भएको छ ।’ हुन पनि जब बस्यालले कोहिनुर र केपीआई ब्रान्डका स्वदेशी हेल्मेट उत्पादन सुरु गरे, ती दुवैले गुणस्तर र मूल्य दुवैमा बजार पिट्न थाले । र, एक वर्षमै विदेशी हेल्मेटसँगको प्रतिस्पर्धामा अगाडि आए ।


    दैनिक ५०० थानबाट उत्पादन सुरु गरेको सुमनको उद्योगले अहिले ४ हजार संख्यामा हेल्मेट उत्पादन गर्न सक्छ । उनी आफ्नो उद्योगले मात्रै वार्षिक ४० करोड रुपैयाँ बराबरको हेल्मेट उत्पादन गर्ने बताउँछन् । विदेशबाट पार्टपुर्जा आयात गरेर एसेम्बल गरी हेल्मेट बनाउनेहरूले पनि सुमनको सफलता देखेर अहिले यहीं आफ्नै उद्योग सुरु गरेका छन् ।


    अष्ट्रेलिया सपना थन्क्याएर हेल्मेट उद्योग
    २०७० सालताका संविधानसभाबाट संविधान बन्न सकिरहेको थिएन । सबै भन्थे– नेपालमा राजनीतिक संक्रमण लम्बिइरहेको छ । वातावरण पनि त्यस्तै थियो, हरेक दिनजसो विभिन्न वर्ग, समुदायले आन्दोलन गर्थे । देशमा पढ्ने र उद्योग व्यवसाय गर्ने माहोल बिथोलिएको थियो । त्यसबाट आजित युवाहरूमध्ये एक थिए, बुटवलका सुमन ।


    उनी दिक्दार मान्दै साथीहरूसँग अष्ट्रेलिया जाने तयारी गरिरहेका थिए । घरको एक्लो छोरो विदेश जाने तयारीमा लागेपछि सुमनका बुबा रामप्रसाद बस्यालले देशमै थप केही नयाँ उद्यम गर्नुपर्छ भनेर सम्झाए । रामप्रसाद आफैँमा स्थापित उद्योगी थिए । उनले २०४५ सालदेखि कोहिनुर मेटल उद्योगबाट एअरकुलर उत्पादन गर्दै आएका थिए । २०५८ सालबाट मोटरसाइकलको लेगगार्ड उत्पादन पनि सुरु गरेका थिए । यी दुवै उद्योग एअरकुलर र लेगगार्ड उत्पादन गर्ने नेपालका पहिला उद्योग थिए । लेगगार्डले त नेपालमा शतप्रतिशत आयात प्रतिस्थापन गरेको थियो ।


    रामप्रसादले सुमनलाई अहिले चलेका आफ्ना दुई उद्योग जस्तै नेपालमा अब कुन उद्योगको राम्रो सम्भावना छ भनेर अध्ययन गर्न भने । सिक्किमको मनिपाल युनिभर्सिटीबाट एमबीए गर्दै गरेका सुमनले दिमाग चलाए । उनलाई एक दिन क्लिक भयो– आफ्नो उद्योगको लेगगार्डको बजार राम्रो छ, यससँगै हेल्मेट पनि थप्न सके पक्कै बजारमा ठाउँ लिन सजिलो हुन्छ ।


    सुमनले बुवासँग विदेशीसँग प्रतिस्पर्धा गर्न सक्ने राम्रो हेल्मेट बनाउने हो भने बजार छ र यसमा सफल हुन सकिन्छ भने । रामप्रसादलाई पनि यो आइडिया गज्जब लाग्यो । अनि छोरालाई अष्ट्रेलिया जाने सपना छाडेर हेल्मेट उद्योगको नेतृत्व गर्ने भए ५ करोड लगानी जुटाउने वचन दिए । सुमन पनि अष्ट्रेलिया सपना थाती राखेर उद्योग चलाउन राजी भए ।


    हेल्मेट उद्योग खोल्ने निधो त भयो, तर यसको मेसिन, प्राविधिक पक्षबारे केही थाहा थिएन । नेपालमा हेर्न, सिक्न जाऔं भने ‘फुल्ली म्यानुफ्याक्चरिङ’ उद्योग कसैको थिएन । त्यसैले सुमन र उनका बुवा भारतको दिल्ली, मुम्बई, अहमदावाद तथा चीनका विभिन्न शहर घुमेर हेल्मेट उत्पादनको समग्र पक्ष बुझ्न थाले । अनि भारतबाट मोल्ड (डाइ) मेशिन ल्याएर बुटवल औद्योगिक क्षेत्रमा २०७० सालमै उत्पादन सुरु गरे । तर भाइजरको फिनिसिङ राम्रो भएन ।


    यसमा थप अध्ययन अनुसन्धान जरूरी प¥यो । बस्याल बाबु–छोरा पाँच पटक चीन गएर त्यहाँको प्रविधि सिके । ‘बल्ल भाइजरको पेन्ट (रंग) को गुणस्तर सुधार गर्न सकियो,’ सुमन सम्झन्छन्–‘एकपटक त भारतबाट दैनिक एक लाख रुपैयाँ ज्याला दिने शर्तसहित पेन्ट टेक्निसियनलाई झिकाएर एक हप्ता राखेर काम गरेपछि भाइजरलाई विदेशी हेल्मेट सरह आउटलुक र फिनिसिङ दिन सकियो ।’


    यसबिचमा सुमनले सम्झौता नगरेको विषय हो– हेल्मेटको गुणस्तर र आउटलुक फिनिसिङ । गुणस्तरका लागि सम्झौता नगरी लगानी गरेपछि उनलाई पछाडि फर्केर हेर्नुपरेको छैन । उनी विगत सम्झिंदै भन्छन्– ‘गुणस्तरमा कहिल्यै सम्झौता गर्न हुन्न भन्ने सोंचले चाडपर्व र दिनरात नभनी महिनौंसम्म भारत र पाँचपटक चीन गएर नेपाली हेल्मेटलाई विदेशीसँग सजिलै प्रतिस्पर्धा गर्न सक्ने बनायौं ।’


    ४० करोडको हेल्मेट आयात रोक्ने गरिको उपलब्धि हात लागेको बारे सुमनको प्रतिक्रिया छ– ‘यसले देशका लागि साँच्चै केही गरिएछ भन्ने लाग्छ ।’
    उद्योगले सुरुमा दैनिक ५०० थान हेल्मेट उत्पादन गथ्र्यो । 
    सबै उत्पादन बिक्री भएपछि सुमनले क्रमशः उत्पादन बढाउन थाले । तर औद्योगिक क्षेत्रमा रहेको थोरै जग्गामा उद्योग विस्तार गर्न सजिलो थिएन । २०७८ मा तिलोत्तमा–१७ को गंगोलियामा दैनिक ५ हजार थान उत्पादन क्षमताको कोहिनुर प्लाष्टिक इन्डस्ट्रिज सञ्चालनमा आयो । त्यहाँबाट दैनिक २ हजार थानसम्म हेल्मेट उत्पादन भयो ।


    कोहिनुरका हेल्मेटलाई भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्डले आईएसआई प्रमाण चिह्न दिए पनि नेपाल गुणस्तर प्रमाण चिह्न भने उनको उद्योगका उत्पादनले पाउन सकेका छैनन् ।


    हाल माग र खपत घटेर दैनिक एक हजारदेखि १५०० थान हेल्मेट उत्पादन भइरहेको सुमन बताउँछन् । ५ करोडबाट सुरु भएको उद्योगमा हाल ७० करोड लगानी पुगेको छ । कच्चा पदार्थ प्लाष्टिक दाना बाहेक हेल्मेटका सबै वस्तु उद्योगले नै उत्पादन गर्छ ।
    उद्योगमा १५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पूर्ण क्षमतामा उद्योग चल्दा ३०० बढीले रोजगारी पाउन सक्छन् । उद्योगका दुई ब्रान्ड कोहिनुर र केपीआईले भारतीय गुणस्तर प्रमाण चिह्न आइएसआइ पाएका छन् । आइएसआइ प्रमाण चिह्न पाउने हेल्मेट नेपालमा कोहिनुर र केपीआई मात्रै हुन् ।


    ‘राज्य अभिभावक बन्न सकेन’
    तर, स्वदेशमै केही गर्छु भन्नेका लागि राज्य कहिल्यै अभिभावक नबनेको सुमनको गुनासो छ । नेपालमै पहिलो ‘फुल्ली म्यानुफ्याक्चरिङ’ हेल्मेट उद्योग सञ्चालनमा ल्याएर आयात प्रतिस्थापन गरिरहेको उद्योगलाई सरकारी निकायले अहिलेसम्म अनदेखा गरेको उनको बुझाइ छ ।


    ‘तीन तहका सरकार छन्, तर अहिलेसम्म कसैबाट पनि कुनै रेस्पोन्स छैन,’ उनले भने–‘सरकारलाई कर मात्र चाहिएको छ, उद्योगीका आशा, अपेक्षा, माग के छन् भन्नेमा चासो छैन, यस्तो अनुभूति हुँदा दुःख लाग्छ ।’


    कोहिनुरका हेल्मेटलाई भारतको ब्युरो अफ इन्डियन स्ट्यान्डर्डले आइएसआइ प्रमाण चिह्न दिए पनि नेपाल गुणस्तर प्रमाण चिह्न भने उनको उद्योगका उत्पादनले पाउन सकेका छैनन् । ५ वर्षदेखि नेपाल गुणस्तर प्रमाण चिह्नका लागि सम्बन्धित निकायमा धाइरहेको भए पनि बारम्बार सरकार परिवर्तन, कर्मचारी सरुवा जस्ता कारण देखाउँदै आलटाल र ढिलाइ भएको सुमनको गुनासो छ ।


    ‘नेपाल गुणस्तर प्रमाण चिह्न लिएपछि भारतको आइएसआइ लिनुपर्ला भनेर ५ वर्षसम्म सरकारी अड्डा धायौं, तर कहिले के कहिले बहाना देखाउँदै आलटाल मात्र भयो,’ उनले भने–‘सरकारी रवैयाले स्वदेशी उद्योग र उद्योगीहरूमा आशा र विश्वासभन्दा पनि निराशा थपेको छ, सरकारी निकाय उद्योगमैत्री हुनुपर्ने हो ।’


    नेपाल उद्योग परिसंघ लुम्बिनीका अध्यक्ष एवं बुटवलका उद्योगी एजाज आलम सुमन जस्ता उद्यमीलाई राज्यले चिन्न नसकेको बताउँछन् । ‘२५ वर्षको उमेरमा एउटा युवाले सुरु गरेको नेपालकै पहिलो र ठूलो हेल्मेट उद्योगलाई राज्यले अनदेखा गर्नु विडम्बना हो,’ आलम भन्छन्–‘युवाहरूलाई देशमै केही नयाँ उद्यम गर्न सकिंदो रहेछ भन्ने प्रेरणा दिएका सुमन र उनको उद्योगलाई राज्यबाट उचित रेस्पोन्स भए अरूलाई पनि प्रोत्साहन हुन्छ ।’


    नीतिगत सुधारको अपेक्षा
    नेपालमै उत्पादित हेल्मेटबाट देश आत्मनिर्भर भइसके पनि विदेशबाट आयात हुने हेल्मेटका कारण स्वदेशी उद्योगको बजार खुम्चिंदै गएको छ ।


    अहिले पनि हरेक वर्ष भारत, चीन, भियतनाम, थाइल्याण्डलगायत देशबाट करिब ७० करोड रुपैयाँ मूल्य बराबरको हेल्मेट आयात हुने गरेको सरकारी तथ्यांक छ । तयारी हेल्मेट आयातमा ७.२५ प्रतिशतदेखि १५ प्रतिशत भन्सार कर लाग्ने तर हेल्मेटको कच्चा पदार्थ प्लाष्टिक दाना आयातमा ३५ प्रतिशत भन्सार करका कारण स्वदेशी उद्योग मारमा परिरहेको अनुभव सुमनको छ ।
    नेप्लिज अटो एशोसिएसनका उपाध्यक्ष समेत रहेका सुमन कच्चा पदार्थको भन्सार दर घटाउन र तयारी वस्तु आयात गर्दा लाग्ने भन्सार दर बढाएर स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीति ल्याउन माग गर्छन् । सडक दुर्घटनामा हुने मानवीय क्षति रोक्न मोटरसाइकल र स्कुटरको पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गरिनुपर्ने तर्क उनको छ । ‘मोटरसाइकल चलाउनेलाई जस्तै पछाडि बस्नेलाई पनि हेल्मेट अनिवार्य गरे दुर्घटना भइहाले हुने क्षति कम गर्न सकिन्छ,’ बस्यालले भने–‘डबल हेल्मेटको नीतिगत व्यवस्थाले यात्रुको सुरक्षासँगै उद्योगीलाई पनि संरक्षण हुन्छ ।’


    सुरक्षित यात्रा अभियानका अभियान्ता कृष्ण बेल्बासे भन्छन्–‘हामी २ लाखदेखि ६ लाखसम्मका मोटरसाइकल किन्छौं, तर आफ्नो टाउको जोगाउने हेल्मेट भने एक हजार मूल्यको किन्न पनि गाह्रो मान्छौं, वास्तवमा आफ्नो सुरक्षाका लागि एक दुई हजार महँगो भए पनि गुणस्तरीय र सुरक्षित हेल्मेट किन्ने बानी बसाल्नुपर्छ, यसबारे जनचेतना पनि बढाउनुपर्छ ।’ 
    टुक्रे...

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij