भैरहवा । युवाहरुलाई नकारात्मक मार्गबाट जोगाउन एवं स्थानीय स्तरमा खेलाडी उत्पादन गरी क्रिकेटको विकासका लागि भैरहवामा आइतबार देखि रुपन्देही क्षेत्र नम्बर ३(१) माननीय कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रदेश निर्वाचन क्षेत्रमा पर्ने १८ वटा वडाका युवाहरुको सहभागितामा सामाजिक विकास डिभिजन कार्यालय, रुपन्देहीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको प्रतिनिधी सभा सदस्य तथा पूर्व मन्त्री सर्वेन्द्रनाथ शुक्लाले उद्घाटन गर्दै खेलले युवाहरुवीच सकारात्मक सोच विकास गर्ने बताए । उनले रुपन्देहीको क्रिकेटको नक्साको महत्वपूर्ण भाग स्वस्थ्य प्रतिस्पर्धाको लागि यो प्रतियोगितामा सहभागी भएको बताए । यो प्रतियोगिता प्रथम मात्र नभई सबै दृष्टिकोणले प्रथम रहेको बताउदै यसले युवालाई सही दिशामा उत्प्रेरित गरी अनुशासित हुने काम भएको बताए । खेल भावनाले समाजको परिवर्तन हुने र विकृतीहरु हट्ने बताए ।
रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले नेपालको विकासका लागि दुई वटा कुरा मात्रै महत्वपूर्ण भएकोले पर्यटन र खेलको माध्यमले देशको विकास सम्भव रहेको बताए । हाम्रो उद्देश्य तल्लो तहबाटै खेलाडी उत्पादन गरी दक्ष खेलाडीहरुले देश चिनाउने काम गर्ने बताउदै यस्को लागि आफुले यो क्षेत्रबाट सुरुवात गरेको हो सम्भवत यो नेपालकै पहिलो प्रतियोगिता रहेको समेत बताए । खेलको माध्यमबाट खाली बसेका युवाहरुलाई दुव्र्यसनबाट जोगाउनु पनि यस्ले महत्वपूर्ण भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।
कार्यक्रममा बोल्दै सिद्धार्थनगर वडा नम्बर ५ का अध्यक्ष पुरन श्रेष्ठ, ओमसतिया २का वडाध्यक्ष सितल जिटी, मायदेवी वडा नम्बर ७ का अध्यक्ष शैलेन्द्र पाण्डे, सिद्धार्थनगर वडा नम्बर १२ का अध्यक्ष सोम प्रसाद गुरुङ, प्रदेश सभा सदस्य हेमा बेल्वासे, सामाजिक विकास डिभिजन कार्यालय प्रमुख हरिबहादुर बिष्ट लगायतले प्रतियोगिताको शुभकामना व्यक्त गर्दै खेलमार्फत् युवालाई शारीरिक र मानसिक रुपमा स्वस्थ राखी क्रिकेटको खेलको विकास गर्ने बताए ।
रुपन्देही क्रिकेट संघको प्रविधिक सहयोगमा भइरहेको प्रतियोगितामा प्रदेशसभा क्षेत्र अन्तर्गतका १८ वटा वडा, कर्मचारी र संचारकर्मी गरि २० वटा टीमले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन ।
नकआउट चरणमा भएको प्रतियोगिताको पहिलो दिनको तीन वटा खेलमा हार व्योहोरेका तीन वटै टिम बाहिरीएका छन । पहिलो खेल सियारी वडा नम्बर एक र ओमसतिया वडा नम्बर २ बीच भएइकोमा ६८ रनको लक्ष्य भएकोमा ओमसतिया ७ रनले हार व्याहोर्नु प¥यो । यस्तै दोस्रो खेल सिद्धार्थनगर १० र सिद्धार्थनगर ७ बीच भएकोमा ५६ रनको लक्ष्य पाएको सिद्धार्थनगर १० ले एक विकेटकै क्षतिमा लक्ष्य पार गरी जीत निकाल्यो । पहिलो दिनको तेस्रो खेल सिद्धार्थनगर ५ र मायादेवी ७ बीच भएकोमा सिद्धार्थनगरले १०१ रनको लक्ष्य पाएकोमा सबै विकेट गुमाउदै ४७ रन मात्र बनाउन सक्यो । लक्ष्य पार गर्न नसकेपछि ५४ रनले हार व्योहोर्नु प¥यो ।
१० ओभर र टेनिस बलले खेल खेलाइने आयोजकले जनाएका छन् । प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार र उपविजेताले २५ हजार र ट्राफी प्राप्त गर्ने छन् । प्रतियोगिता जेठ ८ गतेसम्म भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा संचालन हुनेछ ।




