राजधानी काठमाडौंमा दुई दिनअघि जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य शीर्षकमा सगरमाथा संवाद नामक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै गर्दा जेठ १ गते राति कर्णाली पहाडको विकट लिमी उपत्यकाको हिमाली क्षेत्रमा हिमताल फुटेर पहिरो गयो । नाम्खा गाउँपालिका वडा नम्बर ६ को तिलगाउँ पहिरोले विस्थापित छ । मध्यरात गएको पहिरोले कुनै मानवीय क्षति नगरेपनि सिंगो गाउँ जोखिममा परेको छ । १८ घरका ३२ गाउँले यति बेला त्रिपालमुनि बसिरहेका छन् । पहिरोले खानेपानीको समस्या भएको छ । चार सय रोपनीमा सिँचाइ हुने कुलो बगेको छ । लघु जलविद्युत् आयोजना बगेको छ । लेदोसहितको पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको छ ।
गाउँमाथि ५ हजार ३ सय मिटर उचाईमा रहेका दुईवटा हिमताल फुटेपछि पहिरो गएको पाइएको छ । पहिरो र बाढीको अनुभव कहिल्यै नगरेका तिलगाउँवासीका लागि यो पहिलो घटना हो । जलवायु परिवर्तनका कारण नेपाललाई परिरहेको असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले सरकारले ‘सगरमाथा संवाद’ कार्यक्रम गरिरहेका बेला हिमाली जिल्ला हुम्लाको विकट गाउँका बासिन्दाले जलवायु परिवर्तनको असरबाट प्रभावित भएका छन् ।
जलवायु परिर्वतनको असर विश्व समुदायले व्यहोरिरहेको बेला नेपाल जस्तोे मुलुकले झन धेरै व्यहोर्न थालेको छ । विकट हिमाली क्षेत्रका बासिन्दाले झन ठूलो जोखिम व्यहोर्न बाध्य छन् । जलवायु परिवर्तनको असर असमान्य देखिन थालेको छ । गएको वर्ष सोलुखुम्बुमा पहिरो गयो । केही वर्ष यता कहिल्यै वर्षा नहुने मनाङ र मुस्ताङका कतिपय क्षेत्रमा वर्षा हुन थालेको छ । दुई वर्ष अघि मनाङको सदरमुकाममा ठूलो बाढी आएको थियो । मुस्ताङको कागबेनीमा गत वर्ष बाढी र पहिरोले ठूलो क्षति ग¥यो ।
हिमाली क्षेत्रमा भएका यी घटनाले आगामी दिनमा जोखिम अझैँ धेरै छ भन्ने देखिन्छ । एकातिर जलवायु परिवर्तनको असर धेरै देखिन थालेको छ, अर्कोतिर संकटको सामना गर्ने सार्मथ्य हामीसँग छैन । संकट सामना गर्नका लागि अन्तर्राष्ट्रिय समुदायले दिने साथ र सहयोग पर्याप्त हुन सकिरहेको छैन । जलवायु परिर्वतनको असर र गर्नुपर्ने काम तथा साझेदारीको विषयमा छलफल गर्न सगरमाथा संवाद आयोजना गरेर सरकारले सकारात्मक सुरुवात गरेको छ । सगरमाथा संवादले जलवायु परिवर्तनको असर केवल हिमाल र हिमाली क्षेत्रका बासिन्दाले मात्रै व्यहोर्ने नभई अन्य मुलुकलाई पनि प्रत्यक्ष र परोक्ष प्रभाव पर्ने भएकाले मिलेर काम गर्न नेपालले झक्झकाएको छ ।
नेपालमा ३ हजार ६०० भन्दा बढी हिमताल भएको तथ्याङ्क छ । यी हिमतालमध्ये केही हिमताल फुट्दा ठूलो असर गर्ने विज्ञहरुले चेतावनी दिएका छन् । तिब्बतमा हिमताल फुट्दा अघिल्लो वर्ष भोटेकोशीमा बाढी आएर ठूलो क्षति भयो । संभावित जोखिमबाट बच्न हिमतालको अवस्था र त्यसले पु¥याउने क्षतिका बारेमा सुक्ष्म अध्ययन गरी क्षति न्यूनीकरणको पहलकदमी हुनुपर्छ । पूर्वसजगताले संभावित क्षति न्यूनीकरण गर्न सकिन्छ, दातृ निकायको साथ र सहयोगमा हिमताल र त्यसले पु¥याउने क्षति अध्ययनमा सरकारले ध्यान दिनुपर्छ । पछिल्ला वर्ष भएका केही घटनाले संभावित जोखिम न्यूनीकरणका लागि प्रभावकारी सक्रियताको माग गरेको छ ।




