प्यूठान । मध्यम वर्गीय समुदायका व्यक्तिहरुको रोजाइ नै कतै रोजगारीमा जोडिने हुन्छ, तर प्यूठानमा एक युवाले अधिकृतस्तरको जागिर छाडेर एकिकृत कृषिमा रमाउँदै आएका छन् । झिमरुक जलविद्युत् आयोजनाको अधिकृत सरहको जागिर छोडेर प्यूठान नगरपालिका १ खैरा निवासी भोजबहादुर बस्नेत आफ्नै कृषि फर्ममा दैनिक खटिने गर्दछन् ।
झिमरुक नदी छेउको जग्गा भाडा लिएर झिमरुक मत्स्य पालन तथा एकीकृत कृषि फर्म सञ्चालन गरेर राम्रो आम्दानी गर्न सफल भएको बस्नेत बताउँछन् । जागिरबाट राम्रै तलब आए पनि जागिरभन्दा आफ्नै व्यवसाय नै उत्तम रहेको उनले जनाए ।
‘सुरुमा सामूहिक रुपमा फर्म सञ्चालन गर्दा व्यवस्थापकीय पक्ष कमजोर भएर घाटामा समेत गएको थियो,’ बस्नेतले भने–‘त्यसपछि मैले एकल लगानीमा व्यवसायिक कृषि कर्म गर्ने सोँच बनाए अनि काम सुरु गरे ।’
हाल ५६ रोपनी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएको उनले बताए । विशेषगरी माछा पालनलाई प्राथमिकतामा राखेका हुँदा ४२ रोपनी जमिनमा माछा पोखरी बनाएको उनी सुनाउँछन् ।
एक बढी करोड लगानी
२०७० सालदेखि सुरु गरेको सामूहिक व्यवसाय असफल बनेसँगै बस्नेतले एकल लगानीमा फर्म सञ्चालन गर्ने निर्णय गरेपछि हालसम्मको लगानी एक करोड पुगेको छ । कृषि कर्मलाई सम्मान गर्ने उनले २०७६ सालदेखि एकल रुपमा व्यवसाय सुरु गरेपछि आम्दानी आउन थालेको बताउँछन् ।
बस्नेतले ७ प्रजातिका माछा पाल्दै आएको जनाए ।
त्यसमध्ये लोकल जातको माछा बढी मात्रमा बिक्री हुने गरेको र १२ वटा ठूला पोखरी रहेको फर्ममा २ वटा पोखरी नर्सरीको रुपमा प्रयोग गरी भुराहरु हुर्काउँदै आएको उनले बताए ।
फर्म सञ्चालन खर्च वार्षिक २० लाख आउने उनको भनाइ छ । पोखरीको क्षमताअनुसार वार्षिक करिब ८० क्वीन्टल माछा उत्पादन हुनु पर्नेमा हाल करिब ६० क्वीन्टलसम्म उत्पादन गर्न सफल भएको उनले जनाए ।
पोखरीको क्षमताअनुसार माछा उत्पादन गर्न सकेमा करिब ४० लाख आम्दानी गर्न सकिने बस्नेतको भनाइ छ । प्यूठानमा दैनिक २ सय के.जी. माछा बाहिरबाट भित्रिने हुँदा यहाँ माछा बिक्री गर्न कुनै समस्या नरहेको उनको अनुभव छ ।
झिमरुक नदीको चिसो पानीमा हुर्कीएका माछाको स्वाद नै फरक हुने भएकाले अधिकांश ग्राहकहरु फर्ममा आएर माछा लैजाने गरेको उनले बताए । तयार भएपछि एक÷दुई महिनासम्म पनि माछालाई राख्न सकिने हुँदा बजार नपाउने समस्या समेत नरहेको उनको भनाइ छ । प्राकृतिक विपत्ती बाहेक सामान्य प्राविधिक ज्ञान हुँदा आफूलाई खासै समस्या नआएको अनुभव सुनाउँछन्, उनी ।
दुग्ध उत्पादन पनि सँगसँगै
भोजबहादुरले एकीकृत कृषि प्रणालीलाई व्यवहारमा लागू गरी माछा पालनसँगै गाई, भंैसी, लोकल कुखुरा, हाँस, बुंगुर पालनलगायतलाई उत्पादनमा जोड्दै आम्दानीको स्रोत बढाउँदै आएका छन् । ३ वटा गाई, ३ वटा भैंसी र एउटा राँगो समेत पाल्दै आएको उनले बताए ।
‘सिजनमा दैनिक ३५ लिटर दूध उत्पादन गर्ने गरेको छु,’ कृषक बस्नेतले भने–‘दुग्ध सहकारी स्थापना गरी सबैले त्यहाँ संकलन गर्छौं र बजार पठाउने गरेका छौं ।’ प्यूठान नगरपालिकाले उत्पादनमा आधारित अनुदानबाट प्रतिलिटर १० रुपैयाँको दरले अनुदान दिँदै आएको हुँदा कृषकलाई थप हौसला मिलेको उनले बताए । ‘प्यूठानमा दूध उत्पादनको समस्या हो, बजारको समस्या छैन ।’–उनले भने ।
जग्गाभाडा अहिले महँगो भएको कारण राज्य दर रेट तोकिदिएमा किसानलाई सहज हुने उनको भनाइ छ । करिब ४ विघा जग्गा रहेको र एक विघाको वार्षिक १ लाख भाडा तिर्नु परेको उनको गुनासो छ ।
चार जनालाई रोजगारी
ठूलो फर्म सञ्चालन गर्दा सबै आफैँले गर्न नसकिने बताउँदै उनले कृषि क्षेत्रमा काम गर्ने कर्मचारीको समस्या रहेको बताए । बस्नेतको फर्ममा ४ जनाले दैनिक कामदारको रुपमा काम गर्दै आएका छन् । श्रीमान श्रीमती पनि दैनिक फर्मको काममा खटिने गर्दछन् । बस्नेतले फर्म सुरु गरेदेखि काम गर्दै आएका एक कर्मचारी हुन्, हरि बस्नेत ।
साझेदारी व्यवसाय सुरु गर्दा तलब समयमा नपाएपछि काम छोडेर भारत तिर लागेको बताउँदै भोजबहादुरले एकल रुपमा व्यवसाय सम्हालेसँगै आफू पुनः फर्केर आइ फर्ममै काम सुरु गरेको बताए ।
‘गाई भैंसी दुहुने, घाँसपात गर्ने, दानापानी गर्ने सबै काम गर्छु,’ उनले भने–‘काम गरे अनुसार दाम पनि समयमै दिने गर्ने गर्नुहुन्छ यहाँ काम गरेकै भरमा सबै घरखर्च धान्ने गरेको छु, साझेदारीमा व्यवसाय गर्दा घाटा गएको थियो र म पनि छोडेर हिंडेको थिएँ, अहिले हामी काम गर्नेलाई पनि राम्रो छ साहु लाई पनि राम्रै कमाइ भएको छ ।’ सबैले आफ्ना क्षेत्र विभाजन गरी काम गर्ने गरेको उनी बताउँछन् ।




