बुटवल । विश्व सीमसार क्षेत्रमा सूचीकृत एवं पन्छी आरक्ष जगदीशपुर तालमा मोटरबोट सञ्चालन हुँदा चराहरुको जीवन चक्र र जैविक विविधतालाई प्रतिकूल असर गरेकोभन्दै चराविज्ञ र वातावरणविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।
सिँचाइ प्रयोजनका लागि तत्कालीन राजा महेन्द्र शाहको पालामा निर्माण गरिएको जगदिशपुर ताल मानव निर्मित नेपालको सबैभन्दा ठूलो ताल हो ।
यो ताल १५७ हेक्टरमा फैलिएको छ । ताल क्षेत्रमा डेढ सय बढी प्रजातिका चरासहित उभयचर, सरीसृप रस्तनधारी जनावरको बासस्थान, चरण क्षेत्र र प्रजनन् हुने गर्छ । तालमाथि १० जना मान्छे राखेर तीब्र गतिमा चर्को आवाज र छाल निकाल्दै चल्ने मोटरबोटले चराको बासस्थान बिथोलिनुका साथै अन्य जीवजन्तुलाई समेत प्रतिकूल असर गर्ने भन्दै विज्ञहरुले मोटरबोट सञ्चालन तत्काल रोक्नुपर्ने माग गरेका छन् ।
तालभरि तीव्र गतिमा घुमाई–घुमाई मोटरबोट चलाउँदा पर्यटकहरु रोमाञ्चित भई होहल्ला गर्दा चरालाई असर गरिरहेको छ । तालमा गत बैशाख ५ गतेबाट तालमा मोटरबोट सञ्चालन भएको छ ।
बैशाखदेखि आगामी चैतसम्मका लागि ८ लाख ५५ हजार रुपैयाँमा ठेक्का दिइएको छ । विज्ञहरुले विश्व सीमसार क्षेत्रमा सूचीकृत एवं पन्छी आरक्ष तालमा मोटरबोट सञ्चालन गर्नु गलत र गैरकानूनी भनेका छन् । जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्च नामक गैरसरकारी संस्थाले ठेक्का लगाएर मोटरबोट चलाइरहेकोछ ।
आइयूसीएन नेपालले गरेको एक अध्ययन अनुसार ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चरा जाडो याममा आउने र ३ प्रजातिका चरा आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । यस्तै ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने उल्लेख छ । विश्वमै दुर्लभ जन्तु पानीबिरालो र ८ प्रजातिका चरा पनि तालमा पाइन्छन् ।
लुम्बिनी प्रदेश वन ऐन–२०७८ को परिच्छेद् ११ को दफा ४५ मा प्रदेश सरकारले रैथाने तथा आगन्तुक पंक्षी र संकटापन्न वन्यजन्तुको वासस्थान संरक्षण तथा वन्यजन्तु आवतजावत गर्ने प्रदेशभित्रको कुनै क्षेत्रलाई चरा आरक्ष वा जैविक मार्ग घोषणा गर्न सकिने व्यवस्थाअनुसार तीन वर्षअघि चरा आरक्ष घोषणा गरेको थियो ।
मुलुकको दोस्रो पन्छी आरक्ष तालमा चालकसहित १० सिटे मोटरबोट एक महिना बढी समयदेखि सञ्चालन हुँदा चराको बासस्थान बिथोलिएको छ भने जलचर, स्तानधारी र सरिसृप जीवजन्तुलाई पनि प्रतिकूल असर पारेको चराविज्ञ कृष्ण भुसालले बताए ।
‘अन्तर्राष्ट्रिय महत्वको विश्व सिमसार घोषित तालमा मान्छे र मोटरको चर्को ध्वनी प्रदूषण हुने गरी कुनै पनि तालमाथि मेशिन चलाउनु एकदमै गलत हो, यसले निर्भय तरिकाले बसिराखेका चरा र जीवजन्तुमा भय र त्रास हुन्छ उनीहरु सहजरुपमा बस्ने वातावरण बिग्रन्छ,’ भुसालले भने–‘यस्तो कार्यलाई नरोक्ने हो भने जैविक विविधता र जलीय पर्यावरणमा नकारात्मक असर पर्छ, दीर्घकालीन चुनौति थपिन्छ ।’
प्रदेश सरकारले समेत पंक्षी आरक्ष घोषणा गरेकाले पंक्षीलाई असर गर्ने गतिविधि रोक्न प्रदेश सरकारको ध्यान जानुपर्ने भुसालले औंल्याए ।
वन तथा वातावरण क्षेत्रमा क्रियाशील स्थानीय जयप्रकाश पाण्डेले मोटरबोट सञ्चालन गर्न नपाउने प्रावधान हुँदाहुँदै जबर्जस्ती ठेक्का लगाइनु गलत भएको बताए । ‘दुई वर्षअघि पनि तालमा मोटरबोट चलाउन ठेक्का लगाइएको थियो, तर विज्ञहरुले गलत भयो भनेपछि साता–दश दिनमै डिभिजन वन कार्यालय कपिलवस्तुले रोक लगाएको थियो,’ पाण्डेले भने–‘तर यसपटक एक महिना बढी समय हुँदा पनि नरोकिंदा चरा र अन्य जीवजन्तुसँगै जैविक विविधता र पर्या पर्यटनमा असर पुगेको छ ।’
नियामक निकाय डिभिजन वन कार्यालयका वन अधिकृत ईश्वरीप्रसाद पौडेलले मोटरबोट सञ्चालनपछि प्रश्न उठेपछि बन्द गर्न निर्देशन दिइएको बताए । ‘बन्द गर्न निर्देशन दिइएको छ, एउटा प्राविधिक समिति बनाएर अध्ययन गरी त्यसको प्रतिवेदनका आधारमा अर्को निर्णय गर्छौं ।’–पौडेलले भने ।
जगदीशपुर जलाशय व्यवस्थापन बहुसरोकार मञ्चका अध्यक्ष ललित गुरुङले भने मोटरबोट सञ्चालन नरोकिएको बताए । ‘चराको बासस्थान बिगा¥यो भनेर मोटरबोट सञ्चालन रोक्न दबाब आएपछि विदाका दिनहरुमा मात्रै चलाउने गरेका छौं, शनिबार मात्रै दुई हजार जना जति पर्यटक आएका थिए,’ गुरुङले भने–‘गर्मी मौसममा चरा हुँदैनन्, जाडो मौसममा मात्रै हो, तर यहाँ पर्यटक भित्राएर तालको विकास गरौं भन्दा अनेक खालका विरोध आउँछन् ।’
जिल्ला वन कार्यालयले बनाएको ५ वर्षे कार्ययोजनामा तालमा चरा र जैविक विविधतालाई असर नगर्ने गरी ५ वटा पेडल डुंगा चलाउन पाउने उल्लेख छ । वरिष्ठ चराविद् डा. हेमसागर बरालले मोटरबोट सञ्चालनपछि जगदिशपुर ताल रामसार सूचीबाट हट्न सक्ने खतरा बढेको बताए । ‘५÷६ वर्षअघिसम्म नेपालमा सबैभन्दा बढी पानी चरालाई आश्रय दिँदै आएको जगदिशपुरमा ४ वर्षदेखि पानीको चराको संख्या घट्दै आएको छ ।’–उनले भने ।
सन् २०१९-०२० तिर २०–२२ हजार पानी चरालाई आश्रयस्थल दिँदै आएको ठाउँमा गत वर्ष ८ हजारमात्र पानी चरा गणना गरिएको थियो ।
रामसार क्षेत्रमा प्रभाव मूल्यांकन नगरी कुनै काम गर्न नपाइने वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताए ।
रामसार क्षेत्रमा सूचिकृत नेपालका १० सीमसार क्षेत्रमध्ये जगदीशपुर ताल हो ।
ताल सन् २००३ मा रामसार सचिवालयले अन्तर्राष्ट्रिय महत्वको विश्व सीमसार क्षेत्रका रूपमा सूचीकृत गरेको थियो । तालमा नेपालमा एकैठाउँमा उभिएर सबैभन्दा बढी चरा देख्न सकिन्छ । हिउँदमा बसाइँ सरेर नेपाल आउने सबैभन्दा धेरै चरालाई आश्रय दिँदै आएको छ । रूस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा यहाँ आउने गर्छन् ।
मध्य एसियाका तुर्केमेनिस्तान, किर्गिस्तान र साइबेरियाबाट यहाँ चरा आउँछन् । तालमा हाँस प्रजातिका खडखडे, सिलसिले, कालीजुरे र मालक आउने गर्छन् । त्यस्तै सुइरोपुच्छ्रे, बिजुलागैरी, बेल्चाठुडे, सिन्दुरे, कैलो टाउके र हरि हाँस पनि देखिन्छन् । रुख सुडसुडिया, चिमचिमे र जल रंक चरा पनि आउने गर्छन् ।




