२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विकल्प अग्रगमनको

विकल्प अग्रगमनको

विकल्प अग्रगमनको

विकल्प अग्रगमनको

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
कुँवर वामपन्थी विचारक तथा राजनीतिक विश्लेषक हुन् । दैनिक लुम्बिनीका नियमित स्तम्भकार कुँवर राजनीति विषयमा विचार पोख्छन् ।
आइतवार, जेठ १२ २०८२
आइतवार, जेठ १२ २०८२
  • जेठ १५ नेपालमा गणतन्त्र स्थापना भएको पहिलो दिन हो । उक्त दिन नेपालमा २४० वर्षदेखि शासन सत्तमा रही आएको राजा र राजतन्त्रको अन्त्य भएको घोषणा गरिएको थियो । त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो श्रीपेच तत्कालीन सरकारलाई हस्तान्तरण गरी आफू नारायणहिटी दरबारबाट बाहिरिएका थिए । तर आज तिनै पूर्व राजा ज्ञानेन्द्र आफ्नो त्यो श्रीपेच सहित पुनः त्यही आफ्नो नारायणहिटी दरबारमा फर्कन खोज्दैछन् ।  गत फागुन ७ गते प्रजातन्त्र दिवसका लागि दिएको सन्देश वक्तव्यमा त्यो उल्लेख गरिसकेका छन् । त्यही सन्देशका आधारमा २०४६ सालको जनआन्दोलनबाट बडारिएका केही पुराना पञ्चे मण्डले र दरबारियाहरु पुनः जुमुराउन थालेका छन् । गएको चैत १५ गते आफ्नो जनसमर्थन र शक्ति प्रदर्शन गर्ने नाममा ठूलै वितण्डता नै मच्याउने प्रयास गरे । तोडफोड, लुटपाट, आगजनी, हत्या, हिंसा नै भयो । दुई जनाको हत्या, अनेकौं घाइते र करोडौं बराबरको सम्पत्तिको नास भयो । त्यो सबै वर्तमान सरकारी बेवास्ता र निरीहता कारण भयो । 


    हुन त अहिलेको सरकार दुई ठूला दल ने.का. र एमाले सहितको करिब दुई तिहाई बहुमत प्राप्त शक्तिशाली संयुक्त सरकार हो । यसले चाहे यहाँ जे पनि गर्न सक्छ । तर स्थिति यस्तो दयनीय छ । वर्षौदेखि जनताबाट फ्याँकिएका केही मुठ्ठीभर पुराना पञ्चे– मण्डले र दरबारियाहरुको यस्तो हर्कतबाट अत्तालिन थालेको छ । देश विदेश चारैतिर हारगुहार बिन्तीभाउ दर्शाइरहेको छ । परराष्ट्र मन्त्री आरजु राणा पटक पटक भारत–अमेरिका र अन्य मुलुक गई यस्तो व्यवहार देखाइरहेकी छन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत भारत गई भारतीय नेताहरुलाई नेपालमा राजतन्त्रको पुनस्र्थापना र हिन्दु राष्ट्र आदि बारेको जानकारी लिने प्रयास गरिएको छ । यसले झन् पूराना पञ्चे मण्डले र राजावादीहरुको मनोबल बढाएको छ । त्यही भएर फेरि यही जेठ १५ गतेदेखि उनीहरुले अनिश्चितकालीन कथित जनआन्दोलन थालनी गर्ने घोषणा गरिसकेका छन् । 


    यता सरकारले पनि यही जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर तीन दिने विविध कार्यक्रमको घोषणा गरिसकेको छ । सरकारको साथसाथै गणतन्त्र पक्षधर पार्टी र पार्टी नेता–कार्यकर्ताहरुले पनि उक्त दिन त्यस्तै विविध कार्यक्रम संचालन गर्दैछन् । कांग्रेस–एमालेले त्यसकोे तयारीका लागि तरुण दल र युथ फोर्सलाई सक्रिय पार्दै छ भने माओवादीले वाइ.सी.एल.लाई त्यसको जिम्मा लगाइसकेको छ । यसरी उक्त दिन अर्थात् जेठ १५ गते देशका दुई छुट्टाछुट्टै प्रतिगामी र यथास्थितिवादी अर्थात् पुराना पञ्चे मण्डले र राजावादी अनि कांग्रेस–एमाले, माओवादी बीच आम्ने साम्ने हुने दोहोरो (गणतन्त्रको विरोध र समर्थन) प्रदर्शनको अहिलेदेखि नै तयारी र प्रचार भइरहेको छ । तर आज जनता भने यसबाट आतंकित छन् । कतै पुनः विगतको चैत १५ जस्तो वितण्डता आतंक, हत्या, हिंसा लुटपाट, आगजनी आदि हुने त होइन ? आखिर हुन्छ पनि त्यही साँडेको  जुधाई बाच्छाको मिचाई । 
    यसै प्रसंगमा अहिले गणतन्त्र विरोधी राजावादीहरु र गणतन्त्र पक्षधर खासगरी कांग्रेस–एमाले र माओवादी त्यसमा पनि अझ एमाले अध्यक्ष तथा प्रम केपी ओलीबीच आपसी आरोप प्रत्यारोप र भनाभनको दोहोरी चलिरहेको छ । दरबारिया मण्डले र दलालहरुले भन्दै छन् अब यी गणतन्त्रवादी नेताहरु खासगरी देउवा–ओली र प्रचण्डहरुको दिन सकिए अब खुरु खुरु टिकट काटेर देश बाहिरिए हुन्छ । भन्न कति सजिलो ? २०४६ सालदेखि सत्तामा बसी खाई पाई रजाई गर्दै आएका यी त्यत्तिकै फेरि केही पुराना पञ्चे–मण्डले र दरबारियाहरुले भन्दैमा यसरी भागिहाल्छन् ? तर मनको लड्डु खान सबैलाई छुट छ । वर्षौसम्म अझ भनौ २४० वर्षे शाही सत्ताको रजाई चाख्दै आएकाहरुलाई फेरि त्यसको सम्झना र तृष्णाले सताइरहेको हुन्छ । यसरी बेला मौकामा यस्ता अभिव्यक्ति दिनुलाई अन्यथा भन्न नमिल्ला । तर फेरि यसको प्रतिउत्तरमा प्रम ओलीले उमेर भए त उनीहरुले भन्ने बित्तिकै भागिहाल्नु हुन्थ्यो के गर्ने ? फेरि यसको जवाफमा राप्रपाका सभापति राजेन्द्र लिङदेलले भने त्यसो भए ओली कमरेड भागी जानका लागि एउटा छुट्टै हेलिकप्टरको व्यवस्था गरिनेछ । यसको अर्थ हो अब गणतन्त्रवादीहरुका लागि यो मुलुक सुरक्षित छैन । कि भाग्नु पर्ने, कि थुनिनु पर्ने कि मर्नु पर्ने । ठीकै हो सत्ताको लडाइँ यस्तै हुन्छ र हुँदै आएको छ । राप्रपाका सभापति राजेन्द्र लिङदेलले जे भन्दैछन् सही भन्दैछन् । न हिजो राणाकालमा विरोधीहरुलाई यस्तो छुट थियो न पछिको पंचायती कालमा । सयौं मारिए हजारौं थुनिए र सयौं बेपत्ता पारिए । इतिहास साक्षी छ ।  अब कुनै कारण यी दरबारियाहरुको शासन सत्ता फर्केमा फेरि हुन्छ यहाँ पनि सयौं मारिने छन्, हजारौं थुनिने छन्, हजारौं अंगभंग घरबारविहीन हुनेछन् भने सयौं बेपत्ता पारिने छन् । 


    तर यति भनिरहँदा पनि कांग्रेस–एमाले र माओवादीका यी नेता–कार्यकर्ता त्यसमा पनि अझ देउवा–ओली र प्रचण्डलाई कुनै चिन्ता छैन । यसलाई हँसिमजाकमै लिने गरेका छन् । हुनतः यसलाई उनीहरुले लोकतन्त्रको सुन्दर पक्ष–आलोचना–विरोध, पक्ष–विपक्ष र अभिव्यक्ति स्वतन्त्रता आदि भन्ने गरेका छन् । तर मूल कुरा यो होइन । मूल कुरा वर्गीय पक्षधरताको कुरा हो । कांग्रेस–एमाले र माओवादी अनि यी पुराना पञ्चे–मण्डले र राजावादीहरुबीचको यो लडाइँ वर्गीय सत्ताको लागि होइन खाली व्यक्ति–पद–प्रतिष्ठा र कुर्सीको लागि मात्रै हो । कुरा व्यवस्थाको गरे पनि खासमा यिनीहरुबीचको यो जुहारी खाली व्यक्तिमा छ, अर्थात अहिलेको राष्ट्रपतिको स्थानमा राजा राख्ने । कांग्रेस–एमाले र माओवादीबीचको सत्ता बाँडफाँडमा केही भाग विलो यी पुराना पञ्चे–मण्डले र राजावादीहरुले पनि पाउनुपर्छ भन्ने हो । त्यसैले यी दुवै बीचको यो द्वन्द्व सामान्य प्रकृतिकै भएकाले अहिले एकले अर्कालाई जे आरोप प्रत्यारोप गरे पनि त्यो सबै सामान्य हँसिमजाक मै लिने गरेका छन् । 


    यी दुवै राजावादी र गणतन्त्रवादीबीचको त्यति ठूलो द्वन्द्व भएको विगत नै छैन । २०४६ सालमा निर्दल ढल्यो बहुदल आयो । तर शासक उही संवैधानिक राजतन्त्र । त्यसका कारिन्दा फेरि उनै पुराना पञ्चे–मण्डले खाली कांग्रेस–एमाले थपिए । पुराना पञ्चे–मण्डले–राजावादी कोही भाग्नु परेन । उल्टै पटकपटक तिनै पञ्चे सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द नै प्रधानमन्त्री त्यस्तै अरु मन्त्रीमा । २०६२।०६३ सालको राजनीतिक परिवर्तनपछि व्यवस्थामा गणतन्त्र भने पनि पुराना पञ्चे–मण्डले र राजावादी सबैको ससम्मान । ज्ञानेन्दलाई लाखौं रासन सत्ता सयौं सशस्त्र सुरक्षा गार्डसहित नागर्जुन दरबार अनि पुराना पञ्चे मण्डले र राजावादीहरुलाई पार्टी निर्माणसहित संसदीय निर्वाचन लड्न छुट । त्यति मात्रै होइन सरकार बचाउन र सरकारमा जान छुट ।

    थुप्रै मन्त्री नै भए पनि । अझ पछिल्लो कालमा त आआफ्नै दल र निर्वाचन चिन्ह नै प्रयोग गर्न दिई चुनावी एकता नै भयो । कमल थापा एमाले सूर्य चिन्ह लिई मकवानपुरमा एमाले संसदीय चुनावी उम्मेदवार । त्यस्तै राजेन्द्र एमाले गठबन्धनबाट झापामा उम्मेदवार । दीपक बोहरा रुपन्देही ३ नं. क्षेत्रका एमाले गठबन्धन उम्मेदवार आदि थुप्रै जिल्लामा भयो । यसलाई एमाले पंक्तिले मदन भण्डारीको बासी र घोर अवसरवादी नारा सत्ताका लागि स्थायी शत्रु र मित्र हुँदैन भन्ने अर्थमा लियो । वर्गीय सत्ताकै माक्र्सवादी अवधारणालाई यसले तिलाञ्जली दिएको छ । जस अनुसार सत्ता प्राप्तिका लागि जे गर्दा जे भन्दा र जो जो सँग एकता र मिलन गर्दा पनि हुन्छ, त्यही अनुसार हिजो आज र भोलि पनि एमाले पंक्तिले गर्दै आएको छ । फेरि यही दिशामा कांग्रेस र माओवादीहरु पनि अग्रसर छन् ।

    त्यही भएर यी सबै बीचको अर्थात् कांग्रेस–एमाले र माओवादी अनि पुराना पञ्चे–मण्डले र दरबारियाहरुबीचकोे आरोप–प्रत्यारोप र रस्साकसी खास विचार–सिद्धान्त र राजनीति सत्ता वर्गीयताको आधारमा छैन । खाली व्यक्ति, पद–प्रतिष्ठा र कुर्सी राजनीतिमा मात्रै सीमित रहेको  छ । तर पनि नपत्याउने खोलाले बगाउन सक्छ । औंलो दिंदा सिंगो हात नै निलिन सक्छ । नेपालको पुरानो दरबारिया इतिहास नै यस्तै छ । दाई मारा, भाई माराको आरोप  नै ज्ञानेन्द्रमाथि छ । दरबार छोडी भागी दिल्ली पुगेका राजा त्रिभुवनलाई फर्काइ सत्तासिन बनाउने वीपी तिनैलाई २०१७ सालमा प्रधानमन्त्रीबाट अपदस्त गराइ वर्षाै जेल सडाई राख्ने महेन्द्र । अझ पछिल्लो कालमा दुनियाँले दाई र भाई मारा विरेन्द्रको वंश नास गर्नेलाई दाम चढाएर  गद्दी श्रीपेच पहिराउने गिरिजा–माधव–ओली सबैलाई लात हान्दै फेरि त्यस्तै निरंकुश सत्ताको अभ्यास गर्ने ज्ञानेन्द्र र उनको सन्तानलाई राजा बनाउँदा आफू र आफ्नो दल अनि देश र जनताको अवस्था के होला ? कांग्रेस–एमाले र माओवादीले अब पनि सोचुन ।


    अब पनि देशमा राजतन्त्रको पुनस्र्थापना गराउने पञ्चे–मण्डले र दरबारियाहरुको सोच पश्चगामी–प्रतिगमन सोचाइ हो । त्यसका विरुद्ध डटेर संघर्ष नगरी लोकतन्त्रको नाममा यी सबैलाई केही नगरी जे गर्न पनि छुट दिने कांग्रेस–एमाले र माओवादी सोच यथास्थिति–ढुलमूल र समन्वयकारी सोचाइ हो । त्यसैले यी दुवैका बीच अहिले वैदेशिक शक्ति केन्द्रहरु सलबलाउन थालेका छन् । एकले अर्कालाई बोक्न र थमथमाउने अनि अन्त्यमा मिलाई आआफ्ना स्वार्थ पूर्ति गर्नेमा यी सबै तल्लिन छन् । रुस–युक्रेन अनि हालैको भारत–पाकिस्तान युद्धले विश्व साम्रराज्यवादी द्वन्द्वलाई नयाँ मोडमा विस्तार गर्दैछ । यस्तो स्थितिमा जुन उद्देश्यका साथ राजावादीहरु आन्दोलनमा होमिन थालेका छन् । त्यो अनुरुपको परिस्थिति अब देखिदैन अर्थात् भारतीय प्रम मोदीको हिन्दु साम्रराज्य हालैको भारत पाकिस्तान युद्धले तिरमिराउन थालेको छ । विश्वको एक मात्र हिन्दुराष्ट्र नेपाल र त्यसको हिन्दु सम्राट राजा ज्ञानेन्द्र बनाउने मोदी–योगी आदित्वनाथको सपना  र ग्राइड डिजाइन पनि अब त्यत्तिकै तुहिने निश्चित छ । 


    अन्त्यमा नेपाल अहिले पनि अर्ध सामन्ती अर्धऔपनिवेशिक वा नव औपनिवेशिक अवस्थामा छ । सामन्ती, दलाल  र नोकरशाही बुर्जुवाहरुकै हाली मुहाली राज्य सत्तामा कायम छ । पञ्चे, मण्डले र दरबारिया अनि कांग्रेस–एमाले र माओवादी सबै यसैका लागि तछाडमछाड गरिरहेका छन् । यसमा राजा जानु र नजानु वा राख्नु र नराख्नेले खासै फरक पर्दैन । यो कुरालाई यी सबैले राम्रैसँग बुझेका छन् । खास फरक त त्यतिबेला पर्छ जब यो सिंगो राज्य व्यवस्थाको अन्त्य गरी यो भन्दा अझ उन्नत र अग्रगामी राज्य व्यवस्थाको स्थापना गरिन्छ । हिजो २०६३ सालपछि संवैधानिक राजतन्त्रात्मक राज्य व्यवस्थाको विकल्पमा लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको थालनी भयो । तर यसले पनि देश र जनताको हित गरेन । राष्ट्रघात र जनघात ग¥यो । एकथरीले यसको विकल्प फेरि त्यही पुरानो राजतन्त्रको पुनस्र्थापनाको होहल्ला गर्दै छन् भने अर्काथरीले यही चालु राज्य व्यवस्थालाई नै थामथुम पारी बचाइराख्ने कसरतमा छन् । पहिलो प्रतिगामी सोचाइ हो भने दोस्रो यथास्थिति सोचाई यी दुवै सारमा एउटै प्रतिगामी सोच नै हुन् । यसको उचित र अग्रगामी विकल्प र सोचाई भनेको जनगणतन्त्र नै हो । देशका मजदुर–सर्वहारा–किसानको नेतृत्वमा सम्पूर्ण देशभक्त, जनवादी र प्रगतिशील आम जनसहभागितामा हुने जनक्रान्तिबाट बन्ने नयाँ जनवादी राज्य सत्ता र यसबाट संचालित राज्य व्यवस्था यसको विकल्प हो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij