तुल्सीराम पाण्डे
सबै मानिसहरूले आ–आफ्नो परम्परा र श्रद्धाअनुसार देवता पितृ र अन्य अदृश्य शक्तिलाई फरक फरक तरिकाले पूजा गर्दछन् । प्रकृति र परम्परागत मान्यताहरू नै सबै प्राणीका बाँच्ने आधार हुन् । मानिसले आफ्नो ठाउँअनुसार नयाँ नयाँ परम्पराहरू बनाउने र पुरानालाई केहीलाई छोड्ने र केहीलाई निरन्तरता दिने गर्दछन् ।
नेपालमा समुदाय र ठाउँअनुसार प्रकृति र अदृष्य शक्तिलाई पूजा गर्ने आ–आफ्नै तरिकाहरू छन् । त्यसलाई कसैले भोग दिने, कसैले भाग दिने, कसैलै श्राद्ध गर्ने, कसैले पूजा गर्ने, कसैले धार दिने कसैले यज्ञ लाउने भन्दछन् । बाहुन क्षेत्रीहरूले आफ्ना पितृहरूको सम्झनामा वर्षको २ पल्ट श्राद्ध गर्दछन् । पितृहरूले आफ्ना सन्तानलाई आशीर्वाद दिन्छन् । देवताले दिएको पितृले हर्न सक्छन् । पितृले दिएको देवताले हर्न सक्दैनन् । ४ पुस्ताभन्दा माथिका पितृहरू कुलायनमा मिसिन्छन् कुलायन पूजा कसैले मंसिरे पूर्णिमा र बैशाखे पूर्णिमा गरी २ पटक गर्दछन् । कसैले वर्षको १ पटक गर्दछन् । बलि दिनेहरूले कसैले असोजको दुर्गा पूजामा कुलपूजा गर्दछन् । कुनै ठाउँमा समुदाय मिलेर एउटा पाठो वा पाठी बलि दिन्छन् । त्यसपछि सबैले आ–आफ्नो घरबाट बोकाको बलि दिन्छन् । कुनै ठाउँमा भाकल भएमा र आफ्नो इच्छा भएमा मात्र कुललाई बोकाको बलि दिन्छन् ।
कसैले तीन वर्षमा र कसैले पाँच वर्षमा सबै घरले एक–एक वटा बोकाको बलि दिन्छन् । कसैले श्रीपञ्चमी र कसैले अक्षय तृतीयाको दिनमा कुलपूजा गर्दछन् । देवताअनुसार फरक फरक किसिमका खानेकुरा सहितको फरक फरक धारा दिइन्छ । शिवलिङ्गमा जलधारा दिइन्छ । यज्ञ गर्दा चरु होम्ने र घ्यूको धारा दिइन्छ । नागलाई दूध धारा दिइन्छ । झाँक्रीलाई रगतको धारा दिइन्छ । अन्य शक्ति पीठहरूमा पनि आ–आफ्नो ठाउँ र परम्पराअनुसारका भेटी चढाउने र धार दिने गर्दछन् । धार दिँदा लावा भु्टने र रोटी खिर पकाउने गर्दछन् । गाईको गोबरको कुण्ड बनाएर त्यसैमा धाराको भाग राखी दिन्छन् । त्यही भाग खाएर आशीर्वाद दिन्छन् भन्ने जनमानसमा विश्वास छ ।
शैलेश्वरी मन्दिरमा देउकी चढाउँछन् । देवीका मन्दिरहरूमा परेवा उडाई दिन्छन् । कोटहरूमा हाँस, कुखुरा, परेवा, बोका, भेँडा र पाडाको बलि र पञ्चबलि दिन्छन् । नरदेवीमा १२ वर्षमा एक पटक मानिसको बलि दिन्छन् । पानीको मूल भएको ठाउँमा नागको पूजा गर्छन् । लेकमा भुमे र धुले नागको पूजा गर्दछन् । देवी देउराली रक्तकालीमा पनि पशु बलि दिइन्छ । प्रधानमन्त्रीले पदबहाली गर्दा कालो बोकाको बलि दिन्छन् । बाबुराम भट्टराईले परम्पराअनुसारको बलि दिएनन् । श्री ५ ज्ञानेन्द्रले सङ्कट कालमा शान्तिको कामना गर्दै कालो बोकाको बलि दिएका थिए । त्यस बेला देशको बाहिरी भागमा सैनिक र प्रहरीहरूको बलि चढिरहेको थियो ।
धर्म र कर्म गर्दा छर छिमेकी र इष्टमित्र जम्मा हुनु पर्दछ । महादेवलाई तान्त्रिक र वैदिक विधिबाट पूजा गरिन्छ । नदी, शिला, आगो, सूर्य र चन्द्रमालाई पनि पूजा गर्दा दूध र पानी चढाइन्छ । धार दिने पुराना मानिसहरूले “ढुङ्गा रातो पेट तातो” भन्दछन् । पुरानो समयमा एकजना सूचिकारको सिलाउने मेसिन बिग्रेर आफन्तसँग बनाउन लगेछन् । आफन्तले मेसिनलाई बोक्सी लागेछ भनेर ५÷६ पटकसम्म भाले र रक्सी चढाउँदै बनाउँदै गरेछन् । कसैलाई भूत लागेमा गोंयलाको पातको टपरीमा रातिमा भोग दिने र धार दिने गरिन्छ । डुलुवा सिया मसान लागेमा बिहानै झुल्के घाम वा साँझको पहेँली घाममा उल्टे पानी ल्याउने, उल्टे कुखुरा काट्ने, उल्टे टपरीमा एकोहोरो रोटीको धार दिइन्छ । कुनै लामाले सिया मसानलाई बिरामीले नै “मेरो मुत खा” भनेर गाली गर्दै एउटा दुनामा पिसाब राखिदिए हुन्छ भन्दछन् ।
बोक्सी लागेमा उसले मागेको भागको पात्लो रातिमा फालिदिन्छन् । बोक्सीको १ गुन र लामाको २ गुन हुन्छ । धनीमानी र सम्पन्न मानिसहरू पनि बोक्सी हुन्छन् । लामाले बोक्सी चिन्दछन् र बोक्सीले लामा चिन्दछन् । लामाको भन्दा बोक्सीको मन्त्र २ गुना शक्तिशाली हुन्छ । बोक्सी लागेमा लामाले खान पाउँछन् । कसैलाई बोक्सी लागेर थला परेमा, बहुलाएमा, आधामात्र मन्त्र सिकेमा सिपालु लामालाई बोलाएर रातीमा कालो पाठो, कालो कुखुरो, कालो बिरालो काटेर टाउकाबाट रगतको धारा लगाएर सन्चो बनाउँछन् भनेको सुनिन्छ । पहिलेका सिपालु लामाहरूले आफू आगोमा बसेरै बोक्सीलाई बोलाउने, तातो पन्युले डाम्ने, नचाउने र आँखा फोडिदिने गर्दथे । एक ठाउँमा तालुकदारलाई साक्षी राखेर लामा बसाल्दा उनैकी श्रीमती नाच्दै आइछन् । त्यसपछि लामालाई त्यहीँ रोकेछन् र सबै फरिएछन् ।
नेपालको सबैभन्दा धेरै बलि चढाउने ठाउँ बाराको गढीमाई हो, त्यहाँ मेला ५÷५ वर्षमा मेला लाग्छ । एक पटकको मेलामा तीस हजारभन्दा बढी बलि दिइएको थियो । एक जना भारतीय जमिन्दारले आफ्नो छोरो जन्मेको खुसीमा एक सय आठ वटा राँगाको बलि दिएका थिए । एक पटकको मेलामा मार हान्ने कर्मचारीहरूले एकोहोरो राँगा काँटी रहेको सुरमा मान्छे नै काटि दिएछन् । त्यहाँका मानिसले अन्यत्र काम गर्न जाँदा यो कुरा सुनाएका रहेछन् । आजकल त्यहाँ नरिवलको बलि दिन सुरु गरिएको छ । वनसखण्डी लागेमा ऐना, काइँयो, डोरी, चुरा, टिकी, कपडाहरू एउटा थोत्रो डोकोमा लगेर थानमा राखी दिन्छन् । वनबोक्सीलाई फुको चल्लो छोडिदिन्छन् । लाटो भूत लागेमा अक्षता र धजा रिँगाएर चौबाटामा लगेर फाल्ने र पछाडि नफर्किकन आएर बिरामीलाई चिसो पानीले छेप्ने र एक्कासी चिच्याएर तर्साएर उपचार गरिन्छ ।
बच्चाहरू तर्सेमा र सातो गएमा सातो फुक्ने, खरानीको टीका लगाई दिने, शरीरको उचाई बराबरको डोरो मन्तरेर चरुवा गाईको पुछरमा बाँध्ने र साँझमा जन्तर बनाएर बाँधिदिने गर्दछन् । बिरालोले लगेको सातो फर्कन गाह्रो हुन्छ । सर्पले जनावरको दूध खाएमा थन कानो हुन्छ । दोखले खाएमा लामा धामी गरेमा फर्कन्छ । मानिसहरू बसाइ सरेमा बिदाइ धारा दिन्छन् । नयाँ ठाउँमा गएपछि त्यहाँको चलनअनुसार समूहमा मिसिन्छन् ।




