गुल्मी । देशमा रोजगार नभएर धेरैजसाे युवा विदेश पलायन भइरहेका बेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका–५ खर्ज्याङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेशा शुरू गरेका हुन ।
खर्ज्याङको ४५ रोपनी जग्गामा उहाँले काँक्रा, लौका, तोराय, फर्सी, खुर्सानीलगायत तरकारी लगाएका छन । कुखुरापालनसँगै मासु व्यवसायसमेत गरेका भण्डारीको मुख्य उत्पादन काँक्रा हो ।
विसं २०७२ मा ‘घरेलु तथा साना उद्योग विकास कार्यालय’ मा ‘पूर्णिमा कृषि तथा पशुपक्षी फर्म’ दर्ता गरेर व्यवसाय शुरू गर्नुभएका भण्डारीले गएकाे वर्षमात्रै ७ सात लाखको काँक्रा बिक्री गर्नुभयो । शुरुआती चरणमा थोरैथोरै उत्पादन गरे पनि अहिले व्यवसाय फस्टाएको भण्डारी बताउँछन ।
‘गएकाे वर्ष दुई हजार बोटमा फलेका काँक्राबाट ७ लाख रुपैयाँ आम्दानी भयो’, उनले भने, ‘यो वर्ष १० हजार बिरुवा लगाएको छु, उत्पादन भएका सबै काँक्रा बिक्री हुँदा ३० लाख आम्दानी हुन्छ ।’ दुई वर्ष अगाडिसम्म काँक्राको मूल्य प्रतिकेजी ४० रुपैयाँसम्म रहेको थियो ।
तर गएकाे वर्ष मूल्य बढेर १ सय ४० रुपैयाँसम्म पुग्यो जसले गर्दा उनको आम्दानी पनि बढेको छ । गएकाे वर्ष भएको आम्दानीबाट प्रेरित भएर यो वर्ष बिरुवा थपेको भण्डारीले बताए ।
यो सिजनका लागि पनि काँक्रा तयार भइसकेका छन् । गएकाे मङ्सिर ३० गते रोपेका काँक्रा चैत १० गतेदेखि बिक्री शुरू भएका थिए । अहिलेको सिजनमा मात्रै उनले तीन सय क्विन्टल काँक्रा बिक्री गरिसक्नुभएको छ । अहिले फलेका काँक्रा सके अहिले नै सबै बिक्री गर्ने, नभए पाकेका पहेँला काँक्रा दशैँ–तिहारको समयमा अचारका लागि बिक्री गर्ने उनले बताए ।
दशैँ–तिहारमा पनि बिक्री नभए बीउका लागि प्रयोग गर्ने भण्डारीको भनाइ छ । यो सिजनमा उहाँको एउटै बगैँचाबाट दैनिक १० क्विन्टलसम्म काँक्रा बिक्री भइरहेको छ ।
भण्डारीले काँक्रासँगै बेमौसमी मकै उत्पादन, कुखुरापालन र दुई पोखरीमा मत्स्यपालन पनि गरेका छन । उनले सबै व्यवसायबाट खर्च कटाउँदा पनि मासिक न्यूनतम एक लाख रुपैयाँ बचत हुने सुनाए ।
अहिलेको गर्मी मौसम भएकोले काँक्रो अत्यधिक बिक्री भइरहेको छ । आउँदाे असार महिनासम्म काँक्रो बिक्री हुने सिजन छ । गर्मी सिजन शुरू भइसकेको हुँदा यस पटक बाहिरबाट जिल्लामा काँक्रो भित्रिसकेको छैन जसले गर्दा बजारमा काँक्रोको माग अत्यधिक रहेको छ ।
काँक्रो खानाको साथसाथै विवाह, महोत्सव तथा पाठपूजाको समयमा पनि प्रयोग हुन्छ । भण्डारीले यस पटक चार सय क्विन्टल काँक्रो उत्पादन गर्ने लक्ष्य लिनुभएको छ । उहाँले अहिले एक हजार बेमौसमी काँक्रोका थप बिरुवा लगाइसक्नुभएको छ । उहाँको काँक्रा स्थानीय बजारका साथसाथै तम्घास, पाल्पा, बुटबल र काठमाण्डाैसम्म पुग्ने गरेको छ ।
उनलाई घरपरिवारको पनि पूर्ण साथ मिलेको छ । घर परिवारका चार जनाबाहेक थप चार जनालाई मासिक तलबमा रोजगारीसमेत दिएका छन ।
पछिल्लो समयमा गाउँमा किसानलाई बाँदर, बदेँल, दुम्सीजस्ता वन्यजन्तुले बालीनालीमा हानि/नोक्सानी गर्दै गएको अवस्था छ । तर भण्डारीले भने याे समस्या नभएको हुँदा कृषि उत्पादन गर्न सहज भएको बताए । भण्डारीको लोभलाग्दो कृषि कर्मले जिल्लामा युवा शक्तिबाट किसानलाई थप हौसला मिलेको छ । ‘गर्न सके गाउँमै थुप्रै सम्भावना छन्’, भण्डारीले भने ।
‘राज्यले टनेल दिए हुन्थ्यो’
काँक्रा बिक्री गरेर आम्दानी लिन जति सजिलो छ, उत्तिकै मेहनत उत्पादन गर्न पनि छ । वर्षा धेरै हुँदा र बिक्री नहुँदा उनले थुप्रै पटक घाटा पनि सहनुपर्यो । काँक्राको लागि टनेल आवश्यक पर्नेमा उहाँले भने खुला चौरमा उत्पादन गर्दै आएका छन ।वडा कार्यालयमा थुप्रै पटक टनेलका लागि आवेदन दिए पनि सहयोग नपाएको भण्डारीले सुनाए ।
‘थुप्रै पटक धाएँ, पाइनँ’, उनले भने, ‘मकै शतप्रतिशत, नभए ५० प्रतिशतसम्म अनुदानमा हाइटेक टनेल दिए उत्पादन अझ बढाउने थिएँ ।’टनेल नहुँदा वर्षाका कारणले गएकाे वर्षमात्रै पाँच क्विन्टल काँक्रा नोक्सान नभएको उनले बताए ।
७ लाख रुपैयाँको काँक्रा बिक्री गरिसकेपछि थप पाँच क्विन्टल नोक्सान हुँदा धेरै मर्का नपरेको उनी बताउँछन । ‘अब निरन्तर काँक्राखेती गर्ने हो, अरू पेशा सहायक हुन्’, भण्डारीले भने, ‘यसमा राज्यको तर्फबाट केही सहयोग भए आभारी हुने थिएँ ।’रासस




