बुटवल । विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने उद्देश्यले रुपन्देहीमा अक्सनसहितको प्यारामाउन्ट क्रिकेट लिग हुने भएको छ । विद्यालयस्तरको प्रतियोगितामा अक्सनबाट खेलाडी किनेर टि–२० लिग हुन लागेको यस क्षेत्रमै पहिलो भएको आयोजक प्यारामाउण्ट क्रिकेट कमिटीको दाबी छ ।
जेठ २६ देखि २९ गतेसम्म भैरहवाको सिद्धार्थ रंगशालामा हुने प्रतियोगितामा चार टिमले प्रतिस्पर्धा गर्ने प्यारामाउण्ट क्रिकेट कमिटीका अध्यक्ष गोपाल ज्ञवालीले बताए । ‘विद्यालयस्तरमा अक्सनसहितको टि–ट्वान्टी लिग यस क्षेत्रमा पहिलोपटक हो,’ उनले भने –‘विद्यार्थी खेलाडीलाई व्यवसायिक बन्न यसले प्रोत्साहन गर्ने छ ।’
प्रतियोगितामा प्यारामाउण्ट बोल्ड, प्यारामाउट गोर्खाज, प्यारामाउण्ट किङ्गस्, र प्यारामाउण्ट रोयलले प्रतिस्पर्धा गर्नेछन् । यी चार टिमले आफ्नो विद्यालय वाहेक जुनसुकै जिल्लाका विद्यालयका कक्षा ६ देखि १२ सम्मका ५ देखि ६ जनासम्म विद्यार्थीलाई टिममा राखेर खेलाउन सक्ने नियम रहेको खेल संयोजक सुरज बश्यालले बताए । प्रत्येक टिमले १५ जना खेलाडी किन्न पाउँछन् । प्रति खेलाडी न्यूनतम एक हजार र अधिकतम ४ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
पत्रकार सम्मेलनमा क्रिकेट प्रशिक्षक बसन्त शाहीले विद्यालयस्तरमा अक्सनका आधारमा खेलाडी चयन गरेर टी–२० लिग प्रतियोगिता नेपालमै पहिलो भएको बताए ।
प्रतियोगितामा ६ वटा खेल राउण्ड रोबिन लिग र फाइनल गरी७ खेल हुनेछन् । प्रतियोगितामा सहभागी हुन २ सय जना खेलाडीले आवेदन दिइसकेका र ती मध्येबाट अक्सनका आधारमा टिम बन्ने बस्यालले बताए । १६ गते साँझ खेलाडीहरुको सूची आउने र १७ गते अक्सन गरिने छ । २० देखि २४ गतेसम्म बन्द प्रशिक्षण रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १५ हजार रुपैयाँ र उपविजेता टिमले १० हजार रुपैयाँ, प्लेयर अफ टुर्नामेन्टलाई १५ सय, उत्कृष्ट ब्याट्सम्यान र बलरलाई १ हजार तथा प्लेयर अफ म्याचलाई समेत पुरस्कृत गरिने संयोजक बस्यालले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण प्रसाद सापकोटाले गुणस्तरीय शिक्षासँगै खेलकुदमा समेत विद्यार्थीलाई सहभागी गराई भविष्यका उत्कृष्ट खेलाडी जन्माउने उद्देश्यले विद्यालयले खेलकुद गतिविधिलाई पनि उत्तिकै प्राथमिकता दिएको बताए ।
गत वर्ष ई–प्लानेटको आयोजनामा भएको विद्यालयस्तरीय राष्ट्रिय क्रिकेटमा प्यारामाउण्ट विजेता बनेको विद्यालयका प्लस टु संयोजक लक्ष्मण अर्यालले जनाए ।




