टिआर शर्मा
बुटवल
सात प्रदेशमध्ये लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदर चौथो स्थानमा रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ मा सात प्रदेशमध्ये गण्डकी प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा धेरै ५.५१ प्रतिशत छ । यो नेपालको कुल आर्थिक वृद्धिदरको तुलनामा समेत माथि हो ।
चालु आव मुलुकको अर्थतन्त्र ४.६१ प्रतिशतले विस्तार हुने अनुमान छ । प्रदेशगत आर्थिक वृद्धिदरको आँकडा हेर्दा दोस्रो स्थानमा बागमती (५.१८ प्रतिशत), तेस्रो स्थानमा कर्णाली (४.७४ प्रतिशत ) देखिएको छ ।
चौथो स्थानमा लुम्बिनी प्रदेश छ । यसको आर्थिक वृद्धिदर ४.७० प्रतिशत छ ।
पाँचौ स्थानमा मधेस प्रदेश (४.५० प्रतिशत), छैटौं स्थानमा कोशी (३.३४ प्रतिशत) र सातौं स्थानमा सुदूरपश्चिम ( वृद्धिदर ३.३२ प्रतिशत) हुने अनुमान छ ।
तथ्यांकअनुसार राष्ट्रिय औसतको तुलनामा चार प्रदेशको वृद्धिदर माथि छ भने तीन प्रदेशको तल छ । अघिल्लो आवको तुलनामा सबै प्रदेशको वृद्धिदर बढेको देखिन्छ । अघिल्लो वर्ष कोशीदेखि सुदूरपश्चिमसम्मका प्रदेशको क्रमशः ३.३१, ३.७४, ३.७०, ३.८०, ३.९४, ३.२६, ३.२८ र ३.६७ प्रतिशतको वृद्धिदर थियो ।
अर्थतन्त्रमा लुम्बिनीको योगदान १४.२३ प्रतिशत
नेपालको अर्थतन्त्रमा लुम्बिनी प्रदेशको योगदान तेस्रो स्थानमा छ । लुम्बिनीको अर्थतन्त्रको आकार ८ खर्ब ६९ अर्ब छ । यसले नेपालको कूल अर्थतन्त्रको १४.२३ प्रतिशत हिस्सा ओगट्छ । सबैभन्दा धेरै बागमती प्रदेश एक्लैले ३६.५२ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।
दोस्रो स्थानमा कोशी (१५.९० प्रतिशत), चौथोमा मधेसले १३.१६ प्रतिशत, पाँचौमा गण्डकीले ८.९८ प्रतिशत, छैठौमा सुदूरपश्चिमले७.०३ प्रतिशत र सबैभन्दा कम कर्णालीले ४.१९ प्रतिशत हिस्सा आगेटेको तथ्यांक छ ।
मधेस ८ खर्ब ४ अर्ब, गण्डकी ५ खर्ब ४८ अर्ब, सुदूरपश्चिम ४ खर्ब ३० अर्ब र कर्णालीको अर्थतन्त्रको आकार २ खर्ब ५६ अर्ब रुपैयाँ बराबर छ ।
लुम्बिनीसहित ६ प्रदेशको अर्थतन्त्रको मुख्य आधार कृषि
नेपालका ७प्रदेशमध्ये लुम्बिनीसहित ६ वटा प्रदेशको अर्थतन्त्रको मुख्य आधार कृषि रहेको पाइएको छ । यी ६ प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै देखिएको छ । लुम्बिनीमा कृषिको योगदान ३१.०२ प्रतिशत छ । यस प्रदेशमा सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारण क्षेत्रको ९.७० प्रतिशत छ । गण्डकीमा कृषिको योगदान पहिलो स्थानमा (२७.१० प्रतिशत) छ । सबैभन्दा धेरै वृद्धिदर विद्युत् तथा ग्यासको १३.१२ प्रतिशत छ ।
त्यस्तै कर्णालीमा सबैभन्दा धेरै योगदान कृषिको ३०.१ प्रतिशत छ । सबैभन्दा धेरै वृद्धिदर यातायात तथा भण्डारण क्षेत्रको १०.५४ प्रतिशत छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो योगदान कृषिको ३४.७२ प्रतिशत छ । बढी वृद्धिदर विद्युत् तथा ग्यासको ८.७३ प्रतिशत छ ।
कोशी प्रदेशको अर्थतन्त्रमा कृषि, वन र मत्स्य क्षेत्रको योगदान ३४.०५ प्रतिशत छ । मधेसमा कृषिको योगदान ३६.७३ प्रतिशत रहने अनुमान छ ।
बागमतिको भने थोक तथा खुद्रा व्यापारको योगदान सबैभन्दा अगाडि छ । बागमतीमा थोक तथा खुद्रा व्यापारले सबैभन्दा धेरै २२.५५ प्रतिशत योगदान गर्छ ।
लुम्बिनीवासीको प्रति व्यक्ति आय १२०१ डलर
लुम्बिनी प्रदेशका नागरिकको प्रतिव्यक्ति आय १ हजार २ सय १ डलर देखिन्छ । अहिलेको विनिमय दर अनुसार औसतमा एकजना नेपालीको वार्षिक आम्दानी १ लाख ६३ हजार ५१३ रुपैयाँ हुन्छ ।
सात प्रदेशमध्ये प्रतिव्यक्ति आयमा पनि लुम्बिनी चौथो स्थानमै छ । बागमतीवासीको आय लुम्बिनीको भन्दा दोब्बर बढी छ । चालु आर्थिक वर्षमा बागमतीवासीको प्रतिव्यक्ति आय २ हजार ६ सय २ अमेरिकी डलर रहने अनुमान छ ।
राष्ट्रिय तहमा प्रतिव्यक्ति आय १ हजा ४ सय ९६ डलर छ । दोस्रो स्थानमा गण्डकीको १ हजार ६ सय १९, कोशी १ हजार ४ सय १, लुम्बिनी १ हजार २ सय १, सुदूरपश्चिम १ हजार १ सय ५३ र कर्णालीको १ हजार ८९ रहने अनुमान छ । सबैभन्दा कम मधेसको ९ सय ३२ डलर रहने अनुमान छ ।




