घर, कार्यालय र विभिन्न व्यापारिक प्रतिष्ठानबाट निस्कने फोहरजन्य सामग्रीलाई काम नलाग्ने ठानिन्छ । यी सामग्रीलाई जसोतसो थान्को लगाउन पाए हामीलाई सहज हुन्छ । तर काम नलाग्ने फोहरजन्य कवाड सामग्री संकलन गरेर पाल्पा तानसेन नगरपालिका-६ पदमेटारीका तीन दाजुभाइले लोभलाग्दो आम्दानी गरेका छन् ।
तानसेन-६ पदमेटारीका सुशिल, उमेश र टार्जन भण्डारी पढेर जागिर खोज्नतिर लागेनन् । कम लगानीमा के गर्न सकिन्छ भनेर खोजी गरिरहेका उनीहरुले कवाड संकलन गरेर बेच्ने योजना बनाउन परिवार र छिमेकी कसैले रूचाएका थिएनन् । उनीहरुको यो काम धेरैका लागि आश्चर्य लाग्नु स्वभाविकै हो, पढेलेखेका युवाले अरु नै काम गरिरहेको र यस्तो खालको काम नपढेका व्यक्तिले गरिरहेको समाजमा उनीहरुले कम्पनी दर्ता गरेर व्यवस्थित ढंगले काम गरेका छन् । उनीहरुको नेप्लिज वेस्ट बैंकमा ६ जनाले रोजगारी पाएका छन् । उनीहरुको फोहर व्यवस्थापन उद्योगले कागज, कार्टुन, किताब, कापी, फलामका टुक्रा, सिसा, बोतल जस्ता प्रयोगविहीन वस्तु संकलन गरी प्रशोधन गरेर आम्दानी गर्दै आएको छ । उनीहरुले ती सामग्री विभिन्न उद्योगलाई दिँदै आएका छन् । पढेका युवाले गरेको यो काम अनुकरणीय छ, एकातिर फोहर व्यवस्थापन भयो, अर्कोतिर राम्रो आम्दानी पनि भयो । स्नातक उत्तीर्ण तीन दाजुभाइको यो मिहिनेत र श्रृजनशिल कामले धेरै युवालाई बाटो देखाएको छ ।
तानसेन सानो शहर हो, जहाँ फोहर थोरै संकलन हुन्छ । धेरै फोहर संकलन हुने शहरमा ठूलो मात्रामा संकलन गर्न सकिन्छ । ठूलो मात्रामा संकलन हुने कवाड फोहरबाट धेरै आम्दानी गर्न सकिन्छ । अहिले कवाड संकलन गर्न ठूलो संख्यामा भारतीय नागरिक सक्रिय छन् । उनीहरुले यहाँबाट लाखौं रुपैयाँ कमाएर भारत लगेका छन् । नेपाली युवाहरुले जाँगर गर्दा व्यवस्थित ढंगले काम गर्न सक्दारहेछन् । भारतीय नागरिकले रेमिट्यान्सको रुपमा लगिरहेको नेपाली पैसा यही राख्न सकिदोरहेछ ।
नेपाली समाजमा स–साना काम र श्रमलाई सम्मान नगर्ने प्रवृत्ति छ । समाजले कतिपय काम र श्रमलाई सम्मान नहुँदा पनि युवाहरु यहाँ बस्न नखोजेका हुन् । त्यसो त अवसरको खोजीमा धेरै युवा विदेशिएका हुन् । कतिपय युवा यही बस्न खोज्दा समेत समाजले हेयको दृष्टिले हेर्ने प्रवृत्ति छ । समाजमा काम र श्रमप्रति सम्मानको वातावरण तयार गर्ने पढेलेखेका र सचेत युवाले नै हो । देश बनाउने काम युवाले हो, युवाले नयाँ सोंच र अठोटका साथ केही गर्न खोज्दा राज्यले साथ दिनुपर्छ । अहिले राज्यले युवाका नयाँ सोंचका कामलाई न्यून व्याजदरमा ऋण दिन थालेको छ । यसले पनि युवालाई उत्साहित बनाएको छ । सुशिल, उमेश र टार्जनले झैँ समाजले झट्ट स्वीकार नगर्ने काम गरेर आफूलाई अब्बल स्थापित गर्दा समाजमा सकारात्मक धारणा प्रवाह हुन्छ । केही गर्ने सोंच र जाँगर भएका युवालाई सहयोग गरौँ ।




