कुरा साँचो हो, गणतन्त्र पूर्व राजालाई देवता वा भगवान् सरह मान्न सिकाइन्थ्यो । विष्णुका अवतार भनेर साना–साना नानीबाबुलाई प्राथमिक कक्षादेखि नै सिकाइन्थ्यो । कलिला नानीबाबुको मस्तिष्कमा यस खालको छाप लाउनका लागि अनेक गीत कविता भाटकविहरु सिर्जना गर्दथे ।
नेपालीका भाग्य विधाता तिम्रै जयजय होस् ! जस्ता गीत घोकाइन्थ्यो ।
श्रीमान् गम्भीर नेपाली प्रचण्ड प्रतापी भूपति श्री ५ सरकार महाराजाधिराजको सदा रहोस् उन्नति,
राखून् चिरायु देशले प्रजाफैलियोस्
पुकारौ जय प्रेमले, हामी नेपाली साराले ।
यही नै थियो राष्ट्रिय गान । यो गानमा के छ त ? यसो छलफल गरौं, जनता र राष्ट्रको होइन राजाको उन्नति प्रगति होस्, जनता फैलियोस् होइन, प्रजा फैलियोस् । अनि चिरायु, दीर्घजीवन स्वास्थ्य समृद्धि जनताको होइन, राजाको होस्, भनेर भनिएको छ । यो राजा शाहीकालीन राष्ट्रिय गान थियो । यसमा देशभक्तिको कुरा छनै, यसमा राजभक्तिको कुरा छ । व्यक्तिभक्तिको कुरा छ । दलाली संस्कृति निर्माणमा जोड दिइएको छ ।
पारिवारिक एकतन्त्रीय राणा शासनको अन्त्यपछि २००७ सालमा प्रजातन्त्र आयो भने पनि त्यतिखेर दलका प्रतिनिधिलाई प्रधानमन्त्री बनाइएन । यही पुरानै राणा प्रधानमन्त्री मोहन शमशेरलाई प्रधानमन्त्री पदमा दोहो¥याइयो । अनि मन्त्री बन्न बनाउनका लागि पनि दलको सच्चा प्रतिनिधि भन्दा पनि कुनै न कुनै रुपमा राजाका दलाली हुनै पर्दथ्यो । जस्तो कि तुल्सी गिरी, नवराज सुवेदी आदि इत्यादि । २०१५ सालमा दुष्ट राजा महेन्द्रले संविधान जारी गरे । त्यसपछि भएको निर्वाचनमा नेपाली कांग्रेसले दुई बहुमत ल्याए पनि त्यसलाई राजा महेन्द्रले डेरे आँखाले पनि हेर्न चाहेनन् । त्यसैले २०१७ सालमा त्यो संसदीय व्यवस्थालाई प्रतिबन्ध लगाउँदै मन्त्रिमण्डल विघटन गरेर मात्र पुगेन । उनले त प्रधानमन्त्रीलगायत सबै दलका नेताहरु जो दलीय व्यवस्थाप्रति प्रतिबद्ध थिए, उनीहरुलाई अराष्ट्रिय तत्व भन्दै जेलसजाय समेत दिए । कैयौं नेताहरु ज्यानको सुरक्षाका लागि निर्वासित भए ।
यस्तो अवस्थामा बाहिरी दुनियाँलाई देखाउनलाई राजाले निर्दल नामको पञ्चायती प्रजातन्त्र लागू गरेका थिए । त्यो पञ्चायत प्रणालीमा गाउँदेखि केन्द्रसम्म निर्वाचन त हुने गर्दथ्यो । तर अधिकार केही पनि थिएन । राष्ट्रिय पञ्चायतलाई तत्कालीन अवस्थामा संसदको रुपमा लिने गरिन्थ्यो । तर उम्मेदवार कसलाई दिने कसलाई नदिने यो सिधैँ नारायणहिटी दरबारको तजविजमा हुने गर्दथ्यो । २०२४ सालपछि उम्मेदवार छनौट गर्ने जिम्मा राजाले गाउँ फर्क राष्ट्रिय अभियानलाई दिए । त्यसरी नै तलदेखि माथिसम्म उम्मेदवार बन्न बनाउन राजाले त्यस्तै प्रक्रिया अविलम्बन गरे । गाउँ फर्क राष्ट्रिय अभियानको कडा विरोध भएको हुँदा गाउँ फर्क राष्ट्रिय अभियानलाई राजा महेन्द्रपछि राजा भएका वीरेन्द्रले विघटन त गरे । तर त्यो भन्दा झन कडा पञ्चायत नीति तथा जाँचबुझ केन्द्रको गठन गरे ।
यसरी उसरी जसरी तसरी निर्दलीय पञ्चायती प्रजातन्त्रको नाममा बालिक मताधिकारमाथि कडा निगरानी गर्नु, वाक तथा प्रकाशन स्वतन्त्रतामाथि कडाइ गर्नु हरेक निर्वाचनमा पञ्चायत विरोधी कुनै पनि व्यक्ति गाउँ, नगर, जिल्ला पञ्चायत र राष्ट्रिय पञ्चायत र वर्गीय संगठनहरुमा उनीहरुको पहुँच नरहोस् भनेर पनि जाबुसले कडाई गर्दै जान थाल्यो ।
गाउँदेखि केन्द्रसम्म जो निर्वाचित हुन्थे तिनीहरुलाई सिडियो र अञ्चलाधीशले विशेष जिम्मेवारी दिएका हुन्थे । त्यो जिम्मेवारी भनेको के हुन्थ्यो त भने आफ्नो गाउँ क्षेत्रमा कोको कांग्रेस छन् र कोको कम्युनिष्ट छन्, तिनीहरुको अविलम्ब रिपोर्ट बुझाउनुपर्ने । ती पञ्चहरु विचारा जनताको भोटबाट निर्वाचित भए पनि जनताप्रति उत्तरदायी र जवाफदेही हुन पाउँदैथें । उनीहरु त राजा, पञ्चायत, सिडियो र अञ्चलाधीशप्रति जवाफदेही हुनुपर्दथ्यो । गाउँमा विकासको नाममा बजेट पठाइँदैनथ्यो । कुनै गाउँ पञ्चायतमा वा नगर पञ्चायतमा ५÷७ हजार रुपैयाँ पठाइयो भने पनि त्यो बजेट अञ्चलाधीश, सिडियो, मन्त्री आउँदाखरि स्वागत गेट बनाउन र भोज भतेरका लागि पठाइएको हुन्थ्यो ।
स्वागत गेट बनाउने भने पनि तोकिएको रकम उठाएर जम्मा गर्न स्थानीय पञ्चायतहरु बाध्य थिए ।
जहाँनियाँ राणा शासनको अन्त्य २००७ सालमा भए पनि उच्च ओहोदामा राजाले उनैलाई राखे । यसको ज्वलन्त प्रमाण २००७ सालपछि पनि राणा प्रधानमन्त्री मोहन शमशेर नै प्रधानमन्त्री हुनुले प्रमाणित गर्दछ ।
दलका नेताहरुलाई ध्रुर्त राजा त्रिभुवनले मुसाको बच्चा बिरालाले खेलाए झैं विधानसभाको चुनाव गराउने भनेर घोषणा गरे पनि विधानसभाको चुनाव गराएनन् । त्रिभुवनपछि राजा भएका दुष्ट राजा महेन्द्रले २०१५ सालमा नेपाल अधिराज्यको संविधान जारी गरेर २०१५ साल आम निर्वाचन गराए । आम निर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाई सिट र नेकपाले पाँच सिट प्राप्त गरे पनि दुई तिहाईको कांग्रेसको सरकारलाई अनेक आरोप लगाउँदै २०१७ साल पौष १ गते विघटन गरिदिए र दलहरुमाथि प्रतिबन्ध लगाए । अनि कथित निर्दलीय पञ्चायत मार्फत् निरंकुश शासन ३० वर्षसम्म चलाए । जन अधिकार माग्न खोज्ने मान्छेहरुको हत्या गराए, जेलनेल सेलमा सडाएर स्वेच्छाचारी शासन चलाए । ओखलढुंगामा सपुतहरुलाई घिरम्ला र चिचिण्डाझैँ झुण्ड्याइएर सुखानीको जंगलमा मृग र खरायोझैँ मारिए । धनकुटाको छिन्ताङमा रगतको खोलो बग्यो ।
बुटवलमा युवा विद्यार्थी चोकबहादुर गुरुङको हत्या गरियो भने कैयौं मानिसहरुलाई बेपत्ता पारियो ।
कथित उदार राजा वीरेन्द्रका चर्तिकला हुन् ।
नमिता सुनिता हत्या काण्डमा दरबारभित्रकै राजकुमारहरुको सिधा हात रह्यो ।
सुस्ता महेशपुर महाकालीको र महाकाली नदीको बायाँपट्टिको शारदा व्यारेजको व्यारेज निर्माण गर्न राजा र राजतन्त्रले जमिन छोडेको कुरा दिउँसो घामझैँ छर्लङ्ग छ । त्यसरी नै लिम्पियाधुरा, लिपुलेक र कालापानी सबै त्यसै त्यसै छोडिदिने काम पनि राजतन्त्रले नै गरेको हो । चिल आयो चिल आयो भन्ने सबैले आकाशतिर हेरेको बेला कुखुराको चल्ला टिपेर भाग्न धु्रर्त स्याल खप्पिस भएझँै कथित राजा एण्ड कम्पनी आफूले बदमासी गर्ने, राष्ट्रघात गर्ने, तर दोष जति दलहरु र नेताहरुमा थोपर्नमा राजतन्त्र नै खप्पिस रहेछ । इतिहासलाई राम्रो गरी पढ्न नेपाली जनतालाई अनुरोध गरिन्छ ।
नेपालमा २०६५ साल जेठ १५ गते विधिवत रुपमा राजतन्त्रको अन्त्य र गणतन्त्रको कार्यान्वयन सुरु भयो ।
गणतन्त्र कार्यान्वयन सुरु भएपछि राजतन्त्रकालमा तर खाइ पल्केका ढाँडे बिराला शासकहरु विभिन्न दल खोलेर निर्वाचनमा सहभागी भए । तर जनताले नपत्याएर भनेजस्तो सीट संख्या हासिल गर्न नसकेपछि पुरानो सडेगलेकोे वनवासी राजतन्त्रलाई उकास्न थालेको देखियो । बुद्धिविहीन ज्ञानेन्द्रलाई पनि दिन आउँछ कि भनेर चैत १५ गते आफ्ना केही सुडमुण्ड, नन्दी भृङ्गीहरुलाई कथित जनआन्दोलनको नाममा वितण्डता मच्याउन काठमाडौैं तीनकुनेतिर पठाए । दुई जना मान्छे त मारिछाडे । ज्ञानेन्द्रको क्षमता यही थियो, त्यही देखाइ छाडे । आफ्नो सत्ता स्वार्थका लागि जो कोही मार्नु राजाशाही परिवारको शैली नै हो । सेती नदीमा कुमारी नमिता सुनितालाई बलात्कार गरेर कसले हत्या ग¥यो ? स्वतन्त्र मिडिया थिएनन्, लेख्न बोल्न सबैको मुखमा कुलुप ठोकिएका हुन्थे र हातमा त्यसै त्यसै हत्कडी लगाइएको हुन्थ्यो । तर पनि यो कुरा एकान दुई कान मैदान हुँदै नमिता सुनिता हत्याकाण्ड दरबारले गरेको हो र सेती नदीमा उनीहरुको लास फ्याँकिएको हो भन्ने कुरा नसुन्ने को पो थियो र ?
दरबारभित्रका मान्छेहरु राजा रानी राजकुमार राजकुमारीहरुले गल्ती गर्दैनन्, उनीहरु त विष्णु भगवानका औतार औतार्नी हुन् भन्ने थियो । त्यसैले मनपरी थियो । महामनपरी थियो । उनीहरुका लागि यहीं न्याय थियोे, यहीं निसाफ थियो, दरबारका लागि यही नै लोकतन्त्र थियो, यही नै विकास थियो, यही नै निकास थियो । यही नै शान्ति थियो ।
निचोडः
गणतन्त्र जनताको चलनचल्ती हो, जनताको व्यवस्था हो । गणतन्त्रमा कोही पनि मालिक हुँदैन, निश्चित अवधिमा प्रतिनिधि वा शासकहरु निर्वाचनद्वारा फेरिन्छन् । राष्ट्रपति, प्रधानमन्त्री फेरिन्छन् । जनताले भोट हालेर तलदेखि माथिसम्मका प्रतिनिधि छनौट गर्दछन् । लोकतान्त्रिक प्रणाली सर्वाेच्च प्रणाली हो ।
लोक . जनता हो
तन्त्र . शासन व्यवस्था हो ।
लोकतान्त्रिक . जनताको शासन व्यवस्था हो ।
गणतन्त्र . इतिहासको कालक्रममा मुख्खेली व्यवस्था रहे, मुख्खेली व्यवस्था भनेको ठालुहरुको शासन हो । एक व्यक्तिको शासन हो । त्यही एक व्यक्तिको शासन प्रणालीको विकसित रुप राजतन्त्र हो । राजतन्त्र भनेको सामन्ती व्यवस्था हो । केही देशहरुमा राजतन्त्रले पुँजीवादी स्वरुप पनि ग्रहण गरेको देखिन्छ ।
हाम्रो देशको राजतन्त्र वंशानुगत (वंश परम्परामा आधारित रहेको हुँदा मूलतः सामन्ती नै हो ।) राजा वीरेन्द्रसहित उनको परिवारको वंश विनाशपछि वीरेन्द्रकै भाइ पर्नेलाई राजा बनाउनुको कारण पनि यही थियो । ज्ञानेन्द्र भन्ने मान्छेको कुनै त्यस्तो विशेष योग्यता त थिएन । ऊ दलाल पुँजीपतिहरुद्वारा घेरिएको वंशज परम्परा प्रणाली अनुसार राजा भएको घोषणा पनि दलालहरुले नै गरेका हुन् ।
नेपालको संविधान २०७२ अनुसार अब नेपालमा राजतन्त्र छैन र राजा पनि छैन । नेपालमा अहिले गणतन्त्र छ । निर्वाचित प्रणाली त्यही निर्वाचित प्रणालीले चीनसँग व्यापार पारवहन सन्धि गरेको छ । राजतन्त्रले त्यसै छोडेका लिम्पियाधुरा, लिपुलेक, कालापानी समेत समेटेर पूर्ण नक्सा जारी गरेको छ ।
जिल्ला प्रदेश र पालिकाहरु, पूर्वाधार निर्माण, स्वास्थ्य सेवा विस्तार शिक्षाको उचित व्यवस्थापन गर्दैछ । देश विद्युत् उत्पादन र विद्युतीकरणमा उँभो लागेको छ, धेरै राम्रा काम हुँदैछन् । भएका छन्, भएन भनेर राजाका पालामा यो राम्रो भयो त्यो राम्रो भयो भन्ने त प्रतिगामी शासकहरुको प्रचार हो । यस्तो कु प्रचारबाट नेपाली जनता होसियार हुन आवश्यक छ । आफ्नो थाप्लामा बन्चरो आफैँले हान्नु हुँदैन ।




