नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार, नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहे पनि मे २९ मा नै मनसुन भित्रिएको छ । त्यसैगरी यो वर्ष सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ । जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । सरदरभन्दा बढी वर्षा हुने दर ३५ देखि ६५ प्रतिशत रहेकोले विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सहज भएको छ । तर विपद् पूर्वतयारी तथा प्रतिकार्य फितलो हुँदा मुलुकमा सधैं क्षति हुँदै आएको छ ।
गत वर्ष पनि जल तथा मौसम विज्ञान विभागले ४५ देखि ६५ प्रतिशत बढी वर्षा हुने आकलन गरेको थियो । अझैँ दिन र ठाउँ नै तोकेर वर्षा धेरै हुने प्रक्षेपण गर्दा समेत सरकारले सजगता अपनाउन नसक्दा ठूलो मानवीय र भौतिक क्षति भयो । जल तथा मौसम विज्ञान विभागले गरेको प्रक्षेपण अनुसार रात्री बस सञ्चालन रोक र जोखिमयुक्त सडकमा चुस्त निगरानी राख्ने योजना भए पनि कार्यान्वयनमा ध्यान नदिँदा काठमाडौं जाँदै गरेका गाडी पहिरोमा पर्दा चार दर्जनको ज्यान गयो । सिन्धुपाल्चोक, काभ्रे र काठमाडौंमा पनि बाढी र पहिरोले ठूलो क्षति भयो ।
गत वर्षको क्षतिले पूर्व तयारी र प्रति कार्ययोजना कार्यान्वयन प्राथमिकतामा पर्नुपर्छ भन्ने सन्देश दिएको छ । यो वर्ष पनि ३५ देखि ६५ प्रतिशत बढी वर्षा हुन्छ भन्ने प्रक्षेपण भएको छ । अझ लुम्बिनी र गण्डकी प्रदेशमा सरदरभन्दा बढी वर्षा ५५ देखि ६५ प्रतिशत हुने प्रक्षेपण भएकाले लुम्बिनी र गण्डकी बढी जोखिममा छन् भन्ने आँकलन गर्न सकिन्छ । बढी वर्षाले डुबान, बाढी र पहिरो धेरै हुने र त्यसले मानवीय तथा भौतिक क्षति बढी हुन्छ । गत वर्षको प्रक्षेपण मेल खाएकोले यो वर्षको प्रक्षेपणले पनि क्षति बढी हुन्छ, न्यूनीकरणका लागि पूर्वतयारी गर भन्ने दिशानिर्देश गरेको छ ।
मुलुकमा संघीय शासन प्रणाली स्थापना भएपछि तहगत सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण र कार्यान्वयनलाई जोड दिँदै आएका छन् । कार्ययोजनामा तहगत सरकारले गर्नुपर्ने काम, समन्वय र सहकार्य प्रष्ट उल्लेख भए पनि कार्यान्वयन फितलो हुँदा जोखिम न्यूनीकरण हुन सकिरहेको छैन । विपद्पछिको राहतमा बढी केन्द्रित हुने प्रवृत्ति अझैँ हावी छ । केही दिनअघि प्रधानमन्त्री केपी ओली जल तथा मौसम विज्ञान विभागको कार्यालयमा पुगेर आगामी मनसुनमा पर्ने वर्षाको अवस्थाबारे जानकारी लिएका थिए । प्रधानमन्त्री स्वंय विभाग पुगेर जानकारी लिनु सकारात्मक हो । अब प्रधानमन्त्रीको काम तहगत सरकारलाई विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सक्रिय बनाउनु हो । एकले अर्कोलाई दोष दिने र पन्छाउने प्रवृत्तिले विपद् व्यवस्थापन गर्न संभव छैन, सहकार्य र समन्वयलाई प्रभावकारी बनाउन सक्दा तथा अति आवश्यक परेको क्षेत्रमा बजेट विनियोजन गर्न सक्दा प्रतिकार्य योजना कार्यान्वयन गरी क्षति न्यूनीकरण गर्न सकिन्छ ।




