जुन ५ अर्थात् जेठ २२ विश्व वातावरण दिवस । वातावरण जोगाउन संसारलाई झकझाउने दिन हो, यो । वातावरण विनाशले मान्छे सहित सबै जीवजन्तुको जीवन जटिल बन्दै गइरहेका बेला वातावरण जोगाउनका लागि अभिप्रेरित गर्न यो दिन महत्वपूर्ण छ ।
विश्व वातावरण दिवस विश्व वातावरणप्रति राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी ५ जुन १९७३ मा पहिलो पटक विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
आज हिमालमा हिउँ देखिन छाडेको छ । बितेको तीन दशकयता नेपालका हिमालमा एक तिहाई हिउँ कम पाइएको छ । हिमालमा हिउँ कमि हुँदै जानुको अर्थ पृथ्वी तात्दै गएको छ, जसले हिउँ कम पर्न थालेको छ । नेपालका हिमालमा हिउँ कम पर्दा नेपाललाई मात्रै नभएर विश्वलाई नै त्यसले असर पार्ने भएकाले वातावरण संरक्षण साझा सरोकारको विषय हो ।
कार्बनडाइअक्साइडको व्यापक र अनियन्त्रित उत्सर्जनले हरितगृह प्रभावित भइरहेको छ । जसले विश्वव्यापी उष्णता बढिरहेको छ, विश्वले जलवायु परिवर्तनको असर भोगिरहेको छ । हिमालमा हिउँ मात्रै नभई पहाडमा पानीमा मुहान सुक्न थालेका छन्, हिउँदयाममा । तराईमा जमिनमुनिको पानीको सतह घट्दा केही वर्षयता ५० मिटर गहिराईसम्म चापकलमा पानी आउन छाडेको छ । अत्याधिक वर्षा हुने वा न्यून वर्षा हुने क्रम बढ्न थालेको छ, जसले बाढी र पहिरोको जोखिम बढाएको छ । खडेरीले गर्दा कृषि उत्पादनमा हस आएको छ । प्रकृतिमा जे–जति वातावरणीय समस्या देखा परेका छन्, ती मान्छेले गरेको दोहनकै कारण हो । औद्योगिक प्रदूषणले स्वच्छ हावा पाउन मुश्किल भएको छ । जीवन सहज, सरल र विलासी बनाउन गरेका औद्योगिक उत्पादनको बढ्दो प्रयोग अन्ततः वातावरण विनाशको कारक भएको जान्दाजान्दै औद्योगिक प्रदूषण न्यूनीकरण गर्न चासो दिइएको छैन । विकसित देशले प्रकृतिमा गरिरहेको दोहनको असर नेपाल जस्ता अल्पविकसित देशले भोग्न बाध्य छन् ।
वातावरण जोगाउन सक्दा मात्रै मान्छेसहित सबै प्राणीको जीवनचक्र बिथोलिन रोकिन्छ । वातावरण जोगाउने मान्छेले नै हो । वातावरणमैत्री विकासको अवधारणालाई व्यवहारिक कार्यान्वयन गर्न सक्दा वातावरण विनास न्यूनीकरण गर्न सकिन्छ । वातावरण दिवसको अवसरमा प्रकृतिलाई जोगाउने प्रण गरौँ, प्रकृतिको दोहन आवश्यकता र औचित्यका आधारमा गरौँ । दोहन रोक्न सक्दा नै अहिले बिथोलिएको प्रकृतिको चक्र न्यूनीकरण हुनसक्छ । यस वर्षको वातावरण दिवसको नारा हाम्रो भूमि हाम्रो भविष्य रहेको छ । हाम्रो भूमिमा भइरहेको दोहन न्यूनीकरण गर्न सक्दा मात्रै हाम्रो भविष्य सुरक्षित छ ।




