बुटवल । लुम्बिनी प्रदेशमा पछिल्ला दश वर्षमा मनसुनजन्य विपद्काका कारण ४५९ जनाको ज्यान गएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार १० वर्षमा १ हजार ६१८ वटा घटना घट्दा ६१९ जना घाइते, ३२ जना बेपत्ता भएका छन् । यो अवधिमा ८ हजार ३१५ परिवार प्रभावित भएका छन् । अहिलेको वर्ष पनि लुम्बिनी प्रदेशका जिल्लाहरुमा विपदको अवस्था उस्तै रहने देखिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेका अनुसार १० वर्षको अवधिको तथ्यांक हेर्दा सबैभन्दा धेरै २०७३ सालमा विपदका घटना घटका छन् भने मृत्यु हुनेको संख्या पनि सर्वाधिक रहेको छ।
उनका अनुसार २०७२ सालमा २५ वटा प्रकोपका घटना भए, जसमा १९ जनाले ज्यान गुमाए, २३ घाइते र ३ जना बेपत्ता भए। २५ परिवार प्रभावित भएका छन् । यस्तै २०७३ साल सबैभन्दा बढी मानवीय र आर्थिक क्षतिको वर्ष रहेको उनले जानकारी दिए । १३७ घटनामा १०७ जनाको मृत्यु, ६२ घाइते र ५ जना बेपत्ता भएका थिए। ५०१३ परिवार प्रभावित भएका थिए भने अनुमानित ७३ करोड ८५ लाख रुपैयाँ बराबरको क्षति भएको थियो।
२०७४ सालमा १०६ घटनामा ५० जनाको मृत्यु, ५१ घाइते, ७ जना बेपत्ता र १५४० परिवार प्रभावित भएका थिए। सो वर्ष ५५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो। २०७५ सालमा १२५ प्रकोपका घटनामा २९ जनाको मृत्यु, ७६ घाइते, बेपत्ता शून्य र ३०८ परिवार प्रभावित भए। अनुमानित आर्थिक क्षति ४९.९ करोड रुपैयाँ थियो।
२०७६ सालमा १३५ घटनामा ५० जनाको मृत्यु, ६३ घाइते, बेपत्ता नभए पनि २१३ परिवार प्रभावित भए। आर्थिक क्षति १५ करोड रुपैयाँ रहेको थियो। २०७७ सालमा २३१ वटा प्रकोप भएका थिए, जसमा ४१ जनाको मृत्यु, ६६ घाइते र १ जना बेपत्ता भए। ३७७ परिवार प्रभावित भएका थिए र २१.७ करोड रुपैयाँ बराबरको क्षति भएको थियो।
२०७८ सालमा १९९ प्रकोपमा ५७ जनाको मृत्यु, ९१ घाइते र ५ जना बेपत्ता भएका थिए। २८५ परिवार प्रभावित भएका थिए भने २४.८ करोड रुपैयाँको क्षति भएको थियो। २०७९ सालमा १७१ घटनामा ३३ जनाको मृत्यु, ६९ घाइते, २ बेपत्ता र २३५ परिवार प्रभावित भए। सो वर्षको अनुमानित क्षति २३.२ करोड रुपैयाँ थियो। २०८० सालमा १९७ प्रकोपका घटना भए, जसमा २० जनाको मृत्यु, ४८ घाइते, कोही पनि बेपत्ता भएनन्। २१० परिवार प्रभावित भए र १५ करोड रुपैयाँको क्षति भएको थियो।
२०८१ सालमा सबैभन्दा बढी २९२ घटना रेकर्ड गरिएका छन्। ५३ जनाको मृत्यु, ७० घाइते र ९ जना बेपत्ता भएका छन्। १०९ परिवार प्रभावित भएका छन् भने आर्थिक क्षति ५४.६ करोड रुपैयाँ बराबर अनुमान गरिएको छ।
लुम्बिनीमा बढि जोखिम हुने प्रक्षेपण
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने देखिएको हो । उक्त कार्ययोजनाका अनुसार लुम्बिनीमा करिब १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने अनुमान गरिएको छ ।
सबैभन्दा धेरै घटना हुनसक्ने र क्षती हुनसक्नेकुरालाई मापन गरेर तयार पारिने केसलोड अनुुसार लुम्बिनीमा सबैभन्दा धेरै कपिलबस्तु र बर्दियामा रहेका छन् भने सबैभन्दा कम रुकुम पूर्वमा रहेको राष्ट्रिय मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२ ले तय गरेको छ ।
कपिलबस्तुमा केसलोड ८४ हजार ४४९ रहेको छ भने , बर्दियामा ८३ हजार ८१३ रहेको छ । यस्तै दाङमा ६४ हजार ८८१, बाँकेमा ५६ हजार १७३, परासीमा ४५ हजार ८७८, प्यूठानमा ४४ हजार ५८९, रुपन्देहीमा ४१ हजार ७५, पाल्पामा ३५ हजार ३६० रहेको छ । यस्तै अर्घाखाँचीमा २५ हजार ८२७, गुल्मीमा २२ हजार ४७२, रोल्पामा १४ हजार ३५३ र रुकुम पूर्वमा ४ हजार ८८६ रहेको छ ।
यस्तो छ प्रदेश सरकारको तयारी
प्रदेश तहमा सतर्कता र तयारीका काम अघि बढाइएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बैठकले मनसुनजन्य विपद्बाट लुम्बिनी प्रदेशलाई सुरक्षित बनाउन सबै पक्ष संवेदनशील र जिम्मेवार भई प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
मनसुन पूर्व तयारीका लागि विषयगत क्षेत्रहरुको बैठकमा गत वर्षको योजना समीक्षा र यस वर्षको लागि तयारी थालिएको लुम्बिनी प्रदेश सरकारको दाबी छ । विषयगत क्षेत्रहरुको भूमिका र जिम्मेवारी सम्बन्धी अभिमुखीकरण गर्नुका साथै प्रदेश विपद प्रतिकार्य ढाँचा छलफल र अभिमुखीकरण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रत्येक दुई हप्तामा जल तथा मौसम विज्ञान विभाग भैरहवा कार्यालयसँग भर्चुअल मिटिङ भइरहेको तथा विपद् सूचना व्यवस्थापनको लागि प्रदेश, जिल्ला र स्थानीय आपतकालीन कार्यसंचालन केन्द्रमा कार्यरत कर्मचारीहरुलाई तालिम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
साथै खोज उद्धार सम्बन्धी गोताखोर तालिम गर्नुका साथै विपद् पूर्व तयारी सम्बन्धी कृत्रिम अभ्यास यहि जेठ २२ र २३ गते सञ्चारलनको तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
यसो भन्छन मुख्यमन्त्री
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएकाले उच्च सतर्कता आवश्यक भएको बताउँछन् । उनले मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिए ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकमा मुख्यमन्त्री आचार्यले सचेतनामूलक अभियान सञ्चालन, खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने बताए ।
‘मनसुनजन्य विपदबाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने आँकलन गरिएको छ । त्यसैले क्षति न्यूनीकरणमा ध्यान केन्द्रित गरी उच्च सतर्कताका साथ खटिन आवश्यक छ,’ उनले भने–’समुदायको परिचालनमार्फत मात्रै विपदबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । यस कार्यमा स्थानीय सरकार, सुरक्षा निकाय र स्वयंसेवक युवाहरुबीच समन्वय हुनुपर्छ ।
मुख्यमन्त्री आचार्यले विपद्पूर्वको अवस्थाबाट नै प्रभावकारी सूचना प्रवाह, सुरक्षित स्थानको व्यवस्था, नागरिक शिक्षा तथा सचेतनामूलक अभियान सञ्चालन, खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने, जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गर्नुपर्ने तथा विपद्पछिको राहत, पुनःस्थापन, खाद्यान्न उपलब्धता, शुद्ध खानेपानी र स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने निर्देशन दिएका छन् ।




